८ वैशाख २०७८ बुधबार
कला

यो पनि घर हो ?

कथा

मैले आफ्नो चारतले घरको चारैमुखबाट फोटो खिचेँ । हामी सबै परिवारले कम्प्युटरमा हेर्यौँ । जुम गरेरै हेर्यौँ ।  

मेरो मुटु पनि जुम भएछ र ऊ जुममै मसँग कराउँदै थियो– “वाहियात भइस् तँ, मलाई पनि खाने भइस् । तँ पनि जाने भइस्”  

तर पनि घरका अरू रमाउँदै थिए । आहा ! घर त क्या खासा बनेछ । काठमाडौँमा चारतले नभई त घाम नै नदेखिने ।  

परिवार जम्मा म, मेरी बुढी र हाम्री एउटी छोरी । जम्माजम्मी तीन ।  

अहिले म घर बनाउने बेलाको रगडा सम्झँदै छु ।  

छोरीले भनेकी थिइन्– “बाबा, मलाई ‘सेपरेट रुम विथ अट्याच्ड बाथरुम एन्ड बरन्डा । आई डोन्ट वान्ट टु सेयर एनिथिङ !”

श्रीमतीको मिठो सल्लाह थियो– “हजुर फेरिफेरि बनाइरहने कुरा होइन यो घर । बेलैमा बुद्धि पुर्याउनुपर्छ । अहिले चित्त सानो पार्न हुन्न । एउटा ठूलो बैठक दसबीस साथीभाइ अटाउन सक्ने । एउटा सानो बैठक, यसो गोप्य कुरा गर्नु पर्यो भने चाहिन्छ ।  किचेन राम्रो र ठूलो चाहिन्छ । ठूलो पूजाकोठा पनि जरुरी हुन्छ, रुद्री पूजा कोठाभित्रै गर्न पुग्ने । मान्छेका घरमा भर्याङको टाउकामा उभिन पनि नहुने चेपलाई पूजाकोठा बनाएका हुन्छन् । त्यस्तो कोर्काली पारा गर्न हुन्न । अनि गेस्टरुम पनि राम्रो बनाउनुपर्छ । रेस्ट रुम अट्याच्ड हुनै पर्छ”

घर बन्दै गर्दा साथीभाइ आए । दाजुभाइ आए । ससुराली आए । छिमेकी आए । आफन्त आए । कोही इन्जिनियर आए । वकिल आए । जग्गा व्यापारी आए । घर खरिदबिक्रीकर्ता आए । शुभकामना दिन आए । आफूले जानेको थपेरै गए । बढाएरै गए । मेरो शुभेच्छुक मेरै मुटु आयो र मलाई मात्र सुटुक्क भन्यो– “वाहियात मान्छे, घर बनाएँ भन्दो होस् । यो त जेल हो । कङ्क्रिटको जेल । जङ्गल भएको भए त स्वतन्त्र हुन्थिस् ।”

तर अरूले भनेको जँचिहाल्ने बानी छ मेरी श्रीमतीको । खालि मैले भनेको मात्रै जँच्दैन । उनले एउटा कुरा मानेकै हो मेरो । भागेर आऊ भने । तुरुन्त आइन् । भन्न त मैले ख्यालख्याल नै भनेको थिएँ त्यतिबेला ।  

अरूको घरको साजसज्जा टिपिहाल्ने जिज्ञासु स्वभाव छ छोरीको । मलाई पनि एउटा पढ्ने कोठा चाहिएकै थियो । पढ्न त कोठा नभएकै समयमा पढियो । जति पढियो कोठैबिना पढियो । गाई हेर्दाहेर्दै पढियो । भैँसी हेर्दाहेर्दै पढियो । लोकसेवा पनि सुत्ने खाटमै पुस्तक राखेर पढियो र पास गरियो । सिरान नै पुस्तकको दराज थियो । पढियो । पढे पनि पढियो । नपढे पनि पढिएन ।  

