१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

क्यान्टोन्मेन्टमा किरण

सुमित्रा न्यौपाने

 

रातो कभरमा जोडी भएको कभर आँखामा टक्क अडियो । पुरुष पात्रले महिला पात्रलाई काँधमा हात राखेको थियो । तारबारसहित मचान ठड्याइएको यो कभरका  जोडी गम्भीर मुद्रामा भएको अनुमान गर्न सकिन्थ्यो । उनीहरू दुवै जना क्षितिज नियालिरहेका थिए । यो कथा सङ्ग्रह ‘क्यान्टोन्मेन्ट’को कभर पृष्ठ थियो ।

सूर्य अस्ताउने क्रममा रातो भएको थियो । यस्तै बेलामा हातमा आइपुगेको थियो पछिल्लो कथा कृति क्यान्टोन्मेन्ट ।अग्रज साहित्यकार किरण आचार्यको भर्खरै (फागुन २० गते) मात्र विमोचित यो कृति पढ्ने हुटहुटी बढेको थियो । धेरैबेर नियालेर कभर पृष्ठ हेरें मैले।  जोडीको तस्विर देखेपछि क्यान्टोन्मेन्टमा पक्कै प्रेमिल कथाहरू संग्रहित होलान् भनेर अड्कल गरें ।  

कथाकार किरण आचार्य साहित्यमा नयाँ नाम पक्कै पनि होइन । शिक्षा क्षेत्रमा ख्याति कमाएकी साहित्यकार किरण आचार्यको चौथो कृतिको रूपमा ‘क्यान्टोन्मेन्ट’ बजारमा आएको हो । ‘क्यान्टोन्मेन्ट’मा जम्मा २० वटा कथा छन् । कथाकारले आफ्ना कथाभित्र बदलिँदों शिक्षा र समाज परिवर्तनलाई मिठो तरीकाले प्रस्तुत गरेकी छिन् । कथाकार लामो समयसम्म शिक्षण पेशामा रहेको प्रभाव कथामा प्रशस्त पाउन सकिन्छ । शैक्षिक क्षेत्रमा देखिने विकृति र विसंगतिहरू र आफूले जीवनमा भोगेका, देखेका र महसुस गरेका कुराहरू कथाका मुख्य विषयवस्तु बनेका छन् । 

रुप, रंग, उमेर हेरेर मानिस पछि लाग्छन् । फक्रिएको फूलमा बस्ने भ्रमराहरू रस सकिएपछि फर्किदैनन् । ‘विभ्रम’ कथाकी म पात्रको कुमारीत्वले बेलाबेलामा पाठकलाई चुनौती दिएको छ । किशोरावस्थामा शिक्षिका हुँदा शिक्षा निर्देशक उनको उन्मादिलो बैंस र फक्रेको जवानी देखेर पछि लाग्छन् । समयले नेटो काट्दै जान्छ । वैवाहिक सम्बन्ध नजोडेकी शिक्षिकाको मन पचास नाघ्दा पनि उनै निर्देशकसँग जोडिरहन्छ । भेट्न पाए हुन्थ्यो भनेर आतुर रहेकी शिक्षिकालाई भेटेर पनि नचिनेको जस्तो गरिदिन्छन् उनी ।

यौवनावस्थामा मनमा बसेका थिए उनी । बैंसमा उनको अनुहार र शरीर हेर्नलायक थियो । निर्देशकको त्यही अनुहार र व्यवहारको अपेक्षाको गरिरहिन् । उनलाई भेट्ने र खुशी साट्ने लालसा रहिरह्यो । यता निर्देशक भने उमेरले पचास टेकेकी शिक्षिकाभन्दा फक्रिएकी यौवनाको पछि लागेका देखिन्छन् । उमेर छँदा पछि लाग्नेहरू जीवनको उतराद्र्धमा पुग्दा बेवास्ता गरिदिन्छन् ।बिहे गरेर सन्तान भैसकेका पुरुषप्रति एउटी शिक्षित महिलाको आशक्त प्रेम कथामा देखाइएको छ । मनमा बसेको मान्छेको चित्र हटाउन गाहे पर्छ । बेलामा सही निर्णय लिन नसके फुर्सदमा पछुताउनुपर्छ भन्ने कुरा कथाले प्रष्ट्याएको छ ।

‘योगमाया’ कथामा योगमाया सक्षम र नेतृत्व क्षमताका कारण बैंककी प्रबन्धक बनेकी छिन् । पद र जिम्मेवारी बोकेर वैदेशिक यात्रामा पुगेकी उनलाई घर फर्किएपछि चरित्रहीन आइमाईको संज्ञा दिएर आफ्नै लोग्ने र छोराले घृणा गरेका छन् । महिलाको खुशीमा रमाउन नसक्ने पुरुषको चरित्र चित्रण गरिएको छ । घरबाहिर निस्केपछि महिला बिग्रन्छन् भन्ने समाज अभैm पनि छ । घरपरिवार सम्हालेर जागिर खाने सक्षम महिलाहरू घरपरिवारबाटै पीडित हुने गरेका छन् । कामकाजी महिलाहरूका कुरा कथामा छन् । महिलाको क्षमताको कदर हुन नसक्नु अहिलेको ठूलो विडम्बना छ । महिलाहरूमा अवसर पाएमा महिलाहरू पुरुषहरूभन्दा अब्बल हुन्छन् तर पुरुषले महिलाको प्रगतिलाई सजिलै स्वीकार गर्न सक्दैनन् भन्ने कुरा कथामा देखाइएको छ ।

