२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

दाउमा देश !

निबन्ध

युवराज नयाँघरे

 

ओर्लिरहेको हिउँदको दिन !

संसारमा घामपानीबारे अनेक तर्क भइरहेका छन् । औँला ठड्याएर आकशलाई कल्पनाबाट वर ओराल्नेहरू घटेका छैनन् । भुइँ छोडेर कुरा गरिरहेकै छ बहसले । सुनेसम्म गर्ने हो भने ढाडमा बर्सिने घाम र तातोलाई बिदा गरिहाल्नुपर्छ । पिइरहेको पानीलाई किलकिलेमुनि खसाल्ने कुरामा एकछिन ख्याल गर्नै पर्छ ।

घरको छतमा छु म ।

तीन जना नानीहरू बसेका छन् मेरै वरिपरि । नानीहरू जाडोको बिदामा घर कुरुवा भएका छन् । निकै दिनदेखि ती किताब र कापी बोकेर छतको घाममा सेकिन आउँछन् ।  

गृहकार्यको चटारो छ यतिखेर । नसकी नहुने कामको ओइरो ।  

आज तिनका छेउमा छु म ।

किताबले घेरिएका छन् ससाना नानीहरू ।  

घामले गाला छोएका नानीहरू । कपाल, ओठ, हत्केलामा घामको लुकामारी भइरहन्छ । छिनभरमै घामले पसिना नि छुटाउँछ । फेरि हत्केलाले छोपिएर गुलाफी बनाउँछन् नानीहरू आफ्ना गाला र निधार । जुधिरहेका छन् ती घामको मीठो छुवाइसँग ।  

सुन्दरताले चिहाइरहेको भेटिन्छ । सुकोमलताले जिस्केको लाग्छ यी अनुहारमा ।

म घाममा बसे पनि पढिरहेको छु वरपर ।  

तीनजना छन् तीन उमेरका नानीहरू । पन्ध्र, ते¥ह र दश वर्षका किशोरीहरूका छेउमा छु ।  

मेरा आँखा छलेर तिनले खेलेका हरेक खेल नि हेर्दैछु चूपचाप । आपूmलाई थाहा नपाउँदो समयको घोडा बनाउनु मनलाई हँसाउनु हो, पौडिन सघाउनु हो, जितेर पसिना पुछ्नु हो ।  

यतिबेला त्यै हालतमा छु म ।

गृहकार्य गर्न बसेकाजस्ता छन् नानीहरू । तिनका छेउमा लुँडो, चेस, क्यारेम बोर्ड पनि देखिरहेछु । घरीघरी मोबाइल चलाएर सङ्गीतको मौसम पनि सिर्जना गर्न भ्याइरहेकै छन् ती ।  

तिनका उत्तरमा प्रश्न हुँदिन म ।  

एउटा परको दर्शक वा श्रोता भएर कता–कता उभ्याएको छु । हरेकलाई त्यो स्वतन्त्रता छोडिदिनुपर्छ नि ! अनि जितको ताली अनायासै आइपुग्छ । यही बोलीले मेरा कानमा खुसखुस गरिरहेको छ निकै अघिदेखि । निरन्तर छ गुनगुनको लहर ।  

सबभन्दा सानी छ निकै चञ्चल ।

ऊसँग धेरै कुराका हकदाबी हुन सक्लान् । धेरै तर्क र जिद्धीले उसलाई बल दिएको हुँदो हो—‘मैले यो पाउनै पर्छ, मैले यो लिनै पर्छ, मैले यो हत्याउनै पर्छ ।’  

सानी नानीका तुजुग हुन सक्लान् यस्ता ।  

कोल्टिएर घामका किरणमा नुहाइधुवाइ गरिरहेको छु म त । घरीघरी बादलले मजेत्रो पैmलाउँछ । ओठसम्म आएको रिसलाई कतै थन्काएर थामथुम पार्छु ।  

जुरुक्क उठेको क्रोध त सिंहजस्तो नि !  

