१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

एक रातको कथामा आधारित ‘महानगर’ अमेरिकाको फिल्म फेस्टिभलमा छनोट

‘महानगर’ अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिभलमा छनोट भएको छ। भारतको कोलकाता फिल्म फेस्टिभलमा वल्र्ड प्रिमियर भएको सो फिल्मका क्रियटिव प्रोड्युसर नवनिधि दाहालले बताए।

उनले फिल्मको अमेरिका प्रिमियर सोही फेस्टिभलसँगै हुने जानकारी दिए। मोहन राई निर्देशित फिल्म कोलकाता फिल्म फेस्टिभलमा फिल्म एसियन सेलेक्टअन्तर्गत  दि नेटवर्क फर दि प्रमोसन अफ एसियन सिनेमा (नेटप्याक) अवार्डका लागि प्रतिस्पर्धात्मक विधामा छनोट भएको थियो।  

‘अञ्जली’ र ‘सखी’ नामका दुई फिल्म बनाएका मोहनको ‘महानगर’ फिचरमा डेब्यू फिल्म हो । ‘अञ्जली’ तेस्रो लिंगी अञ्जली लामाको जीवनीमा बनाएको डकुमेन्ट्री फिल्म हो भने ‘सखी’ छोटो फिल्म।  

फिल्मले विश्वका ९३ देशबाट सहभागिताका लागि आएका २५ सय फिल्मबाट फेस्टिभलमा ठाउँ बनाएको हो। यो फेस्टिभलको २४ औं संस्करण हो। फेस्टिभल मे २८ देखि सुरु भएर जुन ६ सम्म चल्नेछ।  

कार्म र मेनुका प्रधानको मुख्य भूमिका रहेको फिल्मले एक रातको कथा भन्छ। सानो घटनाका कारणसँगै रात गुजार्न बाध्य उनीहरुको जीवनमा त्यही रातले ल्याउने परिवर्तन फिल्मको कथा हो।

फिल्ममा अनोज पाण्डे, शोविता अधिकारी, जीवन बराल, परीक्षितविक्रम राणा, चन्द्र पाण्डे आदि कलाकार पनि अभिनय रहेको छ । फिल्मलाई माउन्टेन रिभर फिल्म्स्को सहकार्यमा मिडलवे फिल्म्स्ले निर्माण गरेको हो। निर्देशक मोहन राई स्वयंको लेखन रहेको यो फिल्मको कार्यकारी निर्मातामा गोविन्द पराजुली तथा क्रिएटिभ निर्माता नवनिधि दाहाल रहेका छन्।

फिल्ममा नरेन्द्र मैनालीको छायांकन, संगम पन्थीको संगीत र परीक्षित झाको सम्पादन छ ।

ब्रुकलिन फिल्म फेस्टिभलमा यसअघि दुई नेपाली फिल्मले सहभागिता जनाइसकेका छन्। सन् २००९ मा ‘सारी सोल्जर्स’ यो फेस्टिभलमा छनोट भएको थियो भने सन् २०१७ मा सुनिल पाण्डे निर्देशित सर्ट फिल्म ‘अनन्त यात्रा’ पनि यहाँ छनोट भएको थियो। 

प्रकाशित: २६ वैशाख २०७८ १२:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App