२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
कला

तिमी आएनौ

कथा

आज आमाको मनमा डढेलो लागेको छ । आँधीहुरी आएको छ । बाढीपहिरोले सबै मनै बगाए जस्तो भएको छ । रुनुबाहेक अरू केही छैन । रोएको सुन्ने अरू कोही छैन । डढेको मनलाई निभाउने कोहीछैन । यस्तो पीडा बोकेर फोन सुनेर धर्मराउदै घरतर्फ लागेँ । घर जान मन छैन । अन्त जाने ठाँउ छैन । आफन्त भने कोही छैन । पीडा सुनाउने ठाउँ छैन । यस्तै सोच्दै लठ्ठीको सहारामा हिँडिरहेकी छु । बुढाले मलाई पीर मान्छे भनेर ढाँट्नु भएछ ।   रमेशले रकम पठाइदिएको भनेर मलाई कति ठिक पार्नुभएको रहेछ । होला त नि  भन्ठानेको थिएँ । पापी छोरा जन्माएँछु । के गर्नु त्यस्तो होला भन्ने कतैबाट हेर्दा पनि देखिदैनथ्यो । आज कसरी यस्तो भयो होला ! सबैका छोराछोरी विदेश गएकै छन् । घरको समस्या बुझेकै छन् । बुवाआमा आफन्तलाई खुशी पारेका छन् । हाम्रो भने कसरी यस्तो भयो ? यो हुनै नसक्ने जस्तो लाग्छ । अब कसो गरूँ ? बुढा पल्लो फाल पुगेका छन् । उठ्छन् कि उठ्दैनन् ठेगाना छैन , उनी पनि गइहाले भने त म कसरी बाँच्नु होला !

यसरी मनमा कुरा खेलाउदै चौतारीमा आइपुगेँ । एकछिन शीतलमा बस्नुपरयो । हपहपी गर्मी भए जस्तो भएको छ । घरमा के भन्ने ? बुढालाई के भनेर सुनाउनु ? हे भगवान किन यति ठुलो सजाय हामीलाई दिनुभयो ? त्यो पारिका जीवन बावु कस्तो दयालु ? कति कोमल हृदय ?  जसरी बर्णन गरे पनि कमै हुने । हामीमाथि त्यत्रो दया माया राख्नुभएको छ । त्यत्रो रकम सहयोग गर्नुभएको छ । अझै पठाइदिन्छु फलफूm दुध तथा अन्य ताजा चिजहरू खानु औषधि समयमै खानु , डाक्टरको मा गएर चेक गर्दै गर्नुृ , आमा म पनि हजुरकै छोरा नै हो, छोरा नै सम्झनु , हजुरहरूको दुःख मेरो पनि दुःख हो , हजुरहरूको खुशीमा म पनि रमाउने हो नि आमा ∕ यसरी हौसला दिनुभयो । छोरो भनेको त यस्तोे पो हुनुपर्छ त , तर के गर्नु आफूले सोचेजस्तो भएन । अबको सहारा जीवन बावु नै हो हाम्रा लागि । अब हाम्रो मन पनि जीवन बावु तिरै ढलाउनुपर्छ । त्यस्तो भगवान् जस्तो मानिस हामीलाई यस्तो अवस्थामा सहारा दिनुभएको छ । मनले कर्मले उहाँको मनलाई हामीले पनि खुशी पार्नुपर्छ । म यस्तै सम्झिदै चौतारीमै बसेको छु । अघि बढ्न मन छैन । घर जान मन छैन । झोक्राएर बसेको छु । अब त्यो पापीको सम्झनामा मनमा डढेलो लाउने छुइनँ । बिस्तारै – बिस्तारै बुढालाई पनि सम्झाउँछु । हामीलाई जसले माया गर्छ हेरविचार गर्छ , हाम्रो लागि त्यहीँ नै आफ्नो हो । अब हाम्रो भनेको जीवन बावु नै हो । अब फोनमा पनि सबै कुरा राख्छु । यस्तो दुःखमा साथ दिनुभएको छ । अघि केही बोल्नै सकिन , बोल्ने अवस्था पनि थिएन। अब बुढासँग पनि बिस्तारै –बिस्तारै कुरा गर्नुपर्ला । 

म रोएको देखेर फोन गर्न आउने मानिस पनि हेरेको हेरै हुनुभयो । के भो  भनेर सोध्न पनि सकेनन् । राम्रै भयो सोधेको भए के जवाफ दिने ? जवाफै थिएन । घरको पीडा अरूलाई सुनाएर पनि के गर्नु ? सबैका आआफ्नै समस्या हुन्छन् । सबै जीवन बावु जस्ता हुदैनन् । अब घर जानु परयो ।

       बुढालाई आज दस बर्षमा रमेशसँग भेटभयो । धेरैबेर गफ गरेँ । धरै वर्ष टाढा भएकोमा धेरै दुःखी छु आमा भन्यो । यहाँ व्यवस्था  मिलाउँदा –मिलाउँदै धरै समय बितिसकेछ । घरको सम्झना नआएको त होइन , तर समय मिलाउन सकिनँ जीवनबाट घरतर्फको सबै कुरा सुनँे । अब चाँडै आउँछु।  चिन्ता नलिनु । पैसा पनि पठाउँछु । सरसापटी गरेर चलाउँदै गर्नु ।  अब बुहारी नाति सहित छोरो आउँदै छ भनेर बुवालाई पनि सुनाउनु है आमा भन्यो । यस्तै भन्छु  भन्ने सम्झदै घर आइपुगेँछु । अलिक हँसिलो मुहार बनाएर आँगनबाटसुन्नुभयो  रमेशले फोन गरेको रहेछ भनेर कराउँदै घरभित्र पसेँ ।  

