२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

कला दीर्घाको संस्कृति र स्वरूप

नेपाल आर्ट आउन्सिल खुल्यो। कोभिड– १९ महामारीले धेरै कुरा बन्द भएका वेला यो पनि बन्द भएको थियो। ‘एन एक्जिबिसन फर पर्पोज’ शीर्षकमा नेपाली समसामयिक कलाका पाका कलाकारको सामूहिक चित्रकला प्रदर्शनी गरी आर्ट आउन्सिल खुलेको विधिवत जानकारी आम भावकमा भयो।

यो प्रदर्शनीसँगै यसैवेला कलाकार नरबहादुर बिकेको पनि एकल कला प्रदर्शनी भइरहेको थियो। काठमाडौंको केन्द्रमा रहेको यो कला–दीर्घा सम्भवतः कलाकारको एक मात्र यस्तो ठाउँ थियो र छ, जहाँबाट कला गतिशील भए वा नभएको हेर्न सकिन्छ। आम–भावकले पनि कला जुर्मुराएको महसुस गर्न सक्छन्। यो कला दीर्घामा धेरै ठुल्ठूला हल छन्। 

निकैवटा कला प्रदर्शनी एकैपटक गर्न सकिन्छ। यो काठमाडौंको माइतीघरछेउमै रहेकाले पनि आममान्छेको आवतजावत त्यहाँ धेरै हुन्छ। कुनै विरोधका कार्यक्रम, आमसभा आदिको केन्द्र पनि माइतीघर हुँदा आम मान्छेको ओहोर–दोहोर यतै हुने गर्छ। कला प्रदर्शनीका लागि आममान्छेको अलि बढी आवतजावत हुने ठाउँ आवश्यक हुन्छ।

कलालाई बुझ्न ‘भिजुअल ल्यांग्वेज’ आवश्यक हुन्छ, यसर्थ कलालाई निरन्तर हेरिरहनु नै कलालाई बुझ्ने प्रक्रियाको सुरुको बिन्दु हो, भन्ने गरिन्छ। अन्यथा कलालाई सजिलै बुझ्न सकिँदैन। नबुझिने कुरामा चासो र चाख पनि कम हुन्छ। मूलतः दर्शकले कलालाई हेर्न खोजीखोजी पस्ने सन्दर्भ पनि देखापर्दैन। यो काउन्सिल भने मानिसको ओहोरदोहोर बढी हुने स्थानमा रहेकाले चाहेर–नचाहेर, मन परेर–नपरेर पनि मान्छे यहाँ आउने गर्छन्। 

आराम गर्न, थकाइ मार्न वा बढी भएको समयलाई खर्च गर्न, कसैले कसैलाई भेट्न वा छलफल र मिटिङ गर्न यो ठाउँ उपयुक्त छ। यसरी आउँदा धेरैले यहाँ प्रदर्शित कला अवलोकन गर्न पुग्छन्। सुन्दा अप्ठेरो लागे पनि यही ध्रुवसत्य हो। यसर्थ यो कला ग्यालरी अन्यभन्दा फरक छ। कलासँग सम्बन्ध नै नभएकालाई पनि आर्ट काउन्सिलबारे थाहा छ। सवारी–साधन पार्किङका लागि यथेष्ट ठाउँ उपलब्ध भएका कारण पनि यहाँ मान्छे आउने गर्छन्।

 यो खुल्नुले कलाबाहेकका आम मान्छेलाई पनि यसले राहत दिएको छ। समसामयिक कलालाई अवलोकन गर्ने ठाउँ नेपाल आर्ट काउन्सिलले कलाका साना–ठूला कार्यक्रम गरेर थुप्रै वर्ष बितायो। अहिले पनि माथिल्लो हलमा निरन्तर चलिरहने एक कला प्रदर्शनी जुन वेला पनि हेर्न सकिने अवस्थामा छ। नेपाली कलाकारका कलाहरू जुनसुकै वेला अवलोकन गर्न यसले यथेष्ट मौका दिन्छ। विशेषगरी नेपाली समसामयिक कला हेर्न चाहनेका लागि यसले राम्रो अवसर दिएको मान्नुपर्छ। किनकि नेपालमा यस्तो समसामयिक कलाको अर्को अलग्ग कला ग्यालरी छैन। 