हिउँदको घाम छ सुस्त । बाँच्नै मुस्किल भएको छ घामको गतिलाई ।

उसले दिएको थाप्नुपर्छ मैले । माग त धेरै छ नि । नपाउन्जेललाई केको हर्ष ! हात परेर रमाउँदाका क्षण नै मागको सार्थकता ठहरिन्छ । पैmलेका हत्केला खुम्चाएको छु यतिबेला ।

माझ उमेरकी नानी थोरै ज्ञानी छ ।  

‘बहिनीले छोडेर, दिदीले दिएको भाग मेरो हो !’  

उसले सम्झिएकी हुनु पर्छ ।  

मसँग उसको धेरै नजिक भएको मन पनि छैन, परको कुनै टुङ्गो पनि छैन । उसका व्यवहारले दिइरहेको शिक्षाका सूचनामा बेरिएको छु म ।  

माझको उसको उमेर । त्यही उमेरले डोरिएको बालसुलभता । मैले आपूmलाई थामथुम पारिरहेको पातलो खुशी छ छिनछिनमा । माझकी केटीमा अहंभन्दा दर्प छ बढ्ता ।  

घामको छायाले क्षितिजको सिँढी टेक्दै झरिरहेछ ।

अब तेस्री केटी ।

हो, तेस्रो अनुहार । अर्थात् ठूली नानी ।

अलिक ज्ञानी । शान्तसँगै उमेरको बलियो उपस्थिति । अरूभन्दा धैर्य हुनुपर्छ, स्वाभाविक चेतनाको लालिमाले पोतिएको अनुहार । कुरा खेल्छन् उसका आँखामा, ओठमा देख्छु कमै ।  

‘हामी तीनमा म नेतृत्वदायी हुँ !’  

सर्लक्क बोलेको लाग्छ यो अनुहारले ।

नहतारिने, बिस्तारै, ललित र क्रमशः रूप आर्लिरहेको । सबै भाग आउँछन् नानीका अनुहारमा । पढिरहेका वा औँलामा बसेका अक्षरका डोबले तिनको ‘ठालु’ रूप देखिरहेको छु म । तिनी चटपट गर्ने अ नानीलाई ओठ खुम्च्याएर र आँखा तरेर शासन गरिरहेकी छन् ।  

घामको पहारमा पढिरहेको छु म नानीहरुलाई ।  

गृहकार्य गर्ने निहुँ मात्र हो तिनको आज । पक्का छ, आज तिनले त्यता मन गरेका छैनन् कत्ति पनि । किञ्चित् तिनका आँखामा अक्षरको मौसम ओर्लिएको छैन तिनको । हो, कुनै अभिरुचि त्यता देखिरहेको छैन मैले । उत्साहले कुनै सुसेली हालेको छैन । उमङ्गले कुनै आङ मर्काएको छैन तिनको ।  

तर बाधा मैले हालेको पो हुँ कि !  

सोध्छु र फेरि पनि पहारमा बसेको छु । पढ्नु छ तिनलाई । हिउँदको घाम र नानीका चरित्रमा उत्रिने रूपलाई छातीमा निफननाफन पार्नु छ आज मैले ।  

हरेक समयका भिन्न पखेटा हुन्छन् । हरेक समयका हुन्छन् अलग उडान । हरेक समयका बेग्लै गति हुन्छन् ।

ती पखेटाले दिने फ्याटफ्याट वा भ्याट्भ्याट्मा आफ्नै चरित्रलाई अँगालेका हुन्छन् । ती सर्वथा मौलिक हुन्छन्, आफ्ना हुन्छन्, निजत्व खालका हुन्छन् ।

ती पखेटाले दिने वेग वा प्रहारले अरुको चरित्र बोकेका हुँदैनन् । ती पूर्णतः स्वयम् खालका हुन्छन्, सम्पन्न हुन्छन्, अपनत्व खालका हुन्छन् । कताकति तिनलाई लाग्दो हो सरम ।  

