१) बैसाखी
सम्झन्छु, भाइ १२ वर्षको थियो । म १४ वर्षकी थिएँ । पल्लो गाउँमा भाइको काम थियो । बुवाले उसलाई एकलै जान दिनुभयो । भाइ उन्मुक्त गयो।
केही दिनपछि मलाई पल्लो गाउँ जानु थियो । बुवाले भन्नु भयो – ‘तँ एक्लै कता जान्छेस्, भाइलाई लिएर जा ।’
भाइ र म सँगै पढ्थ्यौँ । कलेजका दिनमा भाइ खुलेआम रीतासँग लभ गथ्र्यो । घरमा पनि थाहा थियो । चलेकै थियो ।
एकदिन मलाई पनि हरिशले ‘आइ लभ य’ु भन्यो । हामी मन पराउँथ्यौँ । भाइले थाहा पायो । हरिशलाई भाइका ग्याङ मिलेर कुटे ।
मलाई आमाले भन्नुभयो– ‘अर्काकी छोरीलाई जिस्क्याउने बदमासलाई तेरो भाइले बजाइदिएछ । ठिक गर्यो । बल्ल चेत्यो होला ।’
मास्टर सकेँ । मेरो बिहे गर्न अस्टेलियाको केटो खोज्नुभयो । मेरो दिमागमा हरिश थियो । मैले ‘अहिले बिहे गर्दिन’ भनेँ ।
बाबाले मलाई सम्झाउनुभयो– ‘केटाले पढेको छ । विदेशमा छ । ह्यान्डसम छ । पुतलीसडकको आठवटा सटर भएको घर उनीहरूकै हो । तँलाई आँखाको नानी जसरी पाल्छ । देश विदेश घुमाउँछ । अब के खोज्छेस् त ?’
भावशून्य भएर सुनसान बाटोमा हेरिरहेकी थिएँ । बाल्यकालमैँ पोलियोले हानेका माइँला हजुरबा बैसाखी टेकेर खच्याङखच्याङ गर्दै त्यही सुनसान बाटो आउनुभएको थियो । मैले माइँला हजुरबालाई एकटकले हेरेँ ।
उहाँ आउनुभएपछि म चुपचाप त्यो बैसाखीलाई घुमाईफिराई हेरिरहेकी थिएँ ।
आमाले भन्नुभयो– ‘के त्यसरी हेरेकी ? कहिल्यै नदेखेजस्तो ।’
मैले भनें – ‘आखिर म र माइँला हजुरबा एकै त हो नि, हगि आमा ?’
आमाले भन्नुभयो– ‘होइन, के भन्छे यो ?’
मैले भनेँ– ‘हजुरबाको जीवन पोलियोले गर्दा बैसाखीमै चलेको छ र मेरो जीवन पनि नलागेको पोलियोजस्तै त छ नि । हजुरहरू मेरा लागि एउटा दह्रो बैसाखी खोज्दै हुनुहुन्छ । साँच्चि भन्नु त आमा, के म बैसाखी नभै हिँड्न सक्तिन र ?
२) प्लेनको टिकट
मैले श्रीमतीलाई भनेको थिएँ– ‘सानू, धेरै वर्ष भयो नेपाल नगएको । यो दसैँमा जाऊँ है ।’
उनले भनेकी थिइन्– हो हुन त, तर यो घर, गाडी, आफ्नो, छोराछोरीको इन्स्योरेन्स कसरी तिर्नु ? किस्ता कसरी तिर्नु ? फेरि नेपाल जाने प्लनेभाडा पनि त निकै लाग्छ । चार जना जानुपर्यो, आउनुपर्यो । कोसेलीपात पनि चाहियो । के गरी सम्भव हुन्छ र ?
उनको कुरो सोह्रै आना सही थियो ।
भर्खर काम सकेर आएको थिएँ । ढोकाको चावी सुस्तरी खोलेँ । किनकि कामबाट आएर थाकेर सुतेकी मेरी श्रीमती उठ्लिन भन्ने डर थियो । फ्रिजबाट टोर्टिया रोटी झिकेँ। पिनटबटर दलेँ । खाएँ । घडी हेरेँ । रातको १ बजेको रहेछ । नेपालमा आमाले पस्किएर दिएको तात्तातो भात सम्झेँ । केही नगरी खान पाएको सम्झेँ । बाबालाई सम्झेँ । फोन नगरेको पनि पनि धेरै भइसकेको थियो । फोन गरेँ।
बाबाले फोनमै भन्नुभयो– ‘धेरै वर्ष भयो त हौ जेठा दसैँ सँगै नमनाएको । यसपल्ट त आओ न हौ ।’
मैले बहाना बनाएँ । विवशता देखाएँ।
फेरि बाबाले फोनमा भन्नुभयो– ‘यो अन्नपानीको शरीर कहिलेसम्म हुने हो, थाहा छैन । यो वर्षदेखि मेरा पनि आँत हराएजस्तो लाग्दैछ । शरीरको पाइन सकिएजस्तो लागेको छ । कस्तो त हौ त्यो अमेरिका भन्ने देश, कहिल्यै छुट्टी नहुने ?’
