असीको छेउछाउ पुगेका ती वृद्ध दम्पतीहरू आफ्नो जीवनका उत्तराद्र्धमा विदेश भ्रमणमा रमाइरहेका छन् । जेठा छोरा
बुहारीले जापान , माइला छोराबुहारीले बेलायत, साइँलाकान्छाका परिवारले अमेरिका र कान्छी छोरीले अस्ट्रेलिया ।
माइली छोरी स्पेनको पालो गनिरहेकी छ्र। सबैतिर पुग्न बुढाबुढीलाई भ्याईनभ्याई छ । ती दम्पतीले सातसात सन्तानलाई हुर्काइ – बढाइ गर्न जीवनमा कम्ती दुखदर्द झेले । दुखको एउटा सिंगो सुमेरु पर्वत पार गरेका तिनीहरूको जीवनमा बल्ल खुसी र सन्तोषको सास फेर्ने मौका मिलेको छ। तथापि परिवार पूर्ण रूपमा विदेश भएकाले एकैचोटि सबै भेट्न निकै गारो भएको छ । छोराबुहारीलाई विदेश मोह र बूढाबुढीलाई नेपाल नै प्यारो । जता गए पनि नेपालकै याद आउने ।
सबैका छोरा विदेश जान नपाएर कत्रो पीर । यता उहाँहरूलाई छोराबुहारी सबै विदेशिए , बुढेसकालमा कसले हेरचाह गर्छ भन्ने पीर । मक्किदै गएको वृद्ध शरीर, रोगले पेल्दै गरेको अवस्था र खुसी र दर्द एक सिक्काका दुई पाटा छोराबुहारी र नातिनातिनीहरूले घेरिएर तिनीहरूकै स्यारसुसारमा बाँच्नुपर्ने आर्य परम्परा ।
चाडवाड आउँछ । सबैको घरमा खुसीयाली छाउँछ । एउटा नयाँ बहार आउँछ । सबैको घरमा तर तिनको घरमा एउटा घोर शून्यता छाउँछ ।
कुनै छोराबुहारी आउँदैनन् । फोनको घन्टी बज्छ । पालैपालो टेलिफोन आशीर्वादका लागि ल्यापटप स्काइप्मा टिका सम्पन्न हुन्छ । हरेक छोरा–बुहारीको अनुकूल समयमा बुढाबुढीको गला अवरुद्ध हुन्छ सम्झनामा । एउटा दशैं अमेरिकामा चार भाइ छोराबुहारी र एउटा जेठी छोरीपट्टिको ठूलो नातिसहित मिलाउने सौभाग्य मिल्दछ।
धेरै वर्षपछिको यो सौभाग्य बुढाबुढीको खुसी बनेर छल्किछ । भर्जिनिया, डिसी, डेलवार, सिकागो, इन्डियाना , बाल्टिमोर
सबै ठाउँमा भएका आफन्तहरूलाई भेट्दा दङ्ग हुन्छ मन । दिनभरि केटाकेटीसंग मात्र बस्नुपर्ने, बाहिरहुँदि घुम्न नसकिने पट्ट्यारलाग्दो नै हुने नातिनातिनाहरू नेपाली नबोल्ने ।
हजुरबुवा आमा अंग्रेजी बोल्न नजान्ने । कस्तो भाषिक समस्या । दुई पिँढी बीच कस्तो ठूलो खाडल । भाषा, साहित्य र संस्कृतको प्रणेता हजुरबुवालाई मन दुख्ने विषय्र आफ्नै नातिनातिनासंग गफ गर्न नपाइने । केटाकेटीहरूलाई पनि यो भाषिक समस्याले हजुरबुवा आमाको अपनत्वमा कमी ल्याइरहेको छ । फलत केटाकेटीहरूको नजरमा बुढाबुढी टिपिकल नेपाली कहलिए । बोरिङ बूढाबुढी ठहरिए । दिनभरिको नातिनातिनाको चकचक र उफ्राइले थाकेका हजुरबुवाले एक दिन चञ्चले नातिलाई औलो ठड्याउँदै भनेछन् – चुप लाग काले केटो ।
हजुरबुवाको त्यो अप्रत्यासित रुद्र रूप देखेर अचम्म लागेछ। सबै आएर बेलुकीको खाना खान बसेपछि नातिले आफ्नो बाउपट्टि फर्केर औंला ठड्याउँदै भनेछ – चुप लाग काले केटो ।
नातिको यो नयाँ नेपाली शब्द ज्ञानले त्यो परिवारमा धेरै दिनसम्म हाँसो छुटाएछ ।
प्रकाशित: १९ माघ २०७७ ११:५४ सोमबार