भेट्न त भेटे तिमीलाई मैले
धेरैपछि पो भेटे
छैन होला पीडा भन्थे त्यहाँ त
झन् गहिराइ पो देखे ।
जिन्दगीको गहिराइलाई नजिकैबाट
नियालेको लाई पो भेटे
भोभो गाउँदिन गीत कहिले नि भन्थे
झन् सांरङ्गीलाई पो रेटे ।
कस्तो निष्ठुरी यो सांरङ्गीको धुन
मनलाई चस्क्क छ्याइदियो
सुन्दिन भन्थे कसैको पीडा
झन् सुनाएर पो रुवाइदियो
सुन्न त सुने तिम्रो पीडा
धेरैपछि पो सुने
तिम्रो अगाडि सकिन रुन
त्यहीँ भएर पो मुख थुने ।
देख्न त देखे सांच्चै नै देखे
भित्री मनैदेखि पो देखे
छैन होला आँसु भन्थे त्यहाँ त
झन् आँसु को समुन्द्र पो भेटे
यो धर्ती कस्तो परेको पीडा
सुनाउन नमिल्ने ठाँउ भेटे
बिर्सन्छु भन्दा बिर्सन नसक्ने
गडेको मैले घाउ भेटे।
बुझ्न त बुझे तिमीलाई मैले
मनैदेखि नै बुझे।
मन दह्रो बनाए भो रुन्न भने
तर परेली मेरा रुझे।
चर्केको छाती दुखेको मुटु
भएको लाई पो भेटे
मनभरि पीडा गहभरि आँसु
मुखमा हांसो भएकोलाई पो देखे ।
सबै जानेका सबैले चिनेका ।
नचिनेको त एउटाले पो देखे ।
तिमी नै हौ कलमको बादसाह
फेरि पनि मैले पो लेखे ।
लेख्न त लेखे मैले तिम्रो बारेमा
मैले धेरैपछि पो लेखे
चर्केको छाती जलेको मुटु
लिएर कलम चलाएको पो देखे ।
सबै छन् वरिपरि तर
एक्लै भाको पो देखे
होला त्यहाँ रमाइलो भन्थे
तर त्यहाँ त सुनसान पो भेटे
कलम चलाउँदा हुन्छ सम्मान भन्थे ।
तर सजाय भोगेको लाई पो भेटे
छ होला शान्ति भन्थे मैले त
त्यहाँ त झन् धेरै अशान्ति पो देखे ।
मेहेनत पोखी पसिना जोखी
धन कमाएको लाई पो भेटे
नमिल्दा मन प्यारो भो धन
छोडेर गएको लाई पो देखे ।
नआओस् अब उर्लेको भेल
आए पनि त झेल्नु छ
नरोकियोस् कलम न रोकियोस्
पाइला अगाडि बढेको हेर्नु छ ।
प्रकाशित: ५ चैत्र २०७७ ११:२४ बिहीबार