बढता त, तिनले जित्न नसकेको पीडा नि लागिरहेको हुँदो हो ।  

लुँडो खेले । अल्छी त लागिहाल्यो नि । चेस खेले । दिक्क त लागिहाल्यो नि । क्यारेम खेले । वाक्क त लागिहाल्यो नि ।  

परै हुत्तियो लुँडो, चेस र क्यारेम ।  

नानीहरूलाई दिउँसो पहारमा हरेक कुरा पाएको लागिसक्यो । जितिसके तिनले जम्मै थोक । हर कुरा हात लगाइसके तिनले ।  

तैपनि....।

हो, तैपनि आफ्नो मनैले भनेको कुरा नपाएजस्तो । हिउँदको घाममा छिट्टै बादल आएर पोतिएजस्तो । तुँवालोले अँटठ्याएजस्तो ।  

नानीहरू हाँस्न सकेका छैनन् ।

घरीघरी कानेखुसी गर्छन् । घुँडो चिमोटेर इशारा गरिरहेछन् । औँला कोट्याएर बोली साटासाट गरिरहेछन् । औँला चलाएर इच्छा उतारिरहेछन् ।  

‘मैले त देखिनँ !’

देखेँ नि त्यो सबै गतिपति । तर, देखेको कुरा भन्नु पो कसरी ? हो, देखिनँ भनिरहेको छु । हेरेको कुरो परेलीमा उतार्नै भएको छैन मैले ।  

एउटा सन्तोष आफैंमा  हुर्काएर पहार तापिरहेको छु ।

नबुझेको वा थाहा नपाएको ज्ञानले दीक्षित छु । अज्ञात हुनु पो सर्वोत्तम होला, अभ्यस्त हुनु त कसरी उत्तम हो ?  

यो प्रमाण छ छातीमा । 

नानीहरूसामु परेली चिम्लेको छु । तिनले छिनछिनमा आफ्ना चाहना र रहरका मुड्की बजारिरहेकै छन् । मैले आफ्ना शासनपूर्ण बोली र व्यसनलाई कठोरसँग बाँधिरहेको छु ।  दारा  किटेर नि रिस, आवेग वा क्रोधलाई थिलथिलो पारिरहेकोछु ।

ती गतिले दिने लय वा सुरले आफ्नो लक्ष्य बोकेको हुन्छ । ती अन्ततः जितिरहेकै, दगुरिरहेकै वा बोलीकै लहरमा उडिरहेका हुन्छन् ।  

परस्परमा मिलेका भए पनि । हो, एकदमै नमिल्ने । एकदमै परपरका जस्ता ।  

यी नानीहरुका रुप, बानी, अनुहार र सोचाइका फग्लेटामा मेरा छिपछिपे अनुमान छन् यस्तै–यस्तै । एकदमै रमरमी । एकदमै पातला । एकदमै खिरिला ।  

आज तिनले मलाई पढ्न खोज्दै छन् ।  

घाम, नीलो अकास, फिरफिरे बतास । हिउँदको तातो पहार । शरीरमा घरीघरी मुच्र्छा पर्ने स्याँठ । फेरि डाँटडँपेट लाएर धपाउन खोज्ने ठिहीको घुर्की ।  

मसँग छ नानीहरुलाई सर्लक्क पढ्ने लोभ ।  

दोहोरो छ बोलीचाली । दुबैले बुझिरहेको । अथवा थाहा नपाएर बिताइरहेको क्षण । सरोबरी हुन सक्तैन । तैपनि एउटै छत, एउटै घाम । एउटै पहार, एउटै हिउँदको स्याँठ ।  

मिलेर छल्नु, कराउनु, नाँघ्नु परिरहेको लाग्दो होला—नानीहरु सँगै मैलाई पनि ।

हो, किताबमा मन गएको छैन फिटिक्कै नानीहरुको ।  

गणित, विज्ञान, सामाजिक वा अर्थशास्त्रका किताबैले तिनलाई हुरुक्क पारिसकेको हुँदो हो । अङ्ग्रेजी लेखा, स्वास्थ्य वा जनसङ्ख्याका पुस्तकैले तिनलाई दिक्क तुल्याइसकेको हुँदो हो ।  

