श्याममोहन श्रेष्ठ लिखित पुस्तक ‘काठमाडौं पेरिस काठमाडौं बस र रेल यात्रा साहस र आँटले डो¥याएको जिन्दगी’ केही महिनाअघि बजारमा आएको छ। शीर्षक हेरी यो पुस्तक यात्रा संस्मरणजस्तो लाग्छ। तर मेरो आकलमा यो त्यस्तो नेपालीको आत्मकथा हो, जो काठमाडौंको सामान्य परिवारमा जन्मी–हुर्की आफ्नै मिहिनेत र खुबीले सन् १९७० को दशकको संसारकै प्रतिष्ठित मध्येको एक हवाई कम्पनीको एउटा सामान्य सहयोगी कर्मचारी हुँदै नेपाल प्रमुख, नेपाल–फ्रान्स उद्योग वाणिज्य संघको संस्थापक अध्यक्ष, नेपाल फ्रान्स द्वीपक्षीय लगानी तथा व्यापारको प्रमुख प्रवद्र्धक बन्न पुगे। त्यस्तै, नेपालको एउटा उल्लेख गर्न लायक रिसोर्टको संस्थापक र एक पर्यटन व्यवसायी तथा एक मात्र सरकारी वायुसेवा कम्पनीको सञ्चालकजस्ता अनेकन् भूमिकामा आफूलाई उभ्याउन सफल रहे।
सातवटा शीर्षकमा विभाजित कुल ३२९ पृष्ठको यो पुस्तकको करिब ४० प्रतिशत हिस्सा (पाना २९ देखि १५३ सम्म) लेखकको सन् १९७० को मार्च देखि अक्टोबरसम्म सात महिना सात दिन लगाएर बस, रेल, हवाईजहाज र पानीजहाजमा गरेको साहसिक यात्राको विस्तृत वर्णनले भरिएको छ।
लेखनलाई विषयवस्तुका हिसाबले मोटामोटी तीन भागमा बाँड्न सकिन्छ। सुरुका दुई शीर्षक समावेश पहिलो भागमा आफ्नो बाल्यकाल, शिक्षादीक्षा, तत्कालीन परिवेशको काठमाडौं र भीमफेदी तथा नेपालको पहिलो क्यासिनोमा लेखकको पहिलो जागिरे जीवनको अनुभूतिका बारेमा उल्लेख छ। दोस्रो भाग नेपालबाट सातवटा मुलुक हुँदै स्थलमार्गबाट फ्रान्स पुगेर पुनः स्थल मार्गबाट नेपाल फर्केको यात्राको विस्तृत वर्णन छ। यसैलाई किताबको शीर्षक बनाइएको छ। तेस्रो खण्डमा विगत ५० वर्षको लेखकको पेसा वा जीवनवृत्ति, सामाजिक तथा पारिवारक जीवनका पाटाहरू, नेपालको राजनीति, कर्मचारीतन्त्र, अरू थुप्रै यात्रानुभूतिहरू, दुईवटा त्यो पनि एउटा विदेशी महिला र अर्को नेपाली तर भिन्न संस्कृतिका महिलासँगको विवाहबारेमा उल्लेख छ। जीवनमा सम्पर्कमा भएका नेपाली र विदेशी विभिन्न व्यक्तिको चारित्रिक विशेषता र लेखक पुगेका ५८ देशको भ्रमण सूची पुस्तकमा समावेश छ।
लेखकको बाल्यकालका दुई घटना पनि पुस्तकमा आउँछन्। एउटा काठमाडौंमा एक शिक्षकले गरेको खिसिट्युरीबाट विद्यालयप्रति उनलाई वितृष्णा जागेको छ। अर्को उनी पढाइमा कमजोर हुँदै जाँदा भीमफेदीमा एक शिक्षकको प्रोत्साहन र प्रशंसा पाएपछि पढाइ राम्रो भएको उल्लेख छ। दोस्रो घटनाबाट हाम्रो विद्यालयको पठनपाठन शैलीको कमजोरीले नेपालमा कैयौँ श्याम श्रेष्ठहरू विद्यालय शिक्षाबाट वञ्चित भएका होलान् भन्ने प्रश्न मनमा उब्जिन्छ। यदि उनलाई भीमफेदीमा पढ्ने अवसर नपाएको भए उनले माध्यमिक तहको शिक्षा पूरा गर्ने थिएनन्। विद्यार्थीलाई प्रोत्साहन गरेर पढाउँदा नै उसमा भएको प्रतिभा प्रस्फुटन हुन्छ भन्ने सन्देश ती दुई घटनाले बोकेका छन्।