अब पढ्ने त होइन । देखाउनु थियो । सायद एउटा कुण्ठा थियो ‘स्टडी रुम’ को । स्टडीबिनाको स्टडी रुमको । अचेल पनि मान्छे भन्छन् नि स्टडी रुमले पढ्ने भए सबै सेक्सन अफिसर हुन्थे । जे भए पनि सबैका सल्लाह थपेर बनाउँदाबनाउँदा घर भीमकाय त भयो । तर सुन्दर भयो ।  

केही दिनसम्म त घरमा भोज भयो । कहिले श्रीमतीका, कहिले आफ्ना, कहिले छोरीका साथीभाइ आफन्त । श्रीमती भन्थिन्– “एकपल्ट घर त मान्छेलाई देखाउनै पर्छ । सधैँ हामी मात्र कति भाडामा ए” ।  

हामी सायद कुण्ठामा थियौँ सबै परिवार । भाडा बस्दाबस्दाको कुण्ठा । कुरा सुन्दासुन्दाको कुण्ठा । कुण्ठै कुण्ठा । आखिर कुण्ठा पनि त रोग नै त रहेछ । कसैले केही भनोस् वा नभनोस् । कल्प्यो । मनभित्र गढायो । पाल्यो । झोक्रायो । उफ कुन्ठा ।  

मेरी श्रीमती राणकालीन जर्नेलकी पुरेतकी जनातिनी अरे । उनका जिजुबाजेका पिताले कुशबिर्ता पाएका रे । कुशजस्तै सुकेर कहाँ पुग्यो कुन्नि त्यो कुशबिर्ता । तर पनि उनी घरिघरि बिर्तावालकी सन्तान  भन्न बाँकी राख्दिनथिन् । सँगसँगै आउँथ्यो मधेस, मधेसे र म ।  

अँ त घरवास दह्रो सम्पन्न भयो । उनले, कतिसम्म भने, पहिले आपूm भाडामा बसेका घरबेटीसम्मलाई बोलाउनपछि परेकी थिइनन् । मान्छे आएपछि सबैलाई कोठाचोटा पुर्याउँथिन् र भन्थिन्– “यो चानचुने टायल होइन हजुर, कजरियाको हो । यो यस्तो, यो ढिस्कानाको, यो सकली, यो अब्बल कोटीको । यो सोझै दिल्लीबाट मगाएको ।”

कति त उनी साँच्चै भन्थिन् । कति त गफ पनि दिन्थिन् ।  

म उनलाई भन्थेँ– “होइन सानू, भएकै मात्र भने हुँदैन ? गफ दिनुपर्छ ?”

अनि उनी मलाई भन्थिन्– “हजुर पो तराई कि मधेसको । हजुरलाई के थाहा ? यहाँ काठमाडौँमा त सही सलामत बाँच्न गफ पनि दिनुपर्छ । नत्र त काठमाडौँले खाइदिन्छ ।”

म चुप लाग्थेँ । किनकि मलाई थाहा थियो कि यो मैले जित्ने विषय होइन ।  

उनले दिदीबहिनी, आफन्त बोलाउँदै घर देखाउँदै गरिन् । आउने मान्छेले घरको तारिफ गरे । उनको तारिफ गरे । अलिकति त मेरै पनि तारिफ गरे । जति तारिफ गर्थे मलाई लाग्थ्यो म बेवकुफ छु, अनि तारिफ गर्छन ।  

तर मेरी श्रीमती मैलाई भन्थिन्– “देखिस्यो, मेरो चलनचाँजोको कस्तो तारिफ गर्छन् मान्छे । एउटा हजुर हो कहिल्यै मेरो तारिफ गर्ने होइन । घोसे । हजुरलाई मधेसबाट आएर काठमाडौंमा यस्तो घर बनाएकोमा कुण्ठा छ कि क्या हो ?”

म हाँसेको थिएँ । उनैले थपिन्– “म हजुरसँग भागेर आउँदा हजुरसँग के थियो र ? डल्लुमा एउटा सानो कोठा भाडाको र हजुरको सेक्सन अफिसरको जागिर न हो ?”

