१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

बालसखा

लघुकथा

 बाल्यकालका मिल्ने साथीहरूमा राम  हामी चार जना थियौँ । हामी उपद्रयाहा थियौँ । बाटो हिँड्दा पनि अरूका बगैँचाका फलफूल लठीले झार्दै हिँड्द्थ्यौँ  । सुस्ते खोलामा छलाङ मारेर, माछा खोजेर पोलेर खान्थ्यौँ । एकदिन रामले फुर्ती गरेर माथिबाट छलाङ मार्दा झन्डै टाउको फुटेको थियो । ठूला भयौँ । आआफ्नो बाटो लाग्यौँ । साथीहरूसँग सम्पर्क त्यति हुँदैन । तर, खबर यताउताबाट थाहा पाइन्छ । रामले पढ्न नसकेर अरब गयो रे भन्ने सुनेको थिएँ । म गाउँको कक्षाको प्रायः प्रथम हुने छात्र भएर हो कि कुन्नि पढ्ने इच्छाले बुवाले शहर पठाउनुभयो । छात्रवृत्ति पाएर इन्जिनियर पढ्न पाएँ । शहरमै जागिर खाएर बसेको छु।

एक दिन बाटामा कसैले मोहन भनेर बोलाएको सुनेँ । झुत्रोमैलो लुगा लाएको, दुब्लो च्याँसे बालसखा राम रहेछ । अचम्म लाग्यो ! के कस्तो छ भनेर सोधेँ। उस्ले  हामी साथीभाइ स्कुल सकिएर छुट्टिएपछि अरू पढ्न इच्छा नलागेर धन कमाउन अरब गएको । राम्रो काम गरेर धन पनि कमाएको बतायो । फर्किने बेलामा एउटी फिलिपिनो चतुरीको प्रेमजालमा फसेर कमाएको सबै खत्तम भएर रित्तो हात फर्केको भनेर सुनायो । घरमा रित्तो हात जान नसकेर धन कमाउने धुनमा लाग्दालाग्दै कुलतमा फसेको बतायो।

बालसखाको दयनीय अवस्था देखेर मद्धत गर्ने विचारले त्यो दिन आफ्नै घर लगेर नुहाइधुवाइ गराएर पेटभरि मिठो खान दिएर सुत्न पठाएँ।

भोलिपल्ट बिहान पाँच बजे नै सिरानमा राखेको मोबाइल बज्यो । टोलछिमेकी  भाइ रहेछन्  । उनले तपाईको मोटरबाइक सीतापाइलाको घुम्तीमा दुर्घटना भएको छ । म त्यतैबाट आएकाले जानकारी दिएको भन्यो । म हतार गर्दै ट्याक्सी लिएर पुगेँ । एकातिर मेरो बाइक र अर्कोतिर रगतपच्छे भएको रामको लास तेर्सिएको थियो । म स्तब्ध भएँ ।  

प्रकाशित: २६ चैत्र २०७७ ०७:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App