सन् १९७० को मार्चमा यातायात र सञ्चारको सुविधा एकदमै सीमित थियो। त्यस्तो अवस्थामा केवल २२ वर्षको उमेरको एक अल्लारे ठिटो सीमित बाटो खर्च लिएर निस्कन्छ। स्थल मार्गबाट सातवटा मुलुक, भाषा, संस्कृति र भूगोल पार गर्दै फ्रान्स पुग्छ, काठमाडौंमा पर्यटकका रूपमा एकपटक घुम्न आउँदा चिनेको भरमा एकदमै भिन्न संस्कृति भएको मुलुकको एक मान्छे (जाँ मिसेल)को घरमा पाहुना बन्छ, करिब सात महिना भौँतारिँदा विभिन्न अस्थायी र स्थायी मित्रहरू बनाउँछ, बेलायतको असफल यात्रापछि ग्रिस हुँदै पुनः नेपाल फर्कन्छ– एउटा सामान्य नेपाली परिवेशको युवाले कल्पना गर्नेभन्दा परको साहसिक यात्रा हो यो, जुन श्याममोहनले पूरा गरेर देखाए। यस यात्राको वर्णन गर्ने क्रममा उनले ५० वर्ष पुराना कुरा पनि हिजोआज घटेका जस्तोगरी जीवन्त वर्णन गरेका छन्, जुन अद्भुत लाग्छ। भलै यात्रा वर्णनमा कतिपय पाठकलाई झिजो लाग्ने गरी विस्तृतीकरण गर्न पुग्छन्। जस्तोः कसैलाई बाटो बताएझैँ, अमुक संख्याका सिँढी चढ्ने, दायाँ घुम्ने, उकालो चढ्ने जस्ता अत्यन्तै झिनामसिना कुरा पनि पुस्तकमा छन्। भलै ती झिकिदिँदा यो यात्रा वर्णनले दिने शिक्षा र सन्देशमा कुनै कमी आउँदैन।
उनको पहिलो सनसनीपूर्ण अनुभूति एक जर्मनसँग दिल्ली हुँदै काबुल यात्रा गर्दा हुन्छ। त्यस्तै, पछिल्लो शिक्षाप्रद यात्रानुभूति सात महिनापछि फर्कंदा लाहोरको होस्टेलको घटना हो। टर्कीमा उनको भेट एक–दुई शब्द पनि एकअर्काको भाषा नबुझ्ने आमाछोरीसँग हुन्छ। एक प्रकारले प्रेमले मानवीय संवेदनाको सीमा केवल मान्छेले आफ्नो अनुकूल कोरेको मात्र हो, प्राकृत रूपमा त्यसको सीमा र बन्धन छैन भन्ने सन्देश त्यस भेटले दिएको छ। पाँच दशक पहिलेको दक्षिण एसिया, इरान, टर्की र युरोपको विकासको अवस्था, रीतिस्थिति, रहनसहन र जीवनशैलीबारे किताबले यथेष्ट प्रकाश पारेको छ। सात महिनाको युरोप यात्रामा अनगिन्ती शिक्षाप्रद सन्देश लुकेका छन्। श्याममोहनमा छोटो चिनजानमा पनि तुरुन्तै घुलमिल हुन सक्ने र काम लिन सक्ने बिरलै मान्छेमा हुने अद्भुत कला छ। जसले बिरानो मुलुकमा सात–सात महिना घुमेर सकुशल नेपाल फर्कन सफल बनायो।
युरोपबाट फर्केपछिको उनको जीवन रोमाञ्चक, संघर्षपूर्ण, सफल र अरूलाई शिक्षा दिने खालको छ। चाहे त्यो एयर फ्रान्सको जागिर होस् वा त्यसैको जिएसए, अमेरिकी महिलासँगको विवाह र पछि अर्की गुम्बामा हुर्केकी महिलासँगको विवाह, अथवा रिसोर्टको निर्माण र बिक्री होस् वा फ्रान्सेली कम्पनीहरूको नेपालमा व्यवसाय प्रवद्र्धनका कुरा– सबै प्रसंगले एउटा न एउटा सन्देश बोकेका छन्। जागिरमा युरोपेलीको मन जित्ने गरी काम गर्ने श्याममोहनले व्यवसायमा एउटा उत्कृष्ट रिसोर्ट बनाएर आफ्नो कौशलता देखाएका छन्। उनका लोभलाग्दा उपलब्धिमध्ये एक हो, सन् २०१९ मा फ्रान्स सरकारबाट पाएको सम्मान। जुन फ्रान्सको उच्चतम विभूषणमध्ये एउटा हो।
उनले फ्रान्स घुम्ने क्रममा ५० वर्षपहिले नेपाली दूतावासमा तिरस्कार भोगेका थिए। ५० वर्षपछि मिराबेल रिसोर्ट बिक्री गर्ने क्रममा भेटेका सरकारी कर्मचारीबाट पाएको हन्डर, ठक्कर तथा सहरी केबलकार प्रवद्र्धन कार्यमा पाएको कानुनी हन्डरका प्रसंगले नेपालको प्रशासनको एउटा कुरूप चित्र प्रस्तुत गर्छ। व्यावसायिक जीवनमा उनले नेपाली राजनीतिज्ञसँग राम्रै प्रयत्न र सम्बन्ध राखेको देखिन्छ। उनीहरूसँगको सम्बन्धले आफ्नो विकासमा राम्रै सहयोग