०००००

मेरी श्रीमतीको रवाफिलो बानीबेहोरा देखेर मेरो साथी रवीन्द्रे आइरहन्छ । सायद उसलाई लाग्दो हो मेरी श्रीमती काइदाकी फरासिली छे । धन्य छु म । उसकी श्रीमती सायद कर्कशा हुँदी हो । प्वाक्कै बोल्दी हो । जे देख्यो त्यही बोल्दी हो । रुद्रघन्टी छैन होला । ऊ मेरी श्रीमती देखेर मजा मान्छ होला बेबकुफ ।  

रवीन्द्रे मेरो घर चारदिन आएन । मलाई आनन्द लागेको थियो । मनमनै भन्थेँ– “साले, गधा सहरको कुरै बुझ्दैन । अहिले बुझ्यो कि ?”

चार दिनपछि टुप्लुक्क आइपुग्यो मोरो रवीन्द्रे । मेरी श्रीमतीले देख्ने बित्तिकै भनिन्– “ओ हो रवीन्द्र बाबु, कता बेपत्ता ? यत्रो दिनसम्म ?, न खोज न खबर, एउटा फोन त हुन्छ नि । यहाँ तपाईंको साथी तपाईंलाई नभेट्दा फत्र्याकफत्र्याक ।”

मोरो रवीन्द्रे मुसुमुसु हाँस्छ र भन्छ– “योसँग त अन्त पनि भेट हुन्छ, भाउजूले पकाएको चियाको स्वाद अन्त कहाँ ? हजुरको हातको लेमन टी त अन्त पाउन दुर्लभ छ ।”

तर मलाई एउटा कुरामा पक्कापक्की विश्वास छ कि मोरो रवीन्दे्र सल्किने मान्छे होइन । पल्किने पनि होइन । चिया खानै आइरहने लोभी पनि होइन । मलाई विश्वास छ । नत्र त मलाई कस्तो आपद पथ्र्याे होला ।  

रवीन्दे्रलाई चोकमा पुर्याएर घर आएको थिएँ । मेरी श्रीमतीले मलाई भनिन्– “परै पुर्याउनु भो तपाईको साथीलाई ?”

मैले छोटो उत्तर दिएँथेँ–“हो, पुर्याएँ ।”

उनले आज त प्रस्टै भनिन्– “तपाईको त्यो साथी कस्तो सोमत नभएको ? त्यस्का घरमा चिया पाक्दैन ? त्यसकी बुढीले चिया पकाउन जान्दिन ? जहिले पनि चिया खाजा खाने बेला भो टुप्लुक्क । एक दिन होइन, दुई दिन होइन । म त दिक्क भै सकेँ ।”

मैले उनलाई भनेथेँ– “अनि ऊ आयो भनेचाहिँ तिमी नै चेब्रे पार्छौ किन ? हुँदो न खाँदो चिप्लित्त तिमी नै पार्छौ । अनि ऊ के थाहा पाओस् त बिचरा तिम्रा पाल्सी कुरा ?”

उनी त झन् झर्किन थालिन्– “यी मधिसेहरू, पढेका भन्न पनि पर्दो रहेनछ । अर्काको घरमा नबोलाई टुप्लुक्क जान हुन्न भन्ने थाहा छैन त्यत्रो अधिकृत भएको मान्छेलाई ?”

मधिसे भनेर उनले मलाईसमेत होच्याउन पाउँथिन् । अब जबजब रवीन्दे्र मेरो घर आउन खोज्थ्यो, म उसलाई भन्थेँ– “आज नजाने यार, तेरी भाउजूलाई सन्चो छैन । ”

ऊ मेरो घर नआओस् भनेर फेरि अर्को दिन अर्को अर्को बहाना बनाउँथे  ।  एकदिन उसले मेरो घर आउन निकै बल गर्यो । मैले उसलाई भनेँ– “आज तेरी भाउजू माइत गएकी छिन् बस्तै ।”