 बुढा पनि मेरो आवाज सुनेपछि  धर्मराउँदै उठे के भो अरे ? कसले फोन गरयो अरे । मैले त पत्याइन नि भन्दै के भन्यो त लु भनन भन्न थाले । मैले बेलिविस्तार लगाएँ । बुढाले विश्वास गरेजस्तो लाग्यो ।  अलिक उज्यालो अनुहार भयो । आयो भने हाम्रा दुःखका दिन हराउने थिए । गाउँका मानिसको मुखमा बुझो लाग्ने थियो । कतिले हाम्रो धेरै कुरा गर्थे । जेहोस् आयो भने राम्रो हुने भयो । जीवन बावुले धेरै सम्झाउनुभयो होला । घरको अवस्था बुझेपछि त्यसले  पनि अहिले पछुुतो मान्यो होला यत्रा वर्षसम्म बेखबर भएर बस्दा ।

बुढा , निकै उज्यालिसकेका छन् । पहिला मलाई हँसाएका थियौ । आज मैले पनि पालाको पैंचो तिरे भन्दै मनमनमा गुनिरहेँ । साँच्चै रमेश आएकै थियो त पनि भनिरहन्छन् । हो नि कसरी झूटो बोल्छु ? छोरा आएछ भनेर झन् खुशी होलान् भन्छु । नपत्याए जस्तो पो गर्छन् है बाबैले त भन्दै जिक्याँउदै गएँ ।  अब भने पूरै पत्याए । विवाह गरेको हो रहेछ । नाति पनि जन्मेको रहेछ । ठुलो भयो अरे । वर्ष दिनको हुनै लागेछ । विवाहबन्धन, जागीरको दौडधूप लगायत विभिन्न समस्याले त्यताको समस्या बुझ्दाबुझ्दै पनि सम्पर्क गर्न सकिनँ । अब त्यस्तो हुन्न । बुवाममी ढुक्कले बस्नु है म फोन पनि गरिराख्छु  भनेको छ रमेशले । यी सबै कुराले बुवालाई विश्वास दिलाउन सफल भए पनि मेरो मन त डढेको डढ्यै छ । कसरी निभाउनु ? निभ्नै सक्दैन ।

यता बुढासँग सधँै भलाकुसारी गरी राम्राराम्रा कुरा गरेर समयमै औषधि खानपान भएपछि आजकल अलिक तङ्िग्रनुभएको छ । फलफूल, दुध, घिउ, माछामासु , अण्डा समयसमयमा खुवाउँदैं छु । खान नमाने पनि कर गरीगरी खुवाउँछु । निकै राम्रो हुँदै जानुभाछ । अब छोराले पैसा पठाइहाल्छ। अलिक तागतिला खानेकुरा खाने गर्नुपर्छ भनेरसम्झाउँछु । जहिल्यै उहाँको अगाडि हँसिलो भएर देखिने गरेकी छु ।  रमेशसँग भेट भएर नै यति खुशी भाकी रछिन् भन्ने परोस् भनेर मैले पनि नाटक गरिराखेको छु । अचेल बुढाको अगाडि ।

आजकल बुवाको स्वास्थ्य पनि धेरै सुधार भएको छ । खाना , फलफूल घिउ , माछामासु समय मिलाएर दुवै जना खान्छुम् । मैले पनि चिन्ता धेरै कम गरिसकेँ । चिन्ताले आफैलाई खाने रहेछ । त्यसैले चिन्ता लिने काम छैन । अब जे होलाहोला । रमेशले नहेरे के भो त ? जीवन बावुले हेरिहाल्नुहुन्छ  । हामीलाई अलेली रकम पठाए त पुगिहाल्छ । धेरै कमाउँला।  धनसम्पत्ति धेरै थुपारुँला भन्ने छैन । स्वस्थ रहेर बिहानबेलुकीको छाक टर्याे भने त हामीलाई भयोे । अचेल म त यस्तै सोच्न थालेको छु । नजानिदो तरीकाले बुवालाई पनि सम्झाउँछु । आउँदा एक्लै आइयो।  जाँदा पनि त एक्लै जानुपर्छ, केको चिन्ता ? हाम्रो चिन्ताले केही काम गर्दैन । उल्टै हामीलाई खाने रहेछ  भन्छु बुवालाई । आजकल मैले  भनेका धेरै सुन्ने बुझ्ने गर्नुहुन्छ । ठिक भन्यौ भन्नुहुन्छ उहाँले पनि ।

हामी आजकल पूरै जाति भइसकेका छुम् । दुईचार महिना पुग्ने खानेको जोहो पनि भएको छ । करेसाबारीमा सागसव्जी लगाएका छौँ । सव्जी किन्नुपर्दैन । दुध आधा लिटर ठेक्का गरेको छुम् । अहिले खास त्यस्तो आवश्यकता छैन । लाउने लुगाफाटा दुवै जनाका लागि लिइसकेको छुम् । घर दुईतीन वर्ष चल्ने गरी मर्मत गरेको छुम् । जीवन बावुले दिनुभएको रकम अझै बाँकी नै छ । जतन गरेर चलाउँदा पाँचछ  महिनासम्म पुग्छ  होला । औषधि अचेल कम खान थालेको छुम्  डाक्टरको सल्लाह बमोजिम । हाम्रो परिवर्तन देख्दा गाउँघरकाले पनि रमेशले सहयोग गर्न थालेछ । बुढाबुढी खुशी छन् भन्न थालेका छन् । भन्ने हल्ला सुन्छौँ । तर, बुढालाई अगाडि जीवनसँग बोलेको कुराचाँहि भनेको छुइनँ । धेरै चिन्ता गर्न छाडिसक्नुभएको छ उहाँले पनि अचेल ।

