२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

एउटा पुरानो बिम्ब

निबन्ध

बोधराज पौडेल

एकाएक गायब भयो, आँखाबाट एउटा तस्बिर । जुन वर्षै पहिले बडो जतनका साथ मनमा सजाएको थिए । पहिला त त्यो धूमिल जस्तै थियो । पछि बिस्तारै यति गाढा भयो मानौं वर्षैपछि सुक्खा क्षेत्रमा भारी वर्षा भएको होस् । यस्तै भयो । वर्षापछि त्यो बञ्जर जमिन हरियालीमा रुपान्तर भयो । जहाँ करोडौ नयाँ बिरुवा उम्रिए । र, छोपियो घना झाडीभित्र मैले जतनले राखेको त्यो एउटा पुरानो बिम्ब।

कुनै बेला उहाँले भनेको कुरा सम्झिए– हेर हिमाललाई कसैले सौन्दर्य भर्नु पर्दैन । तर पनि निरन्त चम्किरहन्छ।

आखिर सदियौंदेखि हामीले यो कुरालाई मनन गरिनै रहेका छौ । यो भनाइले मनबाट हराइसकेको एउटा आशालाई जगाइदियो । सम्झें घरबाट देखिरहने हरेक प्रातमा हाँसेको हिमाल । जुन चाँदीको घेरामा सुनको जलप लगाएझैं थियो । जहाँ घामको झुल्को पर्दा आभा भरेर चम्किरहने । हिउँचुलीहरू हेर्दा साँच्चै मनोरम थिए । एउटा सुन्दर मनको सोकेसजस्तै । तर व्यवहारमा ती हिउँभित्र लुकेका काला पत्थर दिलमा गढेर बसिरहे । जुन अरूलाई सौन्दर्य भरेर आफै लुप्त रहे।

मनमा धेरै कुरा खेलिरहे । उसै अशान्त भयो मन । तलाउलाई कसैले छल्काएसरि । यस्तै भावमा घरको कोचमा बसिरहेको थिए । बाले दुखको बेला भन्ने गरेको शब्द झट्ट दिमाखमा आयो । बा भन्नुहुन्थ्यो–समुन्द्र आफ्नो सफाइ र सुरक्षा आफै गर्छ ।

यसको अर्थ बाल्यकालमा मैले धेरै प्रयास गर्दा बुझ्न सकेको थिइन । अहिले यसको अर्थ बिस्तारै बुझ्दै छु । वास्तवमा हो पनि, त्यत्रो ठूलो समुन्द्रलाई कसले सफाइ गर्न सक्छ ? अनि सुरक्षा पनि । मानिसहरू फोहोर गर्छन् । तर पनि ऊ सधैं सफा र शान्त देखिन्छ । उ अशान्त देखियो भने त विनाश ल्याएर सजाय दिन्छ । ती फोहोर गर्नेहरूप्रति । यसको अर्थ हरेक समस्याको समाधान आफैभित्र हुन्छ । त्यसका लागि धैर्यको आवश्यकता हुन्छ । यो कुराले मनलाई केही शान्त बनायो। 

चराहरू एक्कासि आकाशमा चिर्रबिराए । लाग्यो ठूलो कुनै समस्या आउनेवाला छ । यसको संकेत दिनकै लागि यिनीहरू भागदौड गरिरहेका छन् । बा सधैं मलाई सम्झाउनुहुन्थ्यो– नानी हो, हरेक दुखपछि सुखको दिन आउँछ । पतझड भएको वृक्ष पनि केही समयमा हरियो भएर आउँछ।

उहाँको यही कुरालाई शिरोधार गरे  र कुनै अप्रिय कुरा सुन्नु नपरोस् भन्ने कामना गरे । वास्तवमा दुखपछि सुख र सुखपछि दुख आफैमा चक्र जस्तै घुमिरहन्छ । हो, हामी पनि देख्र्छौ हरेक पतझड वृक्षमा थोत्रा पात झरेर नयाँ र राम्रा पातहरू आउँछन् । जसले रुख नयाँ लुगामा सजिएकी दुलहीझैं सुन्दर देखिन्छ ।  

एकाबिहानै रेडियोमा एउटा समाचार सुनियो –संसारभरि खडेरी पर्यो । खानका लागि कुनै कुरा बाँकी रहेन । सारा संसारले अब भोकमारीको समस्या सामना गर्नुपर्ने छ।

गोठबाट ढुंग्रोभरि दुध लिएर आउँदै गर्दा मेरो बाले यो खबर सुन्नुभो र भन्नुभयो–झारको  बिउ राख्नु पर्दैन ।  त्यो कहिल्यै मासिदैन।

यो कुराले ठूलो ऊर्जा दियो । मैले देखेको थिए पानी वर्षनेबित्तिकै झारहरू आफै उम्रिएको । झारलाई गोडमेल र संरक्षणको पनि आवश्यकता थिएन । हामीले जति नै मास्न खोजे पनि ती  आफैं जाग्थे । ती कहिल्यै मासिदैनथें । झारको बिउलाई बचाएर राख्नुपर्ने आवश्यकता कहिल्यै आएन । अनि बाले भन्नुभयो–जसले जन्म दिएको छ, उसले पाल्छ पनि ।

