१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
कला

मन्त्रको बास्ना र झन्डाहरूको आकर्षण

नियात्रा

भीष्म उप्रेती

 

बिहानै ६ बजे पुग्यौँ एयरपोर्ट ब्याकप्याकमा लुगा र यात्रामा चाहिने अन्य सामग्री बोकेझैं मनभरि आशा र आशङ््का दुवै बोकेर । हवाईजहाजमा जाने सम्भावना हिजै समाप्त भएको थियो । त्यसैले एयरपोर्टमा आन्तरिक टर्मिनल भवनभित्रै रहेको सिम्रिक एयरलाइन्सको हेलिकप्टर सेवाको कार्यालयमा गयौँ  । हामी पुग्दा हिजो हामीसँगै हेलिकप्टरमा बसेर पनि लुक्लातर्फ  उड्न नपाएका फ्रान्सेलीहरू आइसकेका थिए । हामीले उनीहरूसँग भलाकुसारी गरयौँ ।

“आज त जान पाइन्छ कि !” भर्भराउँदी  पातली गोरी फू्लजस्ती  फ्रान्सेली सुन्दरीले भनी ।  

“आशा गरौँ ।” मैले यति मात्र भनेँ र उसको मुस्कानको जवाफमा थोरै मुस्कुराएँ।  

मेरा आँखामा जस्तै उनीहरूका आँखामा पनि अथाह उत्सुकता साथै केही आशङ्का पनि देखिन्थ्यो प्रष्टसँग । हिजो दिनभरिको जस्तो पट्यारलाग्दो पर्खाइ हामी नेपाली आन्तरिक हवाइयात्रुका लागि सामान्य भए तापनि त्यसले दिएको अत्यास तथा दिक्दारी असामान्य थियो । यस्तो तीतो र कोक्याउने अनुभूतिले वाक्क भएका उनीहरू आज पनि केही डराएकाझैं  लाग्थे । तैपनि हेलि सेवाको कर्मचारीले हाम्रो ब्याग तौल गरे, ट्याग लगाए र अलग्गै राखे । हामीलाई पनि नयाँ बोर्डिङ पास दिए । हातमा बोर्डिङ पास मात्र पर्दा पनि मन रमाएको अनुभूति गरेँ । बिस्तारै प्रेमपूर्वक छामेँ त्यसलाई । हामीलाई त्यहाँबाट एउटा जीपमा राखेर हिजोकै हेलिप्याडमा पुरयाइयो । हिजो साँझ हामीले छोडेका हेलिकप्टरहरू अहिले पनि त्यहीँ थिए । मौसम पनि उज्यालो थियो, घाम लागिहाल्ला जस्तो ।  

एउटा हेलिकप्टरमा पाँचजना मात्र बस्न सकिने थियो । हामी ४ जना थियौँ । हिजो २ वटा हेलिकप्टरमा टोली मिलाउन मलाई ४ जना फ्रान्सेली पर्यटकसँग राखिएको थियो । त्यो टोलीमा आज परिवर्तन हुन्छ होला भनेको त त्यसो गरिएन । आज पनि रविजी, कोलेट र कोने अर्कै हेलिकप्टरमा जाने र म तिनै फ्रान्सेली युवायुवतीको टोलीमा रहेर उड्नुपर्ने भयो । तर, नउडुन्जेलसम्म भने हामी सबै एउटा परिवारका सदस्यजस्ता भयौँ ।  

“तिमीहरू उड्यौ ?” इन्दुजीले टेलिफोन गरेर सोधिन् ।

“छैन ।” भनेँ ।

“मौसम त सपैm छ, उडाउँछ होला ।” भनिन् ।

“उड्ने बेलामा खबर गर्छु नि ।” भनेँ ।

पाइलट आए र हेलिकप्टरमा बसे । पहाडमा भुइँकुहिरो फुर्र उडेजसरी मनभरि आशाको सञ्चार भयो । हामी हेलिकप्टरको नजिक गयौँ ।

“अलि टाढै बस्नुस् है एकछिन ।” हेलिकप्टर सेवाका एकजना कर्मचारीले भने ।  

हामी पछि स¥यौँ । हेलिकप्टरको पङ्खा घुम्यो । त्यसपछि हेलिकप्टरले जमिन छोड्यो र चराजसरी माथिमाथि उड्दै उत्तर दिशातिर लाग्यो । त्यहाँ भएका हामी सबैका आँखा मानौँ हेलिकप्टरमा टाँसिएका थिए । हाम्रा आँखा पनि उतै गए हेलिकप्टरसँगै । निराश भएर हामीले हेरयौँ त्यहाँ रहेका हेलिकप्टर कम्पनीका कर्मचारीसँग ।

