२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

पाइला कालापानीतर्फ

नियात्रा

क्याप्शन

नन्दु उप्रेती 

 

गोकुले गाड तरेर उकालो लाग्नु थियो आज । उकालो पूरै ठाडो देखिन्थ्यो । नाकै ठोक्किने हो कि!  टोपी नै पो झर्ने हो कि ! बसको लामो यात्राले शरीर थकित भए पनि सबैका अनुहारमा उत्साह र जाँगरका दीप बलेका थिए। उकालो, ओरालो, तेर्सो र भिरालो जिन्दगीजस्तै पैदल यात्रा सुरु हुनै लागेको थियो । युवा विद्यार्थीहरूमा अदम्य साहस र जोस थियो। मातृभूमिप्रति अगाध माया थियो। जन्मभूमिमाथिको अतिक्रमणप्रति घृणा, क्रोध र आक्रोश थियो।  

अहा ! यी युवाहरूका हृदयमा राष्ट्रप्रेम, स्वाभिमान र चेतनाका फूलहरू फक्रिरहेका थिए। उनीहरू छाप छाड्दै थिए माटोमा पाइतालाका भविष्यको उज्यालोमा देखिने गरी।

चौलानी नदी बगिरहेको थियो सललल एक सुरमा । हामीले हल्लायौँ उसको एकनासको बगाइलाई उसैभित्र डुबुल्की मार्दै, बालुवाका छर्रा र ढुङ्गाहरूले हिर्काउँदै अञ्जुलीमा उठाएर पानी माथिमाथिसम्म हुरयाउँदै, रमाइलो गर्दै । बस यात्राको थकाइलाई चौलानीको पानीसँगै यहीँ बगाउन नुहायौँ छप्ल्याङ् र छुप्लुङ् गर्दै चिसो पानीमा।

चौलानी चमेलिया पो रहेछ । चौलानी चर्मण्वती पो रहेछ । चर्मवासा ऋषिले स्नान गरी वैकुण्ठवास लिएको ठाउँबाट बगेको हुनाले यस नदीलाई चौलानी भनिएको मान्दारहेछन् यहाँका मानिसहरू। पछि चमलिया हुँदै चमेलिया भएको रे यसको नाम । अझ कसैकसैले त चमलिया भन्ने रुखको फेदबाट निस्केर बगेको हुनाले यसलाई चमेलिया नाम दिएको पनि भन्दारहेछन्।

खाना खान पालो पर्खनुपरयो निकैबेर । गोकुलेश्वर आइपुग्न लागेदेखि नै मेरो मस्तिष्क हुइकन थालिसकेको थियो सम्झनाको तीव्र वेगमा । त्यही गति समायो अहिले पनि मेरो सम्झनाको घोडाले । यस यात्राको तयारीको कारण, व्यवस्थापन र बाटाका धेरै कुराका छाप लागिरहेका थिए सम्झनाका इन्दे्रनी पानाहरूमा। बितेका सात दिनको फेहरिस्त तयार भयो मनभित्र।

रातको दश बज्नै लागेको थियो । फोनको घन्टी बज्यो टिनिनिनि... टिनिनिनि... ।  

बल्लबल्ल निदाएको थियो सानो छोरा । म उसको अनुहार हेरिरहेको थिएँ। कहिले मुस्कुराउँथ्यो । कहिले अँध्यारो पाथ्र्यो अनुहार । आमाको दुध चुसिरहेझैँ जिब्रोले च्वापच्वाप गरिरहेको थियो बेलाबेला । पवित्रा छेवैमा बसेर पढिरहेकी थिइन् । हतारहतार उठाएँ फोन । सोम रानाको रहेछ । नेकपा (माले) का महासचिव वामदेव गौतमका सहयोगी रहेछन् उनी । वामदेव गौतमले सम्पर्क गर्न भनेपछि उनले फोन गरेका रहेछन्।

अनेरास्ववियुका विद्यार्थीहरू कालापानीसम्मको यात्रा तय गर्दै थिए । यो उनीहरूले संचालन गर्न लागेको राष्ट्रियता जागरणको अभियान थियो। यसैमा सहभागी भई सम्पादकका नाताले पत्रकारहरूको टोलीको संयोजन गरिदिनु भन्ने आग्रह थियो महासचिव गौतमको । मैले हुन्छ भनिहालिनँ । एकदुई दिनमा टुंगो दिन्छु भने । पारिवारिक व्यवस्थापन मिलाउन कठिन थियो। कार्यालयको कामको पनि चाँजोपाँजो मिलाउनै पथ्र्यो । शारीरिक तन्दुरुस्तीबारे पनि सोच्नै पर्ने हुन्थ्यो।

सञ्चार जगत्मा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले गर्न लागेको कालापानी यात्राका समाचारहरू छाइसकेका थिए। पक्षविपक्षमा विभिन्न विचार र टिप्पणीहरू आइरहेका थिए। राजनीतिक रूपमा विमति राख्नेहरू चाहेर या नचाहेर विपक्षमा बतास चलाइरहेका थिए । सहमत हुनेहरू फूलका मालाहरू बनाइरहेका थिए । अनेरास्ववियुका विद्यार्थीहरू उत्साहका साथ अभियानको तयारीमा लागेका थिए।  

