२९ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

राहत

लघुकथा

सन्तेले टोपीभित्र हात घुसाएर टाउको मुसार्दै खुइय सुस्केरा हाल्यो । सँगसँगै सानो आवाजमा हारको शब्द छोड्यो – अब के गर्ने होला ?

पेटभित्र भोकले जुलुस मच्च्याउँदै थियो।  धर्तीमा प्रवेश गरेको पन्ध्र दिनमै छोराले माटोमुनि पुरिनुपर्यो । श्रीमती र मेरो ताल पनि त्यही त होला।

राहतमा थापेको चामलले हिजोसम्म खोले फत्काएर सुत्केरीको जसोतसो ज्यान अड्यायो।  अर्कोचोटि राहतको लाइनमा बसेको मात्र थियो । कसैले पोल लगाइदिए– यसले पहिले नै राहत थापिसकेको थियो।

उसकै अगाडि  दुईतिनचोटि राहत थाप्नेहरू पनि निर्धक्कसँग राहत  थाप्दै जाँदै गरेको उसले देखेको थियो ।तर,  मुख उसले खोलेन । लाइनबाटै अपशब्द र गाली खाँदै निकालियो ऊ।

कतैबाट केही पाइएला भन्ने आश मरेसँगै बाँच्ने आशाको त्यान्द्रो पनि छिन्न लाग्यो । सधैँ त काम नगरी अगाडि ज्याला माग्न नदिने उसको इमानदारीले पर्खाल नाघ्यो – जे पर्ला छिमेकका  घरतिर लम्क्यो।

लाज र संकोचलाई पर राखेर उसले  मुख फोर्यो – लु न हजुर, लकडाउनले  काम ठप्प भइगो।  केही दया गर्नोस् न, । गारो   पो भो मलाई त।

– खुलेपछि काम गर्दिने वाचा गर्यो ।

– हन, उता राहत बाँड्दै छन्  । तँ  यता किन घरघर पसेको । जाजा उता जा । छैन केही उपायसुपाय यस्ता बेलाँ।  उसले  नमिठो वचन पायो।

अर्को घर छिर्यो ऊ ।

– हन काँ यस्तो बेलाँ घरघर छिरेको सन्ते  !

– सर्छ भनेर परपरै लखेटियो । अर्काकोमा गयो , अर्काकोमा  गयो ।  चारपाँच घर जति पस्ने जमर्को गर्यो । केही उपाय नलागेपछि शून्य हात आफ्नो झुपडी फर्कियो।

बिहान भयो । निकैबेरसम्म  सन्तेको घरमा चालचुल देखिएन ।  त्यसपछि छिमेकीले नियाल्ने कोसिस गरे । जोईपोइ एउटै डोरीमा पासो लागेका थिए । हल्लाखल्ला गर्दै पुलिसलाई खबर गरियो । रमितेहरूको धुइरो लाग्यो ।

त्यसबेला तिनै छिमेकीहरू उसको गुनगान गाउँदै थिए  –कठै सन्तेको परिवार , सारै इमानदार थिए । दुवै वचनको पक्का थिए । कामअगाडि कहिल्यै ज्याला  माग्दैनथे ।  काममा कहिल्यैै ठगठाग गर्न पनि जानेनन्  ।

प्रकाशित: १७ माघ २०७७ ०९:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App