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा यही स्वरूपको वीरेन्द्र कला ग्यालरी (पछि नाम फेरिएकोे) थियो, त्यो अहिले बन्द छ। बरु राम्रो यस्तै प्रकारको धेरै समसामयिक कला संकलन गरेर प्रदर्शन गरिरहेको एउटा कला ग्यालरी पोखरामा छ। स्कुलको माथिल्लो तलामा अवस्थित यो कला संग्रहालय पोखरा निवासी कलापे्रमी, व्यवसायी अशोक पालिखेको प्रयासले सम्भव भएको हो।

 नेपाली समसायिक कलाकार र उनका दुर्लभ मानिने चित्र संकलन त्यहाँ भएका कारण पनि नेपाली समसामयिक कला खोज्नेका लागि यो एउटा राम्रो स्रोत बन्न पुगेको छ। यसमा हरेक कलाकारको ऐतिहासिक अभिलेखन महत्वका साथ राख्न सकेको भए यो सम्भवतः नेपालकै एक मात्र कलाका लागि स्रोत केन्द्रका रूपमा विकास हुन्थ्यो। 

हाललाई यो कामनासम्म गर्न सकिने भइयो। यसैगरी अहिले चितवनमा कलाकार भीम शर्माको सक्रियता र स्थानीय अन्य कलाकार, व्यवसायी, साहित्यकार मिलेर एउटा सुव्यवस्थित कला ग्यालरी खोल्ने योजना बन्दै छ। अब यो चाँडै सञ्चालनमा आउँदै छ। मोफसलमा देखापरेको यो सक्रियताले नेपाली समाजमा कलाप्रति जागरण आएको महसुस गर्न सकिन्छ। भीम शर्माको शान्त वातावरणमा आफ्नै एक अलग्ग कलाको ग्यालरी र कला समूह पनि छ। उनी यथार्थ आकृतिमूलक काम गर्ने कलाकारका रूपमा चिनिन्छन्।  

काठमाडौं उपत्यकामा अन्य कलाका दीर्घा पनि छन्। साना, मझौला यस्ता कला दीर्घा खुल्नु–नखुल्नुले आममान्छेलाई त्यस्तो फरक पर्दैन। किनकि कति ग्यालरीबारे कलाकार स्वयंलाई थाहा छैन। थाहा पाएका कलाकारले पनि त्यो ग्यालरीमा गएको छु भन्दैनन्। यस्ता कला दीर्घा कोभिडका बीचमा कुनै कुनै भर्खर–भर्खर खुले। कुनै अझै खुलेका छैनन्।

सिद्धार्थ कला–दीर्घा हिमालयन लाइट आर्ट अवार्ड पाएका दुई कलाकार जगदीश मोक्तान र प्रियंका सिंह महर्जनको कला प्रदर्शनी गरेर खुला भएको छ। यी दुई कलाकारको पनि टाइटल रमाइलो छ– जगदीशको ‘द वे होम इज अवे फ्रम होम’, यसैगरी प्रियंकाको ‘द रियलम अफ रिकलेक्सन’। यी टाइटलले पनि कला विश्लेषणका क्रममा छुट्टै अर्थ राख्छन्।

यसबारे पछि अलग्ग प्रसंग उठाउला। एम क्युब कला दीर्घा पनि खुलेको छ। पार्क कला दीर्घा खुल्न पाएको छैन भने धेरै दिनदेखि मिथिला ऐँ ग्यालरी बन्दजस्तै छ। नाटकसँग आबद्ध भएर कला दीर्घा पनि छन्। ‘लाइट एन्ड सेड’ कला दीर्घा धेरै भयो क्रियाशील छैन। कलाकारले व्यक्ति विशेष आफ्नै कला राखेर खोलिएका थुप्रै कला दीर्घा अस्तित्वमा छन्। यस्ता कला दीर्घाको यहाँ उल्लेख गरिएको छैन।