“लुक्लाबाट एयरपोर्ट खुलेको जानकारी नआएकाले लाङटाङ, रसुवामा रहेका पर्यटक लिन गएको । आधा घन्टामा फर्किहाल्छ । त्यसपछि तपाईहरूलाई उडाउँछ ।” उनले भने ।

उनको त्यति भनाइले मात्र पनि थकाइ लागेको बेला टेक्ने लौरो भेट्टाएजस्तो भरथेग भयो । हामी उनीसँगै हेलिप्याडको पूर्वतिर रहेको नेपाली सेनाको सानो क्यान्टिनमा गयौँ चिया पिउन ।

एक घन्टाभन्दा केही बढी समय हामीले त्यहाँ बितायौँ । समय पनि कति निष्ठुरी हुन्छ भने  आफूलाई  प्रिय लागेको बेलामा भने छिटोछिटो कुदेर गइहाल्छ । तर जीवनमा कहिल्यै पनि आउँदै नआओस् भनेको समय भने बारम्बार जिस्काउँदै आइरहन्छ र फेरि गइहाल्न पनि कति धेरै अल्छी मान्छ । हामी हिजो दिनभरिजस्तै अल्छी र पट्यारलाग्दो समय भोग्न बाध्य भइरहेका थियौँ । कोही ल्यापटपमा इन्टरनेट डाटा चलाएर समय बिताउन चाहन्थे भने कोहीले एकछिन तास खेलिहेरे । कोही त सोफामै सुते पनि । तर जति गरे पनि समय बितेर जान माने पो !

दिक्क भएपछि हामी फेरि हेलिप्याडतिर फर्कियौँ । पर्खनुभन्दा पट्यारलाग्दो काम अर्को हुँदैन, यो मेरो अनुभव हो । तर निरुपाय भएपछि अनिश्चय बीचमै पनि पर्खनुबाहेक अर्को काम पनि हुँदैन । योचाहिँ अहिले भोगिरहेको अवस्था हो ।

हेलिकप्टर आइपुग्यो । हाम्रा आँखा, ध्यान र कामना सबै हेलिकप्टरतिरै दौडिए । हामी पनि बिस्तारै त्यतै लाग्यौँ ।

कुर्दाकुर्दा बल्लबल्ल ९ बजे उड्ने भयो एउटा हेलिकप्टर । अर्को हेलिकप्टर आएकै थिएन रसुवाबाट । हेलिकप्टरमा चारजना फ्रान्सेलीहरूसँगै मलाई पनि बस्न भन्यो कर्मचारीले । मैले रविजीतिर हेरेँ किनभने टोली छुट्टिएर मचाहिँ उडिहालेँ र पछि अर्को हेलिकप्टर आएन भने के गर्ने होला भन्ने डर भयो मलाई । रविजीले सायद यो कुरा बुभ्mनुभयो । “जानोस् जानोस्, केही हुन्न । हामी जसरी भए पनि आउँछौँ । अब एकैछिनमा लुक्लामै भेटौँला । भोला भान्जा पनि लुक्लामै छन् हामीलाई पर्खिरहेका ।” रविजीले भन्नुभयो । म आज्ञाकारी भएर हेलिकप्टरमा गएर बसेँ झ्यालछेउको सिटमा।

हेलिकप्टरले उडायो मलाई । यो मेरो जीवनको पहिलो हेलिकप्टर यात्रा हो।  

जमिन छोडेर अलिकति माथि पुगेपछि मैले तल हेरेँ । कोलेट र कोनेले हात हल्लाएर मलाई विदा गरे । सम्भेmँ, यिनीहरूले मेरो विदा गरे, अब म यिनीहरूलाई स्वागत गर्नेछु लुक्लामा ।

कार्तिक ५ गते लुक्ला विमानस्थलमा हेलिकप्टरबाट ओर्लेर ब्याकप्याक बोकेको बेलामा संसार जितेजस्तो अनुभूतिले भरिएँ टम्म । हिजो दिउँसोभरि काठमाडौँ एयरपोर्टमा भोगिएको तनाव, अनिश्चय र दिक्कारीको फेहरिस्त लामो छ । २ हजार ८ सय ६० मिटरको उचाइमा रहेको लुक्लामा सकुशल ओर्लिएपछि मैले इन्दुलाई फोन गरेँ घरमा – “म लुक्ला आइपुगेँ । कोलेटहरू अर्को हेलिकप्टरमा आउँछन्, अहिले आइपुगेका छैनन् । उनीहरू आएपछि खाना खाएर हामी उकालो लाग्छौँ ।” 

लुक्लामा धेरै चिसो थियो काठमाडौँको तुलनामा । त्यसैले पन्जा र टोपी लगाइहालेँ । लुक्लाले अलिअलि चिनेको जस्तो गरेर हेर्यो । मैले केही भनिनँ तर मुस्कुराएँ । एयरपोर्ट र त्यसको आसपासमा निकै चहलपहल थियो । हवाईजहाज आउन थालेपछि लुक्लामा चहलपहल बढिहाल्छ । म एयरपोर्टबाट बाहिर निस्केर त्यसकै उत्तरतिर रहेको लुक्ला बजारतिर लागेँ ।  

