९ मंसिर २०८१ आइतबार
image/svg+xml
कला

बलात्कारविरुद्ध साहित्य शक्ति

अक्षर

तमी र म एउटै होइनौँ

एक–अर्काका पूरक मात्रै हौँ

त्यसैले तिमी मेरा थुप्रै अनुभूतिका भागिदार हुन सक्दैनौ

म तिम्रो मृत देहसँग जिउँदै मर्न सक्छु

म तिमीहरूको सामूहिक बलात्कार खपेर बाँच्न पनि सक्छु

तिमीलाई त यसो कहिल्यै भएन...।  

(मानुषी, पारिजात)

कवि पारिजातका उपरोक्त कवितांश बलात्कारविरुद्ध बलेको विचारको सशक्त ज्वाला हो। यो नारी अस्मिता र मानवताको सर्वमान्य आग्रह हो। जब हामी बलात्कारका सन्दर्भमा बहस गर्छौं, तब नारी र पुरुषबीचको समानताधर्मी आदर्श अनि व्यावहारिक यथार्थको समीक्षामा केन्द्रित हुन्छौँ। प्रतिष्ठायुक्त नेपाली साहित्यकार एवं वैचारिकीकी धनी पारिजातका कवितामा मात्रै होइन, अरू विधामा पनि बलात्कारविरोधी आवाज बुलन्द भएको पाइन्छ।  

नेपालको सामाजिक र सांस्कृतिक धरातलको परम्परित कुरीतिका कारण लैंगिक विभेद, जातीय विभेद, वर्गीय अन्तरालका विषमताले जरा गाडेको छ। नारीप्रतिको गलत धारणा पहिल्यैदेखि दोहोरिँदै आइरहेकै छ, आजको बजार वस्तुकरण तथा चरम अराजक, दण्डहीन, व्यक्तिगत स्वार्थयुक्त आत्मकेन्द्रित चिन्तनका कारण पनि बलात्कारका अपराधले आतंक उत्पन्न गरेको छ। यो मूलतः नारी उत्पीडनसित गाँसिएर तथा पुरुषप्रधान शक्ति र सत्तासापेक्ष भएर आएका समस्या हुन्। कविको व्यंग्योक्ति प्रहार हृदयहीन मानवताको विघटित मानसिकतातिर सोझिएको छ। धर्तीका सृष्टिमाता कोमल नारी पुष्पको मूल्यबोध गर्न नसक्नु, समाजलाई एकल लैंगिक सत्ताको भरमा देवत्वकरण गर्नु, अन्धविश्वास र छुवाछुतलाई परास्त गर्नुको सट्टा त्यस प्रकारका घटनालाई सहेर बस्नु आदि कारण बलात्कारको सिकार भएका डरलाग्दा समाचार लेखिनु र सुनिनुपरेको तीतो यथार्थ हो। बलात्कारजस्तो मानव र मानवताविरोधी घटनाले के नारी वर्गलाई मात्रै असर पारेको छ ? अवश्य यसबाट सिंगो मानव समाज लज्जित र त्रसित भएको छ। यसको पुनरावृत्तिको भयवादले बेसरी गाँजेको छ। एउटी किशोरी या नारी बलात्कृत हुँदा परिवार मात्रै होइन, समाज र राज्यले नै त्यसको उत्पीडन झेल्नुपर्छ। यो मानव जगत्को साझा समस्या भएकाले यसको अन्त्यका निम्ति साहित्यको शक्ति कहाँ कसरी प्रयोग भएको छ भन्ने चर्चालाई अघि बढाउनु समय सन्दर्भ बनेको छ।  

साहित्य सिर्जना जहाँ र जहिले पनि मानव कल्याणसित जोडिन्छ र जोडिनुपर्छ। कतै कल्याणविरोधी काम भएको छ भने त्यसको विरोधमा साहित्य उभिन्छ र उभिनुपर्छ। वास्तविकता होस् या कल्पना, यथार्थ अनि विम्बात्मक भाषामा, प्रत्यक्ष तथा अप्रत्यक्ष शैलीमा मानव हितका पक्षपोषण र मानव अहितका विरुद्ध आलोचक–व्यंग्य प्रहार भएर सिर्जित हुनुमै साहित्यको सगर्व सत्यापन झल्किन्छ। सौन्दर्य पारख गर्दा प्रशंसाभाव व्यक्त गरेर साहित्य मानव हितमा गाँसिन्छ भने मानवताहीन क्रियाकलापका विरोधमा विरुद्धभाव पस्केर यसले मानवीय जगत्को उद्धारमा आफ्नो भूमिका निर्वाह गर्छ र गरिनुपर्छ। साहित्यिक शक्तिको कसी नै यसले मान्छेलाई कति चिन्यो वा चिनेन ? मानिसका वास्तविकता के कति व्यक्त गर्न सक्यो भन्ने आधारमा स्पष्ट हुन्छ। 