सर्वनाम र शिल्पी थियटरका कला दीर्घा पनि खुल्न पाएको छैन। क्लासिक कला दीर्घा, अरूपण कला दीर्घा खुलिसक्यो। तारा गाउँ म्युजियम राम्ररी खुलेको छैन। विकल्प कला दीर्घा भने कडा लकडाउनका बीच पनि खुलेर एउटा सामूहिक कला प्रदर्शनी भइसकेको अवस्था छ। यो कला दीर्घाले थोरै कलाकारलाई मात्र बोलाएर भए पनि कला प्रदर्शनी औपचारिक रूपमै ग¥यो। यसको लाइभ टेलिकास्ट समेत गरे। नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका कार्यक्रम हुन थालेका छन्। 

त्यहाँ सानो कला प्रदर्शनी पनि भएको छ। यसलाई सानो कला दीर्घा मानौँ, अर्थात् कोभिड–१९ को महामारीलाई छिचोल्दै कलाकारबाहिर आउन थालेका छन्। बन्दका वेला भर्चुअल कला प्रदर्शनीले निकै ठाउँ लिएको थियो। अहिले यो अलि कम छ, तापनि यसै बखतको यो महामारीले नेपाली कला जगतमा ‘नेट कल्चर’को बानी यथेष्ट मात्रामा पुर्‍यायो भन्नैपर्छ।

अब आउँदाका दिनमा नेट कल्चरले कलालाई विश्व बजारमा एक अलग्ग पाराले पुर्‍याउला नै। साँच्चै भन्नैपर्दा यो नेट कल्चरले विश्वभरिका कलाकारलाई र कलालाई एकै ठाउँमा जोड्ने राम्रो अवसर प्रदान गरिदियो। अहिले विकसित भइरहेको एक–अर्को राष्ट्रका कला पनि तुलनात्मक रूपमा विश्लेषण गर्न सहज बनाइदिएको अनुभूत हुन्छ।  

कला ग्यालरीको संस्कृति र स्वरूप  

नेपालमा कला ग्यालरीको संख्या खासै बढेको पाइँदैन। कला ग्यालरीको गुणस्तरकै रूपमा पनि खासै विकास भएको पाइँदैन। धेरै पुराना कला ग्यालरीमा कला प्रदर्शन गर्ने र कलाका कार्यक्रम गर्ने तौर–तरिकामा खासै फरक परेको देखिँदैन। तथापि कलाकारको सोच र कलालाई प्रस्तुत गर्ने कुरामा आमूल परिवर्तन आएको देखिएको छ। पछिल्ला दिनमा कलालाई प्रदर्शन गर्ने र आमभावकलाई कलामा पहुँच गराउने गरी कला ग्यालरीको अलग–अलग स्वरूपमा विकास भएको पाइन्छ।

बीचमा होटल र रेस्टुराँमा कलालाई गाँस्ने क्रममा कला–दीर्घाको रूप लिन थालेपछि यस्ता प्रदर्शन कक्ष चर्चामा आउन थालेका छन्। चियाको चुस्की लिँदै वा बियरको बोतल घुटघुटकी पिउँदै सँगै टाँसिएका कलाको रस स्वादन पनि गर्दै जानु पछिल्लोकालमा आएर एक संस्कार जस्तो बनिसकेको छ। कुनै कुनै ठाउँमा एक अलग्ग ठूला–साना कोठा उपलब्ध गराएर पनि यस्ता कला दीर्घा स्थापना हुन गएको देखिन्छ। कतै भने खाना खानका लागि व्यवस्था गरिएको टेबलसँगको भित्तामा चित्र झुन्ड्याएर विधिवत प्रदर्शन गर्ने प्रचलन विकास भएको देखिन्छ। 

बाहिर एउटा रेस्टुराँको चौरमा स–साना टेबलमा बियरको चुस्की चलिरहने, उनैको अगाडि–पछाडि अस्थायी रूपमा उभिएका इजलमा ठूला–साना क्यानभास प्रदर्शन भइरहनुले पनि रोचक कार्यक्रमको आभास दिएको हुन्छ। अझ यसैबीच औपचारिक कायक्रम अनि कलाका वक्ताले बोलिरहने वातावरणले गर्दा एक प्रकारले कलालाई आम मान्छेबीच पुर्‍याउने यो प्रयास रोमाञ्चक रूपमा देखापर्ने गर्छ। कला कति बिक्री भयो वा भएन, यसको जानकारी सार्वजनिक हुने गरेको चाहिँ छैन। तर यो परम्पराले गर्दा कलाको रस स्वादन गर्ने मौका यथेष्ट मात्रामा उपलब्ध गराएको देखिन्छ।

