१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

मिलीजुली

लघुकथा

घरठाउँ छाडेर हिंडेका डुकुलठ्ठक डमरूप्रसाद पाँचसात वर्षपछि फिर्दा उनको नाउँ, रुपस्वरुप मात्रै हैन छोडेको गाउँठाउँ पनि फेरिइसकेको  थियो । उनी डमरूबाट डम्बरप्रसाद, रुद्राक्ष, गेरु वस्त्रधारी बनिसकेका थिए ।  दशबाह्र अनुयायी चङ्गाको पुच्छरझैं हरहमेसा साथमा हुन्थे । हेर्दाहेर्दै एकडेढ वर्षमा ज्योतिष गुरु डम्बरप्रसादको ख्याति शहरको सीमाभन्दा पर पुगिसकेको थियो । उनका फलित गणित फलादेशले, महादशा, अन्तरदशा एवं प्रत्यान्तर दशा इत्यादिले घोर सताएका जातकहरू दशामुक्त भई प्रसन्नचित्त भएँ भन्ने मान्छेहरू अनेकन् भेटिन्थे । उनीसँग संसर्ग गर्न साधारण आम  सज्जनदेखि असाधारण दुर्जनसम्म हुन्थे । मुद्दामामिला, सरुवाबढुवा, व्यापार, विवाहदेखि चिनासम्मका समस्या बोकेर समाधान हेतु सेवाग्राहीको घुइँचो लाग्थ्यो । घुइँचोको चाप घाउने  जुक्ति पनि उनैले गरे । इच्छुक सेवाग्राहीले उनको खातामा दशवटा हजार जम्मा गरेको भौचरका साथ आफ्नो नाउँ अग्रिम सूचीकृत गराउनुपर्ने नियम कडिकडाउ लागू गरे। 

शहरकै र वरपरका अरू ज्योतिषहरू आफ्नो व्यापार सुकेकाले चिन्तित थिए । उनीहरूलाई गाँस पुरयाउनसम्म धौधौ हुन थालिसकेको तर प्रतिस्पर्धी डम्बरप्रसादलाई भने दुवै हातले द्रव्य सोहोर्न भियाईनभियाई  थियो । पीडित ज्योतिषहरू भेला बसेर उपाय खोजे । डम्बरप्रसादका पछि आआफ्ना चर र दुत दौडाए । डम्बरप्रसादलाई भेट्न प्रत्येक औंसीमा  कुनै काले धम्मरधुस र भुसतिघ्रे साधु लुकीछिपी आउने गरेको खबर ल्याए।

अर्को औंसी पनि आयो । त्यो लुकीछिपी आउने साधु डम्बरप्रसादको खोपीमा सुटुक्क छिर्यो र डम्बरप्रसादको कठालो समातेर भन्यो– मैले सिकाएको धुर्त्याइँ, भेट्न आउने मान्छेका पछि आफ्ना जासुस लगाउने कला, कनिकुथीका विद्या, ढाकछोपका मन्त्र, मनगढन्ते समस्या र खर्चिलो निदानका विधि अब सस्तो भाउमा बेचेर हुँदैन डमरू । मेरो कमिसन पनि पन्ध्र टकाबाट पच्चिस टका पुर्या नत्र भोलि नै तेरो पाखण्ड छताछुल्ल पारिदिनेछु।

ढुकेर र लुकेर ती सबै देखिसुनिरहेकाहरू त्यो रहस्योद्घाटनले मुखामुख गरे र खोपीभित्र छिरेर एकैस्वरमा भने– त्यो पच्चिस टकामा अर्को पच्चिस पनि जोड् डम्मरे, हाम्ले पनि जहान छोराछोरी पाल्न पाउनुपर्छ।

प्रकाशित: १२ फाल्गुन २०७७ १२:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App