मलाई लुक्लामा पनि समय बिताउनु थियो बाँकी साथीहरूलाई पर्खेर । उनीहरू चढेको हेलिकप्टर कतिबेला आइपुग्छ केही थाहा थिएन । हामीले खाना खाने होटेल कुन हो भन्ने पनि मलाई थाहा थिएन । तर, मौसम सफा रहेको र केही जहाजहरू पनि आइपुगेकाले धेरैबेर पर्खेर बस्नुपर्लाजस्तो लागेन ।  

यो मेरो लुक्लाको दोस्रो भ्रमण हो । ३ वर्षअघि मैले काम गर्ने संस्था नेपाल राष्ट्र बैंकको सुपरिवेक्षण सम्बन्धी काम लिएर नेपाल इन्भेस्टमेन्ट बैंकको लुक्ला शाखामा आएको थिएँ । त्यसैले यहाँको भौगोलिक, मौसमका साथै बजारको अवस्थितिका बारेमा पनि जानकार थिएँ । म ब्यागप्याक बोकेर  सोझै  इन्भेस्टमेन्ट बैंकतिर गएँ । बैंकका सुरक्षा गार्ड अघिल्लो पटक म आउँदाकै दाइ हुनुहुँदो रहेछ । मलाई चिनिहाल्नुभयो । नयाँ ठाउँमा चिनेको मान्छे भेट हुँदा निकै सहज अनुभव हुन्छ ।  

बैंकमा शाखा प्रबन्धक गणेश लामाजीलाई भेटेँ । म आउँदै छु भनेर इन्भेस्टमेन्ट बैंकमा कार्यरत मेरा साथी रविन सिजापतिले खबर गरिसक्नुभएको रहेछ । गणेशजीलाई भेटेपछि मैले रुकस्याकलाई बिसाएँ । काउन्टर र सोधपुछको बीचमा भित्तामा जोडेर खालि ठाउँमा राखेको बेन्चीमा बसेँ । भर्खर मात्र बैंक खुलेकाले होला, त्यति भीडभाड थिएन । त्यसो त तिहारजस्तो ठूलो चाड सकिएको आज २ दिन मात्रै भएको थियो । यसले पनि बैंकमा भीड नभएको हुन सक्छ ।  

तातो कफी आइपुग्यो । चिसो वातावरणमा तातो कफी पिएपछि न्यानो अनुभूति भयो । मैले विनम्रतापूर्वक म्यानेजर साहेबलाई धन्यवाद दिएँ । उहाँ अलिअलि लजाउनुभएको देखेँ । उहाँसँग यस मौसममा पर्यटकको आगमनको अवस्था, लुक्लाको व्यावसायिक चहलपहलको अवस्था तथा उहाँको आफ्नै लुक्ला बसाइको अवस्थाबारे छोटो कुराकानी गरेँ । त्यस शाखामा माथि नाम्चेकी एउटी शेर्पिनी बहिनी काम गर्थिन् । अघिल्लो पटक आउँदा म र मेरा सहकर्मी साथी नाम्चेमा तिनै बहिनीको होटेलमा वास बसेका थियौँ । त्यसबेला यस बैंकका म्यानेजरले शेर्पाहरू बैंकमा काम गर्न आउनु नै ठूलो कुरा हो भन्थे । थोरै तलबमा दिनभरि काम गर्नुभन्दा होटेल वा पर्यटकका लागि आवश्यक विभिन्न सामान बेच्ने पसलहरू चलाउँदा धेरै मुनाफा हुन्छ भनेर शेर्पा परिवारबाट जागिर खान नचाहने गरेको कुरा सुनेको थिएँ । त्यसैले उनी अभैm बैंकमा कार्यरत छिन् कि जागिर छोडिन् भन्ने उत्सुकता मेरो मनमा जागेको थियो । उनी अहिले अर्को बैंकको नाम्चेमै खोलेको नयाँ शाखामा काम गर्दिरहिछिन् । उनलाई घरमा बसेर जागिर खान पाउने सुविधा प्राप्त भएकोमा खुशी लाग्यो ।

भोलाजी लुक्लामै हामीलाई पर्खिरहनुभएको होला । उहाँलाई खोजेर चिनाजानी गर्दै गर्ने हो कि भन्ने पनि सोचेँ । तर यति धेरै रेस्टुरेन्ट भएको ठाउँमा कहाँ गएर उहाँलाई खोज्ने होला ? उहाँको मोबाइल नम्बर पनि थिएन मसँग । त्यसैले एकछिनमा रविजी आउनुभएपछि नै भोलाजीलाई भेट्न सजिलो होला भन्ने लाग्यो र चूप लागेर बसेँ ।