मानिसको दुःखलाई बोध गर्न नसक्ने, बेखबर हुने, आत्मरतिमा अन्तै रमाउने, मानिसलाई मानिसबाट अलग बनाएको सन्दर्भलाई आलोचना गर्न नसक्ने प्रकारका साहित्यमा शक्ति रहन्न। मानिसका मार्मिकता, भाव–विचार र व्यवहारलाई स्पर्श गर्न सक्ने साहित्यमा शक्ति स्फुरण हुन्छ। यस्ता साहित्य सिर्जनाले मानिसका अनेक चोटमा सामाजिक, सांस्कृतिक, मनोवैज्ञानिक मलम लगाउन सक्छ। न्याय र अन्यायलाई पर्गेल्न सक्नु नै साहित्यको शक्ति हो। यसै परिप्रेक्ष्यमा बलात्कारविरुद्ध साहित्यको शक्तिलाई सान्दर्भिक रूपमा अघि सार्न सकिन्छ। कविता विधामा मात्र होइन, हरेक विधा र संरचनामा बलात्कार जस्ता हिंसात्मक, अमानवीय कृत्यको विरोधमा साहित्यको शक्ति प्रदर्शन भएको छ। तर, यसको शक्तिलाई बलात्कार विरुद्धको व्यापक उद्देश्यसहित सिर्जना र समालोचना गरिनुपर्छ। साहित्यको शक्तिलाई संगठित आधारमै बलात्कार विरोधी धारमा खडा गरिनुपर्छ। यसलाई मानव समुदायमा चेतना, जागरण, परामर्श र भण्डाफोरजस्ता आयाममा उतारेर साहित्यले सार्थक भूमिका निर्वाह गर्न सक्छ।  

मानव सभ्यताका सामु जहिले पनि चुनौती बनेर तेर्सिरहने बलात्कारजस्ता घटनाले कहिले स्तब्ध बनाउँछ, कहिले लज्जित। पौराणिक तथा मिथक धारामा निर्मित पूर्वीय तथा पाश्चात्य साहित्यका पुराना ग्रन्थमा पनि बलात्कारका प्रसंग अघि सारिएको पाइन्छ। महाभारतका विभिन्न प्रकरणमा नारी अस्मितामाथि कुल्चिएका विषयले स्थान पाएको छ। समाजशास्त्रीय आधारमा विश्लेषण गर्दा वैदिक ग्रन्थमा पनि नारीले बलात्कार खपेर, सहेर ‘सहनशील’ भई बाँच्नुपरेका कथन प्रशस्त रहेका छन्। उत्तरवैदिक कालमा असंख्य दासी नारीलाई बलात्कारका निम्ति पाहुनालाई सुम्पिने, अतिथि सत्कार भनेर नारी नै कोसेलीको स्वरूपमा प्रयोग भएका अमानवीय घटना उल्लेख भएको पाइन्छ। उपन्यासकार मदनमणि दीक्षितले आफ्नो माधवी उपन्यास नायिका माधवीलाई घुमाइफिराई तत्कालीन सम्राट सामन्तहरूले विधि मिलाएर बलात्कार गरेको व्यंग्य गरेका छन्। 

पुरुषप्रधान सत्तामा नारीको इज्जतलाई कर्कलाको पातको पानीजस्तो बनाएर भयमा बाँच्न बाध्य बनाउने प्रपञ्च अनगिन्ती भएका छन्। यसको सूचना र व्यंग्यात्मक सम्प्रेषण गर्ने सामथ्र्य साहित्य रचनामा रहेको पाइन्छ। त्यसकारण नारी हिंसा, मानवता बीचका विभेद, जातीय द्वेष र घृणाका विरुद्ध साहित्यको शक्ति तथा सक्रियता प्राचीन युगदेखि नै प्रस्फुटन भइरहेका छन्। साहित्यमा निहित पर्याप्त शक्तिलाई बलात्कारजस्तो जघन्य अपराधविरुद्ध खुलेर प्रयोग गरिएको भने पाइन्न। वर्तमान समयमा पुरुष स्रष्टाका रचनामा भन्दा नारी स्रष्टाका कलमबाट बलात्कारप्रति बढी आक्रोश खनिएका छन्। यो लैंगिक वर्गीय संघर्षको सन्दर्भमा स्वाभाविक हो। तर, के पुरुष स्रष्टाले यसको बेग्लै मूल्यबोध गर्नुपर्ने हो ? पक्कै पनि साहित्यकारले मानवता तथा मानव संवेदनाको वकालत गर्ने शिल्प र विचारलाई गम्भीरता साथ अभिव्यक्त गर्नु उसको लेखकीय दायित्व हो। नारी बलात्कृत भएका बेला सिंगो समाजलाई दुख्नुपर्छ र स्रष्टाका कलम यसविरुद्ध एकताबद्ध भएर अघि सर्नुपर्छ।