हुन पनि महिलाको नेतृत्वलाई सधै शंकाको नजरले हेरिन्छ । महिलाले गर्ने निर्णयलाई सधैं कमजोर औंल्याइन्छ । परिवर्तन भएको भनिएको अहिलेको समाजमा महिलामाथि घरेलु हिंसा भैरहेको हुन्छ । पढेलेखेका शिक्षित महिलाहरू पनि घरेलु हिंसाको शिकार हुने गरेका छन् । कानुनी लडाइ लड्नका लागि तयार नभएका महिलाहरूका अनेकन् कथाव्यथा कथाका मुख्य अंश बनेका छन् ‘क्यान्टोन्मेन्ट’ कथा संग्रहभित्र ।

‘पारिजातको पूmल’ शीर्षकको कथामा शिक्षकले अप्ठेरोमा परेकी विद्यार्थीलाई सहयोग गरेकी छिन् तर तिनै विद्यार्थीबाट उनी अपमानित हुनु परेको तीतो सत्य देखाइएको छ । साथै कथामा मानिस परिस्थितिको दास हुन्छ । परिस्थितिलाई स्वीकार्ने मान्छे समाजमा सजिलोसँग बाँच्न सक्छ । अनि नराम्रोलाई पनि राम्रो देख्न थाल्छ । मूल्य, मान्यता र आदर्श बिर्सेर वर्तमानमा रमाउन थाल्छ । परिस्थितिले मानिसलाई फरक बनाउँछ भन्ने कुरा कथाले देखाएको छ ।  

‘सन्यास’ शीर्षकको कथा वर्तमान ढोंगी बाबाहरूको कुकर्मतिर परिलक्षित छ । मठ सम्हालेर प्रवचन दिँदै बस्ने प्रभुजीको कालो कर्तुत देखाइएको छ । परिवार सम्हाल्न नसकेर घरबाट भागेका दिनानाथ तिनै प्रभुजीको रासलीला देखेपछि परिवारसँग फर्किएका छन् । धेरैजसो मानिसहरू धर्म र सत्यको वकालत गरिरहेका भेटिन्छन् । धर्म प्रदायक संस्थाहरूमा पनि शोषण हुने गरेको देखिन्छन् । दिक्षित हुने नाउँमा शरीर सुम्पिएका भक्तिनीको कथाव्यथा यस कथामा पढ्न पाइन्छ । हामीले बाहिरबाट हेर्ने सबै कुरा सत्य हुँदैनन् । धर्मकर्मको नाममा जोगी सन्यासी बनेका पुरुषहरूको यौन पिपासु चरित्रलाई कथाकारले कथामा देखाएकी छिन् ।

‘माया’ कथामा महिला पात्र नियति र पुरुषबाट ठगिएकी छ । ‘आमा म आउँछु ’ कथामा कान्छाको भाग्य धनी परिवारसँग गाँसिएको छ । नचाहेरै उसले शहरीया बाबा र आमालाई स्वीकारेको छ ।  

कथा संग्रहको शीर्ष कथा ‘क्यान्टोन्मेन्ट’ले जनयुद्धलाई इंकित गर्न खोजेको छ । माओवादी जनयुद्धकालमा हतियार बिसाएका जनमुक्ति सेनालाई क्यान्टोन्मेन्टमा राखेर सेना व्यवस्थापन गरिएको हाम्रो इतिहास छ । त्यस आन्दोलनमा लागेका टाठाबाठा वर्गहरू उच्च ओहोदामा पुगेका छन् । मन्त्री बनेका छन् । उच्च पदमा पुगे पनि उनीहरूसँग जनयुद्ध लडेका र युद्धको अग्रपंक्तिमा खटिएर घाइते भएका सेनाहरूको व्यवस्थापन गर्न प्रयास गरेको देखिँदैन । सत्ता प्राप्तिपछि नेतृत्वले लडाइमा अपांग बनेका र परिवार गुमाएका आफन्तहरूलाई पीडा मल्हम लगाउन नसकेको यथार्थ कथाले देखाउन खोजेको छ ।  

‘उत्प्रेरणा’ कथा उत्प्रेरित गर्ने खालको छ । आमाको मृत्युपछि टुहुरी बनेकी कथाकी मुख्य पात्र अत्यन्तै व्यस्त समयका बाबजुद आपूmलाई पालेका मामाको कृति विमोचन समारोहमा पुगेकी छिन् । मानिसको इच्छाशक्ति ठूलो कुरा हो भन्ने कुरा यस कथामा देखाउन खोजिएको छ । बाबुआमाको इच्छा अनुसार दिदीलाई सम्पत्ति दिनुपर्छ कि भनेर मामाको छोरा आत्तिएको कुरा पनि कथामा उल्लेख छ ।