दुई दिनपछि योगेश भट्टराई र रूपनारायण श्रेष्ठको फोन आयो पालैपालो। म कार्यालयमै काम गरिरहेको थिएँ । उही थियो कुरो, वामदेव गौतमको जस्तै ।

–जसरी पनि जानै पर्छ है सम्पादकज्यू।

रूपनारायणको वाक्य नै यही थियो ।  

उनले तिथिमिति र जम्मा हुने ठाउँ पनि सम्झाएका थिए, ‘२०५५ जेठ २२ गते बिहान ७ बजे, बागबजारको पश्चिम मुख, अखिलको कार्यालय रातोघर अगाडि ।’

अब मैले मानसिक रूपमा तयार हुनुपर्ने ठानेँ । समय एक हप्ता मात्र बाँकी थियो।

पत्रिका सम्पादनको जिम्मा तीन हप्ताका लागि सहयोगी सहकर्मीहरूले लिनुभयो । ढुक्क भइहाल्यो।

हामीले घरमा सल्लाह ग¥यौँ । पवित्रा यो अवधिभर छोरासित सुर्खेत माइतीघर बस्ने भइन् । महत्वपूर्ण यात्रा हो यो भनेर उनले पनि प्रोत्साहित गरिन् मलाई । कीर्तिपुरकी विद्यार्थी नै थिइन् यसबेला उनी पनि । पारिवारिक व्यवस्थापन सजिलै टुङ्गियो । भोलिपल्टै मैले नेकपा (माले) का महासचिव वामदेव गौतमलाई यात्रामा जाने कुरा सुनाएँ । खुसी हुनुभयो उहाँ।  

यात्रा असाध्यै कठोर हुने थियो । शारीरिक रूपमा कमजोर मान्छेका लागि सम्भवै थिएन। लगातार दश बाह्र दिन पैदल नै हिँड्नुपर्ने । बाटोमा खानेकुरा नपाइन सक्थे । बास बस्ने ठाउँ नभेटिन सक्थ्यो। भिरपहराको यात्रा ज्यादै जोखिमपूर्ण हुने पक्का थियो। हिउँपहिरोले धकेलेर जिन्दगी नै सिध्याइदिन सक्थ्यो। मृत्यु घन्टी बजाउँदै हामीसँगै हिँडिरहने होला सायद । भारतीय प्रहरी, सैनिकसँग निर्मम व्यवहार ओहोदोहोर हुन सक्थ्यो । यसकारण यात्रामा जानेहरूको साहस सगरमाथाजस्तै दृढ, अटल र उच्च हुनु नितान्त आवश्यक थियो । साथसाथै शारीरिक तन्दुरुस्ती पनि उत्तिकै जरुरी।

जाने नै भएपछि केले रोक्न सक्थ्यो र ?  

मन भने भित्रभित्र कताकता नडराएको हैन । २०४६ सालको जनआन्दोलनमा पुलिसको कठबाँसले हानेको घुँडो । त्यसमाथि दुर्घटनामा पनि परेको। तीन वर्षपछि कठबाँसले फुटाएको घुँडाको अप्रेसन गरेको । मभन्दा पहिले खुट्टा डरायो । नियमित रक्तचाप न्यून रहने बानी लागेकोे शरीर । मनभन्दा पहिले शरीर डरायो। कतै यात्राले भयानक दुर्घटना निम्त्याउने त हैन ? शारीरिक अस्वस्थताको दीर्घकालीन भारी बोक्नुपर्ने त हैन ? साथीहरूलाई पुगेर आउनुहोस् है भन्दै बाटैबाट फर्कनुपर्ने त हैन ? फर्केर आइन्जेल टोलीलाई पर्खेर बाटैमा बसिरहनुपर्ने त हैन ?

प्रश्नहरू यसरी उठिरहे मनमा। मन र मस्तिष्कलाई निरन्तर प्रहार गरिरहे तिनले। उत्साह र दृढतालाई कमजोर बनाउन खोजिरहे। इच्छाहरूलाई मूच्र्छित तुल्याउन चाहिरहे । मनभित्र भने उत्साह र अठोटका जुगल हिमाल उभिसकेका थिए । आफैँ लज्जित भएर फर्कदै गए मनभित्र आएका तनाव, दुर्बलता र डरका लुरे गोठालाहरू।

विद्यार्थीहरूको यस कालापानी यात्रामा उनीहरूसँगै जान दीपक पाण्डे, सीताराम बराल, शरद अधिकारी, गणेश खत्री, सञ्जय घिमिरे  र म गरी जम्मा छजना पत्रकारहरू तयार भयौँ । विद्यार्थीहरूको नेतृत्व अनेरास्ववियुका अध्यक्ष योगेश भट्टराई स्वयंले गर्दै हुनुहुन्थ्यो । यात्रामा युवा छात्रछात्राहरूको संयोजन र व्यवस्थापनको भौतिक नेतृत्व त गर्नु नै थियो उहाँले । सँगसँगै उनीहरूको भावनात्मक उत्साह, ऊर्जा र साहसिक दृढताको पनि आत्मीय नेतृत्व गर्नु थियो ।

प्रकाशित: २६ वैशाख २०७८ १०:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App