चित्रमा जुँगा भर्ने, फरियाचोली लाइदिने, लबेदासुरुवाल बनाइदिने वा केश कोरीबाटी गर्ने कामतिर तिनका हात सकसकाइरहेका छन् । आज तरल भएर कठोरताले संसारतिर फाल हाल्न खोज्दै छ ।

तर छ मेरो छेउको उभ्याइ ।  

कताकति तिनलाई सङ्कोच हुँदो हो । कताकति तिनलाई लज्जा हुँदो हो ।  

‘जाडोमा पढ्न गा¥हो होला । घरमै बसेर पढे त भइहाल्यो नि !’  

मनमा ठाउँ लिन्छ तर्कले ।  

‘सुविधाका पक्षमा यति सानैदेखि जानु राम्रो होइन नि !’  

बोली रहेको छु आपैm ।  

‘बेलामा नगरे कसरी पछि ब्याज पाउँछन् यी ?’  

प्रश्न मेरो छातीमा आउँछ चम्केर ।  

साना नानीहरुका अनुहार पढ्दै कुरा खेलिरहेका छन् मभित्र । तीन नानीहरु हिउँदे छुट्टीमा बसेर आफ्नो पार्दैछन् समयका किलाकाँटा । आफूले  पाएको बिदालाई आफूखुशी बनाउन किन नपाउने हामीले ? यी तर्क पनि गर्दा हुन् आपूmआपूm ।  

विद्वत्वपूर्ण लाग्छन्   आफैले आफैलाई खार्दा । अरुबाट सुनिसकेपछि फेरि कमजोर मानिने । आफैबाट नजितिने खेलको नियम बनाउनु कति ठूलो भुल !  

‘बिहानभरि सुतुँ वा रातभरि पढुँ । मेरो ढकतराजुमा मै जोखिन्छु !’  

तिनले सिद्घान्त यस्तै बनाउँदा हुन् ।  

अनि म छेउमा बसी तिनको पढाइ वा लेखन्ते खबरदारीमा गरेको अप्रिय भइरहेको हुँदो हो उनीहरुलाई । मनमनै अरुचिको डकार फ्याँके पनि बाहिरको गुलाफी गालामा ‘ठीकै छ–ठीकै छ नि’ को बोली बोलिरहेका हुँदा हुन् । गिजामा अशोभनीय वायु चेपे पनि अनुहारमा हाँसो सजाउनु अत्यावश्यक हुँदो हो ।  

‘हामी खेलुम् ?’  

सबैभन्दा सानी नानी बोली ।

मैले आँखा चिम्लेर घामलाई जिउभरि कुद्न दिएको थिएँ । सन्चो मैले मनिदिएपछि त सूर्यलाई आफ्नो शक्ति पोख्न सहज पनि हुने नै भो ।  

‘हुन्छ, खेल !’  

मैले परेली नउघारिकनै भनेँ ।  

तिनले खेल्ने त त्यै क्यारेम होला, त्यै लुँडो होला । त्यै बाघचाल होला, त्यै चेस होला । ठीक छ खेलुन् न त नानीहरूले ।  

यत्ति सोचेँ र घामको परिकारमा रमाइरहेँ ।

अघिसम्म बिस्तारै बोलेका साना नानीहरू अब चम्किन थाले । खेल निकै महँगो हुन थालेछ । गर्मागर्मी भएपछि बोली कडा हुने नै भयो नि । हारजीतको तहमा खेल पुगेपछि स्वर चर्को हुने नै भयो नि ।

‘यो दुक्का म लान्छु !’

बोली सबैभन्दा कान्छी ।  

‘यो पानको दुक्का त मलाई नि चाहिएको थियो !’  

माझकी केटी बोली ।  

‘मेरो त एउटा गुलाम आउनेबित्तिक्कै मर्छ !’  

