१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

बत्ती निभेको साँझ

फूलसरि कोमल यो मन, निर्मल जलभन्दा पनि स्वच्छ र सरस यो मन कोमलतामै रम्न चाहन्छ। सानो मात्र चोटले पनि मर्माहत हुन्छ यो मन। समयका छाल समेटेर यसभित्र परेका धुलित कणलाई पखाल्ने गरेकी थिएँ, अब त सानो मात्र चोट पनि थेग्न सक्दैन यो मन। जसरी पानीको थोपाको बोझसम्म पनि सहन सक्दैन पत्रले। कहिले अतीत सम्झेर रुन्छु, कहिले जीवनका रमाइला क्षण सम्झेर एक्लै पनि हाँस्छु। त्यसैले त यस्तो स्थितिलाई ‘दो मन’ भन्दा रहेछन्।

उद्धरेदात्मनात्मानं नात्मानमवसादयेत्।  

आत्मैव ह्यात्मनो बन्धुरात्मैव रिपुरात्मनः।  

मानिसले आफूले नै आफ्नो उद्धार गर्नुपर्छ, किनकि आफू नै आफ्नो मित्रु हो र आफू नै आफ्नो शत्रु। यो गीताको छैटौँ अध्यायको पाँचौँ श्लोक हो। यो श्रीमद्भगवद्गीता पुस्तक मलाई बुवाले मेरा पतिको स्वर्गवास हुँदा मेरो मुख हेर्दा दिनुभएको हो। त्यो दिनदेखि म यो श्योक नित्य नै प्रातः स्मरण गर्छु। आज भोलिको मेरो दैनिकी त पितालाई जलाञ्जली दिने, फोटोमा हेरेर दर्शन गर्ने बनेको छ। अब त आशीर्वादका निम्ति उठ्ने बुवाका हात उठ्ने छैनन्, आशा पनि बिलायो।  

समय आफ्नो गतिमा बगिरहँदा कहिले यसले खुसी दियो त कहिले पीडा। यसरी मैले सुख र दुःखलाई आत्मसात् गर्दै आएँ, मनको तराजुमा जोख्ने कोसिस गरिनँ। किनकि मैले मनको भार बिसाउने बुवा पाएकी थिएँ। हुन त बुवाको अगाडि पुग्दा, म आफ्ना वेदनालाई सकभर लुकाउने चेष्टा गर्थें। तर मेरो अनुहारबाटै उहाँले थाहा पाइसक्नुहुन्थ्यो र भन्नुहुन्थ्यो, ‘चिन्ता नगर, चिन्तन गर, पीर जति मेरो शिरमा राखिदेऊ।’ अनि मेरो मन हलुंगो हुन्थ्यो। अचम्म त यो लाग्थ्यो कि जब मेरो मनले बुवालाई पुकारेको हुन्थ्यो, त्यही बेला उहाँको अन्तर्आत्माले पनि मेरो पुकार सुन्दोरहेछ। यो कुरा बुवा स्वयं भन्नुहुन्थ्यो। सायद आमाको दूधको तिर्सना मेटाउन औँला चुसेर बाँचेकी छोरी भएर हो कि ?  

हुन त जीवनमा विषादका क्षण यदाकदा मात्र न आउने हुन्। जीवनमा खुसीका दिन आउ“दा, उत्साहप्रद कुरा हुँदा मलाई कतिखेर बुवालाई सुनाउँजस्तो लाग्थ्यो। केही राम्रो काम गरेर सफलता मिलेको छ भने उहाँलाई सनाउँदा पिठ्युँमा धाप मार्दै ‘क्याबात् !’ भन्नुहुन्थ्यो। त्यतिखेर म हर्षविभोर हुन्थेँ। यस्तो अलौकिक आनन्द अब कहाँ ? यो मनले त बुवाको मृत्यु भएको हो भन्ने नै ठान्दैन। यही आफ्नो घरको बाहिरी कोठामा बसेर घाम तापिरहनुभएको छ जस्तो लाग्छ। प्रकृतिप्रेमी साँझदेखि दूर निस्तिजमा व्याप्त गोधुली शिशुको आश्चर्य चकित दृष्टिले हेर्नुहुन्थ्यो। कहिले त मलाई देखाउँदै भन्नुहुन्थ्यो, ‘तँ त कलाकार होस्, हेर ! सूर्यका किरण कम हुनाले वा त्यसको कोण बदलिनाले इन्द्रेणीका रङ विलीन भएको।’ प्रकृतिको यति सूक्ष्म चित्रण अति नै मन्त्रमुग्ध गर्ने। बुवाको बाल्यकाल प्रकृतिसँग खेलेर बित्यो। त्यसैले आफ्नो घरलाई ‘कविकुञ्ज’ बनाउनुभएको छ। घरको प्रांगणमा ठूला ठूला धुपीका, जामुन, हलुवावेद, भोगटे आदिका बोट छन्। यी बोटले सौन्दर्य दिएका छन्, हावाहुरी छेक्छन् र कविकुटीको परिचय दिएका छन्। आजभोलि यी बोट–बिरुवा मुर्झाएका छन्, चराको चिरबिर सुनेर बुवा ब्युँझनुहुन्थ्यो, अब त्यो चिर्बिरमा मिठास छैन विरह छ। मैले त्यहाँ देखेँ– एक जोडी भँगेराभँगेरी बुवाको कोठाको झ्यालभित्र हेर्दै उड्दै गर्थे। सायद आफ्नै कविता लेख्ने कविलाई पो खोजेका हुन् कि ! बगैँचाका फूलले पनि शीतरूपी अश्रु बगाइरहेछन्। बुवाआमाले दिन रातको अथक परिश्रमले बनाएको घर अब निष्प्राणसरि छ। अब यो घर गृहस्थीको हेरचाहको जिम्मा एक्ली ढुकुर्नीलाई छाडेर ढुकुर गुँड छाडेर उड्यो।  