यसपछि धेरैबेर बैंकमा म्यानेजरलाई अलमल्याएर राख्नु ठिक लागेन । रुकस्याकलाई त्यहीँ छोडेर म बजार र अलि तलको गाउँ घुम्न निस्किएँ।

गाउँको बीचमा ठिङ्ग उभिएर एउटा गुम्बा मन्त्र पढिरहेको थियो । मन्त्रको बास्ना तथा मन्त्रअङ्कित झन्डाहरूको आकर्षण गाउँभरि पैmलँदो रहेछ । मलाई जहिले पनि फर्पmराइरहेका मन्त्रलिखित झन्डा र रङ्गीन लुङ्ता देख्दा अर्कै आनन्द र रहस्यको संसारमा पसेजस्तो अनुभूति हुन्छ । त्यसैले गुम्बालाई परिक्रमा गरेर माथि हिमालको काखैसम्म सकुशल पुगेर आउने प्रार्थना पनि गर्नु थियो । झरेँ गाउँतिर ओरालो ।

गुम्बालाई परिक्रमा गरेँ । मन हलुका भयो ।  

गुम्बाको ठूलो परिसरको एक छेउमा चार, पाँचवटी सानी नानीहरू भाँडाकुटी खेल्दै थिए । बालिका थिए उनीहरू, त्यसैले भाँडाकुटी खेलेका होलान् । बालक हुँदा हुन् त खेल्ने विषय पनि अर्कै हुन्थे होला । समाजको परम्पराले बनाएको महिला र पुरुषको कामको विभेद यति सानो उमेरमा खेल खेल्दादेखि नै प्रस्ट देखिन थाल्छ । यस विभेदलाई मेटाउन र बराबरी गर्न गर्भमा प्राण आएकै दिनदेखि काम गर्नुपर्छ भन्ने  बुझे।

“ए नानी, के पका’को ?” सोधेँ । केही पकाएझैं गरिरहेकी ऊ लजाई र रातो भई ।

“भर्खर पकाउन लागेको खाना ।” अर्की नानीले भनी ।

“ए, कस्तो भोक लागेको छ । छिटो पकाऊ है, दस मिनेटपछि खान आउँछु ।” फेरि भनेँ ।

ऊ हाँसी ।  

सबै ठाउँका बालबालिकाको हाँसो उस्तै लाग्छ निश्छल, पवित्र । खेल्ने किसिम पनि उस्तै हुने रहेछ । मैले झापामा मेरो आफ्नो गाउँका बालबालिकाले पनि यसरी नै भाँडाकुटी खेलेको  धेरै पटक देखेको छु भने काठमाडौँका बालबालिकाले पनि यसरी नै यही खेल खेलेको देखेको छु ।  

तिनीहरू चारजना थिए । तीमध्ये दुइटी अझैं   साना थिए । मेरो गोजीमा दुइटा चकलेट रहेछन् । सानी दुइटीलाई दिएँ । मैले उनीहरूलाई हार मिलाएर उभ्याएँ र एउटा फोटो खिचेँ ।

म लुक्ला आइपुगेको झन्डै १ घन्टा हुन लाग्योे । यति नै समयको फरकमा अर्को हेलिकप्टर पनि आइपुग्यो । हेलिकप्टर बसेको देखेपछि म फर्केँ बैंकतिरै । रविजीहरू आएपछि लुक्लामा भोलाजीलाई भेट्ने, खाना खाने, कोलेट र कोनेको लागि व्यवस्था गरेको भरिया कम पथ प्रदर्शकलाई भेट्ने र सामान मिलाएर नाम्चेतिर उकालो लाग्यो कार्यक्रम थियो हाम्रो ।  

रविजीको फोन आयो । उहाँहरू बैंकसँगैको प्याराडाइज होटेलमा पुगिसक्नुभएको रहेछ । म इन्भेस्टमेन्ट बैंकमा गएर गणेशजीसँग विदा मागेर त्यही होटेलमा गएँ ।  

होटेल विदेशी र नेपाली पर्यटकले पूरै भरिएको थियो । सबैका आँखामा अनौठो उत्सुकता थियो, सबैको अनुहारमा उत्साहको उज्यालो खुलेको देखिन्थ्यो । सबैजना हिमालसँग कुम जोडेर उभिन र साउती मार्न तयार भएका देखिन्थे । ढोकाबाट भित्र पस्नेबित्तिकै रविजीले बोलाउनुभयो । उहाँहरूले मेरा लागि एउटा कुर्सी राखिदिनुभएको रहेछ ।

