१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
कला

रहेनन् मन्ना डे

मुम्बई– चर्चित पार्श्व गायक मन्ना डेको ९४ वर्षको उमेरमा निधन भएको छ। उपचारको क्रममा बैंग्लोरको एक अस्पतालमा उनको निधन भएको हो। पछिल्ला दिनमा छातीको संक्रमणको कारण उनलाई अस्पताल भर्ना गरिएको थियो।मे मा उनको ९४औं जन्मदिन मनाइएको थियो। मन्ना डे भारतीय संगीतका प्रमुख हस्तीको रुपमा मानिन्छन्। पचास र साठीको दसकमा हिन्दी फिल्ममा रागमा आधारित गीतको कुनै गीत भएमा त्यसको लागि संगीतकारको पहिलो रोजाइ मन्ना डे हुने गर्थे।

मन्ना डे प्रायजसो संगीतकारको लागि कहिले शास्त्रीय, कहिले रुमानी, कहिले हल्का फुल्का, कहिले भजन त कहिले पश्चात्य धुन रहेका गीत गाए।

को हुन् मन्ना डे ?

मन्ना डेको जन्म मई १९१९ मा उत्तरी कोलकताको एक रुढिवादी संयुक्त बंगाली परिवारमा भएको थियो। उनको वास्तविक नाम प्रबोध चन्द्र डे हो। उनको मामा संगीताचार्य कृष्ण चन्द्र डेले मन्ना डेलाई संगीतमा आर्कषित गरेका थिए। उनले आफ्नो करियरको सुरुवात १९४३ मा आई फिल्म 'तमन्ना'बाट गरेका थिए। यसमा कृष्णचन्द्र डेले संगीत दिएका थिए। उनले गाएको यो गीत निकै चर्चित बनेको थियो।

मन्ना डेले १९५० मा फिल्म 'मशाल' फिल्ममा एकल स्वर दिएका थिए। गीतको बोल थियो 'उपर गगन विशाल' । जिन्दगी कैसीहै पहेली, एक चतुर नार करके श्रृंगार, लागा चुनरी में दाग, तुझे सुरज कहुँ या चान्दलगायतका गीतहरु उनका सबैभन्दा रुचाइएका गीत हुन्।

१९५३ मा उनको सुलोचना कुमारनसँग विवाह भएको थियो। उनका दुई छोरी सुरोमा र सुमिता छन्। संगीतको क्षेत्रमा उल्लेखनिय योगदान दिएको भन्दै डेलाई पद्यमश्री, पद्म विभूषण, दादा साहेब फाल्केलगायतका अवार्डहरु प्रदान गरिएको छ।

प्रकाशित: ७ कार्तिक २०७० ०४:०१ बिहीबार