कपिल लामिछने
आमाको पिरलो
हजारको नोट र कोसेलीको पोको पाउमा राखिदिँदै नितेशले आमालाई ढोग्यो ।
“बाबू नितेश, सन्चै छस् ? अनि बुहारी नि ? यति वर्षपछि बल्ल सम्झिछस् त! छोराको टाउको मुसार्दै आमाले भनिन् ।
नितेशले भन्यो, “सन्चै छु आमा । बुहारी हजुरको सम्झना गरिरहन्छे । एक्लै मनै लागेन भन्छे । त्यसैले लिन आ’को । एक हप्तामै अमेरिका उड्ने हो ।”
उनले भनिन्, “म यहीँ ठिक छु बाबु ,आउँदाआउँदै कस्तो जाने कुरा गरेको ?”
ऊ बिस्तारै कड्क्यो, “म लिन आएको हुँ । लेनदेन भए मिलाइहाल्नुस् । उतै जाने हो ।”
भोलिपल्ट थरीथरीका मान्छेले घरको चक्कर काटेको देखेर उनले भनिन्, “यी किन आउँछन् ? किन घुमीघुमी हेर्छन् मेरो घर, बारी, खेत !”
उसले भन्यो, “अब हामी सबै उतै सँगै बस्ने भएपछि यो घर कसले हेर्छ ? त्यसैले ग्राहक लगा’को । हजुरले नाइँनास्ति गर्नुभएन । सहीछाप लाइदिए मात्र पुग्छ।”
उनले जरुरी सामानको कुटुरो पारिन् । घर, बारी, खेतलाई आँखाले सुमसुम्याइन्।
एयरपोर्ट पुगेर आमालाई बाहिर बेन्चमा बसाउँदै उसले भन्यो, “हजुर यहीँ बस्नुस् । म भित्र गएर सामान जचाउँछु, बोर्डिङ पास लिन्छु । कतै नजानु होला।”
ऊ भित्र पस्यो।
उनले पटकपटक छोरो गएतिर हेरिन्, तर छोरो आएन । आँखा टट्टाए ।
“टिकट नपाएर पो हो कि ?” उनी सोचिरहिन् । समयले नेटो काट्यो, तर उनले छोराले बसालेको बेन्च छाडिनन् । शौचले अत्याउँदा पनि उनी त्यहीँ बसिरहिन् ।
“आमै, एक्लै किन यति बेरसम्म ?” एयरपोर्टको एक कर्मचारीले सोध्यो।
उनले यथार्थ बताइन् ।
कर्मचारीले अमेरिका जाने यात्रुको सूची हेरयो र भन्यो, “तपाईंको छोरा नितेश हो ? ऊ त चार घन्टा अगाडि नै उडिसक्यो ।”
उनी ढलिन् । कर्मचारीले पानी छम्केर उठायो र हिँड्यो।
भोलिपल्ट ऊ आउँदा उनी त्यही बेन्चमा देखेर उसले भन्यो, “तपाईं अझै यहीँ हुनुहुन्छ ? जानुस्!”
उनले भनिन्, “छोरो आएर खोज्ला कि बाबु!”
सहिदकी आमा
सहिद पार्कमा हिजोअस्तिदेखि नै आउजाउ केही बढेको थियो। सरसफाइ पनि गरिएको थियो। सालिकलाई धोइपखाली रङरोगन गरी चिरिच्यााट्ट पारिएको थियो । फूलका गमलाहरू बाहिरबाट ल्याएर ठाउँठाउँमा सजाएका थिए।
पार्कको गेटबाहिर एक छेउबाट एउटी बूढीले चुपचाप त्यो हेरिरहिन्।
आज बिहानैदेखि भने थरीथरीका मान्छे आउने–जाने क्रम अकस्मात् बढ्यो। एक ट्रक प्रहरी झरे र पार्कलाई घेरा हाले । सालिकको अगाडि ससानो मञ्च बन्यो । ध्वजापताका र फूलमालाले मञ्च सजाइयो।
बूढीले बाहिरबाटै मञ्चतिर चनाखो भएर हेरिरहिन् । भित्र पस्ने कुनै चेष्टा पनि गरिनन्।
ह्वाइँइँ – ह्वाइँइँ गर्दै प्रहरीका गाडीहरू भित्र पसे । टाटेपाटे लुगा लगाएका सशस्त्र प्रहरी र सेनाका गाडीहरू पनि छिरे। केही गाडीहरू फिरिरिरी झन्डा हल्लाउँदै पार्कभित्र पसे। मञ्च र वरिपरि सय डेढ सय मानिसहरूको लर्को लाग्यो।
दौरासुरवाल र कोटमा ठाँटिएको एउटा मानिस सालिकतिर बढ्यो । अर्को मान्छेले सजिएको किस्तीमा फूलको माला टका¥यो । उसले यस्सो खुट्टा उचालेर कर्धकदको सालिकको गलामा माला छिरायो। अबिर छरयो र हात जोड्यो। त्यसपछि अरूले पनि एकएक थुँगा सालिकमा हुत्याए।
अनि सुरु भयो भाषण। हामीले आफ्नो ज्यान हत्केलामा राखेर लडेका सहिदका सपना साकार पार्नुपर्छ, देश बनाउनुपर्छ, सहिदका परिवारको उच्च सम्मान गर्नुपर्छ । ... भाषणको सार यस्तैयस्तै थियो।
त्यसपछि जलपानको क्रम चल्यो। एक घन्टा भाषण चल्यो। दुई घन्टा जलपान।
अनि उसैगरी गाडीहरू हुइँक्किएर बाहिरिए, जसरी भित्रिएका थिए। पार्क उसैगरी सुनसान भयो, जसरी तीन सय चौसठ्ठी दिन सुनसान थियो।
अन्तमा पार्कको गेटमा ताला ठोकेर खल्तीमा चाबी हुल्दै एउटा मान्छे ड्युटी सकिएको मुद्रामा बाटो लाग्न थाल्यो।
बूढीले त्यसलाई रोक्दै भनिन्, “बाबु ,अघिदेखि भित्र के भैरा‘थ्यो ?”