यस्ता प्रदर्शन कक्षमा बिक्री पनि राम्रै हुने गरेकाले होला, यतातर्फ कलाकार बढी झ्यांगिन थालेका छन्। यस्ता होटल वा स्तरीय रेस्टुराँतिर बाहिरका पर्यटक बढी आउने गरेकाले यस्ता कला प्रदर्शनी बढी मात्रामा हुने गरेको छ। कतिमा त कला म्युजियमकै रूपमा पनि थुप्रै कला संकलन गरेर स्थायी रूपमा जस्तै प्रदर्शन गरिराखेका हुन्छन्। अझ हेर्नलाई शुल्क समेत राखेर व्यवस्थित कला म्युजियमको रूप पनि खडा गरेको देखिन्छ।  

कलालाई प्रदर्शन गर्न अहिले अनेकौँ तरिका कलाकारले अपनाउन थालेका छन्। ग्राफिटी कलाको नाममा भित्तामा कला प्रदर्शन गर्ने क्रम अहिले अचकाली बढेर आएको छ। धेरै घरका भित्ता र पर्खालमा ओपन ग्यालरीजस्तै गरेर काठमाडौं भ्यालीभित्र विभिन्न (कतै सन्देशमूलक र कतै विद्रोहात्मक) कला देख्न सकिन्छ। सामाजिक र राजनीतिक मुद्दालाई लिएर पनि यस्ता कला बन्न थालेका छन्। पुरानो भित्तेचित्रको नयाँ रूपमा यो ग्राफिटी कला अहिले नौलो मानिन्छ। 

स्ट्रिट आर्टकै रूपमा बाटो वा बत्तीका पोलमा कला प्रदर्शन गरेर पनि कला दीर्घाको अर्को रूप देखिन थालेको छ। पुरानै भित्तेचित्रतर्फ पनि संस्कारलाई बचाउने क्रममा वा सहर–बजारलाई कलात्मक बनाउने क्रममा कलाकार जुर्मुराएका देखिन्छन्। अहिले कीर्तिपुरका थुप्रै घर नेपाली मौलिक कलाले रंगीन थालेका छन्।

बिग्रेको, भत्केको पाटी पौवालाई जीर्णोद्धार गरी सान्दर्भिक भित्तेचित्र बनाउन पनि थालिएको छ। जागरुक कलाकार यसमा लागिपरेका छन्। यसैको नयाँ रूपमा भर्खरै १० जना युवा कलाकारले वागमतीको पुलमुनिको घीनलाग्दो भित्तामा फोटोग्राफिक कलालाई भित्तामा टाँसेर कला ग्यालरीको नयाँ रूप दिएका छन्। फोटोलाई कम्प्युटरमा म्यानिपुलेट गरेर फोटोग्राफिक कला विकास भएको निकै वर्ष भइसकेको छ।

तथापि इन्टेनसनल्ली अप्ठेरो र फोहोर ठाउँमा यस्ता छापा चित्रकलालाई प्रदर्शन गर्नुले एक अलग्ग अर्थ भने राख्छ। यसरी बाहिर भित्तामा चित्र टाँगिनु सर्वथा नयाँ होइन, तथापि खास मुद्दा लिएर, अवधारणगत रूपमा मनका बह र विचार पोख्नु नौलो मानिन्छ। सफा–सुग्घर कोठामा भावक नआइरहेको अवस्थामा यस्तो फोहोर र अप्ठेरो ठाउँमा दर्शक आउँछन् वा आउँदैनन्, यो अर्को सवाल हो। नाक थुनेर हतार–हतार बाटो काटिरहेका आम भावक टक्क अडेर यस्ता कला हेर्न बसिरहन्छन् वा रहँदैनन्, यो अर्कै सन्दर्भ हो। भावक घन्टौँ उभिऊन्, अवलोकन गरून् भन्ने उद्देश्य राख्नु सम्भवतः आजको आवश्यकता पनि हो।  