आज हल्का घाम लागेको छ । आँगनमा गुन्द्री ओछ्याएर बसेका छुम् । महाभारतको कथा सुनाउनुहुन्छ । कहिले रामायण , कहिले कोमल गीता पढेर सुनाउनुहुन्छ । पाँच पाण्डव बनवास जाँदा द्रौपदी अपहरणका कथा सुन्दै बस्दाबस्दै गैराघरे जेठाले फोन आको छ जानु अरे भने । यो खबरले को जाने भन्नेमा एकछिन होडबाजीने चल्यो। म जाने कि  तँ जाने भन्नेमा । बल्लबल्ल सम्झाएर पढ्दै गर्नु । म पुगेर आउँछु भनी लौरो टेकेर उकालो लागेँ । फोनमा बोल्नलाई पक्कै जीवन बावुले नै गर्नुभयो होला भन्दै दस मिनेटमा केही छिनमै फोन आइहाल्यो ।

हेल्लो को बोल्नुभयो भनेँ ।  उही जीवन बावुले गर्नुभएको रहेछ । म आमा बोलेँ भनेँ, चिनिहाल्नुभयो । दण्डवत् आमा, हजुरलाई सन्चोसुविस्ता कस्तो छ अहिले भनेर सोध्नुभयो । यताको सबै कुरा सुनाएँ । अब चिन्ता नलिनु आमा तपार्इँले मैले तपार्इँहरूका लागि मोबाइल पठाइसकेको छु। टिभीको पनि बन्दोबस्त मिलाको छु ।  वाइफाई समेतको सुविधा अब हुनेछ । अब तपार्इँहामी हेराहेर गरेर बोल्न मिल्छ । पारि घरमा पनि मैले पहिले नै राखिसकेको थिएँ । अब त्यहाँ पनि भयो ढुक्कसँगले बोल्न पाइन्छ । दुईतीन दिनमै सामान लिएर आउँछन् । चलाउन सिकाउँछन् । आमा , केही खर्च पठाएको छु । अस्तिको सकिनै लाग्यो होला । मजाले आफूलाई मन परेको तागतिला चिजहरू खाने गर्नु है  आमा भन्नुभयो । खुशीको सिमा रहेन । संसारमा सज्जन छोराहरू पनि जन्मदा रहेछन्  भन्ने सम्झिदै बोलेँ । केही छिन बोलेर जीवन बावु बिदा भए।

घर पुगेर कतिखेर बुवालाई सुनाउनु भन्दै हतारहतार गर्दै घरतिर लागेँ । बुवा पढिरहनुभएको रहेछ । कस्ले गरेको रहेछ त फोन ? आज जीवनले गरेको रहेछ  । कति खुसीको कुरा सुनाउनुभयो ।  त्यो सुनाउन हतारहतार गरेर आउँदै छु नि । जीवन बावुले एउटा मोवाइल , कलर टिभी धेरै च्यानल हेर्नलाई डिसहोम अनि वाइफाई समेत राखिदिने अरे । दुईतीन दिनमै आउँदै छ अरे। सामान लिएर दुईचार दिन बसेर सिकाइदिनुहुन्छ अरे । अब सिरक, डसना र तन्ना धुन्छु म।  तपाईँ भित्र सरसफाइमा लाग्नु । यी कुरा सुनेपछि बुवाको पनि खुशीको सीमा रहेन । म भने गुनगुनाउँदै लुगा धुन थालेँ ।

अब दुईचार दिनका लागि दुध एक लिटर भनेर आउनुपरयो भनेर गाउँतिर लागेँ नजिकै सधैँ ल्याइदिने ठाँउमा । घर लिपपोत गरेर गाउँको घरठाउँ अनुसार चटक्कै नै देखिन्छ । बाहिर घाम तापेर बसेका छुम आज पनि । दुई जना मानिस आउँदै गरेको देख्छुम् । एक जना भरिया र एक जना व्याग बोकेको मानिस घरछेउमा आएर रमेशजीको घर यही हो  भनेर सोधेपछि पक्कै जीवन बावुले पठाउनुभएको मानिस भन्ने लाग्यो । यही हो । आउनुस् न भनेँ । मोवाइल, टिभी लगायत अन्य सामान जीवन बावुले पठाएको थाहा थियो । एकछिनको कुराकानीपछि चिसो पानी चियाको व्यवस्था मिलाएँ । डिसहोम राख्ने कहाँ हो ?  आउने भाइले बुवासँग सोधखोज गर्दै बरण्डामा डिस् राख्ने तरखर गर्न थाल्नुभयो । मैले मकै –भटमासको खाजा तयार गरेँ । खाजा खाएर भरिया भाइ घरतिर फिर्नुभयो ।