“सहिद दिवस मना’को नि । आज माघ १६ के ! मन्त्रीज्यू पाल्नुभाथ्यो । भाषण सुनिनौ कि कसो ? सहिदको, सहिद परिवारको उच्च सम्मान हुनुपर्छ रे!”
“के रे बाबु ?”
“सहिद र सहिद परिवारको उच्च सम्मान हुनुपर्छ रे क्या!”
“बाबु, भित्र जुन सालिक छ नि! हो म उसैकी आमा हुँ । खै मलाई त कसैले वास्तै गरेन ।”
“हो र आमा अनि यहाँ किन बस्नुभएको त ?”
“छोराको मयाले नि बाबु! सालिकै भए पनि छोरालाई देख्दा भित्र कताकता सन्तोष हुँदो र’छ ।” उनले छातीमा हात राख्दै भनिन् ।
३) आमा
सडक। सडकका छेउमा चहुर। सडक र चहुरका बीचमा सालिक । सालिकका वरिपरि टुटेफुटेका गमला र क्रोनिक फोहोर । सालिकका गलामा सुकेको माला । चिसो सिरेटोले बेलाबेलामा झुत्रिएको माला हल्लिँदा सालिकले सास फेरेको हो कि भनी भ्रम पर्ने।म त्यस्तो भ्रम पन्छाउँदै सडकको पेटीमा ठिङ्ग उभिएँ । हावाको थप्पडले मलाई पनि हान्यो। गलबन्दी तानेर कान छोपेँ । हात जाकेटको खल्तीमा घुसारेँ। एक मन बेक्कार मर्निङ वाकमा आएजस्तो भयो । अरू फुटपाथेहरू पनि मजस्तै कक्रक्क परेका थिए ।
फुटपाथमा दुईजना सँगै हिँड्दै थिए । ‘मैले बना‘को सालिक !’ एकजनाले भन्यो । उसले मैलो लुगा लगाएको थियो।
एउटा चिल्लो गाडीमा एसीवाल हुइँकिँदै थियो, सालिकतिर पुलुक्क हेर्दै । सायद ऊ भन्दै थियो, ‘मैले बना‘को सहिद !’
म चिया खाएर चिसो भगाउने निरर्थक यत्न गर्न थालेँ । मेरा आँखा सालिकतिरै थिए।
उताबाट एउटी बूढी दाउरो टेकेर टुकटुक गर्दै आइन् । दाउराको भर गरी ढाड सोझो पारिन् । फेरि हिँडिन् । अनि फेरि त्यही दाउराको भर गरी ढाड सोझ्याइन् । उनका आँखा सालिकतिर थिए, मात्र सालिकतिर । म चिया निथार्दै थिएँ । उनी सालिकको सामुन्ने पुगिन् । म हेरिरहेँ । उनले सालिकलाई पुलुक्क हेरिन् । तुरुक्क आँसु झारिन् । दाउराको भर पर्दै सालिकको अखेटोमा उक्लिन् र आफूले ओढेको पछ्यौरा हुत्याएर सालिकलाई ओढाइन् । म चकित परेँ । पछ्यौरा मिलाइदिइन् । उनी जाडोले कुक्रुक्क परिन् । अनि फेरि त्यही बाटो तताइन्, जताबाट उनी आएकी थिइन्।
“ए आमै!”
मैले उनलाई रोकेर केही जान्न खोजेँ, तर तिनी पछाडि नफर्की लोरयाङतोयारङ गर्दै गइन्।
मैले त्यही चियावालालाई सोधेँ, “को हुन् ती ? तिमीलाई केही थाहा छ कि ?”
उसले चिया छान्दै भन्यो, “आ छाड्नुस् । बौलाही हो । बेलाबेलामा कुन्नि कताबाट आइपुग्छे र मेरो छोरा भन्दै टपरीमा भातसात राखेर जान्छे । कहिलेकाहीँ फलफूल चढाएर जान्छे । छोरालाई भोक लाग्यो रे ! कहिले त लुगा ओढाएर जान्छे । छोरालाई जाडो भो रे! ... आ, त्यस्ता बौलाहीका कुरा पनि के गर्नु ?”
ऊ उसैगरी चिया फेट्न थाल्यो।
( कपिले लामिछानेको ‘विस्थापन’ लघुकथा सङ्ग्रमा सङ्गृहीत लघुकथा !)
प्रकाशित: २५ वैशाख २०७८ ०१:२१ शनिबार