बलात्कार घोर अपराधपूर्ण अनि कायर मानसिकतामा गरिने कुकृत्य हो भन्नेमा दुई मत छैन। यो मानव समाजको सभ्यताका लागि चुनौतीपूर्ण अनि कलंकयुक्त कार्य हो। ‘जहाँ रवि पुग्दैन, त्यहाँ कवि पुग्छ’ भनेर साहित्यको सर्वशक्ति तथा सर्वव्यापकताको विशेष उक्तिलाई स्वीकार गर्दा बलात्कारजस्तो मानवघाती क्रियाकलापका विरुद्ध यसको शक्तिलाई उपस्थित गराउन सकिन्छ, गराउनैपर्छ भन्ने विचार छर्लंग हुन्छ। मानवताको मन्त्र जप्दै मानवीय हृदयको फूलबारीमा फुल्ने साहित्य साधनाले बलात्कारजन्य अपराधलाई निस्तेज, परास्त गर्न कठोर भएर अक्षर निर्माण गर्नुपर्छ। यस प्रकारका अक्षर निर्माण पनि नभएका होइनन्, तर साहित्यले बोकेको प्रकृति चित्रण, राजनीतिक विमर्श, दार्शनिक बहसका तुलनामा यस्ता सामाजिक अपराधलाई परास्त गर्न उचित समय र ठाउँ दिन नसकेको महसुस हुन्छ। यद्यपि साहित्य जहिले पनि हिंसाविरोधी हुन्छ। साहित्य अपराधको बागी गर्भमा जन्मन्छ। साहित्य असभ्य र अशिष्टका विपक्षमा मौलाउँछ। साहित्य विभेद र विघटनका विपरीत हुर्कन्छ। साहित्य काँडाको उल्टो फूलको जीवनसँगै फुर्कन्छ। साहित्य बलात्कार तथा बलात्कारीलाई पराजित गर्ने शक्तिका साथ फैलन्छ।  

समाजको रुग्णताबाट व्यक्तिगत मनोरोगी जन्मिन्छ र बलात्कारजस्ता घटना उत्पन्न भएर मानिसलाई मानिसको चेतनशील स्वभावमाथि नै शंका, लाज र बोझ मान्ने परिस्थिति निर्माण हुन्छ। मानिसले मानिसलाई मानिसकै हैसियत र हौसलामा बाँच्न सिकाएको भए बलात्कारको क्रन्दन न्यून हुन सक्थ्यो। प्रत्येक छोरालाई आमाको प्रेम बुझाउन नसक्दा, नारी र पुरुषको समान अस्तित्व र सम्मान पढाउन नसक्दा, कुण्ठाग्रस्त रोगी मानसिकताका नियतवालाको सफाइ गर्न नजान्दा यस्ता अपराधले आँट मारिरहेको पाइन्छ। हाम्रो समाजले धर्तीका सुन्दरता बोध गर्न र गराउन चुकेकै कारण निर्दोष ‘निर्मला’हरू उत्पीडनको विम्बात्मक दुःखका अक्षर भएर रहनुपरेको छ। प्रत्येक मानवमा न्यायको नयन धमिलो भएर क्रूरताको आकांक्षा एैँजेरुझैँ हुर्कने गलत मौकामा बलात्कारले गिज्याइरहेको छ। यस्ता सामाजिक समस्याका गम्भीर र गहिरा गरामा साहित्य तटस्थ, बेखबर, बेमतलबी रहन सक्दैन। 