सबभन्दा ठूलीले हुँकार गरी ।  

ओहो, नानीहरूले त तास पो खेल्न थालेछन् । मेरा कानले थाहा पाए बल्ल पो । खेलुम्, उनीहरूले अनुमति खोजे—मैले हुन्छ भनिहालेँ । के खेल्छौ, सोधिनँ मैले । खेल्ने अनुमति पाएपछि खेल्ने नै भए उनीहरू ।

हो, खेल भन्ने वातावरण मैले तयार पारिदिएँ ।  

अब मैले तास खेल्यौ भनेर कुनै छेकाबाधा गर्नु भएन । अब मैले तासमा डुब्यौ भनेर तर्कवितर्क गर्नु भएन । अब मैले तासका खालमा पस्यौ भनेर खप्की लाउनु भएन ।  

नराम्रोबाट राम्रोमा रुपान्तरण गर्नुप¥यो ।

दुई चरण खेल सकियो खेलेर । नानीहरूले दुई खेप तास खेले । हाँसो, गुनासो वा घुर्की नि सुनेँ मैले ।  

खेल—ठूला वा साना जो कसैको होस्, पराजयको पीडामा ठूलै हुने रहेछ आवाज । खेल—साना वा ठूला जोसुकैको होस्, हारको घाउले चहराउँदा चर्कै हुने रहेछ स्वर ।  

हिउँदको घाम छ मधुरो ।  

आँखाको ढकनी नउघारी बसेको छु म । परेलीमा पातलो स्याँठले लुकामारी खेलिरहन्छ । ताप, राप दुवैलाई अँगालिरहेको छु म ।  

नानीहरूको तास खेलाइ चम्कियो फेरि ।  

‘अब त पैसामा खेल्ने !’  

सानी नानी चम्की ।  

‘खोई त पैसा ?’  

माझकी केटीले अन्यौल देखाई ।  

‘नाक, कान बाजी राख्ने नि !’  

सबैभन्दा ठूलीले उपाय सुझाई ।

लौ त लौ ! सहमति भो खेलका लागि । अब बाजी नै शरीरका अङ्ग भए । हरेक पटक हार्नेले आफ्नो शरीरका अङ्ग राख्दै जानुप¥यो दाउमा ।  

तास फिटेर मज्जाले बाँडियो ।

नानीहरू हातहातमा तास लिँदा छन् । मिलाउँछन् फरर्र । खसेका तास वरपर पार्छन् औँलाका चेपमा । हेरफेर नि गर्छन् । चुकचुकाउँछन्, खिन्न हुन्छन्, दिक्क मानेर तासको जगेडा बुङलाई सराप्छन् ।

फलास खेलेका रहेछन् ।  

‘चली फलाँस नखेलुँ !’  

सानी चम्की ।  

‘हुन्छ–हुन्छ !’  

दुइटी मान्दिए सरक्कै ।  

‘धेरै पैसा गयो, चल फलाँसमा !’  

ठूलीले सानीका कुरा मानिदिए ।  

‘अब उल्टी फलाँस खेलुँम् !’  

सानी केटी बोली ।  

‘हुन्छ, हुन्छ !’  

ठूला दिदीहरू मानिदिए ।  

तास फेरि फिटियो । बाँडियो हार लाएर । आफ्ना अगिल्तिरबाट पल्टिरहेका तास हेर्दै हारजीतको निधो हुन्थ्यो । तास पल्टिनेबित्तिक्कै हारजीतको पैmसला भइहाल्थ्यो चाँडै ।  

सानीले आफ्ना नाक, कान, आँखा गुमाई बाजीमा । अरू तीनचार पटकमा देब्रे हातका जेठी, माइली, साइँली, काइँलीपछि कान्छी औँला पनि गुमाई । उसले गुमेका औँला चुमी निकै खेप ।  

ऊ बाजीमा गएका औँला फर्काउन खुब कोसिस गरिरहेकी छ । रिसाएर, फत्फतिएर ऊ तास फिटिरहेकी छ । अलि–अलि छैन, उसको गनगन ।  

सुनिरहेको छु म ।  

‘हत्तेरिका, एक्का आएको भए नि हुने !’  