मैले फेरि बहाना बनाएँ ।
बाबाले फेरि भन्नुभएको थियो– ‘तिमीहरू चार जनाको आउनेजाने प्लेनको टिकट मै काटिदिन्छु । भो कुनै बहाना नपार । केही चलेन भने यहाँ यत्रो पितृप्रसाद छ । आओ । गर । खाओ ।’
मैले श्रीमतीलाई यो कुरो सुनाएँ । उनले भनिन्– ‘कस्तो लाजमर्दो कुरो, अमेरिका बसेको यत्रो वर्ष भो । अब बाबाले प्लेनको टिकट काटिदिनुपर्ने ?’
बाबाले काटेर पठाएको प्लेनको प्रिन्टिेड टिकट टेबुलमै थियो । नेपालबाट आज सानीमाले फोन गर्नुभयो र भन्नुभयो– ‘भिनाजु त खस्नु भयो ।’
३) बबिताहरू
बबिता नं एक ।
बिहे भएको दुई वर्ष नपुग्दै दोजिया भई । सुन्दर जीवनको कल्पना गर्दै उसको लोग्ने कतार भासियो । उसले छोरा पाई । दुर्भाग्यवश लोग्ने बाकसमा खाँदिएर आयो । ऊ पोइ टोकुवा भई । घरबाट निकालिई । माइतीकी हेला भई । समाजबाट लान्छित भई । चारैतिर अँध्यारो देखी । रूखमा झुन्डिई । समाजले भन्यो, ‘अभागी बविता ।’
बबिता नं दुई ।
बिहे भएको दुई वर्षमै लोग्नेलाई बसले किचेर मार्यो । एउटा छोरी पाइसकेकी थिई । सासूससुराले दुःखको बेला हिफाजत गरेर उसको हेरविचार गरे । सान्त्वना दिए । छोरी माने । पुनर्बिहे गरिदिए । बेहुलाले उसको छोरीलाई आफ्नै छोरी मान्यो । बिहेमा सासूससुरा छोरी भन्दै बेस्सरी रोए । ऊ जीवनमा फेरि सजिई । समाजले भन्यो,‘भाग्यमानी बविता ।’
बबिता नं तीन ।
बिहे भएको तीन वर्षमा लोग्नेलाई पारपाचुके गरी । सानी छोरीलाई लिएर जीवन बाँच्दैछे ।
किन लोग्नेलाई पारपाचुके गरेको भन्ने प्रश्नमा ऊ भन्छे– ‘हरेक दुई मान्छेका विचारहरू अलग हुन्छन् । सोचाइको धरातल अलग हुन्छ । बिहे सम्झौता हो । चित्त बुझे ठिक, नबुझे ब्रेक । किनकि म किनुवा माल होइन ।’
समाजले भन्यो– ‘हकी बबिता ।’
बबिता नं चार ।
पाँचौँ लोग्नेलाई पारपाचुके गरी । किन लोग्नेलाई पारपाचुके गरेकी भन्ने प्रश्नमा उसले भनी–‘चाहिएको थियो । युज गरेँ । युज सकियो । फालिदिएँ । एनी क्वेस्चन ?’
समाजले भन्यो– ‘स्वतन्त्र बविता ।’
४) काकाकुल
मेरो आफ्नो गाउँको तल कर्णाली बगेकी छन् सलललल र सुन्दर । हजारौँ कविता लेखिएका छन् यो कर्णालीको सुस्केरामा । उपन्यास नै बनेका छन् कर्णालीको पानी पीडामा । काव्य बोलेको छ कर्णाली ग्रिफमा । साँच्चि मनमोहक छ यो कर्णाली । हजारौँपल्ट भाषण गरेर आश देखाएको छ राजनीतिले र त्यही कर्णालीमाथिको थुम्कामा मान्छे सधैँसधैँ काकाकुल जीवन बाँचिरहेका छन् । पानी खान नपाएर बसाइँ सरेका छन् मान्छे काठमाडौँमा । त्यो हुलमा म एउटा हुँ ।
छोरी बसेकी छे अमेरिकाको साल्टलेक सिटीमा । म पनि पुगेको छु ।
छोरीले सुनाई– यो शहरमा पानीको मुहान छैन । न खोला न नदी । न ताल न तलैया । भुइँ छेड्दा पनि पानी छैन । हजारौँ फिट गाड्दा पनि कङ्क्रिट मात्र तर पानी छेलोखेलो छ।
मैले आश्चर्य मानेर छोरीलाई सोधेँ–‘छोरी आखिर पानी आउँछ कहाँबाट ?’