होटेलकी दिदी आइपुगिन् र हात जोडेर विनम्रतापूर्वक स्वागत गरिन् । अधबैंसे उमेरकी उनी निकै हँसिली र पाहुनाको सुविधा ख्याल गर्ने खालकी रहिछिन् । म आएर बस्नेबित्तिकै तातो पानी र दूध हालेको चिया पठाइदिइहालिन् । अस्ट्रेलियामा गएर अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गरेकी उनी कुन्नि कुन प्रेरणाले यस ठाउँमा होटेल चलाएर बसेकी होलिन् । उनी त विश्वविद्यालयमा हुनुपर्ने हो, नभए नेपालको सन्दर्भमा हेर्ने हो भने कुनै गैरसरकारी संस्था वा यूएनजस्ता विदेशी अफिसमा हुनुपर्ने हो । तर जमिनको बाटो समेत नपुगेको र हवाइमार्गको कुनै निश्चितता नभएको यस विकट ठाउँमा रमाएर बसेकी देख्दा आनन्द र अचम्म दुवै लाग्यो ।  

“तपाईं यति धेरै पढेको मान्छेको पेशा त यो नहुनुपर्ने, तपाईं यहाँ नहुनुपर्ने जस्तो लाग्छ ।” भनेँ ।

“आफ्नो ठाउँ धेरै प्यारो लाग्छ । जहाँ गए पनि गाउँको याद छोड्न नै सकिएन । यहाँको मायाले तानेर ल्यायो भन्नुपर्ला अब ।” उनले भनिन् । कोलेट र कोने भित्तामा अडेस लागेर आनन्दले बसेका थिए र तातो कफी पिउँदै थिए । मलाई देख्नेबित्तिकै मुस्कुराउँदै भने – “फेरि स्वागत छ ।”

रविजीसँगै कोलेट र कोने तीनैजना एकदम उत्साही पाएँ यात्राका लागि । विश्वको सर्वोच्च शिखरको आधारशिविरसम्मको यात्रा– खासगरी कोलेटको जीवनभरिको सपना पनि हो । कोलेटले मलाई  दुईतीन पटक यो कुरा भनेकी थिइन् । यसबाट उनी मलाई केही कुरा भन्न खोज्दैछिन् कि जस्तो लागेको हो। तर, मैले उनलाई यस विषयमा अरू केही पनि सोधिनँ । अहिले लुक्ला आइपुगेपछि मलाई यस कुराको सम्झना भयो । उपयुक्त समय पारेर कोलेटसँग कुरा गर्नेछु भन्ने सोचेँ ।  

“भोलाजी खोई ?” मैले रविजीलाई सोधेँ ।

“उहाँ त हिजो हामी आएनौँ भनेर नाम्चेतिरै गइसक्नुभएछ । अब हाम्रो भेट नाम्चेमै हुन्छ भोलि ।”  

हामीले मीठोसँग नेपाली खाना खायौँ । खानापछि फेरि एक पटक कफी पियौँ । रविजीले कोलेट र कोनेको ब्यागप्याक र अन्य सामान बोक्न एकजना भरिया तथा पथपदर्शक दुवै काम गर्ने मान्छेको व्यवस्था गर्नुभएको थियो यहाँदेखि । उनीसँग भेट भयो । होचाहोचा कदका, हँसिला, फुर्तिला उनको नाम मिथुन राई थियो । मिथुन बोलीचालीमा भद्र र विनम्र लागे । खोटाङ जिल्लाका रहेछन् उनी । विभिन्न कम्पनी मार्पmत उनी यो बाटोमा भरियाको काममा हिँडिरहँदा रहेछन् । उनले कोलेट र कोनेको ब्यागलाई बोक्न सजिलो हुने गरी मिलाए र नाम्लो लगाएर बोक्न ठिक्क पारे।मध्यान्हको रेखालाई नाघेर अघि बढिसकेको घामलाई ब्याकप्याकमाथि चढाएर हामी लाग्यौँ उकालो लुक्लाबाट ।

लुक्ला बजारको पुछारमा चेकपोस्ट बनाएको रहेछ । यो चेकपोस्ट पहिला थिएन । अहिले देश संघीय संरचनामा गएपछि स्थानीय सरकारले आम्दानीको स्रोतको रूपमा खुम्बु क्षेत्रमा प्रवेश गर्ने प्रत्येक पर्यटकबाट २ हजार रुपैयाँ प्रवेश शुल्क उठाउन थालेको रहेछ । हजारौँ पर्यटक आउने खुम्बु गाउँपालिकाका लागि वार्षिक रूपमा यस प्रवेश शुल्कबाट धेरै ठूलो राजस्व सङ्कलन हुने रहेछ । यस रकमको सदुपयोग हुने हो भने यस विकट हिमाली भेगमा बसोबास गर्ने मानिसहरूको जीवनलाई सहज र समृद्ध बनाउन निकै सहयोग पुग्ने देखेँ ।  