सानीले यसपालि पनि हारी ।  

ऊ दाहिने हातका अरू औँला पनि गुमाइरहेकी छ । देब्रे हातका औँला गुमाएर उसले ढाडमा कुटाइ खाइसकेकी छ । अब फेरि दाहिने गोडामा पुगेकी छ हार्नमा । ऊ खुबै पिरलो मानिरहेकी छ—जित्न नसकेको खेलमा परिएको हैरानीमा ।  

माझकी नानीले पनि तासमा भुँडी, कुम, औँला, कुइनेटो र पाखुरा गुमाइसकी । ऊ पनि हरुवा भई निकै पटक । अहिलेसम्म जितुवा भइरहेकी छ—सबैभन्दा ठूली नै ।  

तास खुब फरर्र पारेर फिट्छन् । कैँचे पारेर मिसाउँछन् । दुई हातमा  आधीआधी पारेर तास मिलाउँछन् । तैपनि राम्रो तास नपरेको गुनासोमा नानीहरू नै फन्किरहेका छन् ।  

मैले कोल्टो परेर सबै हेरिरहेको छु ।  

पढेँ भन्नु र पढेजस्तो गरेर डुब्नु अलग कुरा हो । सम्भवतः नानीहरूका आडैमा बसेर म धेरै कुरा पढिरहेको छु । तिनका छायाछेउ बसेको भए—म हार्थें हुँला आफ्नो घोत्लाइँमा ।  

हो, यतिखेर म जितिरहेको छु हर क्षण ।  

खुब जम्यो तासको खाल ।  

ठाउँ सरीसरी उनीहरु खेलिरहेका छन् । आफ्नो ठाम छोड्दै नयाँ ठाउँमा थेच्चिदै बोलिरहेका छन् ती ।

शरीरका अङ्गअङ्ग गुमाइरहेका छन् तिनले तासको बाजीमा ।  

‘दिदीका खुट्टाका औँला त गए नि, मैले त भुँडीमाथि सबै हारिसकेँ !’  

सानीले छाती, आँखा, कान, नाक सबै गुमाएको बताई ।  

निकै भए हारका कुरा । हार्न नहुने तर फेरि हारिरहेको वेदना भइरह्यो पटकपटक । जित्न नसकेको कुराले ठाउँ पायो निकै खेप । जित्नुपर्ने कुराले पनि अड्डा पायो ।  

तर हार त हारै हो नि !  

नानीका धेरै अङ्गहरु बाजीमा गुमिरहेका छन् । तिनका पराजयमा निकै पटक चुकचुकाइ भएका छन् । दुखाइ, उदासी र खिन्नताले उभिने मौका पाइरहेछन् ।  

झण्डै तीन घण्टा खेले तिनले तास ।  

‘दिदी, तपाईंले थोरै हार्नु भो—कुम, घुँडा र दुइटा खुट्टा त हार्नु भो नि !’  

सानीले माझकी दिदीलाई सोधी ।  

‘हो नि !’  

यस्तै भाव ऊबाट आयो ।

मौनता छ । त्यो चुपचापपछि हारको छ सन्नाटा । मसम्म आइपुग्छ त्यो पराजयको पीडा । कति आहत छ हार्नुको चोट । कति चहराउँदो छ त्यो गुमाउनुको पीडा ।  

हिउँदको घाममा छु म।

सबभन्दा ठूली नानीतिर हेरेर भनी सानीले—‘दिदीले पनि कत्ति खेप हार्नु भो । जिब्रो, दाँत, गिजा पनि हार्नु भो है दिदी !’  