समग्रमा साहित्य समाजको दिव्यपन मानसिक शुद्धीकरणबाट अघि बढ्छ। यसको जग मानव चेतना र मानवीय समाज निर्माणको सहजीकरणबाट सम्भव हुन्छ। चेतनाको सही व्यावहारिक कार्यान्वयन र सम्बद्ध निकायले दण्ड र पुरस्कारको नीतिलाई लागू नगर्दा सामाजिक विसंगतिले हामीलाई लखेटिरहनेछ। यस सन्दर्भमा साहित्य चेतनाको संवाहक हो। साहित्यकार समाजका अग्रज, संवेदनशील, मानवतामय शक्ति हुन् र यिनले विसंगतिका विरुद्ध जाइलाग्नुपर्छ। साहित्यले मान्छेलाई मान्छे बन्न सिकाउन सक्छ। यही यसको सामथ्र्य र कर्तव्य हो। साहित्यले मान्छेबाट च्युत भएकालाई खबरदारी गर्न र खबरदारीको चेतना सम्प्रेषण गर्न सक्छ। साहित्य मानवताबोध गराउने असल पाठशाला बन्नुपर्छ। यसले समाजलाई शल्यक्रिया गरेर सत्यापनको ढोका खोलिदिन सक्छ। समाजमा आलोक छर्ने कार्यले बलात्कारका अन्धकारलाई पहिचान गर्न र त्यस प्रकारका नियतलाई दण्डनीय रहेको सिफारिस गर्न साहित्यमा शक्ति निहित भएको पाइन्छ। यसका निम्ति पारिजातपछि अरू केही प्रतिनिधि कवितांशलाई यहाँ उल्लेख गरिएको छ, जसमा बलात्कार विरोधी शक्तिशाली विचारको गोली बर्र्सिएको छ।  

कहिले जिउँदै चितामा जलाएर

कहिले रूख र पोथ्राहरूमा फलाएर

कात्रोमा निर्मम बेर्दै यौवनलाई  

कहरहरूमा प्रतिपल थुन्दै जीवनलाई...

तिम्रा इच्छाअनुसार उपयोग गर

ठीक छ हामी सहँदै जाउँला

समयको गतिमा बहँदै जाउँला

तर सुन ! हरेक कुराको सीमा हुन्छ

परमाणुले पनि संसार ध्वस्त पार्न सक्छ  

(हामी सहँदै जाउँला, कुन्ता शर्मा)  

कवि कुन्ता शर्माका उक्त नारीवादी कविताले नारीलाई उपयोगको साधन मान्ने अमानवीय व्यवहारप्रति प्रहार गरेको छ। यो शक्ति साहित्यका माध्यमबाट स्रष्टाले बुलन्द गरेको वैचारिक अभिव्यक्ति हो। हो, सामाजिक अपराधविरुद्ध यसैगरी परमाणु साहित्य पड्कनु आवश्यक छ र बौद्धिक, कलात्मक, प्रतीकात्मक शक्ति प्रदर्शन औचित्यपूर्ण रहेको छ। कवितामा मानिसको मस्तिष्कलाई चिमोट्ने शक्ति हुन्छ। यसमा सञ्चेतनाको क्षमता रहेको हुन्छ। यो शक्तिलाई मानव मन–मनमा सम्प्रेषण गरिनुपर्छ र मान्छेजस्ता स्वरूपलाई हृदयतः मानिस नै बनाउने प्रयोजनमा साहित्यलाई पूर्णतः उपयोग गर्नुपर्छ। बलात्कारका घटनाले पनि सीमा पार गरिसकेको छ। कविले भनेझैँ अब विस्फोटको क्षणले मात्रै स्वागत गरेको छ। कविता आवाज भएर मात्र नभई अब हजारौँ बुलेटभन्दा पनि बुलन्द भएर मानिसलाई सतर्क गराउने र समाजलाई समाजजस्तै बनाउने दृष्टिले प्रयोग गरिनुपर्छ।  

म आगो बल्दै छु

ज्वालामुखी फुट्दै छु

ध्वस्त पारेर जर्जर अतीत

नयाँ सिर्जना गर्दै छु

एक्काइसौँ शताब्दीको ज्युँदो अस्तित्व

म उमा बदिनी  

(म उमा बदिनी, सीता शर्मा)

कवि सीता शर्माको यस कवितामा शक्तिशाली क्रान्ति ध्वनि गुन्जेको छ। समाजका विकृतिमाथि यसले सामथ्र्य जाँच गरेको छ। बदिनी जातिलाई यौनपिपासुको खेलौना बनाएर बलात्कार गर्ने, वस्तुकरण गर्ने, क्षणगत आनन्दको साधन बनाउने जस्ता मानवलाई पशुत्वभन्दा पनि अवमूल्यन गर्ने कामप्रति प्रहार गरिएको छ। समयको चेतनालाई कविताले पक्रेको छ र मानिसलाई अपराधबाट मुक्त गर्न साहित्यको साधनलाई यथोचित निसानामा प्रहार गरेको छ। अन्यायविरुद्ध साहित्यिक ज्वालामुखी फुट्नु नै बलात्कारजस्ता नारी शोषण, मानव विघटनमुखी कदमविरुद्ध निर्मित बौद्धिक हतियार केन्द्रित गर्नु हो।  