उहिलेका कला दीर्घा  

सन् ८० को उत्तराद्र्धतिर अलग्ग अवस्था थियो। कला ग्यालरी एकदमै कम वा नगन्य रूपमा थियो भन्नुपर्ने हुन्छ। त्यतिवेला काठमाडौंस्थित इन्डियन कल्चरल सेन्टरको लाइब्रेरीमा एउटा ठूलो हल थियो। भारतीय दूतावासमा एउटा निवेदन दिएपछि त्यो हल लिन पैसा तिर्नुपर्दैनथ्यो। अझ सम्भवतः ६० को दशकमा यही निकायको वसन्तपुर छेउमा रहेको सानो प्रदर्शन कक्षमा आजका नाम चलेका कलाकारको कला प्रदर्शन भएको छ, जुन एउटा ऐतिहासिक घटना थियो, कला दीर्घा र कलाको कतिको गहिरो सम्बन्ध हुन्थ्यो भन्ने पनि यसले संकेत दिन्छ।

किनकि यसभन्दा पहिले कलाकार घरभित्र मात्रै कला बनाउँथे, त्यसलाई सार्वजनिक गर्ने परम्परा थिएन। यसो हुदा आज पनि हाम्रै अति महत्वका कलाकृतिमाथि हामी अनभिज्ञ छौँ। कला प्रदर्शन गर्न मन भएर मात्रै हुँदैन, यसका लागि ठाउँ आवश्यक हुन्छ। सबैभन्दा केन्द्रमा रहेको र यथेष्ट ठाउँ भएको नेपाल आर्ट काउन्सिलमा पनि पर्याप्त मात्रामा बत्ती राखिएको छैन। विशेष खालको बत्तीको कमीले भित्तामा टाँसिएका चित्र निजी गुणस्तरमा देखिँदैन।

अन्य साना कला दीर्घाको कुरा छोडौँ। त्यति वेलाको इन्डियन कल्चरको यो हल त मात्र एक हल थियो, सम्भवतः कला दीर्घाको रूपमा पनि थिएन। बरु पछि नेपाल ललितकला संस्थाको स्थापना भएपछि सीता भवनको विशाल कक्षमा कलाले प्रदर्शन हुने मौका पायो। ०७२ को भूकम्पपछि यो खुला अवस्था छैन। 

अहिले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानसँग पनि आफ्नै अलग्ग कला दीर्घा छैन। यस वेलाको मजा के थियो भने, बिक्री कम हुने हुनाले सबै विधाका दर्शक र हरेकजसो कलाकारलाई निमन्त्रणा गरिन्थ्यो। दर्शकको भीड पनि हुन्थ्यो। सबै क्षेत्रका दर्शकको भेला हुने हुँदा कलाबारे यथेष्ट कुराकानी हुने गथ्र्यो। आज कलाकारका आ–आफ्ना स–साना गुटका साथीभाइ मात्र जम्मा हुने प्रचलन भइसक्यो। अनि कलाका क्रेता जहाँ बढी आउँछन्, उतैतिर बढी प्रदर्शन हुने प्रचलन भइसक्यो। बोलाउने प्रचलन पनि हराएर गइसकेको अहिलेको अवस्था हो।  

कला प्रदर्शनी र अध्ययन  

कला प्रदर्शनी अनि अध्ययन एकै साथ जोडिएर आउने गर्छ। सम्भवतः यो कुरा पर्यावाचीको रूपमा देखापरेकोे छ। कला प्रदर्शनी कला हुनुसँग सम्बन्धित छ, हुनु भनेको कला सिर्जनासँग सम्बन्धित छ। कला सिर्जना गर्नअघि अध्ययन आवश्यक हुन्छ। तथापि कलाकारमा अध्ययन आवश्यक छ वा छैन भन्ने कुरामा कलाकारबीच गहिरो मतभेद छ। 

