१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

लोप हुँदै चैतलो

चैतलो गाउनको लागि गाउँ जाँदै एक दम्पति । तस्बिरः बिरा÷नागरिक

बैतडीसहित सुदूरपश्चिमका धेरै ठाउँमा चैतको महिना गाईने चैतलो पछिल्लो समयमा लोप हुन थालेको छ । हुड्को बजाएर गाइने चैतलो पछिल्लो समयमा लोप हुन थालेको हो । चैतको महिना प्रत्येक गाउँमा घरघरमा गएर हुड्को बाजासँगै गाइने एक प्रकारको ऐतिहासिक गाथा बोकेको गीत नै चैतलो हो । जसको घरमा चैतलो गाइयो उसले उपहार स्वरुप अन्न, रुपैया र अन्य वस्तुहरु दिने चलन रही आएको छ । खास गरेर दलित समुदायका दमाइहरुले गाउने भएकाले यसलाई जातीय रुपमा हेरिएकाले लोप हुन थालेको महाकाली साहित्य संगम बैतडीका अध्यक्ष चन्द्रमोहन तिवारीले बताए । उनले भने ‘हामीले चैतलोको सांस्कृतिक र ऐतिहासिक पक्षको बारेमा महत्व नै दिन सकेका छैनौं । फलस्वरुप चैतलो लोप हुने अवस्थामा पुगेको छ ।’

चैतलोमा बिशेष गरेर कालीनाग र उसकी पत्नीसँग जोडिएको कथा भन्ने गरिएको छ । ‘परापूर्व कालमा रानादेउ नामका राजाकी छोरीको विवाह कालीनागसंग गरिएको र कालीनागको डरले छोरीलाई भेट्न माइतबाट कोही जान नसक्ने तर उनलाई माइतीको धैरे याद आउने कुरा समेटिने गर्दछ ।’ त्यति मात्रै नभएर रानादेउका छोरा साधुवालाले आफ्नी दीदीको बारेमा थाहा नपाउँदा साथीहरुले बिना दिदीबहिनीको भाई भनेर गिज्याउँदा सहनु परेको पीडा पनि चैतलोमा गीत मार्फत भन्ने गरिन्छ । त्यसैबेलादेखि चैतको महिना दाजुभाईले दिदीबहिनीलाई भेट्ने चलन चलेको सुर्नया गाउँपालिका–५ का जैमल दमाइले बताए ।

केही वर्ष अघिसम्म चैत महिना सुरु भएपछि गाँउघरमा हुड्को बाजाको धुनले गाँउघर नै गुञ्जायमान हुने गरेको भए पनि अहिले चैतलो लोप हँुदै गइरहेको छ । हुड्को बाजा बजाएर देवीदेवताका गाथा, वीर पुरुषका गाथा तथा मनै बहलाउने गीत र परम्परागत संस्कृतिको विधा समेटेर गाइने चैतलो लोप हुँदै गएको जगन्नाथ बहुमुखी क्याम्पसका प्राध्यापक गणेशदत्त लेखकले बताए । घरघरमा पुगेर चैतलो गाउने र त्यो वाफत् अन्न पैसा दिने चलन रहेको समेत उनले बताए ।  चैत महिनामा वसन्त ऋतुको बखान, दाजुभाईले दिदीबहिनीहरुलाई भेट्ने चलन र ऐतिहासिक घटनाक्रमका बारेमा चैतलो मार्फत सुनाउने गरिन्छ । बिशेष गरेर सुदूरका बैतडी र दार्चुलामा चैतको महिना चैतलो सुनाउने चलन रहेको छ ।

प्रकाशित: ५ चैत्र २०७७ १०:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App