तीन दशकभन्दा लामो समयदेखि आर्थिक पत्रकारिता, पुस्तक तथा पत्रिका सम्पादनमा सक्रिय आरपी भट्टराईको पहिलो साहित्यिक कृतिका रूपमा नियात्रा संग्रह ‘मेरो लस एन्जलस यात्रा’ प्रकाशित भएको छ। अमेरिकाको लस एन्जलस, लस भेगस, युसिएलए र अन्य सहरमा झन्डै एक वर्षसम्म बस्दाका अनुभव तथा विभिन्न रमाइला घटना समेटिएको यस कृतिको अंग्रेजी अनुवाद ‘माइ जर्नी टु लस एन्जलस’ पनि सार्वजनिक भएको छ। यसको अंग्रेजी अनुवाद डा. शिवराज भट्टराईले गरेका हुन्।
आफ्ना छोरीज्वार्इं भेट्न र श्रीमतीको उपचारका लागि लेखक दुईपटक अमेरिका पुग्छन्। त्यही भ्रमणको सिलसिलामा अमेरिका यात्रामा देखिएका, भोगेका अनेकौं चाखिला घटना, परिस्थिति, व्यक्ति र प्रचलनलाई लेखकले विभिन्न शीर्षकमा प्रस्तुत गरेका छन्।
नेपालका अनेकौं प्रचलन र घटनासँग तुलना समेत गर्दै लेखकले रोचक शैलीमा यात्रा संस्मरण प्रस्तुत गर्नुभएको छ। त्यहाँका अस्पतालको व्यवस्थापनको चुस्तता, स्कुल बसहरूको सहजीकरण, वैवाहिक जीवनमा देखिएका सम्बन्ध विच्छेद, सौतेनी बाबाको प्रचलन जस्ता अनेक प्रचलन हाम्रो समाजमा अनौठो मानिन्छ। त्यस्ता १८ वटा रोचक विषय पुस्तकमा समेटिएको छ।
मञ्जरी प्रकाशनले बजारमा ल्याएको यस पुस्तकमा हाम्रो समाज हेरी छक्क लाग्ने, अचम्म पार्ने कुरा पनि आउँछन्, जसलाई पढ्दा धर्म र संस्कृतिको नाममा हामी अलि पुरानो सोचविचारका रहेछौँ भन्ने लाग्छ। त्यस्तै त्यहाँका विभिन्न संस्कृतिलाई लेखकले आफ्नै देशका चाडपर्वसँग तुलना गर्दा रमाइलो लाग्छ। आफ्नो आँगनमा फलेका फलफूल त्यहाँ नखाने चलन रहेछ, घरको सौन्दर्य बढाउन मात्र रोपेको भनेको सुन्दा लेखक आश्चर्यमा परेका छन्।
पेज ३३ को समुद्रतिरको यात्रा पढ्दा मलाई क्याटलिना टापुले अचानक तान्यो। कसरी भने, त्यही दिन जन्मदिन परेका पर्यटकलाई त्यहाँ फ्री टिकट दिइँदो रहेछ। त्यो पनि पर्यटकलाई आफ्ना देशमा तान्ने ठूलो मन्त्र हो जस्तो लाग्यो। हाम्रो देशमा पनि धेरै पर्यटकीय स्थल छन्, तर त्यस्तो सिस्टम छैन।
लस एन्जसलसको हनिङटन बिचबाहिर समलिंगीका लागि त्यहाँको सरकारले आलिसान अपार्टमेन्ट बनाइदिएको रहेछ। यो पढ्दा ‘कठै मेरो देशमा समलिंगीले अझसम्म सहज तबरले नागरिकता बनाउन सकेका छैनन्’ भन्ने लाग्छ।
लेखककी श्रीमतीलाई लुपस बिमारीका कारण लामो समयसम्म हस्पिटल बसाइ हुन्छ। त्यस बेलाका भोगाइ, एक्लै घरदेखि हस्पिटल गर्नुपर्ने बाध्यता, दिनभरि बिरामीको छेउमा बसिरहने घटना पढ्दा आँखा रसाएको पत्तो हुँदैन। बिरामी भेट्न हस्पिटल नआउने त्यहाँको चलन सुनेर अचम्म लाग्यो। सबै बिरामीको सम्पूर्ण व्यवस्था हस्पिटलकै जिम्मा, कस्तो अचम्म ! नेपालमा स्वास्थ्य क्षेत्रमा यस्तो हुने कहिले होला ?
पाँचतारे होटलहरू, त्यहाँ सबैभन्दा माथिको तलामा क्यासिनो र एकदमै सम्भ्रान्त देहव्यापार स्थल समेत हुनु पनि देशको राजस्व संकलनको एउटा प्रमुख पाटो रहेछ। संकीर्ण सोच नभएका अमेरिकीहरू साथीसाथी मिलेर घुम्न जाने, विवाहित पुरुष अरूकै श्रीमतीसँग घुम्ने, आफ्नो श्रीमान् अल्छी भएका कारण छिमेकी अरूकै श्रीमानसँग मर्निङवाक जाने गर्दा रहेछन्। हाम्रो मुलुकमा आजसम्म यस्ता कुरा समाजले पचाउन सकेको छैन। १८ वर्ष पुगेपछि छोराछोरीले आफैँ काम गरेर खान पाउने, आमाबुबाको आसमा बस्नुनपर्ने– अमेरिकी सरकारको नीतिनियम राम्रो लाग्यो। आफ्ना छोराछोरी स्वावलम्बी बनेको कुन आमाबुबालाई राम्रो लाग्दैन ?
अमेरिका जानु आज जो कसैलाई ठूलो कुरा रहेन, तर जानेहरू सबैको पुस्तक आउँछ त ? यसरी आफूले देखेभोगेका कुरा पुस्तकमा पस्कन सक्नु ठूलो कुरा हो। पुस्तकमा अमेरिकाको यात्रामा देखेका, भोगेका, अनेकौँ रमाइला घटना, व्यक्ति, ठाउँ र परिस्थितिलाई लेखकले सहज र रोचक शैलीमा प्रस्तुत गरेका छन्।
प्रकाशित: २५ वैशाख २०७८ ०३:१३ शनिबार