९ मंसिर २०८१ आइतबार
image/svg+xml
कला

मान्छे

कविता

ब्रम्हाजीका पुस्तैनी मलबाट सिर्जित

डार्विनका बाँदरको घर्षणबाट निर्मित  

हामी एक हुल मान्छेहरू,

तिनकै सृष्टि र वृष्टि केलाउँदै  

मसानघाटमा अग्निबिनाको एक्लो मुर्दा बाँचेको

मगजशून्य , बौलाहा, स्वार्थी  

पथभ्रष्ट , अज्ञानी ,अविवेकी,  

हामी मान्छे,

के कहिल्यै बन्न सकौंला

बुद्धका अंशहरू,  

वशिष्ठ , विश्वामित्र  , भारद्वाज––का वंशहरू।

अन्धा ,लुच्चा ,काँतरहरू

पाखण्डी , अल्छे , भातमाराहरू

पराले त्यान्द्रोमा अल्झिएको

खाते प्राण बोकेर

निष्प्राण बाँचिरहेका

नकमहराम , उच्छृङ्खल , भोगी

आत्मघाती , उदण्ड , निरंकुश  

के कहिल्यै भन्न सकौंला

विदुर ,चाडक्य, कौटिल्य,  

माक्स, गान्धी, विपि

पुष्पलालका मान्छेहरू।

गतिछाडा , वस्त्रहीन ,अबुझ  

स्वाँठ , बज्रस्वाँठ, कल्याहा

जुद्याहा ,परजीवी , जँड्याहा  

कर्महारा , धर्मछाडा ,भाइमारा

जीव हिस्रक , मातृभक्षक

हामी एक हुल मान्छेहरू,

के कहिल्यै बन्न सकौला

सृष्टिको उत्पत्तिमध्येको एक  

उत्कृष्ट, नितिज्ञ, अनुशासित  

पर्यावरणको साथी ,आत्माको सारथी

दुखको लाठी , सुखको काठी

साँच्चिकै मान्छे।

प्रकाशित: २२ चैत्र २०७७ ०५:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App