१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
कला

आमा

लघुकथा

रेणु अधिकारी मौनता                            

 ओहो सलाइनको पानी सकिएर रगत नै फर्किसकेछ , के हेर्छन् यहाँका नर्सहरू पनि ! रमा भुतभुताउदै क्याबिनभित्र छिरी।  

–के गर्नु आमालाई खुवाउन दुध लिन क्यान्टिन गएको यता आमालाई हेर्ने कोही छैन।

 ‘आमा अब दूधबिस्कुट खाने ल ?’ आमा केही नबोली सिलिङतिर हेरिरहनुभयो। 

सलाइन पनि चढाउँदा रगत जाँच गर्दा सबै औषधिहरू सलाइनबाट पठाँउदा सुई  

घोच्दाघोच्दा हातहरू रगत जमेर निलो भएको छ। जीउ सबै  पुक्क सुन्निएका छन्। ती सुन्निएका हातहरू पहिले मेरो जस्तै गोरो राम्रो थियो। ती हातहरूले कत्ति धेरै कम गथ्र्याे। हामी दुई जना छोराछोरीलाई हुर्काउनु, बढाउनु र पढाउनु सबै काम आमाले गर्नुभयो। आज त्यही हातहरू हलचल गर्न नसक्ने भएका छन्। यी सब कुराहरू मनमनै गम्दै रमा मुटुमा भक्कानो परिरहेकी छे। हामीलाई माया गर्ने हात, मिठो खाना बनाएर खुवाउने हात, हामीलाई आशीर्वाद दिने हात आज शिथिल भएको छ। सलाइनको पाइपमा फर्केको रगत देखेर भावविह्वल हुँदै गहभरि आँसु भरिन्।  

नर्सले फेरि अर्को औषधि चढाइन्।

एउटा भएको दाजु पनि भाउजू लिएर घर छाडेर अन्तै डेरा बस्न गयो। आमा बिरामी हुँदा कत्ति फोन गरेर बोलाउँदा पनि आमालाई हेर्नसम्म आएको होइन।  विवाह गरी पठाएको छोरी रमा जसोतसो आमाको बिरामीको खर्च र स्याहरसुसार आफै गर्दैछिन्।

‘आमा उठ्नुस्,अब केही खानुपर्छ। औषधिले मात्र रोग निको हुँदैन नि। जीउमा तागत पनि चाहिन्छ नि।

ल हुन्छ आमा दुध र बिस्कुट खाइसकेर छोरालाई फोन लगाउन आग्रह गर्नुभयो।

रमाले मोबाइलमा नम्बर थिचिदिइन्। आमा झिनो आवाजमा ‘बाबु, म बिरामी छु। अझै अस्पतालमै छु। यहाँँ रमाले हेरिराकी छ। बिहान रामे साहुले फोन गरेको थियो। मैले धेरै वर्ष अगाडिदेखि अलिअलि गरेर कसैले थाहा नपाउने गरी जोगाएको दस लाख रुपैयाँ ब्याजी लगाएकी थिएँ। आज ब्याजसहित लिन आउनु भनेका छन्। तिमी जान्छौ कि रमालाई पठाइदिऊँ?’ 

‘ओहो आमा बिरामी पो हुनुहुन्छ। ल म तुरुन्त आइहाले बुहारीलाई लिएर। बहिनी पनि थाकिहोली। उसलाई घर पठाइदिऊँ। आमाको सेवा छोराले नगरेर कसले गर्छ ?

प्रकाशित: २६ वैशाख २०७८ ०१:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App