अधिकांश कलाकार सिर्जनालाई अध्ययनसँग गाँसेर हेर्न चाहँदैनन्। तथापि जतिजति कला सिर्जना र कला प्रदर्शनीमा कलाकारको नयाँपन देखाउने रहर जाग्यो, अनि नयाँ अवधारणा आउन थाले। हिजो र आजका कलाको प्रवृत्ति बुझ्न आवश्यकता बोध हुन थाल्यो। स्पष्ट छ, यहाँनेर कला इतिहासको अध्ययन आवश्यक भयो– विश्व कलाको इतिहास, आफ्नै देशको कलाको इतिहास आदि। यति नभई आफ्नै कलामा पनि नौलोपन नदेखिने स्पष्ट भएपछि बिस्तारै कलाबारे अध्ययनका प्रक्रिया सुरु भएको देखिन्छ। विश्वमा प्रचलनमा रहेको आजको कलाको प्रवृत्तिलाई गहिरिएर अध्ययन गर्नुपर्ने धेरैलाई बोध भएको देखिन्छ ।

सर्जकले अध्ययनलाई बेवास्ता गर्दा त्यसको असर कलामा देखिन थालेको छ। आज कलाका स्कुल र क्याम्पसमा अनुसन्धानको अवधारणाले तीव्रता पाएको छ। कला सिर्जनाकै प्रक्रियामा पनि विषयगत अध्ययन गहिरोसँग हुनुपर्ने अवधारणा आउन थालेका छन्। यति मात्र होइन, कलाकारले सामाजिक सवाललाई लिएर काम गर्न (कला बनाउन) थालेपछि समाजको अवस्थिति, राजनीतिक र सामाजिक मूल्य–मान्यताबारे जानकार हुनुपर्छ, आम समुदायको अवस्थालाई गहन अध्ययन नगरीकन कला सिर्जना गर्दा कला र समुदायको तालमेल नमिलेको भनी प्रश्न उब्जिन्छ। 

गहन अध्ययनपछि कलाको संगठन र मोटिफहरूको चयन वा यसलाई प्रस्तुत गर्न यसअघिका प्रयोगलाई बुझ्न जरुरी छ। शैली र प्रवृत्तिमा नयाँपन आउन पनि त्यसको इतिहासलाई केलाउन जरुरी हुन्छ। नवीनतम विचार वा समसामयिक विचार ल्याउन पनि वर्तमान अवस्थालाई अध्ययन नगरीकन सकिँदैन। यसरी कलाको अवधारणा, कलाको विकास, यसका ऐतिहासिक परिप्रेक्ष्य आदिलाई मनन गर्न कला लेखक वा कला समीक्षा आवश्यक देखिन आएको आजको अवस्था हो।

 तर, हामीमा यस्तो चेत त्यति आउन सकेको छैन, बाहिरी जगत्मा भने यो अवस्था यथेष्ट रूपमा आइसकेको छ। हामी गर्दैनौँ तर बाहिरी जगत् त आफ्नो प्रक्रियामा लागिरहेका हुन्छन्। अनि, हामी बाहिर भइरहेको यस्ता नौलो क्रियाकलापमा सँगसँगै हिँड्न उद्यत् भइहाल्छौँ। यसैको उदाहरणमा अहिले हङकङको एउटा कला निकायसँग सिद्धार्थ कला फाउन्डेसनले मोबाइल पुस्तकालयको सानो तर गहन कार्यक्रमको थालनी गरेको छ। 

नेपाली कलाबारे लेखिएका पुस्तकको संकलन गर्ने र यसैलाई एक ठाउँमा व्यवस्थित गर्ने यसको मुख्य ध्येय हो। कलाको स्कुल र क्याम्पसमा यसको पहुँच बढाउने यसको अर्को उद्देश्य हो। एसिया वा दक्षिण एसियाका राष्ट्रको आ–आफ्नै कलाको इतिहास, कलाका क्रियाकलाप बुझ्ने अर्को सन्दर्भ होला। अर्थात् हरेक राष्ट्रको कला गतिविधि, कला अवधारणाबारे आपसमा छलफल, चिन्तक मनन गर्नका लागि पुस्तकालयलाई केन्द्रबिन्दुको रूपमा कल्पना गरिएको छ। हाल विकल्प कला समूहले आफ्नै स्पेसमा सानो पुस्तकालय स्थापना पनि गरेको छ। कलाकार महिमा सिंह यसको संयोजक हुन्। हालसम्म चार सय ८४ कलाका पुस्तक समेत जम्मा भएको छ।  