हजार स्त्रीको बास आउँछ

अत्यास आउँछ, विनाश आउँछ

सँगसँगै तिनको चित्कार पनि आउँछ

बादशाहको चुम्बनमा  

(बादशाहको चुम्बन, ज्योति जङ्गल)।

कवि ज्योति जङ्गलले लैंगिक विभेदको यथार्थतालाई व्यंग्य गरी बादशाह प्रवृत्तिबाट बलात्कारका चिन्तन र व्यवहार निम्तने खतराको संकेत गरेकी छन्। कविले स्त्री जातिको नियतिमा सधैँ परपीडनमा परेर चित्कार मात्रै गरिरहनुपर्ने हो ? भन्ने यक्ष प्रश्न गरेकी छन्। नारी उत्पीडनको क्रन्दन समाजले सजिलै कसरी पचाउन सकेको छ ? यो उदेकलाग्दो र २१औँ सदीको चेतनाको शिर निहुरिने खालको छ। बलात्कारको चित्कारमा नारीको अवस्था कायम राख्ने हो भने मानवताका सारा आदर्शवाची शब्द विघटन गरिदिए पनि हुन्छ। यस्ता कवितामा चेतनाको चाँदनी चम्कने भाव मिश्रित भएका छन्।  

जिउँदै खाल्टामा पुरिँदा होस्

वा अस्मिता छियाछिया पारिँदा होस्

चमेलीहरूले यात्रा जारी राखे

त्यसैले चमेलीहरू यसबेला पनि

लडिरहेछन् स्वाधीनताको लागि

एउटा मुक्त आकाशका लागि  

(मुक्त आकाशका लागि, शोभा दुलाल)  

समाजलाई समता र न्यायमूलक बनाउन नसक्दाको परिणाम चमेली अर्थात् उत्पीडित नारीले अनावश्यक कष्ट भोग्नुपरेको तीतो सत्यलाई कवि शोभा दुलालले व्यक्त गरेकी छन्। कहालीलाग्दो सतीप्रथाको अन्तपछि पनि बलात्कारको चितामा जलिरहनुपर्ने कति धेरै अन्याय थोपरिएको छ ? कहिले यस्तो अन्यायले समाजबाट परास्त भएर हो ? के यसको पराजयमा यस्ता शक्तिशाली भाव, विचार तथा ओजका कविता अरू धेरै प्रवाह गर्नु आजको शिक्षा होइन ? घर–परिवार, शिक्षालय र कार्यालयमा समेत अमानवीय कृत्यका विरोधमा साहित्यका वैचारिक चेतनाका सामथ्र्यलाई प्रवाह गर्न ढिलो भएन र ? कविताले पढाएको पाठबाट असंख्य हुनेवाला बलात्कारीले त्यो जघन्य अपराधी हातले नारीको कोमल घाँटी निचोर्नुअघि नै पाठ सिक्ने अवसर प्राप्त हुँदैन र ? यस्ता जटिल र जल्दोबल्दो सन्दर्भलाई उक्त कविताले आशावादी भएर सबक पढाइरहेको छ। ठीक ठाउँमा ठीक प्रश्न गरेर ठीक उत्तर निकाल्न सिंगो समाजलाई आग्रह पनि गरेको छ।  

हजुरको घरमा भकारो फाल्दाफाल्दै

बलात्कार भएर मारिएकी चम्पाकी  

आमा क्या

म जुठी  

(जुठी, पञ्चकुमारी परियार)

अब जुठीहरूले सधैँ भकारो फाल्ने, एक मुठी ज्याला निगाहमा माग्ने, अछुतो बस्ने अनि मालिक्याइँका इच्छा र झोँकमा बलात्कृत भएर अस्ताउनुपर्ने युगको अन्त गर्न कवि परियारको व्यंग्यात्मक आग्रह प्रकट भएको छ। फेरि चम्पाहरूले सोही अगतिमा बलात्कृत भएका खबरले त्रस्त बनाएको छ। मानिसलाई मानिसबाट तल झार्ने र मार्नेजस्ता यस्ता अन्यायले बारबार कानुनी र मानवीय संरचनालाई जिस्क्याएको छ। बलात्कारका घटनामा आधारित यस्ता कविता बौद्धिक जगत्मा मात्र नभई यसलाई टोलटोलमा पुर्‍याउनुपर्छ। व्यक्ति मनलाई सही ठाउँमा ल्याउन र वास्तविक झलक बोध गराउन उपयोगी रहन्छ। घटनाको यथार्थीकरण गर्दा त्यस प्रकारका गलत काम नदोहोरिने सम्भावनालाई बढाइदिन्छ। त्यसकारण कविता साहित्य अपराधविरोधी शक्तिको रूपमा व्यक्त भएको स्पष्ट हुन्छ।  

