२९ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

सूर्यको साथी

साथी बालकविता सङ्ग्रहका लेखक कवि सूर्यप्रसाद लाकोजू हुनुहुन्छ । उहाँका हालसम्म कोपिला, घाम उदायो, मेरो सानो घर, फूलैफूल बालकविता सङ्ग्रह प्रकाशित छन् । त्यसो त उहाँका अतिथि नामक एउटा अंगे्रजी भाषाको बालकथा र यमरी नामक संस्कृति परिचय पुस्तक पनि प्रकाशनमा आएको छ । बालसाहित्यतर्फ उहाँको यो सातौं कृति हो ।  

साथीमा रहेका कविताहरूमा छोरी, चरी, तारा, किसान दाइ, सिर्जनाले भर्नु छ, म त नेपाली, मुसो र विरालो, पढ्छु खुरुखुरु, साथी, तातेताते, फूलजस्तै बन्नुपर्छ, आमाको काख रहेका छन् । छोरी कविताले छोरी कस्ती हुनुपर्छ, छोरीले के गर्न सक्छे, छोरीको बानी–व्यवहार कस्तो हुनुपर्छ भन्ने कुरा बताइएको छ । चरी कविताले चरी किन उड्छ ? चरी उड्नुको कारण के हो ? चरीले जस्तै बालबालिकाहरूले पनि आकाशमा उडेर चन्द्रमा छुने लक्ष्य लिनुपर्ने सन्देश कविताले बोकेको छ । राति आकाशमा चम्कने तारा सबैका प्यारा हुन्छन् । बालबालिका पनि ताराजस्तै सबैको प्यारो बन्नुपर्ने शिक्षा कविताले बोकेको देखिन्छ । किसान आफू बाँचेर धर्तीमा अर्कालाई बचाउने प्राणी हो । दिनरात परिश्रम गरेर सबैलाई पाल्ने किसान नै हो । मानिस भएर जन्मिएपछि किसानजस्तै अरूका लागि बाँच्न जान्ने हुनुपर्ने सन्देश किसान कविताले दिन खोजेको छ । त्यस्तै अन्य कविताहरूमा मानिस सिर्जनशील भएर बाँच्नुपर्ने विचार कवितामा पोखिएका छन् । एक आपसमा मिलेर बस्नुपर्ने, आफ्नो भाषा र वेशभूषाको सम्मान गर्नुपर्ने भाव पनि कविताहरूमा रहेको छ । देश हाम्रो आफ्नो घर हो । देश राम्रो भए हामी राम्रा हुन्छौं । त्यसैले देशलाई हामीले माया गर्नुपर्छ । आफू जन्मेको देश स्वर्गभन्दा पनि ठूलो हुन्छ भन्ने कुरा पनि कवितामा ब्यक्त भएका छन् ।

त्यस्तै मुसो र विरालो कविताले मुसा र विरालो जस्तै झगडिया बन्न नहुने, जीवन अमूल्य रहेकोले यसको सदुपयोग गर्न सक्नुपर्दछ भन्ने शिक्षा प्रवाह गर्न खोजेको छ । पढ्छु खुरुखुरु कविताले देशका कर्णधार बालबालिकाले धेरै पढेर देशको सेवा गर्ने र बा, गरु, अग्रजले भनेको कुरा मान्नुपर्दछ भन्ने दरिलो विचार बोकेको छ । साथी कविताले साथीको महिमा गाएको छ । साथी भनेको सुख र दुखमा साथ दिने हुनुपर्छ भन्ने कुरा कवितामा उल्लेख छ । तातेताते कविताले असल कुरा सिकेर संसारमा उभिनुपर्ने सन्देश दिएको छ । फूलजस्तै बन्नुपर्छ कवितामा माली दाइको परिश्रम, फूलबारीको कथा र त्यस्को आकर्षणबारै बताइएको छ । साथी कवितामा रहेको अन्तिम कविता आमाको काख हो । आमाको महिमा जति गाए पनि सकिन्न । हाम्रा लागि स्वर्गभन्दा ठूलो आमाको काख भएको भाव सुन्दर ढङ्गले कवितामा कविले पोख्नुभएको छ ।

यस बालकविता सङ्ग्रह साथीलाई आकर्षक र रंगीन चित्रहरूबाट सजाएकी छिन् अर्पिता शाक्यले । कविताको भाव र शीर्षक अनुसारका चित्रहरूले कविताको सजीवतामा थप प्राण भरेकोे छ ।

साथीमा १२ ओटा कविता समावेश गरिएका छन् । बुक आर्ट नेपालबाट प्रकाशन गरिएको सो बालकविता सङ्ग्रहको मूल्य रु. १२५ राखिएको छ ।

समग्रमा भन्नुपर्दा साथी बालकविता सङ्ग्रह सरल, सरस र पठनीय रहेको छ ।  बालबालिकाहरूले बुझ्ने सक्ने भाषा छ । साथीको अध्ययन र पठनबाट बालबालिकाहरूले थुप्रै कुरा सिक्न सक्दछन् । कविताहरू जीवनोपयोगी छन् । भविष्यमा कवि सूर्यप्रसाद लाकोजूबाट  साथीजस्तै बालबालिकाका सुन्दर साथीहरू नेपाली बालसाहित्यमा पस्किएको देख्न पाऊँ  । कवि लाकोजू हार्दिक बधाई तथा शुभकामना !

प्रकाशित: १७ माघ २०७७ ०६:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App