उसले पत्याएको थियो । हामी सबै कुरा सक्कली मात्र गथ्र्यौ । त्यस ैदिन म श्रीमतीलाई लिएर मखन गल्ली गएको थिएँ । गधा रवीन्द्रे टुप्लुक्क भेट भयो । ऊ भेट हुनेबित्तिकै मेरी श्रीमतीले भनिहालिन्–“के हो रवीन्द्र बाबु ? हामीसँग रिसाउनुभयो कि क्या हो ? आउनै छोड्नु भयो ।”

रवीन्द्रले भनिहाल्यो– “भाउजू आजै आउन खोज्याथेँ । यही सालेले भाउजू माइत गएकी छन् बस्तै भनेर भन्यो । यो साले पनि ढाँट्दो रहेछ ।”

उनको जवाफ थियो– “तपाईँको साथी त यस्तै हो । घोसे बानी । फरासिलो हुन त जानेकै छैन ।”

हेर्दाहेर्दै म ढाँट भएँ । घोसे भएँ । मधिसे भएँ । बेसोमती भएँ ।  

र मजस्तो घोसेले पनि श्रीमतीको फरासिलो कुरो रवीन्दे्रलाई सुनाउनुपर्यो । बुझाउनुपर्यो । फेरि कहिले पनि रवीन्द्र मेरो घर आएन । उसले पनि शहर बुझ्यो । उसले त बिहे उतै तराईमै गरेको हो नि ।  

ऊ आएन । त्यसै त काठमाडौँ । कसलाई फुर्सद ? ।  

०००००

चारतले घरको छतमा बसेर सोचिरहेको छु । यत्रो बडेम्माको घर छ । तल्लो तलामा भाडामा बस्ने मान्छे पनि कति शान्त हुन कुन्नि केही चालचुल सुनिन्न । आफ्नै घरमा पनि छोरी आफ्नै कोठामा छे । कोठा परिपूर्ण छ ।  खाना खान किचेनमा जाने चलन छ । नत्र कोठामा प्याक । कम्प्युटरमा प्याक । मोबाइलमा प्याक ।  

श्रीमती घरको छतमै आइपुगिन ।  

उनले भनिन्– “एक्लै, धुम्मधाम्म, के गर्नु भएको ?”

मैले उत्तर दिएँ– “घर छ नि ।”

मलाई टेन्सन भइरहेको थियो । मैले सानूलाई भन्नु नै थियो । नभनेमा म फेरि सेकेन्ड हुन्थेँ । हुन त उनको जवाफको शब्द नै मलाई थाहा थियो । तैपनि सोधेँ– “सानू, मामाको नातिले एसएलसीमा गाउँकै स्कुलबाट नै भए पनि डिस्टिङसन ल्याएछ । काठमाडौँकै राम्रो बोर्डिङ कलेजमा पढाउने भन्नुहुन्थ्यो । दुई वर्ष राखिदिनु न भान्जा भन्नुभएको थियो । आखिर खर्च पानी हाम्रो लाग्दैन क्यारे । घर पनि ड्वाङ्ड्वाङ्ती खाली नै छ ।”

उनले मेरो कल्पनाझैँ उत्तर दिएकी थिइन्– “भोभो बाबै म सक्दिनँ । बल्लबल्ल बनाएको घर धर्मशाला हुन दिन्नँ । होस्टल खुलेका छन् । म आफ्नी छोरीको ता टेन्सन खप्न सक्दिनँ भने अरूको ।”

म मामालाई यति बेला सम्झिरहेको छु । म आइए पढ्न शहरमा अर्काको घरमा बसेको बेला मामा कहिलेकाहीँ आउनुहुन्थ्यो । केही रुपियाँ दिनु हुन्थ्यो र भन्नु हुन्थ्यो– “भान्जा हाम्रा आफन्तमा यति धेरै पढ्ने तिमी पहिला हौ । खलकमा एक जना मात्र पनि सप्य्रो भने आडभरोस् हुन्छ अरूलाई । बाटो लाग्न मद्दत हुन्छ । दह्रो रुख हुनु  आफन्त लहराहरू बेरिन सकून । मेहनत गर्नु । पछि ठूलो मान्छे भएपछि यो मामालाई नबिर्सनु नि ।”

म सम्झिएर तुरुक्क रोएको छु । तर यो आँसुको के मूल्य ? खोई मेरो घर कहाँ छ ?