प्रश्नका अनन्त कीराहरू हिँडिरहेछन् मेरो मथिंगलमा

मेरी आमाको गर्भाशय र बाबुको शुक्रकीटको धज्जी उडाउँदै

मण्डीमा थुपारेको तरकारीझैँ

को हौ तिमी मेरो अस्तित्वमाथि स्वामित्व दाबी गर्ने ?  

(के तिमीले मलाई आविष्कार गर्‍यौ ? –सरिता तिवारी)।

नारीवादी चेतनामा केन्द्रित कवि सरिता तिवारीका उक्त कवितांशमा नारी अस्तित्वको स्वामित्वमा पुरुषको एकाधिकार हुन नसक्ने विचार प्रकट भएको छ। नारी अस्तित्वलाई समाजले मूल्य दिन नसक्दाको परिणाम अत्याचारले सीमा नाघ्दै गरेको पाइन्छ। नारी मण्डीमा थुपारेको तरकारी होइन, नारी कसैलाई इच्छा लाग्दैमा उपयोग भइदिनुपर्ने सस्तो साधन होइन। नारी समस्त मानवलाई जन्माउने शक्तिशाली मानव जाति हो। नारी आमा हुन्। नारी प्रेमपोषक हुन्। नारी अधिकार र अस्तित्वसहितको मानव समाज हो। नारी धराजस्ती व्यापक सिर्जना शक्ति हो। बलात्कारजस्तो निर्घिणी, दुष्कर्म र चक्रमा परेर पिल्सिनुपर्ने नारीको यो अवस्था जरुर अन्त हुनेछ र यसका निम्ति साहित्यको चेतना, सिर्जना र सम्प्रेषणलाई सदुपयोग गर्नुपर्छ।  

हठी हुन्छन् र हठी नै हुन्छन्  

अक्षर जन्माउने पाठेघर र पाठेघरहरू

म यिनै पाठेघरहरूको प्रसव कथा र कथाहरू लेखी नै रहनेछु !  

(यो अन्तिम कविता होइन, सरस्वती प्रतीक्षा)  

कवि सरस्वती प्रतीक्षाको उक्त कवितांश उत्पीडनविरोधी साहित्यिक सामथ्र्य हो। यसले नारीको विशिष्टतालाई पहिचान गराएको छ। नारी दमन गरेर अहं पाल्नेका लागि यो सशक्त प्रहार भएर खडा छ। नारीले अक्षर अर्थात् अपराजित स्वत्व बनाएका हुन्छन्, जसलाई अपहेलित गर्न खोजिए अन्ततः असफल भएर जानेछ भनिएको छ। पाठेघरका कथामा पुरुष पनि अवश्य जोडिएका हुन्छन्। उनले पनि त्यही शक्तिबाट जीवनदान पाएका हुन्छन्। अनि, बलात्कार घटनालाई कम आँकेर, न्यायका निम्ति आवश्यक तत्परता नदेखाएर लाचारपन किन साँचेको भन्ने पुरुषप्रधान मानस धरातललाई यस कवितांंशले प्रहार गरेको छ।  

मलाई माटो बनाऊ या ढुंगा

पानी बनाऊ या हावा

बोक्सी बनाऊ या देवी

म स्त्री अर्थात् आइमाई

सदियौँदेखि तिमीलाई प्रेम गरिरहेकै छु  

(म स्त्री अर्थात् आइमाई, सीमा आभास)  

नारीसित प्रेम गर्ने शक्ति हुन्छ। प्रेमका बदला बलात्कार कसरी बर्सिएको छ अन्धाधुन्ध ? बलात्कारको घटना लुकाउन कसरी निमोठिएका छन्, जीवनका सुस्केराहरू हत्यामा पुगेर ? एउटा गल्ती लुकाउन अर्को अक्षम्य गल्ती गर्ने मानव दुर्गुण बलात्कारमा पनि लागू भएको छ। मूलतः बलात्कारमा उत्पीडन खप्ने, मृत्युको मुखमा पर्ने आततायी सिकार नारीले हुनुपरेको छ। के यो नारीको एकल समस्या मात्र हो ? के यसमा राज्य, निकाय र समस्त मानव आदर्शको कर्तव्य प्रकट हुँदैन ? यिनै प्रश्नका उत्तर साहित्यमार्फत पनि खोज्नुपरेको छ। यसतर्फको बहसलाई बढी सक्रिय बनाउनुपरेको छ।  

भर्खर दिइएको छ फाँसी उसलाई

र, उर्लिरहेछ उल्लास चारैतिर !  