कलाको अध्ययन, कला सिर्जना, कला प्रस्तुति वा कला प्रदर्शनी, विभिन्न स्वरूपमा भएका कला दीर्घा सम्भवतः एकमुष्टमै देखिन आउँछ। मात्र कला ग्यालरी वा कला प्रदर्शनीलाई अलग्गाएर हेर्न सकिन्न। नेपालको समसामयिक कलाको इतिहास यसो फर्केर हेर्‍यौँ भने अचम्मको अवस्था देखापर्छ। सन् ६० को दशक अलि अगाडि पश्चिमी दर्शन, सिर्जनाका पद्धति र पश्चिमी कला शिक्षा प्रवेश भएको देखिन्छ। सन् ६० को दशकपछि एकैपटकजसो आधुनिक कलाको सबैजसो शैली र प्रवृत्तिले प्रवेश पायो।

यथार्थवादी चित्र वा वास्तुवादी मूर्तिदेखि प्रभाववादी, अमूर्तकला वा अभिव्यञ्जनावादी, अतियथार्थवादी, घनवाद सबै प्रवृत्तिलाई बाहिर पढेर आउने कलाकारले प्रयोग र अभ्यास गरे। यसपछि नयाँ युवा कलाकारले समेत यसै प्रवृत्तिलाई थोरै परिमार्जित रूपमा प्रयोग र अभ्यास गरे, अहिले पनि गर्ने गरेका छन्। सन् २००३ तिर उत्तरआधुनिककलाको प्रवृत्तिले प्रवेश पायो। आजको सासामयिक कलाकार यी कलाका प्रवृत्तिलाई विभिन्न कोणबाट प्रयोग गरिरहेका छन्।  

क्रमशः रूपमा देखानपरे पनि आधुनिककलाका यी विविध शैलीले दृश्यचित्र वा व्यक्तिचित्र, स्थिर जीवनका चित्र आदि सबैमा आ–आफ्नै प्रकारले प्रभाव पार्दै आएको इतिहास छ। व्यक्तिचित्रको मात्रै सानो सन्दर्भ लिउँ, समसामयिक चित्रमा अति विशिष्ट मूर्धन्य चित्रकार तेजबहादुर चित्रकारको पश्चिमी शैलीका सिर्जना गरिएको व्यक्तिचित्र अनि क्रमशः अमर चित्रकार, विजय थापा, कान्छा कुमार कर्माचार्य, आइबी मल्ल आदिले गरेका लोभलाग्दा व्यक्तिचित्रको इतिहास र यसको क्रमशः विकासबारे अध्ययन गर्न आवश्यक छैन र रु यतापट्टि वास्ता भएको देखिँदैन।

किनकि नेपालमा समसामियक कलाबारे प्रकाशनमा आएका सबैजसो पुस्तक लेखकको नितान्त प्रयास र आफूलाई जे–जस्तो आयो, त्यही छापिएका छन्। कुनै विशेष कलाको अति आवश्यक क्षेत्र वा विषयलाई लिएर अनुसन्धान गर्ने वा गराउने कुनै निकायले पहलसम्म गरेका छैनन्। सन्दर्भ के हो भने अहिले संकलन गरिएको पुस्तक करिबन यस्तै छन्।  

यो सन्दर्भ किन पनि आवश्यक ठानिएको हो भने, यता पछिल्लाकालमा आएर यस्तै यथार्थवादी व्यक्तिचित्रलाई केन्द्रमा राखेर युवा कलाकार यसैलाई अत्यधिक आधुनिक रूपमा प्रस्तुत गर्न थालेका छन्। पुस्तकालयको अवधारणा ल्याउँदा विशेषगरी कलाको अनुसन्धानका विषय, ऐतिहासिक आलेख गर्न लेखन विधालाई कसरी प्रोत्साहित गर्ने, बढीभन्दा बढी कला लेखकलाई यो क्षेत्रमा प्रवेश गराउने भन्ने चासो देखिन्न। अब यसबारे सोच्ने हो कि ? 

(लेखक कलाकार र कला समीक्षक हुन् ।)  

प्रकाशित: ८ फाल्गुन २०७७ ०५:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App