हाम्रो मनले बुवाबिनाको घरपरिवार त सोच्नै सकेन। उहाँको स्वास्थ्यको हेरचाह हरतरहले हु“दै गयो। बुवाले जस्तोसुकै कठिन अवस्थामा पनि हरेस खानुभएन। बुवा भन्नुहुन्थ्यो– आमा (गौरी)को निधनबाट जीवनलाई अलभ्य लाभ सम्झनुभयो रे ! अघिल्लो सालमा पनि बुवा कठिन अवस्थाबाट बाँच्नुभयो। अब त एक–दुई वर्ष बाँच्नुहुन्छ कि जस्तो लागेको थियो। तर, एक सय दुई वर्षमा टेक्दै गरेको बूढो र जीर्ण शरीर, त्यसमाथि औषधिले कमजोर थियो। परिवारका सबैजना, त्यसमा पनि बहिनी डा. किरण बुवाको हेरचाहमा अहोरात्र खटेकी थिइन्। उहाँ भने झन्झन् गल्दै जानुभयो। शरीरमा हाड र छालाबाहेक केही थिएन, आँखामा अचम्मको तेज थियो। बुवालाई हेर्दा सत्य र धर्म स्थापित भएको हेर्न आफूले कष्ट सहेर बसेका ‘भीष्म पितामह’ जस्तैै लाग्थ्यो।  

सबै छोराछोरीलाई पनि उस्तै हो कि मलाई मात्र हो ? बुवा मसित बढी नै अनुगृहित बन्नुहुन्छ जस्तो लाग्ने। अरू बेलाको त कुरा छाडौँ, त्यस्तो बिरामी अवस्थामा पनि मेरो चिन्ता गर्नुहुँदोरहेछ। चिन्ता भन्नाले मेरो दैनिक जीवनको नभई, मलाई जीवनमा आइपरेका चोटको चिन्ता। पहिला पनि भन्नुहुन्थ्यो– यति ठूलो चोट तैँले कसरी सहेकी छस्, म छक्क पर्छु। अनि म भन्थेँ– बुवाको आशीर्वाद पाइन्जेलसम्म म सबै सहन सक्छु। यो बेला पनि मैले त्यसरी नै ‘बुवाले अब मलाई आशीर्वाद मात्र दिए पुग्छ, मेरो चिन्ता नलिनुहोस्’ भनेँ। बुवाले मुसुक्क हाँसेर दुवै हात मेरो शिरमा राखेर आशीर्वाद दिनुभयो। बुवाका आँखाका डिलबाट आँसुका ढिका बगे। म मुटुमा परेको गाँठो फुकाउन अर्कोतिर लागेँ।  

आफ्नो जन्मदाताको बारेमा लेखेर पो के नै लेखिन्छ र। केवल मनमा बसेका सम्झना मात्र कोट्ट्याउने हो। उहाँका सम्झनाका विम्ब त अब अतीतको गर्भमा रहे। मैले त केवल त्यो बेलाको सम्झना मात्र लेखेकी हुँ। बुवाले सायद आफ्नो अनन्त यात्राको मनस्थिति बनाउँदै हुनुहुँदोरहेछ। आफ्नो मृत्यु हुनुभन्दा ५–६ दिनअगाडि बुवाकै अगाडि बसेकी मलाई आफ्नो नजिक इसाराले बोलाउनुभयो र पानी माग्नुभयो, आमाले सादा पानी होइन, नरिवलको जुस माग्नुभएको हो भनेपछि मैले नरिवलको जुस दिएँ। सधैँजसो पाइपबाट नभई मेरो हातमाथि आफ्नो हात राखेर गिलास समाएर जुस पिउनुभयो। यसबाट म चकित परेँ, मलाई तृप्ति पनि भयो, मैले पनि केही पाए“ भन्ने लाग्यो। मलाई लाग्छ, सायद यो अवसर बुवाको अन्तर्मनले सोचेरै दिनुभएको हो।  

दैवको खटन, एक सय एक वर्षको पूर्ण आयु बाँचेर २०७७ भदौ २ गतेका दिन यस धर्तीबाट बुवाको इहलीला विसर्जित भयो। जसै सूर्य भगवान्ले आफ्ना किरणलाई समेटेर अस्ताचलमा अस्ताए, ठीक त्यही बेला बुवाले आँखा चिम्लिनुभयो। भनिन्छ, महापुरुषको जन्म र मृत्यु एउटै महिना, गते, तिथि र बार पनि एउटै समयमा हुन्छ रे ! बुवाको पनि दिनको १ बजे, अमावश्या तिथि र मंगलबारका दिन स्वर्गवास भयो। हामी सबै वरिपरि थियौँ, निर्निमेष रूपमा आँखा हेरिरहेजस्तो लागेको थियो, तर बिस्तारै चिम्लिनुभयो। हाम्रा आँखाबाट अश्रुगंगा अविरल बगिरहे। साँझ बिस्तारै पर्दै गयो, हाम्रो घरको मूल दियो, ज्वाजल्यमान बत्ती निभ्यो, सदाका लागि निभ्यो।

प्रकाशित: २२ फाल्गुन २०७७ ०६:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App