मीरा प्रसाईं
नन्दा व्रतको अनुष्ठान राखेर
ॐ नमः शिवायको अखण्ड जाप गरेपछि नै हो
मैले तिमीलाई
– मेरो भन्न पाएको ।
हरेक दिन
प्रेमको समर्पणको,
त्यागको तपस्याको
वेलपत्र चढाएर प्रार्थना गरें,
आराधना गरें
तिम्रो खुसीका लागि दिर्घायुका लागि,
सफलताका लागि र अविरल प्रेमका लागि।
खोई किन हो ?
कस्तो वैराग्य पलायो तिम्रो मनमा,
मेरा निम्ति
तिम्रो प्रेम अनुराग कसैगरी जाग्न सकेन
तिम्रो मेरो सम्बन्ध अनुरागमय हुनै सकेन।
तिमीले वैराग्य धारण गरेपछि
समाधिमा लिन तिमीलाई
अनुरागमय बनाउन
म कहिले रति भएँ
कहिले कामदेव भएँ।
गल्ती भयो कि कतै ?
आफैंलाई नियालें
आफैंलाई कोसें
क्षमा मागेँ
प्रार्थना गरेँ
भाकल गरेँ
तैपनि,
तिमीले मलाई सतीझैं देखेनौ
तिमीले मलाई पर्वतीझैं देखेनौ।
तिम्रै सतीत्वमा रहेर पनि
तिम्रा लागि म
तिम्रो शरीरमा
श्वास जस्तो बन्न सकिन
तिम्रो विचारमा म
भाव र कृया जस्तो बन्न सकिन।
नारदले भनेका
‘आजकाल तिमी
रामझैं सीता वियोगमा छटपटिदै छौ रे
शिवझैं सती वियोगमा तड्पिदै छौ रे।’
यदि तिमी कविताको पाठक हौ भने,
यति भन्न चाहन्छु ,
– म सती बन्न सक्थेँ
पार्वती वा सीता बन्न सक्थें।
तर !
तिमी शिव वा राम
कुनै एक पनि बन्न सकेनौ ।
प्रकाशित: २२ वैशाख २०७८ ०९:०४ बुधबार