आज घरमा टिभी जडान भएको छ । डिस राखेकाले धरै च्यानल आउँछन् रे नेपाली , हिन्दी अरू केके हो केके । जे हेर्न मन लाग्यो त्यहीँ हेर्दा हुने । अचम्म मानिसले केके बनाउन सकेका होलान् भन्ने मनमनमा गुनिरहन्छु । यो उमेरमा केके देख्न लेख्या छ । सबै देखिने भैयो । मोवाइल महँगो खालको पठाउनुभएको रहेछ । वाइफाई कि के पो भन्नुभयो त्यो राखेपछि जीवन बावुलाई यहीँ बसीबसी देखिन्छ अरे ।  बातचित हुन्छ अरे भनेर भित्र बावुसँग बोलेको सुन्छु । सिकाउँदै पनि हुनुहुन्छ । मोवाइल र टिभी चलाउन पाउँदा जीवनमा फेरि खुसीयालीको बर्साद हुने भयो । गाउँका मान्छे पनि छक्कै पर्ने भए । छोराले सहयोग गर्न थालेछ भनेर । तर के गर्नु पापिष्ट कता लुक्योलुक्यो ।

आज झुपडी पुरै उज्यालो छ । कति दिनदेखि अँध्यारोमा लुकेको झुपडी आज हाँसेको छ । कसरी वर्णन  गरूँ ? वर्णन गरेर नसकिने आनन्द छाएको छ आज यो झुपडीमा । बुवा भित्र विभिन्न च्यानलमा रमाएको देख्छु । म बेलुकाको खाना बनाउन सव्जीको व्यवस्था मिलाउँदै छु । समय सधैँ एकैनास नहुने , कहिले घाम कहिले पानी भनेझै अहिले हाम्रो झुपडीमा घाम झुल्केको छ । उज्यालो छाएको छ । हिजोको त्यो पीडा आज यसरी सुखमा बद्लिएको छ । हिजो गाउँगाउँ गएर मजदुरी गर्ने यो शरीर आज घरमै बसेर सबै कुराको सुखसुविधा भोग्ने भएको छ । कति छिट्टै परिवर्तन आयो हाम्रो जीवनमा । पातलो टिभी छ यो एल इ डि अरे नाम पनि केके हुँदो रहेछ कहिल्यै नसुनेको बत्तीस इन्चको भन्ने सुन्छु । रङ्गीन टिभी गाउँमा कमै छन् । प्राय हुनेको घरमा पनि साधा टिभी देखेको थिएँ । आज आफ्नै घरमा यसरी रमाउने भयौँ । उमेरले डाँढा काटी सक्यो। तर, मनले भने काटेको छैन । अझै केके देख्न पाउने हो  यो जिन्दगीमा ।

आज जीवन बावुसँग कुरा गराउँछु भन्नुभको छ दिपक बावुले । यताको दुई बजिसकेको छ । उता अहिले बिहानको सातआठ भयो अरे । शनिबार उताको विदाको दिन हुनाले कुरा गर्न पाइने भएको छ । आफूलाई कतिखेर देख्न पाइन्छ भनेर कहिले दिपक बावु तर हेर्छु , कहिले बुढा तर मोवाइल लगाउनुभयो यताबाट हेल्लो बुवाआमा भन्दै जीवन बावु टुप्लुक्कै घरमै आइपुगेको जस्तो भयो । छक्कै परियो बुवा र म सँगै बसेका छुम् । मोबाइल अलि पर राखिदिनु भएको छ । हेर्दै बोल्दै छुम् । सन्चोविसन्चो सबै कुराकानी भयो । मोवाइल बोकेर घर वरपर सबै देखाइदिनुभो दिपकले जीवन बावुलाई । हाम्रो झुपडी पनि देख्नुभयो । अब कुनै दिन घर पनि चिटिक्क परेको बनाउनुपर्छ आमाबुवा खुसी भएर रहनु , चिन्ता नलिनु , म यस्तै कोेठामा बसेको छु भनेर देखाउनुभयो । बाहिर पनि अलिक परसम्म हेर्न पाइयो । कति सुन्दर कति सफा हुँदो रहेछ विदेश त भन्ने लाग्यो । निकैबेरको कुराकानीपछि जीवन बावुसँग बिदा भइयो । हिजोआज गर्दै दिनहरू एकपछि अर्काे सुविधा भोग्न थालिएको छ । नदेखिएका सपनाहरू पूरा भएका छन् । गाउँटोलमा हाम्रो एकजनाको घरमा मात्र वाइफाई जोडेको रहेछ । अहिले पो थाहा पाइयो । यसरी हेराहेर गरेर मोवाइलमा कुरा हुन्छन् भन्ने त सोचेकै थिइनँ । कस्तो अचम्म ? केके देख्न पाइने हो ? हामी त छक्क मात्र होइन तीन छक्कनै परिसकेका छुम् यो के हुदै छ भनेर ।