‘हिउँदमा यो शहर हिउँले ढपक्क ढाकिन्छ । यो वरिपरि देखिने डाँडाहरूलार्ई हिउँले छोपेको हुन्छ । हो त्यही हिउँलाई पगालेर पानीको व्यवस्था गरेको छ सरकारले । हिउँ पगाल्ने प्लान्ट धेरै ठूलो छ बाबा’ उसले त्यो प्लान्ट देखाउँदै मलाई भनेकी थिई । मैले पनि उसलाई भनेँ–हाम्रो काठमाडौँमा पनि मेलम्चीको पानी आएपछि त छेलोखेलो हुन्छ भन्छन् ।
उसले भनी––आमामामामा, अझै आएको छैन मेलम्ची ? म ७ कक्षामा पढ्दा नै सुनेकी थिएँ कि मेलम्चीको पानीले काठमाडौँका सडक पखाल्ने । अहिले मैले विद्यावारिधि गरेको पनि ४ वर्ष भइसक्यो । उफ के भएको हो बाबा मेलम्चीलाई ?
मैले छक्क परेर उसलाई हेरिरहेँ र भनेँ– खोई छोरी, माथिका कुरा हुन्, म कसरी जानूँ ? तर परिवेशले भन्छ, मेलम्ची आफैँ काकाकुल भएको छ।
५) जन्मदाता
मैले एउटा क्यानभासमा पेन्ट गरेँ । अनेकौँ रङहरूको समायोजन गरेर निकै मिहिनेत गरेको थिएँ । मेरो ७ वर्षे नाति मेरो पेन्टिङ हेरेर रमाउँछ । ऊ पनि टुक्रिएका क्यानभासमा रङ पोतेर चित्र बनाएँ भन्छ । ऊ मेरो पेन्टिङको पहिलो दर्शक हो । समालोचक हो।
मेरो त्यो पेन्टिङलाई हेरेर मेरो नातिले मलाई नै सोध्यो– केको चित्र हो हब्बा, मैले त केही पनि बुझिनँ।
मैले कुचीको फेदले पेन्टिङमा सङ्केत गरेर भने– यो अमूर्त चित्र हो । हेरि नाति, यो रातो रङ्गले पोतिएको मानवाकृति देखिस्, हो यो विभिन्न क्रान्तिका नाममा मारिएका आमाहरूको विम्बचित्र हो । यो निलो रङ व्यवस्था व्यवस्थापनका नाममा मारिएका आमाहरूको चित्र हो । यो हरियो रङ संस्कृति, सभ्यता र परम्पराका नाममा मारिएका आमाहरूको आकृति हो । यो फुस्रो दाग छ नि, हो त्यो जमानाले आमाहरूको दोहन गरेर मारेको कथानक हो । यो पहेँलो रङ सुनको पिँजडाभित्र राखेर दिनरात मारिँदै गरेका आमाहरूको चित्र हो । भन त कस्तो भयो ?
नातिले प्याट्ट भन्यो– ‘मलाई त यो पेन्टिङ मन परेन हब्बा ।’
–किन मन परेन नाति ?
उसले ओठ लेप्य्रायो र भन्यो– ‘भोलिपर्सि म पनि पेन्टिङ् गर्छु । तर त्यो मेरो पेन्टिङमा आमाहरु मारिँदैनन् हब्बा । आमाहरुमा यस्तो शक्ति हुन्छ कि आमाहरुका शत्रुहरु सखाप हुनेछन् । किनकि हाम्रो सरले भन्नु भएको, आमा त सृष्टी हो रे नि, सृष्टीलाई मार्नु हुन्न नि हब्बा।
(ईश्वरको मृत्यु’ लघुकथा संग्रहबाट !)
प्रकाशित: १३ चैत्र २०७७ ०८:३१ शुक्रबार