२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

पुरुषार्थी छोराछोरी

लघुकथा

छायादत्त न्यौपाने 

 

जित सर ! ओ जित सर !

अलिक कडा आवाज आयो । उफ् ! एकाएक घरमै ? त्यो सहायक मोराले सुइँको पनि दिएन । त्यसमा त्यत्रो विश्वास गरेको त आज अपराधी खोज्दै घरमै प्रहरी आउँदा पत्तो दिँदैन, कतै उतै मिल्यो कि ! जे होला ! जितमानले उस्तै कडा स्वर निकाल्दै–को हो हँ किन चिच्या ! कानै फाट्ने गरी ?भने तलबाट–ल, तल आउनुहोस् ! लुगा लाएर आउनु है ! फर्कने कहिले हो ? टुङ्गो छैन।

परिवारका सदस्य छक्क ! वरिपरिबाट छिमेकीले पनि झ्याल खोले । तैपनि जितमानले–म जितमान हुँ सधैं जितिरहने! तिमीहरू नआत्तिई बस ! म आइहाल्छु भनेर यो केही होइन जसरी परिवारलाई आश्वस्त पारे।

हुन पनि जितमान अख्तियार पुग्दा नपुग्दै फोनै फोनबाट त्यही गाडीमा घर फर्के ! कस्तो अचम्म ! कति शक्ति !

जितमान मक्ख पर्दै ओर्लेर गाडीतिर नफर्की घरभित्र पसे । छोराछोरीले बैठकमा बोलाए । एक गिलास चिसो पानी खान दिए । सल्लाह अनुसार  नबुझेझैं गरी जेठो सनमले सोधे–को थिए बाबा तिनीहरू ? छोराछोरीले यसरी प्रश्न कहिल्यै गरेका थिएनन् । उनी असमञ्जस्य भए पनि सम्हालिन त खोज्ने नै भए।

को हुनु नि, अफिसका साथीहरू ! उनले सामान्यीकरण गर्ने चेष्टा गरे । छोराछोरीले पत्याएनन् । उनीहरूलाई बाबाको अनैतिक कमाइ र आमाले छिमेकीसित गर्ने फुर्ती मन परेको थिएन । आज बाको घुस्याहा र आमाको अहङ्कारी प्रवृत्ति  तह लाइछाड्ने अठोट गरे । उनीहरूले आमालाई पनि बैठकमा बोलाए ।

तीनै जना एक मुख भएर अब आइन्दा बाबाले अनैतिक कमाइ गरेको, आमाले अरूसित गरगहना र घरजग्गा यति छ उति छ भनेर अहङ्कार देखाएको थाहा पाए हामी आफै तपाईंहरू विरुद्ध अख्तियारमा उजुरी दिन्छौं । तपाईंहरूले गर्दा हामी घुस्याहा बा र धनको मात चढेकी आमाका सन्तान भनेर बदनाम भयौं । कति साथीहरू हामीसँग बोल्न चाहँदैनन्, सँगै खेल्ने खाजा खाने त परको कुरा । बाहिर सबैतिर बेइज्जत !

छोराछोरीका कुरा सुनेर दुवै जना–तिमीहरूका लागि... बिचैमा रोके तीनै जनाले र भने–हामी आफै कामयाव हुन चाहन्छौं । बाआमाको कमाइमा पुरुषार्थ देख्ने पराश्रित हुन चाहन्नौं । हामी आफै केही गर्न नसक्ने नामर्द हैनौं । सन्तानलाई सक्षम बनाउने हो, धन थुपारिदिने होइन असल अभिभावकले ! यति के भनेका थिए ! बुढाबुढी दुवैले भुइँतिर हेर्न थाले। छोराछोरी कापीकलम च्यापेर क्याम्पसतिर लागे !

प्रकाशित: १२ वैशाख २०७८ ०५:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App