म हल्याण्ड आएको एघार बर्ष भइसकेछ। समय बितेको पत्तै नपाइने । यताउता काममा व्यस्त श्रीमती छोरा भन्यो भुलियो।  सासुससुरा पनि घर फर्किसक्नुभयो। जम्मा तीन महिना बस्नुभयो हामीसँग । रमिला होल्याण्ड आउँदा यताउता गर्दा एघार लाख ऋण लिएको थियो अरे । सामान्य परिवारका मानिस दुई दाजुभाइ दुई दिदीबहिनी आमाबुवा समेत छ जनाको परिवार दुखै गरेर जीवन धान्दै आएका रहेछन् । रमिला होल्याण्ड आएपछि हाम्रो कलेज एउटै हुनाले चिनजान भयो । म उनीभन्दा चार वर्ष अगाडि नै आएको रहेछु । मेरो त सानोतिनो जब थियो त्यतिखेर । उनी नयाँ भएकीले मैले निक्कै सहयोग गरँे । सानोतिनो जागिर कलेजअघि र कलेजपछि गर्ने गरी काम मिलाइदिएँ । यसरी उनको र मेरो चिनजान भएको थियो । घरको अवस्था दुवैको उस्तै भए पनि बुवाआमासँग उनको त भाइबहिनी हुनाले चिन्ता थिएन । हाम्रो जस्तो थिएन । म उनकै पछि उनी मेरै पछि हुँदै जाँदा हाम्रो माया धेरै नजिक भएछ । आखिर हामी विवाह बन्धनमा बाँधियाँै  । मैले मेरो घरको कुरा सबै भनेको थिएँ । बुढा बुवाआमा हुनुहुन्छ , यता आउँदा ऋण  लिएरै आएको ऋण तिर्नु छ। घरखर्च पनि पठाउनुपर्ने हुन्छ । यस्ता सबै समस्या जानकारी थियो । तर, उनीले हामी एक भएपछि आफ्नै बुवाआमाको समस्या देखाउँदै हामी दुवैको कमाइ उनको माइतीमा पठाउन थालियो । उनी आउँदाको साँवाव्याज पन्द्र लाख तिरियो । ठुलो भाइ कतार जाने भयो । घरखर्च अन्यका लागि सात लाख पठाइयो।  यसरी पठाउँदै बहिनीको विवाह हुनेभयो  भनेर दस लाख पनि पठाइयो।  यसरी जम्मा बत्तीस लाख त पठाइसकियो ।

अझै समस्या सुनाइरहन्छिन् । भाइलाई काठमाडाँैमा पठाउने व्यबस्था मिलाउनुपर्छ । अबको केही कमाइ भाइका लागि छुट्टाउनुपर्छ। तपाईँको पनि त सालो नै हो । भेनाले धेरै माया गर्नुहुन्छ भन्छ अरे गाउँमा । बुवाआमाले सुनाउनुहुन्छ । यस्ता थपमाथि थप समस्या देखाउँछिन् । तर, मेरो घरतिरको कुरै छैन। अस्ति भनेको थिएँ बुवाआमाको धेरै बिजोग छ अरे भनेँ तर त्यति ध्यान दिइनन्।

अब यो महिनाको तलब थापेर आमाबुवाको लागि  पाँच लाख रुपैयाँ पठाउन मन लागेको छ । ऋण त्यत्रो थियो त्यो बुझ्छु । एकचोटि जीवनसँग भेटेर माफ माग्नुपर्ला मैले ठुलै गल्ती गरेको छु । आमाबुवाको त्यत्रो समस्यामा धेरै सहयोग गर्नुभयो । पचास हजार त नगद नै दिनुभएछ । मेरो बुद्घि कस्तो सुनेको नसुनेझै गरेर हिडेँ। धन्यवाद सहयोगकोे लागि भन्न सम्म कन्जुस्याइ गरेँ । कत्रोकत्रो गल्ती गर्दै आएँ। अहिले ती गल्तीको पछुतो लाग्छ । घरको याद झल्झली आउँछ । त्याो झुपडीको अवस्था र बुवाआमाको अवस्था चाँडँ बुझ्छु। यो आउने शनिबार जीवनलाई भेट्न अनुरोध गर्छु गल्तीको प्रायश्चित गर्छु । जीवनको धेरै मन दुखाएँ मैले । ऊसँग भेटेपछि गाउँको फोन नम्बर पनि थाहा हुन्छ। यसरी नै कल्पनामा डुब्दै बेडमा लडिराखेको छु । आजकल रमिला र मेरोे सम्बन्ध अलिक उत्तरचढाब आएजस्तो हुन्छ।  त्यत्ति बोलचाल पनि हुन्न। आफ्नो आफ्नो काम छ । आफ्नै आउनेजाने समय खाने समय छुट्टीको दिनबाहेक फरक नै समय हुन्छ। मभन्दा अलिक छिटो जान्छिन् । बिहान नानी लिएर बच्चालाई नानी हेर्ने ठाउँमा राखेको छ । नानी त्यहीँ छाडेर उनी आफ्नो काममा जान्छिन् । बेलुका आउँदा नानी लिएर आउँछिन् । मभन्दा त उनि निकै व्यस्त नै हुन्छिन । खाना जो फुर्सद छ उसैले पकाउने सरसफाइमा पनि त्यसरी नै हुन्छ ।  विदेशमा प्राय सबैको यसरी नै चलेको हुन्छ । हामी यसरी नै रमाइलो मान्दै अगाडि बढिरहेका थियौँ । तर, आजकल कमाएको सम्पत्ति एकोहोरो एकातिर मात्र पठाउनु पर्दा हाम्रो मधुर सम्बन्ध अलिअलि गर्दै टाढा हुँदै गएको छ ।

