३ जेष्ठ २०७८ सोमबार
कला

भगवान मान्छे

कविता

प्रेम राई परीक्षित

 

जमीनमाथि बादलको साम्राज्य देख्छु

सगरमाथा फुच्छे देख्छु

सेता बादलका धरहराहरूले

रङ्गाइरहेछन्  आकाशे शहरहरू

डर बढिरहेछ

त्यही बादल र डरको साम्राज्यभित्र

मलाई पिठ्यूँमा बोकेर

उडिरहेछ फ्लाई दुवई  

घर्घराउँदै अनि सर्सराउँदै

जीवनमा कहिल्यै नबाँधिएको  

स्वतन्त्रताको पारखी मेरो मन

बाँधिएको छ डेढ फिटे सिटमा

अनि तीन फिटे बलियो  

फित्ताको हिरासतमा

डर छ जीवनदेखि

डर छ मृत्युदेखि

र अनुशासित छ  

अनि सौम्य छ मान्छे

म भित्र कुनै अराजकता छैन

न स्वतन्त्रता खोसिएको विद्वेष

शान्त अनि चुपचाप मनहरू बोकेर

अनुशासित जिन्दगीहरू बोकेर

उडिरहेछ फ्लाई दुवई  

घर्घराउँदै सर्सराउँदै

परिचारिकाको मन्द मुस्कानसँगै

थुप्रै डरहरू पचिरहन्छ

प्याकेट लन्च मीठो नमिठो

धेरै थोरै स्विकारिरहन्छ भोक

अराजक पेटहरू

कुनै नाइँनास्ति छैन

कुनै गुनासो छैन

भगवान् भएको छ मान्छे

जाती भएको छ मान्छे

तिनै भगवान् मान्छेहरूलाई  

बलिया पखेटामाथि राखेर

उफिरहेछ फ्लाई दुवई

सर्सराउँदै फर्फराउँदै

 

आकाशमा भगवान्  मान्छे  

किन लड्छ जमीनमा आफूआफू

आकाशमा यति शान्त मान्छे

किन थुपार्छ जमीनमा गुनासाका चाङहरू  

किन खहरे भल बगाउँछ अराजकताको

आकाशमा यति शान्त मान्छे

किन उराल्छ जमीनमा अशान्तिका स्वरहरू ?

मान्छे मसिनमा परीक्षण हुन्छ

नाङ्गिन्छ इमिग्रेसनमा

मान्छे मान्छेमा विश्वास छैन

मान्छे मान्छेमा भरोसा छैन

फलामे मसिनको कठघरामा परीक्षित

शुद्ध मान्छेहरूलाई बोकेर

उडान भर्छ फ्लाई दुवई

सर्सराउँदै अनि घर्घराउँदै

कसैको भर छैन जमीनमा

कसैको डर छैन जमीनमा

कसैको कसैप्रति लगाव छैन

कसैको कसैप्रति आदरभाव छैन

तिनैलाई पाठ पढाउँदै

छत्तिस हजार फिटमाथि

भगवन याने कि सौम्य र शान्त मान्छे बोकेर

तलमाथि

अनि माथितल गर्दै

बादलको कच्ची सडकमा  

सात घण्टाको असल मान्छे बोकेर

उडिरहेछ फ्लाई दुवई

थर्थराउँदै अनि लर्खराउँदै

तिनै मान्छे धरतीका

आज म भगवान् देख्छु

तिनै अराजक मान्छे धरतीका

तिनै अराजक मान्छे धरतीका

आज म जाती देख्छु

फ्लाई दुवईका दूत परीहरू

अत्तरका फूलहरू बर्साउँदै

मन्दमन्द मिठा मुस्कानले मन्त्रोचारण गर्दै

हामी क्षणिक राम्रा मान्छेहरू बोकेर

उडिरहेछ फ्लाई दुवई

फर्फराउँदै भर्भराउँदै

 

मान्छे सधै यस्तै भैदिए

स्वर्ग खोज्नु पर्दैन कतै

मान्छे सधै यस्तै भैदिए

भगवान खोज्नु पर्दैन कतै

सुख खोज्नु पर्दैन कतै

शान्तिका लागि भगवानलाई

पुकार गर्नु पर्दैन कतै!

शान्तिका लागि भगवानलाई

पुकार गर्नु पर्दैन कतै!

(छत्तीस हजार एक फिटमाथि आकाशमा इजिप्ट भ्रमणका क्रममा हवाईजहाजमा लेखेको कविता !)

प्रकाशित: २१ वैशाख २०७८ १३:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
को हुनेछ नागरिक नायक २०७८ ?
को हुनेछ नागरिक नायक २०७८ ?