२६ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

तिम्रो काखमा शरण पर्न, आउँछु नेपाल आमा

मुक्तक (देश प्रेम )

निर्मल रमण पराजुली

                (१)  

यो देशका प्रत्येक सन्तानलाई , देशको  माया  हुनुपर्छ,

देशलाई  कतै  चोट लाग्दा , उसको मन रुनुपर्छ।

एकातिर संसारको सुख अर्को , तिर देशको माटो राखी,

के रोज्छस् भनी सोध्दा उसले, देशको  माटो  छुनुपर्छ।

                 (२)  

देशमै  श्रम गर्छु  म  त , आफ्नै ज्यानको हड्डी घोटी,

ढिँडोआँटो, सिस्नो अनि , खान्छु  कोदो फापर  रोटी।

मेरो   लागि   देशभन्दा , ठूलो  कुरा  केही    छैन,

शिरमा  राखी  मातृभूमि , प्रणाम गर्छु कोटीकोटी।

                  (३)  

तिम्रो  काखमा शरण पर्न , आउँछु  नेपाल आमा,

तिम्रो  ओठमा खुसी छर्न , आउँछु नेपाल  आमा।

देश  दुखेको बेला विदेश , बस्ने  रहर छैन मलाई,

त्यो लिपुलेक  फिर्ता गर्न ,  आउँछु  नेपाल आमा।

                     (४)  

शिरमा मेरो ढाका   टोपी , यो छातीभित्र देश,

प्यारो  लाग्छ नेपाली भनी , मलाई चिनाइदिने  भेष।  

धन दौलत,  सुखसयल , खोज्दै विदेश  जानुभन्दा,

ढिँडो खाई देशमै  बस्नु , बरु   त्यो   पो  हुन्छ   बेस  

                (५)  

ढिँडो भए  पुग्छ मलाई , आँटो भए  पुग्छ,

श्रम  गर्न  खेतबारीको , पाटो भए  पुग्छ।

देश छोडी अब कहिल्यै , विदेश जान्न  म,

यो जन्म मलाई  देशकै , माटो  भए पुग्छ।

प्रकाशित: ९ वैशाख २०७८ ०३:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App