कहीँ नअटाउने यो हिंस्रक चरित्र

मेरो कोखको  

सबैभन्दा स्निग्ध अनुभूति थियो,

सोधिरहेछु यसबेला आफैँलाई म

कसरी जन्मिएछ मेरो कोमलताबाट

यस्तो क्रूर त्रासदी ?  

(एउटा विश्वासको मृत्यु, गीता त्रिपाठी)

बलात्कार क्रूरताको चरम रूप हो। आमाको हृदयले यसको मूल्यांकन कसरी गर्न सक्छ ? कवि गीता त्रिपाठीको उक्त कवितांश नारी सद्भाव र नारी नियतिको द्वन्द्वमा फसेको दुर्घटनालाई केलाउन केन्द्रित छ। कति मार्मिकता पोखिएको आमाले जन्माएका स्निग्धताले क्रूरताको रूप धारण गरेको सहन बाध्य हुनुपर्दा ! कस्तो उदेकलाग्दो जीवन मर्म भएर अश्रुधारामा परिणत भएको नारी कोमलता ! यही कोमलता बलिष्ठ शक्तिमा परिणत भएको छ र बलात्कारका विरुद्ध जोडदार रूपमा प्रहार गरिएको छ। बलात्कारीले फाँसीको तख्ता चढ्दा मानिसमा उल्लास छाएको छ। न्यायको सम्पादन हुँदा मानिसको खुसी बाहिर प्रस्तुत भएको छ। कविको शक्तिशाली भाव गठनले यहाँ सामाजिक अन्यायविरुद्ध सुन्दर सन्देश पस्केको छ।  

काँचे गिलासमा पानी छ कि आँसु ?

सयौँपल्ट पखालेर पनि जुठो भइरहने

भाँडाकुँडा हुन् कि छोरी ?

जतिपटक रेती लगाउँदा पनि

भुत्ते भइरहने चुलेसी हो कि यो समाज ?  

(ख्याउँची, हरिमाया भेटवाल)

छोरीलाई बलात्कारको सिकार बनाउने समाजको संरचनामाथि कवि हरिमाया भेटवालको उक्त कवितांश सशक्त विचारमा उपस्थित भएको छ। सांस्कृतिक रूपमा समाज निर्माण गर्न नसक्ने कमजोरीको परिणाम सामाजिक अन्यायले धुरी छोएको छ। छोरी मान्छेलाई हारेको जुनीमा परिभाषित गर्ने जीर्ण मानसिकताको कारण दिन प्रतिदिन उत्पीडनका उकुमुकुस बढिरहेका छन्। गलत दृष्टिकोण र बुझाइका कारण सामाजिक बेथितिले विकरालपन बाँचेको छ। किन सही दर्शनको वकालत हुन सकेन ? किन मानिस भएर सम्मानित जीवन नपाउने समाज बन्यो र छोरीलाई बिटुलो देख्ने दोष पखालिन सकेन ? यक्ष प्रश्नका उत्तर खोज्न सो कवितांशले गम्भीर आग्रह गरेको छ।

होसियार ! इमानदारीको गलबन्दीमा तातो खोज्नेहरू हो !

पछाडिबाट कसैले सुर्केनी कसिदेला !  

(होसियार, दीप्स शाह)

उक्त कवितांशमा पनि अबोध नारीको बलात्कारलाई व्यंग्यात्मक स्वरूपमा चित्रण गरिएको छ। स्वार्थको घेरामा नारीमाथि गरिएका अक्षम्य अपराध पनि सामान्य मानेर हाम्रो समाज बेखबरजस्तै रहेको पाइन्छ। औपचारिकता निर्वाह गर्ने र घटनालाई छोप्ने कार्यमा विभिन्न व्यक्ति र निकायको घोर अन्यायपूर्ण कदमले निरन्तरता पाएको छ। मानिसलाई दुःखी बनाउने अश्रु यात्रामा भिजाइरहेको छ।  

पेटबाट जन्मँदै कोही छाला बेच्छ ?