लुक्लाभन्दा अलि माथि पर्छ चौँरीखर्क । चौँरीखर्कमा बाटोभन्दा अलि तल ठूलाठूला बारीहरू छन् । आलु, सागपात, काउली लगायत तरकारी र गहुँ, मकैको उब्जनी राम्रो हुन्छ यहाँ । सफासुग्घर देखिन्थे घरहरू । गाउँको बीचमा स्कुल र क्याम्पस थियो । यहाँ बिहान क्याम्पसको पढाइ र दिउँसो स्कुलको पढाइ हुँदो रहेछ । झापाका गणेश खरेल भाइ पनि त्यही क्याम्पसमा पढाउँछन् । हतारहतार भएकाले मैले यसपालि उनलाई फोन गरिनँ । अघिल्लो पटक आउँदा उनीसँग बसेर मीठो कफी पिएको थिएँ लुक्लामा ।  

मानिसहरूको पातलो ओहोरदोहोर थियो बाटामा । अघिल्लो पटक नाम्चे आउँदा यहीँनेर शेर्पाहरूको एउटा परिवार लुक्लातिर आउँदै गरेको भेटिएको थियो । त्यस बेलाको एउटा घटना सम् । हामीसँगै हुनुभएका नेपाल इन्भेस्टमेन्ट बैंक लुक्लाका त्यस बेलाका म्यानेजर केशव मैनालीजीको उनीसँग चिनजान रहेछ, अभिवादन गर्नुभयो । हामी उभियौँ । “काठमाडौँ जान लाग्नुभा’को?” मैले सोधेँ।

“हो ।” उनले भने । उनको नाम रिन्जी शेर्पा रहेछ । “होटलमा केटो छ, म भनिदिन्छु, त्यहीँ बस्नुस् । तपाईंहरू पुग्दा खाना बनाइराख्छ ।” रिन्जीले भने । फाक्दिनमा रिन्जीको होटल व्यवसाय रहेछ।  

“हुन्छ । हामी त्यहीँ जान्छौँ ।” केशवजीले भन्नुभयो  । “अहिले कहाँसम्म नि ?” केशवजीले फेरि सोध्नुभयो ।  

“काठमाडौं हिँडेको ।” रिन्जीको जवाफ।

“अब यो सालको सिजन सकियो । यहाँका सबै व्यवसायीहरूको काठमाडौँमा घर छ । जाडो छल्न उनीहरू उतै जान्छन् । रिन्जी पनि उतै हिँडेका हुन् ।” केशवजीले भन्नुभयो ।

“उनीहरू कहिले फर्कन्छन् त ?” सोधेँ ।

“मार्चको मध्यदेखि फेरि सिजन सुरु हुन्छ ।” उनीहरू फेरि आउँछन् ।  

यस बीचको अवधिमा उनीहरूको होटल कसले हेर्छ होला भन्ने उत्सुकता जाग्यो मनमा । केशवजीले मेरो जिज्ञासा बुझेर भन्नुभयो – “होटेलमा काम गर्ने केटाहरू चाहिँ होटेलमै बस्छन् जाडोमा पनि । फाट्टफुट्ट पर्यटकहरू जाडोमा पनि आउँछन् । त्यसबेला तिनै केटाहरूले पर्यटकलाई खुवाउने र बसाउने गर्दछन् । पछि साहु फर्केपछि पहिला होटेल छोड्दा बाँकी रहेका सबै सामानहरू त्यति नै परिमाणमा बुझाउँछन् । बीचको अवधिमा भएको व्यापारको मुनाफाचाहिँ होटेल कुर्ने केटाहरूकै हुन्छ ।”

यो मुनाफाचाहिँ होटेल कुरुवाको पारिश्रमिक जस्तो रहेछ ।  

बाटो सफा र दुईजनासम्म सँगै हिँड्न मिल्ने खालको थियो । धेरै ठाउँमा ढुङ्गा छापेको थियो । “सगरमाथा जाने हाइवे पो हो त यो” केशवजीले भन्नुभयो । वास्तवमा यो ज्यादै महत्वपूर्ण र संसारले जानेको बाटो हो । स्वदेशी, विदेशी पर्यटकहरू, पर्वतारोहीहरू एवं तिनका पथप्रदर्शक र भरियाहरूको पसिना, आशा, उत्साह, आँसु र निराशा सबै पोखिएको छ यो बाटोमा ।  

‘यो बाटो साहसीहरूको बाटो – हाइवे टु एभरेस्ट’ मनमनै सम्भेmँ ।

बाटोको देब्रेतिर तल दूधकोशी नदी बगिरहेको थियो । त्यसपारि माथि डाँडाको कम्मरतिर एउटा गाउँ झुरुप्प बसेको थियो ।

“त्यहाँ पारि गाउँ रहेछ । त्यस्तो अफ्ठ्यारोमा बस्न किन गएका होलान् है मानिसहरू ?” सोधेँ ।