प्राप्त गरेको देखिन्छ। उनका जीवनमा आएका मुख्य मुख्य पात्रको चारित्रिक विशेषता र उनीसँगको सम्बन्धलाई छुट्टाछुट्टै अनुच्छेदमा राखेर पाठकलाई उनीहरूबारे मोटामोटी जान्ने अवसर दिएका छन्। संयोग भनौँ, श्रेष्ठले यहाँ उल्लेख गरेका अधिकांश पात्रसँग यस पंक्तिकारले पनि विभिन्न हैसियतमा काम गर्ने र उनीहरूबारे धेरथोर अनुभूति बटुलेको थियो। उनीहरूको प्रसंग पुस्तकमा पढ्न पाउँदा आफ्नो छुट्टै अनुभूतिले थप रोमाञ्चक तुल्यायो।
श्याममोहन श्रेष्ठ यात्रामा अत्यन्त सोखिन भएको कुरा त २२ वर्षकै उमेरमा ५० वर्षपहिले नै साहसिक यात्रामा निस्केर प्रमाणित गरिसकेका छन्। ५८ मुलुकमा सयौँ यात्रा गरेर नयाँ ठाउँ घुम्नु, त्यहाँको कला–संस्कृति र रहनसहनबारे जानकारी लिनु, साथी बनाउनु उनको सोख कला दुवै हो भन्ने थप पुष्टि उनले गरेका छन्। यात्राका क्रममा उनले भोगेका सामान चोरीका प्रसंगले कहिलेकाहीँ यात्रा गर्ने पाठकलाई राम्रै शिक्षा दिन्छ। यस लेखनमा उनी धेरै ठाउँमा इमानदार देखिन्छन्। चाहे विद्यालयमा तिरस्कृत भएको र आमाले कुचोले कुटेको कुरा होस्, वा स्विटजरल्यान्डको मेट्रो स्टेसनमा एक स्पेनिस केटीसँगको प्रसंग, अथवा अमेरिकी श्रीमतीले कपालमा रौँ उखेल्दिने गरी कुटेका कुरा।
केही खड्केका कुरा
व्यावसायिक सफलताका आफ्नो प्रसंगमा दुई नेपाली व्यावसायिक घरानासँग तुलना गरेर उनीहरूको नामै नकिटेको भए हुने थियो भन्ने मलाई लागिरह्यो। कतै त्यसलाई उनको लघुताभास वा घमण्डका रूपमा पाठकले नबुझून्। साथै, राजनीतिक नेता र विभिन्न विशिष्ट पाहुनासँग घुमघाम गरेका कुरा र कतिपयका हकमा अलि असुहाउँदिलो व्यक्तिगत टिप्पणीलाई कतिपय पाठकले आत्माभिलाषा ठान्न सक्न सक्छन् कि भन्ने मनमा खड्कियो। साथै, आफ्नो बूढानीलकण्ठको घर निर्माणको प्रसंग र पछि पनि स–साना अन्तरकुन्तर (सिँढी समेत) का फोटाहरू र आफ्नो विदेश यात्रामा कुन मुलुकमा कतिपटक भन्ने समेत उल्लेख गर्नु कति आवश्यक थियो भन्ने प्रश्न एक सामान्य पाठकको मनमा उठ्छ। त्यो मेरो मनमा पनि उठ्यो। भलै उनको वर्णनबाट मिराबेल रिसोर्ट एउटा विशेष रुचि, कला र शिल्पीमा बनाएको भवन हो भन्ने प्रतीत हुन्छ। दार्शनिक रूपमा बुझ्दा संसारका सबै प्राप्ति क्षणिक हुन् र एक दिन सबै प्रिय सिर्जना वा प्राप्ति छाडेरै जाने हो, तर अमेरिकी महिलासँगको वैवाहिक जीवनको विछोड, धेरै मेहतन गरेर बनाएको बूढानीलकण्ठको घर र मिराबेल रिसोर्ट दुवैको बाध्यात्मक बिक्री श्याममोहन श्रेष्ठका जीवनका तीन असामयिक वियोगान्त घटना हुन्।
समग्रमा पुस्तक एकदम उपयोगी र शिक्षाप्रद छ। एक सफल नेपालीको जीवनगाथाले निराशा र पलायनको बाटो रोज्दै गरेको युवालाई यस माटोमा केही गर्न सकिन्छ र गर्नुपर्छ भन्ने आशा र उत्पेरणा सञ्चार गर्न सक्यो भने नेपाली समाजलाई यस पुस्तकले ठूलो गुन लगाएको हुनेछ। यस पुस्तकको सबैभन्दा सशक्त पक्ष ५० वर्ष पुराना कुरा पनि एकदमै विस्तृत रूपमा तिथि, मिति, समय र स्थानसहित उल्लेख गर्न सक्नु हो, जुन आश्चर्यकै कुरा हो। लेखक श्याममोहन श्रेष्ठको सुखमय जीवनको कामना गर्दछु।
प्रकाशित: २५ वैशाख २०७८ ०३:३८ शनिबार