अब जे भए पनि भोलि जीवनसँग सम्पर्क गरेर समय मिलाउने प्रयास गर्ने छु । अब जे हुने हो भोलिको भेटले बताउला । यस्तै सम्झिदै खाना खाएर अफिरतिर लागेँे । उनी अघि नै नानी पुरयाउदै अफिस गइसकेकी छिन् । अफिसबाट बेलुका कोठामा आएँ।  सँधै जस्तो खुसीयाली नभए पनि मलाई देख्नेबित्तिकै छोरा कुदेर आउँछ । एकछिन बोक्छु , डुलाउँछु र ऊसँगै रमाउँछु।  एकछिन भए पनि मन शान्त हुन्छ। सबै कुरा भुलिँदो रहेछ  छोराछारीको माया कस्तो हुन्छ भन्ने बुझ्दैछु । मलाई मेरो बुवाआमाले यस्तै प्यार गरेर हुर्काउनुभएको थियो।  कति माया गर्नुहुन्थ्यो  अझै पनि थाहा छ आफू खाईनखाई मलाई खुवाउनुहुन्थ्यो।  मेरो बावुको लागि भनेर दुःख गरीकन लुगाकपडा किनिदिनुहुन्थ्यो ।  त्यसरी माया गर्ने आमाबुवालाई चटक्कै भुलेर यता माया जालमा फसेँ । सबै कुरा कसरी मिलाउने अब ? यसरी रमेशको बुद्धिमा लागेको बिर्को खुल्न थाल्यो ।

आजकल हाम्रा दिनहरू रमाइलोसँग बितिरहेका छन् । एकजना सहयोगी पनि जीवन बावुले पठाउनुभएको छ । एक जना बहिनी आउनुभएको छ । घरको सबै काम गरिहाल्नुहुन्छ । हामी कामबाट  पार भइसकेका छौँ । दिनभर भलाकुसारी , रामायण , माहाभारत , गीता पढेर , टिभी हेरेर दिन बितेका छन् । दुईतीन दिनमा जीवन बावुसँग कुराकानी भइरहन्छ । सन्चो–विसन्चो बारेमा , खर्चको बारेमा र कुनै कुराको कमी छैन । आजकल हाम्रो झुपडीमा जिन्दगी नसोचेको हिसाबले चल्न थालेको छ । गाउँघर छरछिमेकीहरू दिउँसो टिभी हेर्न आउँछन्।  कोही विदेशमा भएका छोराछोरीसँग कुरा  गर्न आउँछन् मोवाइलमा । पैसा लिने गरेको छैन। हाम्रो यो सुख देखेर गाउँ नै चकित परेको छ । छोरा भनेको त रमेशजस्तो हुनुपर्छ भन्छन् अरे गाउँमा । यो सुखसयल कसरी कहाँबाट आयो ? विचरा गाउँलेलाई के थाहा ?

आज जीवन भाइसँग टेलिफोन गरेँ । उठाउनुभयो । सन्चोविसन्चो सोधेँ सबै राम्रै सुनाउनुभयो । भोलि शनिबार भेट गर्न मन लागेको छ। उही अस्तिकै  पार्कमा भनेँ।  भाइले सजिलै हुन्छ नि भन्नुभयो । यस्तो मानिससँग मैले कति नराम्रो चरित्र देखाएँ । आजकल आफूदेखि आफैलाई घृणा लाग्छ । मेरो व्यवहार सम्झेर जीवन भाइले  भेट गर्न मान्नु हुन्न कि जस्तो लागिरहेको थियो। तर, त्यस्तो भगवान् जस्तो मान्छे किन रिसाउनुहुन्थ्यो । आज मनमा धेरै खुशी छाएको छ । अब भोलि भेट गर्ने भन्ने सल्लाह भयो ।

आज अचानक रमेशमा किन यस्तो विचार आएछ । अनौठो मान्छे , उसलाई त आफ्नो श्रीमती, छोरा सासुससुराबाहेक त अरूसँगको सम्बन्ध नाता त्यति भएजस्तो लाग्दैन थ्यो । के विचारले भेट्ने मन गरेछन्।  भोलि त थाहा भइहाल्छ नि । म एक बजेतिर पार्कतिर हिडेँ । रमेश दाइसँग भेटघाटका लागि, रमेश दाइ त अघि नै आइसक्नुभएको रहेछ । वरैबाट देखेँ। भेटघाट भयो।  आज अस्तिको जस्तो मुहारमा हँसिलोपन छैन। एकदमै निराश देख्छु । सायद बिरामी भएर होला भन्ने लाग्दै छ । के छ त रमेश दाइ  खबर ? आज कसरी भेट्ने मन गर्नुभयो ? देख्दा पनि अर्कोतिर फर्केर हिँड्नुहुन्थ्यो । एउटा दुश्मनले हेरेजस्तो मेरो अनुहार नै हेर्न मन नलागेको जस्तो हिँड्नुहुन्थ्यो। म अचम्म पर्थेँ । बिराएको केही थिएन। केही भनेको थिएन। एउटै देश त्यो पनि वारिपारि गाउँको बसाइ। घरपरिवारमा चिनजान भइसकेको किन  तपाईँले  मप्रति यस्तो व्यबहार देखाउनुभयो ? मैले पनि मनको भारी रमेशतिरै तेस्र्याइदिएँ ।