“एडमण्ड हिलारीले सगरमाथा चढ्न जाँदा हिँडेको बाटो त्यही गाउँबाट थियो नि । त्यसबेला लुक्लामा यस्तो चहलपहल केही थिएन । त्यस गाउँका मानिसले लुक्लाका मानिसलाई गरिब भनेर साह्रै हेप्थे रे ।” केशवजीले सुनाउनुभयो ।

वास्तवमा विकासको पहिलो सर्त नै बाटो हो । बाटो भएपछि त्यही बाटोमाथि हिँडेर ढिलोचाँडो आउँछ विकास गाउँमा । प्रकारान्तरले लुक्लामा बन्यो एयरपोर्ट । त्यसपछि नाम्चे र सगरमाथा जाने बाटो पनि यतैबाट खुलेपछि त्यो गाउँ परित्यक्त जस्तो भएछ । म त्यही पारिको हेला गरिएको एक्लो जस्तो गाउँतिर हेर्दै थिएँ, केशवजीले फेरि भन्नुभयो– “तर त्यस गाउँका प्रायः सबै मानिसहरू अमेरिकामै बस्छन् । यहाँ त घर कुरुवा मात्रै ।”

डेढ घन्टाको पैदल यात्रापछि हामी एउटा रेस्टरेन्टमा पस्यौँ । श्रेष्ठ थरका उनी दोलखा मुढेका रहेछन् । यहीँकी शेर्पिनीसँग बिहे गरेर यतै व्यवसाय गरेर बसेका रहेछन् ।  

“कति वर्ष भयो यहाँ बस्नुभएको ?”  सोधेँ ।

“सत्र वर्ष ।” उनले भने।

उनीहरूकी तीन वर्षकी छोरी टेलिभिजनमा कार्टुन हेरिरहेकी थिइन् । उनलाई देखाउँदै मैले श्रेष्ठजीलाई सोधेँ– “यिनलाई कति भाषा आउँछ ?”

“नेपाली मात्र आउँछ ।” उनले भने ।

“अनि नेवारी र शेर्पा भाषा आउँदैन ? यी त झन् बाबु र आमाका भाषाहरू हुन् ।”

“आउँदैन त ।” उनले छोटो जवाफ दिए ।  

समस्या के होला भने श्रेष्ठ र शेर्पाबीचको सम्पर्क भाषा नेपाली बन्यो किनकि उनीहरू दुवैले शेर्पा भाषा पनि जान्दैनन् र नेवारी पनि दुवैले जान्दैनन् । छोरीचाहिँले सधैँ नेपाली भाषा सुनेको हुनाले नेपाली मात्र जान्ने अवस्था बन्यो । अन्तरजातीय विवाहमा यस्तो अवस्था बन्दो रहेछ।

हामी चिया खाजा खाएर अलि दह्रो भएपछि हिँड्यौँ । अघिल्लो पटक आउँदाजस्तो यस पटक हाम्रा लागि खाना पकाइराख्न भनेर रिन्जीले भनेका थिएनन् उनको होटलमा । हिँड्दाहिँड्दै फाक्दिनमा पुगेपछि रिन्जी शेर्पाको होटलको छेवैबाट पनि हिँड्यौँ । फाक्दिन लुक्लाभन्दा केही होचो ठाउँमा थियो । फाक्दिन २ हजार ६ सय ४० मिटरको उचाइमा थियो समुद्र सतहदेखि । दिउँसै थियो । त्यति थाकेका पनि थिएनौँ । घाम डुब्नुअघि नै निकै माथिसम्म जान सकिने अवस्था थियो । बाटो जति कटाउन सक्यो, भोलिलाई त्यति नै सजिलो हो भन्ने ठानेर हामी हिँड्यौँ ।

हामी सहजै हिँड्न सक्छौँ। त्यसैले बाटो छोट्याउनै ठिक छ, हिडौँ – कोने र कोलेटले पनि यही राय दिए । रात झमक्क नपरून्जेल हिँड्ने र बाटो देखिन छोडेपछि पाइने होटेलमा बस्ने सल्लाह भयो । हामीले हरेक कुराको निर्णय गर्नुअघि खासगरी कोनेसँग सल्लाह गर्न थाल्यौँ किनभने हरेक कुरामा मैले त पैसा तिरेको छु। यसो किन गर्ने भन्ने स्वभाव उनमा रहेको हामीले थाहा पाइसकेका थियौँ । यात्रामा निस्किसकेपछि सुरुमा बनाएको योजनामा अवस्था अनुसार कति ठाउँमा परिमार्जन गर्नुपर्छ, कति कुरालाई छोड्नुपर्छ र नसोचिएका कति विषयलाई समेटेर हिँड्नुपर्छ । त्यसैले यात्राको योजना एकदमै अपरिवर्तनीय हुँदैन । यो कुरा कोने पनि बुझ्थिन् होला। तर, उनी हरेक कुरा उनले थाहा पाउनुपर्छ भन्ने खालकी थिइन् । यो हामीलाई पनि आपत्तिजनक विषय थिएन । सहभागितामूलक निर्णयको गुणदोष सबैले जिम्मा लिनुपर्ने कुरा राम्रो पनि हो ।  