ऊ हाँसी दिदीको पराजयमा ।  

ठूली दिदी ठुस्की । आफ्नो हारमा सबभन्दा सानी हाँसेकी थिई अहिले । कति असहज हुन्छ ठूलाको पराजय र सानाको विजय । कति कहालीलाग्दो हुन्छ मसिना बिरुवा हलक्क बढ्नु र ठूला वृक्ष बाम्पुड्किनु । कति चोट लाग्दो हुन्छ—अग्लाहरू खुम्चिनु र होचाहरू अस्वाभाविक अक्कासिनु ।  

यही स्थिति छ हिउँदे घामको ।

म तापिरहेछु ढुक्कले । घामको तातोले जिउ रन्केको छ । पैतालादेखि माथि टाउकैसम्म राप भरिएको छ । शरीरमा कसैको शासनजस्तो ।  

एकछिन अर्कै खेल खेल्ने—गलफती भयो ।  

तर जे नै खेले नि तास त तासै हो । फलाँस वा यस्तै अर्को–अर्को अङ्ग्रेजी नाम । तर नेपाली, अझ नानीहरूका ओठमा माझिएर आइपुग्दा भयो—फराँस ।

नाम र खेल सम्झेर एक पटक म हाँसे पनि ।

खेल फेरि चम्किन थाल्यो । बडो अनुशासित भएर उनीहरू नियम बनाई–बनाई खेलिरहेका छन् । हात टेकेर बाँड्न नपाइने, घुँडा मारी बस्न नपाइने, आँखा झिम्काउनसम्म नपाइने, खुट्टाका औँला छुन नपाइने—यी सबै नियम बनेका छन् ।  

कान कन्याउन नपाइने, दाँत कोट्याउन नपाइने वा नाक खुम्चाउन नपाइने—यी अरु कठोर निर्णय गरिएका छन् ।  

हार्नेहरूले बढी नियम बनाउँछन् । फेरि ती नियम मिच्ने पनि तिनै हुन्छन् पटकपटक ।  

किन हो, सानी केटीले हरेक खेप हारी । हो, हारिरही निरन्तर ।

ऊ दिदीहरूलाई आरोप लगाई रहिथी आफ्नो पराजयमा । जाल, झेल वा षड्यन्त्र भएको दोष थोपरी रहिथी दुई दिदीहरूलाई । सहयोग, याचना वा अनुकम्पाका आँखाले मतिर हेरे नि ऊ फेरि जोतिइहाल्थी आफ्नै तासमा ।  

मैले उनीहरूलाई खेल्न दिनु नै ठूलो कृपा भएको थियो ।  

यसैले ऊ मलाई केही सोध्दिन थिई । कुनै कुरा बोल्दिन थिई ऊ । तीन जनाको लडाइँ गल्फती, द्वन्द्व वा कचिङ्गलोको साम्य उनीहरूबाटै भइरहेको थियो । उनीहरुबाटै भइरहेथ्यो मध्यस्थता । मेलमिलाप वा सहजीकरण उनीहरूबाटै भइरहेको थियो ।  

‘म खेल्दिनँ अब । सबथोक हारेँ !’  

सानीले भनी ।  

‘खेल न खेल !’

‘म सापटी दिन्छु नि !’  

ठूली र माझकीले सल्लाह दिए ।

एकछिन मौन रही ऊ ।

अनि एकाएक भनी—‘अब टाउको मात्र छ, बाजीमा राख्ने !’

‘ठीक छ त्यै राख !’

तास फिटिरहेकी थिई सानी । ठूलीले उसका हातबाट खोसेर फिटी  आफैं। उनीहरू खोसाखोस गर्दै तास फिटिरहेका छन् ।  

‘होस्, म खेल्दिनँ । टाउको भनेको देश हो रे मिसले भन्नु भाको । यो पनि हारे त खत्तम !’

तास फरर्र फ्याँकी छतभरि उसले । हावाले तासलाई वरपर उडायो । मैले हेरिरहेँ उडिरहेका तासका पातला रङ्गीचङ्गी पत्तीहरू ।

गुरुआमा भेट्न सानीको विद्यालय जान्छु म !                  

प्रकाशित: ७ चैत्र २०७७ ०५:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App