करीब आठ–दस वर्षपछि आफ्नो शहर फर्केका चोलेन्द्र समसेर चोकको चिया पसलतिर एकाबिहानै तेर्सिए । चिया पसलमा नियमित ग्राहक दीर्घराज उपाध्याय टसमस भएर बसेका थिए । बाजे चियाका पारखी थिए । दिनमा दसपन्ध्र कप चिया त सामान्य लाग्थ्यो । चियाको सुकोसँगै जेरी जेलिएजस्तै जेलिएका कुरा गर्न माहिर थिए।
–नमस्कार बाजे । समसेरले दुई हात जोडे।
– नमस्कार, नमस्कार ! कहिले सवारी भयो राजा ? के यो ठाउँको अझै माया लाग्दै छ र ? हामी त बिर्सिनु भो होला भन्ठानेका थियौं ! दीर्घराज बाजेले जेरी घुमाए।
औपचारिक भलाकुसारीलाई चिया गफमा बदल्ने मनसायले समसेरले चिया मागे – साहुनी, ल मिठो चिया ल्याउनूस् त ।
राजधानी शहरबारे बाजेले धेरै चासो राखे ।
राजाले पनि केही थपथाप गरेरै वर्णन गरे । लामो समयपछिको गफ निकै रमाइलो भैरहेको थियो । साहुनीले एक कप चिया लिएर सम्शेरको अगाडि राखिदिइन्।
–खोई त अर्काे चिया, साउनी ? राजा बोले।
–मैले त चिया खान छोडे । बाजे।
–त्यति धेरै चिया पिउने बाजेले छोडे भन्दा राजाले लख काटे – सुगरले छोयो कि क्या हो बाजे !
– छैन । छोटो उत्तर दिए ।
–किन नपिउनु भा त ?
– यसको लामै कहानी छ राजा ! तपाईंहरूजस्ता राजनीति गर्ने र राजनीतिका वरिपरि घुम्नेहरूलाई यो विषयले नछुँदो रहेछ । बाजेले तीर तेर्स्याए ।
–के कहानी हो सिधै भन्नू गुरु, किन जेरीझै जेलेको राजाको उत्तुकता थियो।
बाजे अलि आक्रोशित भावभङ्गीमा बोले – यो पुसमाघको जाडोमा माइतीघर मण्डलामा उखु किसानहरूले बगाएको आँसु यो चिनीमा मिसिएको रहेछ । चिया पनि नुनिलो लाग्न थाल्यो । त्यसपछि चिया पिउन छोडें !
प्रकाशित: १६ चैत्र २०७७ १०:०९ सोमबार