हामी २ हजार ६ सय ३० मिटर उचाइमा रहेको बैंकर भन्ने ठाउँमा आइपुग्यौँ । म आपूm पेशाले बैंकर हुँ । बैंकर केही सुन्दर होटेलहरू भएको सफा र आकर्षक ठाउँ थियो । यो ठाउँमा आइपुग्दा मलाई एक किसिमको अपनत्वबोध भयो । साँझ पर्नै लागिसकेको थियो । तर पूरै अँध्यारो भइसकेको थिएन।

“आज यहीँ बस्ने कि ?” मैले प्रस्ताव गरेँ ।

हाम्रो पथप्रदर्शकको समेत काम गरिरहेका मिथुनले भने – “मोन्जो अब धेरै टाढा छैन, पुगिहालिन्छ । त्यहाँसम्म जाने कि ! मोन्जो अलि ठूलो पनि छ बैंकरभन्दा ।”

रविजीले मिथुनको कुरा अनुवाद गरेर सुनाउनुभयो कोलेट र कोनेलाई । उनीहरू मोन्जो जान तयार भए ।

मोन्जो बैंकरभन्दा २ सय  मिटर जतिको उचाइमा रहेछ । त्यसैले बैंकरबाट अघि जानेबित्तिकै मजाको उकालो बाटोसँग जम्काभेट भयो । घाम डुब्दै गर्दाको समयलाई समातेर निकै मुस्किलले उक्लिएँ त्यो उकालो । झन्डै– झन्डै म सबैभन्दा पछि परिसकेको थिएँ । अबचाहिँ थाकिएछ भन्ने अनुभव गर्दै हिडेँ ।  

मोन्जो आइपुग्यो । रविजीले भोलाजीलाई नाम्चेमा फोन गर्नुभयो । भोलाजीकै सल्लाहमा होटेलको व्यवस्था गर्नुभयो । कोठामा लगेर रुकस्याक एक छेउमा राखेँ । सिङ्गै पहाडलाई नै आपूmबाट झिकेर राखेजस्तो हलुका अनुभव गरेँ । त्यसपछि चिसो पानीले हातमुख धोएँ । पानी छुनेबित्तिकै भोलिपर्सि आउने दिनहरूमा कति चिसो पानीसँग भेट हुने रहेछ भन्ने सहजै अनुभव गरेँ । हातमुख धोइसकेपछि १० मिनेटजति ओछ्यानमा पल्टेँ आँखा बन्द गरेर । रविजीले पनि हातमुख धोइसकेपछि हामी तल डाइनिङ कोठामा गयौँ।

होटेलकी साहुनी भर्खरकी युवती थिइन् । तीसँग एकछिन कुरा गरेँ । उनको नाम फुरी तामाङ रहेछ । उनको घर तल सल्लेरी बजारको नजिकै रहेछ । उनका बाबुआमा अलि परको जोरसल्लेमा होटेल नै चलाउँदा रहेछन् । “सिजनको बेलामा गाउँकै बैनीलाई काम गर्न बोलाउँछु । सिजन सकिएको बेलामा एक्लै भ्याउँछु ।” फुरीले भनिन् । अहिले सिजन हो । त्यसैले उनलाई सघाउन अर्की उनीजस्तै उमेरकी बहिनी भान्छामा काम गर्दै थिइन् । एकजना भाइ पनि थिए होटेलमा । यो घर उनले वर्षको  १ लाख २० हजार रुपैयाँमा भाडामा लिएकी रहिछिन् । घरधनीचाहिँ काठमाडौँमा बस्छन् भनिन् ।  

“त्यति धेरै रकम बहाल तिरेर फाइदा हुन्छ र ?” सोधेँ ।

“ठिकै छ, अहिलेसम्म चलेको छ ।” फुरीले भनिन् ।  

एउटा रमाइलो कुरा सुनेँ मैले यो यात्रामा । यस खुम्बु क्षेत्रमा यहीँका बासिन्दाहरूमा चाहिँ कि त निकै धनी कि त एकदम गरीब रहेछन् । यी दुईबीचको मध्यमवर्ग भने छैन रहेछ । सायद सिजन सकिएको बेलामा होटेल, रेस्टुरेन्टका कुरुवाहरू चाहिँ दोस्रो वर्गका मानिसहरू होलान् ।

(भीष्म उप्रेतीको हालसालै प्रकाशित नियात्राकृति हिमाल, शेर्पा र यतीबाट ।)

प्रकाशित: २१ वैशाख २०७८ ११:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App