०००००

केटाकेटी हुँदा खहरे खोलाको चिसो बालुवाभित्र खुट्टा हालेर बनाएको लस्करै घरहरू सम्झन्छु । श्यामेका । रामेका । जेठीका । सुन्तलीका । हरियाका । मङगलाका  र मेरा । सबै घरहरू एकनासका । एक रूपका । समान । हामी त्यही घरमा बिहे खेल्थ्यौँ । म बेहुला हुन्थेँ । सुन्तली बेहुली हुन्थी । श्यामे, रामे, जेठी, हरिया, मङ्गला कोही जन्ती हुन्थे कोही घर गाउँले । सबैले केही न केही पकाउँथे । चिउँडो मुन्तिर लगेर खाएजस्तो गथ्र्यौँ । तर सबै समान थियौँ । उच्छवास थियो । रमाइलो थियो । भोलि आउँदा खोलाको बाढीले बगाइसक्थ्यो ती घरहरू । हामी फेरि बनाउथ्यौँ । चिसो बालुवाले खुट्टा छोप्थ्यौँ । थिच्थ्यौँ । र बिस्तारै खुट्टो निकाल्थ्यौँ । घर तयार । न ऋण थियो । न मुटु चोइटिन्थ्यो । लाग्दथ्यो जीवन यसै बित्ने छ । यसै उच्छवासमै बित्ने छ । जङ्गल आफ्नोे थियो । लाग्दथ्यो । यो आफ्नोे राज्य हो । भुसुनादेखि सिंहसम्म रमाएका थिए । हाम्रो राज्यमा ।  

तर अहिले नेपाल राज्यको राजधानी शहर काठमाडौँमा ढुङ्गा माटोको घर बनाएको छु । सिमेन्ट । फलाम हाँसेका छन् मेरो घरमा । घरकै छतमा बसेर आकाश हेरेर हिजोको जङ्गल सम्झेको छु । रमाउन खोजेको छु । तर अनायास मेरो मोबाइलको घन्टी बजेको छ । सुन्दर कोकिल महिला स्वर छ । भाषा एकदम सभ्य छ । सुललीत छ । सुरम्य छ । त्यो स्वरले भन्दैछ– “हजुर, कृष्ण सर होइसिन्छ ?”

“हजुर हुँ !”

“हजुर आरामै होइसिन्छ नि ।”

“हजुर म आरामै छु !”

“म बैँकबाट सविना हजुर । सविना रायमाझी । हजुरको हाउसलोनको किस्ता तिर्ने म्याद नाघे छ हजुर, हाकिम सा’बले भनेर सम्झाएकी हजुर ।”

“हस्–हस्” भन्दै मैले फोन काटेँ ।  

मेरो मुटुबाट एउटा टुक्रा खत्रक्क मलखानीतिर खस्यो । तुरतुरे लाग्यो । दिसा बसूँबसूँ लाग्यो ।  

मलाई मेरो मुटु भन्दै थियो– “ए वाहियात मान्छे, मेरो एउटा टुक्रा खस्यो । तँलाई ख्याल छ ?”

म एकतमासको भएँछु । मेरी श्रीमती मेरै नजिक आइन् । आकाशतिर हेरेर भनिन्–

“हेरिस्योस् त हजुर, यो हाम्रो घरबाट कुम्भकर्ण हिमाल छ्याङ्ङै देखिन्छ । ”

मैले भनेँ छु– “यो पनि घर हो र सानू ?”

उनले तुरुन्त उत्तर फर्काइन्– “हुन त हो नि, सेठ दयारामका पाँचवटा पाँचतले घर छन्, हाम्रो त उसका हेरी जाबो ।”

प्रकाशित: १६ फाल्गुन २०७७ १८:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
को हुनेछ नागरिक नायक २०७८ ?
को हुनेछ नागरिक नायक २०७८ ?