सरी जीवन भाइ, पहिलो कुरा त म तपार्इँसँग माफ माग्न आएको छु।  मेरो जुन व्यवहारले तपार्इँ जस्तो एक सज्जन  व्यक्तिको मनमा चोट पु¥याएँ।  त्यो मबाट ठुलै गल्ती भयो । यस्तो अपराघी  व्यक्तिलाई आज तपाईँले एउटा दाजु हो गल्ती त गरिहाल्यो  भनेर माफ दिनुपरयो । म एउटा मुर्खमध्येको पनि एक महामुर्ख भएँ । मेरो मुर्खताले जन्म दिने आमाबुवाको र तपार्इँजस्तो भगवानको मन दुखाएको छु । यसको पाप मैले कति जुनीमा काटिसक्नुपर्छ । यो मैले सहनै पर्छ । धेरै ठुलो भूल गरिसकेँ । पहिलो क्षमा तपार्इँबाट पाउने आशा गर्छु । अनि  मेरा पूजनीय आमाबुवाप्रति गरेको अपराधप्रति क्षमा माग्छु । यसमा मुख्य सहयोग तपार्इँको चाहिन्छ  भन्दै घुँक्कघुँक्क रुन थाल्नुभयो । रमेश दाइ यो अवस्था हेर्दा अहिले आएर  साच्चै ठुलै पश्चाताप  भएछ भन्ने जोसुकैले बुझ्न सकिन्थ्यो ।

रमेश दाइको यो पश्चाताप देखेपछि मैले पनि अगाडिका कुरा छाडेर अब आगामी दिनका कुरा गरौँ दाइ भनेँ । घरतिर सबै राम्रो छ।  दुईदुई दिनमा बुवाआमासँग कुरा भइरहेको छ मेरो । घरमा टिभी , वाइफाई , मोवाइल डिसहोमको व्यबस्था मिलाइदिएको  छु । घरमा काम गर्ने एकजना सहयोगी बैनी राखिदिएको छु। आमाबुवा बडो रमाइलोसँग दिन बिताइरहनुभएको छ । कुनै कुराको कमी हुन दिएको छैन। बुवाआमाको त्यो प्रसन्न उज्यालो अनुहारले मलाई सधैँ सेवा गर्ने प्रेरणा मिलिरहेको छ । म त यसरी नै रमाउँदै दिनहरू बिताइरहेको छुुु । गाउँघर वरपर सबै यो देखेर छक्क परेका छन् । रमेशले बुवाआमाको लागि सबै व्यवस्था मिलाइदिएको छ । कति सुखसुविधामा राखेको छ भन्छन् अरे गाउँमा । मैले गरेको भन्ने त कसैलाई थाहा नै छैन , नभन्नु पनि भनेको थिएँ मैले ।  पछि  समाजले तपाईको हेराइ नराम्रो नहोस् भनेर । रमेश दाइलाई वृतान्त सुनाएँ ।

जीवनको कुरा सुनेपछि रमेश छाँगाबाट खसेजस्तै भयो । घरमा सुखसुविधा सबै बुवाआमाले प्रयोग गरिरहनुभएको ।  घरमा कुुनै कुराको कमी छैन । यस्तो सुन्दा म एउटा बावुआमाको छोरो भएर पनि केही गरिन । म जस्तो छोराको के काम यो धर्तीमा ? बुवाआमालाई रुवाउने धिक्कार मेरो जीवनलाई आफूदेखि आफैलाई घृणा लाग्छ । कसरी के भनुम्, सारै नै नहुने काम पो मबाट भयो जीवन भाइ । जे जति गल्ती गरेँ ।  अब गल्ती हुनेछैन । म यता अनेकौ सङ्कटबाट भित्रभित्रै फसेछु । बाहिर संसारलाई नियाल्न सकिनँ । भित्रकै समस्या, भित्रकै समाधान कताकता अल्मलिएँ केही पत्तै पाइनछु । यस्तै बितेका कुराहरू सबै जीवन भाइलाई सुनाएर मन अलिक हलुँगो  बनाएँ । आँसु रोकिसकेको छैन । ती वृद्घ बाआमालाई सम्झन्छु , आफूले पहिले गरेको बाचा सम्झन्छु । दुःख लागेर आउँछ । त्यत्रो ऋण के गर्नुभयो होला ? कसरी तिर्नुभयो होला ? केले खानु भयो होला ? अब पछुताएर रुनुबाहेक मलाई केही भएन । के गरुम् भाइ अब मेरो पनि तपाईँ नै हो बुवाआमा जस्तो भगवान् । अब सल्लाहसुझाव दिनु बुवाआमासँग मैले के भन्ने ? कसरी माफी माग्नु ? के मलाई माफी दिनुहुन्छ होला ? म जस्तो अपराधीलाई !

 अब बितेका दिनमा जे भयो भयो त्यता फर्कनु हुन्न ।  यता श्रीमती छोरा र उता बुवाआमा सँगका टुटेको सम्बन्ध अब जोड्नु पर्छ । यसमा म पहल गरिहाल्छु नि ।  भोलि तपार्इँ मेरो कोठामा आउनु , बाआमासँग कुरा गरौँला । चिन्ता नलिनु म सबै मिलाउँछु । पल्लो बारी बेचेर ऋण तिरिसक्नु भएको छ । त्यताको कुनै चिन्तै छैन । खानाबस्नको प्रबन्ध सबै मैले मिलाइसकेको छु ।  अब अगाडि बढ्नुपर्छ । आमाबुवाको मन जित्न सक्नुपर्छ । विश्वास दिलाउनुपर्छ । त्यसका लागि मबाट हुने सबै सहयोग गर्छु । अब छुटौँ भोलि बिहान आठ बजेतिर आउनु भन्दै बिदा भइयो ।