‘त्यान्द्रो’ शीर्षकको कथामा महिला पीडा छ । कान्छी ल्याएपछि घरबाट निस्कनुपर्ने पीडा जेठीको छ । सुरक्षाका लागि वृद्ध पुरुषसँग बिहे गरेर आएकी कान्छीको विगत कहालीलाग्दो छ ।

‘प्राथमिकता’ कथामा कथाकी मुख्य पात्रले रक्सी बनाएर छोराहरूलाई इन्जिनियर र सिए पढाएको इतिहास छ । ‘डाक्टर छोरो’ कथामा गरिबका सन्तानहरू पढाइमा अब्बल हुन्छन् तर भनेबमोजिमको पढाउन नसक्दा उनीहरूलाई हिनताबोध हुन्छ भन्ने कुरा देखाइएको छ ।  

‘घडी’ शीर्षकको कथामा महिलापात्र साहसी भएर उभिएकी छिन् । लोग्ने छोडेर एक्लीएकी आमाले छोरालाई आफ्नो बुद्धि र मिहिनेतले पढाएर इन्जिनियर बनाएकी छिन् । पछि विदेश गएर मास्टर्स गरेर फर्किएको छोराले एउटा घडीका लागि आमाको मन दुखाएको छ । ‘क्रान्ति’ शीर्षकको कथामा उद्योगपति र मजदुरबिचको वर्ग संर्घषको कथा छ ।  

कथा संग्रहमा भएका सबै कथाहरू सलल बगेका छन् । महिलाका अथाह पीडा र संर्घष बुनिएको छ कथा संग्रहमा । शिक्षा क्षेत्रका अनगिन्ती कुराका उठान भएका छन् । धेरै कथाहरू महिलाको वरिपरि घुमेका छन् । मायाप्रेम, यौन, बेरोजगार, हत्या, हिंसा, बलत्कार, शोषण, गरिवी, वर्ग संर्घष, राजनीति, संस्कृति लगायतका विषयवस्तु समेटेर कथाकारले संग्रहलाई पठनीय बनाएकी छिन् । अधिकांश कथामा महिला पात्रले दुःख पाएको देखाइएको छ ।  

पितृसतात्मक समाजमा महिलालाई दोस्रो दर्जाको नागरिकका रूपमा हेरिनु र महिलाले नै महिलामाथि दमन गर्नुले पनि यो समाजमा प्रगति हुन नसकेको कुरा कथा संग्रह पढ्दा मनन गर्न सकिन्छ ।  

देश जति नै विकसित भए पनि हाम्रो सोचमा परिर्वतन हुन सकेको छैन । हाम्रो पुरानो सोच र अन्धविश्वासले गर्दा हामी सधंै पछाडि परेका हुन्छौं । धर्म परम्पराको नाउँमा हामी गलतलाई गलत भन्न सकिरहेका छैनौं । अन्धभक्त बनेर धार्मिक सम्प्रदायको पछि लाग्दा सुख सन्तोषभन्दा पीडा प्राप्त हुने कुरा कथाकारले संग्रहमा उल्लेख गरेकी छिन् ।

एउटा असल शिक्षक समाज र राष्ट्रको गहना हो । विद्यालयमा उसले गरेको असल कर्मले जीवनभरि सन्तुष्टि मात्र नभएर सम्मान पनि प्राप्त हुने कुरा कथामा छ । सन्तानका लागि आमाबाबुले धेरै गर्छन् । सर्वस्व सुम्पन्छन् । आफूले कठिन संर्घष गरेर पनि सन्तानका इच्छा पूरा गर्छन् तर सन्तानले आमाबाबुको रहर पूरा गर्न सक्दैनन् बरु आमाबाबुको मन दुखाएर हिँडिहाल्छन् भन्ने कुरा कथा संग्रहमा उल्लेख गरिएको छ ।

कथा पश्चिमी सेरोफेरोमा रुमलिएको छ । कथाका धेरै पात्रहरू जीवन्त लाग्छन् । हाम्रै परिवेशमा देखिएका विभिन्न घटनाक्रम नै कथाका मुख्य विषयवस्तु बनेका छन् । कथाहरू सबै एक बसाइमा पढ्न सकिने किसिमका छन् ।

योगमाया, आमा, सन्तान मोह, अनुसन्धान, घडी, माया लगायत बीसवटा कथा ११८ पृष्ठमा समेटिएका छन् । क्रियटिभ बुक्सबाट फागुन, २०७७ मा प्रकाशित यो कथा संग्रह नेपाली आख्यान विधाको एक सफल कृति बन्न सकोस् । कथाकार किरण आचार्यलाई साहित्यिक सक्रियताको कामनासहित हार्दिक बधाई ।  

प्रकाशित: २२ फाल्गुन २०७७ ०२:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App