छाला बेच्ने समाज

त्यो समाज भत्काउन आऊ

चक्रवात बनेर आऊ

सुनामी बनेर आऊ

आऊ हरियाली लिएर आऊ

चेतनाको पोको लिएर आऊ  

(अनिदो बस्ती, निभा शाह)

यही हो साहित्यमा अभिव्यक्त अन्यायविरोधी शक्तिको स्वरूप। कवि निभा शाहका कवितांशमा समाजका जञ्जिरले बाँधेका चेतनालाई फुकाउने साहस गरिएको छ। समाज मानिसका लागि हो। मानिसलाई बन्धित बनाउने समाजको ध्वंश जरुरी छ। नारी रक्षाका निम्ति सुनामी ल्याउन आवश्यक छ। कविताका माध्यमबाट वैचारिक सुनामी ल्याउने कार्य यस कवितामा सम्पन्न भएको छ।  

झुसिल्कीरा सलबलाइरहेको

भदौरे पटुवाबारीभित्र

रजस्वलापछि

रगतमुछेल फरियाको

घीनलाग्दो बलात्कार भएको दृश्य

हामीले देखी सुनी र भोगी आएका छौँ  

(जमुवावालीको मट्टीगीत, सुरेश हाचेकाली)

साहित्यमा बलात्कारविरुद्ध बुलन्द चित्रण भएको दृष्टान्त कवि सुरेश हाचेकालीका उक्त कवितांशले पनि स्पष्ट पारेको छ। कविता मानिसको जागृत चेतनाको शक्ति हो। सूचनाको गम्भीर वाहक कवितामा यस्ता जघन्य क्षणको बोध गराएर समाजको ऐना प्रस्तुत गर्नु यसको सामथ्र्य हो। यसले नै मानिसलाई आफू बाँचेको समाज कुन जगमा टेकेर अडेको छ भन्ने ज्ञान प्रदान गर्छ।  

बर्बर बलात्कारको भग्न अवशेष प्रतीत हुन्छ मलाई

कोमल शरीरभरि रगत र नीलडामका पीडाहरू चहराइरहेका छन्

आँधीको वीभत्स छाप

आफ्नै सुन्दर अनुहारभरि ऐनामा छरपस्ट देख्छु

चिथ्राचिथ्रा कोपरिएकी रैछु

म क्षुब्ध हुन्छु  

(फेरि अर्को महाभिनिष्क्रमण, शारदा शर्मा)

नारीमाथि भएका बलात्कार, हत्याहिंसा, विभेद, दमन, शोषणजस्ता अन्यायलाई संश्लेषण गर्न समर्थ शक्तिशाली भावगठन हो, कवि शारदा शर्माका उक्त कवितांश। बलात्कृत धर्तीलाई देखेर धर्तीपुत्रहरू कसरी मौन बस्न सकेका छन् भन्ने प्रश्नलाई पनि यसले उब्जाएको छ। नारीको कोमलता चिथोर्ने बलात्कारी चिन्तन, सम्बद्ध दण्डहीन निकाय र नागरिक भनिएका घोषित बौद्धिक जमातप्रति यस कविताले चोटिलो झापड मारेको छ। कानुनले नदिएको, मानव धर्मले अस्वीकार गरेको, नैतिकताले रोकेको बलात्कारमा नारी जीवन सधैँ जल्नुपर्ने समयको अन्त हुनुपर्छ। मानवीय सद्भावको सामाजिक न्याय जागृत हुनुपर्छ। जहाँ चेतना पुगेको छैन, त्यसलाई पुर्‍याउने काम सारा मानव जगत्कै हो। आजको आधुनिक दुनियाँमा पनि मानिसले मानिसलाई पढाउन सक्दैन ? अपराधको बार भत्काउन सक्दैन ? समानताको तराजुमा ठीक र बेठीक जोख्न सक्दैन ? अवश्य पनि सक्छ र सक्नुपर्छ। यस्ता नारकीय कुकर्मको समूल अन्तका निम्ति साहित्यका अभिव्यक्ति कलाले मानिसलाई छुनुपर्छ। यसको वैज्ञानिक प्रसार र व्यावहारिक बोध गराइनुपर्छ। साहित्य मानव मस्तिष्कको अनन्त सृष्टि हो। यस मानव कल्याणका लागि जागरणका अक्षर बुलन्द गर्न अझ बढी सक्रियता प्रदर्शन गर्नुपर्छ। अपराधको अन्त गर्ने संघर्षमा साहित्यको शक्तिलाई समुचित स्वरूपमा व्यापक पार्नुपर्छ ।

प्रकाशित: ८ फाल्गुन २०७७ ०२:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App