म बिहान प्राय छ बजे नै उठ्छु । बेलुका पनि दस बजेतिर सुत्ने बानी छ । एक्लै बस्दा समयमै खाने समयमै सुत्ने बानी बस्यो । समयमै काममा जान्छु । अफिसको जागिर राम्रो छ । मैले मास्टर सक्नेबित्तिकै नै राम्रो जागिर पाएको छु । कुनै चिन्ता छैन । नेपालमा बुवाआमा खुसी हुनुहुन्छ सबै सुविधामै राखेको छु । अब एउटा मन मिल्ने साथी हेरेर विवाह गर्नु छ । यता पिआर भइसकेको छ । नेपालमै गएर बिहे गर्न मन छ ।  यस्तै कल्पना गर्दै चिया बनाउँदै थिएँ । रमेश दाइ पनि आइपुग्नुभयो । दुवै भाइ भएर चिया पियौँ । आजको खाना बल्लबल्ल दाजुभाइको भेट भएकाले सँगै खाने मौका मिलेको छ । दुवैको सल्लाहले सादा खाना खाने सहमति भयो । त्यही अनुसार तयारी गर्दैछु ।

अब तपाईँ पनि तयारीमा रहनु है खानापछि कुरा गरौँला । आज त भेट गर्ने दिनै हो कतिखेर जीवन आउने हो भनेर बुवाआमा पखाईमा बस्नुभएको छ । बुवाआमासँग कुरा गर्न घरमै मोवाइल छ । त्यसैमा  कुरा भइरहन्छ । गाउँका मानिसहरू पनि विदेशमा भएका आफ्ना छोराछोरीसँग कुरा गर्न आउछन् अरे । देख्न पाइने हेर्दै बोल्न पाइने भनेर आइराख्छन् अरे । पैसा लिनु हुन्न अरे । राम्रो हो बुवा समय मिलाएर दिनुहुन्छ भने भन्ने सल्लाह दिएको थिएँ भन्दै फोन लगाएँ । आमाले उठाउनुभयो । के छ जीवन बावु भन्नुभयो । दण्डवत प्रणाम गरेँ । बुवासँगै बस्नुभएको छ । आशिर्बाद दिनुभयो ।

रमेशदाइ सँगै बस्नुभएको छ क्याप लगाउनु भएको छ । चिन्नु हुन्छ की हुन्न ? एघार बर्ष बिते के चिन्नु हुन्थ्यो ? चिन्नु भएन ? हामी मात्र कुराकानी गरिराखेका छौँ । बुवाले बाहिर करेसाबारीमा लगाएका सागसब्जी देखाउनुभयो । मजाले साग टमाटर देखिन्छ । आफ्नै बारीको सब्जी राम्रो सप्रिएर आएछ । पारि हाम्रो गाउँतिर पनि देखाउनुभयो । हरियाली डाँडाहरू देख्न पाइयो ।  वारिपारि सबै हेरेँ । आफ्नो गाउँ हेरेँ ।

आज एउटा खुसीको कुरा सुनाउन मन छ आमाबुवालाई । के गरुम होला ? आज्ञा भयो भने सुनाउने  छु ।  के खुशीको कुरा बावु ? हाम्रो जीवनमा योभन्दा अर्काे खुशी के देख्नु छ र ? सबै खुशीहरू देखाइसक्नुभयो । हामी यसैमा रमाइरहेका छौँ । जीवनको अन्तिम घडीमा पुगेको हाम्रो अवस्थालाई बावुले बचाउनुभयो । संसार हेर्न पाइयो । रोगशोक सबै टाढा भयो । योभन्दा अरू कस्तो खुशी हुन्छ र बावु  भन्दै आमा बोलिरहनुभएको छ । बुवा सुनिरहनुभएको छ । काम गर्ने बहिनी वरपर हिँडिरहेको देख्छु । यो अवस्थामा तीनै जनालाई देख्न पाउँदा मेरो पनि मन अति नै प्रशन्न भएको  छ । यो सबै रमेश दाइले हेरिरहनुभएको छ । के सोच्दै हुनुहुन्छ ? मन कता पुगेको छ ? गम्भीर मुद्रामा देख्छु । अब रमेश दाइलाई दिनुप¥यो भनेर आमाबुवा  एक जना मेरो दाइ हुनुहुन्छ । उहाँ तपाईहरूसँग बोल्न मन गरिरहनुभएको छ दिन्छु है भने ।

को हो बावु ? के भन्नुहुन्छ ? हामीले चिनेका छैनम् भन्दै हुनुहुन्थ्यो । मैले मोवाइल रमेश दाइलाई दिएँ ।

आमा........भनेर रमेश दाइे डाँको नै छाडेर रुन थाल्नुभयो । उता हेरेको हेरै बोल्नुभएको छैन।  को बोल्नुभयो भन्दै बुवाले आमाको हातबाट मोवाइल समाउनुभयो । म रमेश हजुरहरूको छोरा मलाई माफ गरिदिनुहोस् । धेरै ठुलो गल्ती गरेँ । धरै बर्ष भुलेँ । जीवन भाइले मलाई सद्बुद्धि दिनुभयो र आज दर्शन गर्ने मौका पाएँ । दुवै जनामा दण्दवत ढोग गरेँ । माफ दिनु भन्दै रोइरहनुभयो । तर न आँसुु  न रोदन केही देखेको छुइन । आमाबुवा एक आपसमा मुखामुख गरेको देख्छु । कालो बादलले घेरेकोजस्तै अध्याँरो , मलिन अनुहार देखियो आमाबुवाको बोल्न सक्नुभएन । फोन काटियो ।             

प्रकाशित: १७ माघ २०७७ १२:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App