सत्य यही हो ।

उहाँले आश्वस्त पार्नुभयो । नानीहरू, हो जंगली जनावरले कहिल्यै खेती गर्दैनन् । तर पनि उनीहरू जीवित छन् । त्यसो हुनाले कुनै खडेरी पर्दैमा मरिन्छ भन्ने सोच्ने होइन । त्यसको सामना गरेर कसरी समाधान निकाल्ने भन्ने हो । बाको कुराले मेरो दिमाखमा चक्कर खायो । मैले बासँग पूरा भरोसा गरे थाहा छैन, प्रकृतिले भोकालाई पाल्छ वा पाल्दैन । म चहान्छु, मेरो बाको आशा निराशामा नबदलियोस् । मेरो बाको पढाइको कुरा गर्दा हलो, कुटोेकोदालोमा उच्च श्रेणी हो । मिल्दो हो त गोल्ड मेडल दिए हुन्थ्यो । बिचरा अक्षरसँग उहाँको साधारण परिचयभन्दा बढी थिएन।

तिमीहरुलाई थाहा छ–नानी हो, हरेक कुराको सिजन हुन्छ । फलफूल फल्ने समय उनीहरूको सिजन अनुसारको हुन्छ । वर्षाको आफ्नै तरिका हुन्छ । असारसाउनको समयमा अधिक वर्षा हुन्छ । जुन समय खेतीका लागि उपयुक्त समय हो । पुस र माघमा पानी कम बर्षन्छ । जाडोमा पानी अधिक बर्सियो भने जाडो कति बढ्ला ? त्यसको सहन गर्न गाह्रो हुन्छ । त्यसो हुनाले प्रकृतिले सबै कुरा मिलाएको हुन्छ । सूर्य उत्तरायण र दक्षिणायन हुन्छ।

यही समयलाई हामी जाडो र गर्मी मान्छौ । बाले भन्नुभयो– सुन्तला हरेक वर्ष चिसो समयमा पाक्छ । आँप, अम्बा गर्मीलाई नै पर्खिन्छ ।

मैले माने बा । त्यसै बालाई मैले गोल्ड मेडलको माग राखेको पनि हैन।  

मलाई यी यावत कुराले जिज्ञासु बनायो । मैले बालाई सोधेँ – बा, संसार कसरी चल्छ त ?

बाले यति सहज तरिकाले उत्तर दिनुभयो । यति सजिलो तरिकाले मलाई चालिस गुरुले पनि बुझाउन सकेका थिएनन् । हेर नानी – लडेको ढुंगा पनि लडेको लड्यै गर्दैन । दुख पनि सधैं दुख गरेर बसिरहन सक्दैन् । लडेको ढुंगा पनि केही बल्याङ्ग खाएपछि आफै रोकिन्छ ।दुख, खडेरी, महामारी पनि केही समयमा आफै आजित हुन्छ र त्यो स्थान छोड्छ बुझिस् ।

–स्पष्ट बुझे बा । यति सहज कुरा पनि म कसरी बुझ्दिनँ र ।  

मैले आफैलाई जति बुझे । किताबलाई जति पढेँ । आधा जीवन समाजलाई चिन्ने प्रयन्त गरे । तर मैले कहिल्यै ती ज्ञान पाउन सकिन । जति समाजका प्रौढ र निरक्षर भनिएकाहरूसँग थियो । हामीले देख्दा निरक्षर भएकाहरू विश्वविद्यालयका प्राध्यापक हुन् । यो कुरा म गर्वसाथ भन्न सक्छु । मात्र उनीहरूलाई बिस्तारमा खोतल्न र पढ्न सक्नुपर्छ । यो मेरो सूक्ष्म अनुभव र अध्ययन हो । जुन कुरा विश्वविख्यात लेखकले पनि आफ्नो दर्शन र आख्यानमा उजागर गर्न सक्दैन । उनीहरू कि त त्यो कुरा जान्दैनन् कि समाजलाई बताउन चाहँदैनन् । त्यसैले प्रबुद्ध लेखकभन्दा समाजका प्रौढहरू हजार गुणा राम्रा लेखक हुन मेरो विचारमा।

सहयात्राको लामो समयपछि बा बिस्तारै मुर्झाउन थाल्नुभयो । म उहाँको शरीर र शक्ति घट्दै गएको  देखेर चिन्तित हुन थाले । मेरो चिन्ता देखेर बाले मलाई नजिकमा बोलाउनुभयो । कानका लोतीहरू छाम्नुभयो । कपाललाई खेलाउदै मलाई सम्झाउनुभयो–नानी, तैले चिन्ता लिनुपर्ने कुनै कारण छैन । फूल फुलेर मुर्झाएर झरेन भने उसले नयाँ बिउ छर्न सक्दैन । नयाँ बिउ छर्न सकेन भने धर्तीले कसरी नयाँ फूल फुलाउन सक्छ । 

यो त एक नियमित चक्र हो । बाको यो कुराले म निशब्द भए । एउटा पुरानो बिम्बको रूपमा, गयो कहिल्यै नर्फकिने गरेर । बिनाअध्ययनको ज्ञान र त्यो सौम्यपना मबाट सधैंसधैंका लागि टाढा भयो।  

प्रकाशित: २८ चैत्र २०७७ ०६:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App