२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

कलामा गुणस्तरको खोजी

शास्त्रीय कलादेखि समसामयिक कला, आधुनिक वा उत्तर आधुनिक, लोककला वा हस्तकलामा कुनै समाज आएकै हुन्छ। कहिले यो संस्कारको एक अभिन्न अंग भएर देखापर्छ, कहिले धर्मको एक अंग, कहिले सामाजिक सवालको सन्दर्भमा वा कहिले राजनीतिका मुद्दामा देखापर्छ। यिनै कलाको माध्यमबाट मान्छेले आफ्नो भाव र विचारलाई सञ्चारित गरिरहेका हुन्छन्।

सन् ९० को उत्तरार्धमा बेलायतमा एक महिला कलाकारले एउटा अचम्मको कलालाई प्रस्तुत गरिन्। उनले चौरको माझमा एउटा टेन्ट गाडिन्। यसभित्र चारैतिर पुरुषका तस्बिर टाँसिन्। भावकलाई हरेक तस्बिरलाई नजिकबाट अवलोकन गर्न आग्रह गरिन् र अन्तिमको तस्बिरनजिकै उनले लेखेकी थिइन्, ‘यी सबै पुरुषसँग कमसेकम म एक रात सुतेकी छु।’ यसबाट भावकको मनमा उब्जने विस्मित नै उनको कलाको मुख्य ध्येय थियो। अब नेपालतिर फर्कौं।  

नेपालमा प्रद्युम्न श्रेष्ठले सन् २००३ मा ‘मेचमाथिको मुढा’ नामक राजनीतिक सवाललाई लिएर एउटा काम गरे। जंगलको माझमा मात्र एउटा मेच राखे, त्यसमाथि एउटा ठूलो मुढा राखे। उनको काम (कला) यति नै थियो। यो कामको नजिकै यस्तो एक लेखोट राखिएको थियो, ‘कुर्सीमा (सत्तामा) बस्न पाए भइहाल्छ, केही जान्नुपरेन, केही गर्नुपरेन, तर कुर्सीमा टाँसिइबस्न कडा खालको सीप भने चाहिने भयो।’  

कलर फिल्ड पेन्टिङ (कलाको शैली र प्रवृत्तिगत आन्दोलन, जुन सन् ५० देखि ६० को दशकसम्म सक्रिय थियो। यस कला आन्दोलनको अगुवा अमेरिकन कलाकार मार्क रुथ्को थिए) को सन्दर्भ जोडौँ।  

रुथ्कोले सन् १९४९ देखि १९७० सम्म क्यानभास भरी धमिला रङहरू मात्र पोतेर चित्र बनाए। उनले यो समयभित्र धेरै यस्तै मात्र चित्र बनाए। एउटा चित्रको उदाहरण लिउँ, सन् १९६८ मा बिनाशीर्षकको सुन्तला र अलिकति पहेँलो मिसिएको पृष्ठभूमिमा क्यानभासको तलतिरको भागमा पहेँलो मिसिएको धमिलो रातो आयतकार पोते। योभन्दा खासै अन्य कुरा उनको चित्रमा देखिँदैन। कलाविद्ले यो चित्रलाई अति आकर्षक रङ भएको आनन्ददायक चित्रका रूपमा व्याख्या गर्ने गर्छन्।  

अब नेपालको परम्परागत चित्रमा सिद्धहस्त कलाकार उदयचरन श्रेष्ठको चित्रको सन्दर्भ नियालौँ। उनी परम्परागत पौभा चित्रकार हुन्। अलि फरक ढंगबाट पौभाचित्र बनाउन उनको बढी रुचि छ। उनका चित्र परम्परागत चित्रशैलीमा अलि फरक ढंगबाट विकास भएको पनि पाइन्छ। उनी अति सूक्ष्म रेखासँग खेल्दै र धेरै समय लगाएर यस्ता चित्र बनाउँछन्। यसर्थ पनि नेपाली परम्परागत चित्रकला क्षेत्रमा उनको विशिष्ट स्थान छ। उनको एउटा शक्ति नामक चित्र, जुन फुकुवटा आर्ट म्युजियम, जापानले नौ लाख रूपैयाँमा सन् २००२ मा किनिदिएको थियो। यो चित्र पूरा गर्न उनलाई दुई वर्ष लागेको थियो।  

काठमाडौंको लाजिम्पाटमा कलाकार नरबहादुर बिकेको कला स्टुडियोसँगै दोकान छ। तपाईं उनीसँग चिया खाँदै, गफ गर्नुस्, उनी तपाईंको कुरा सुन्दै, कुरा पनि गर्दै क्यानभास इजलमा राख्छन्। अनि उनको तुलिका क्यानभासमा कुद्न थाल्छ। केहीबेरमा तपाईंको चिया सकिइसकेको हुँदैन, उनको त्यो टकटकाउँदो हिमाल, चौँरी गाई, ध्वजा–पताकाले ढाकिएको यथार्थ चित्र बनिसकेको हुन्छ। दिनभरिमा उनले यस्तै आठ–नौवटा चित्र बनाइसक्छन्। भित्ताभरि, ठूलो टेबुलमा थाक लगाएर राखेको, भुइँ र जताततै छरिएर रहेका साना–ठूला सयौँ चित्र उनको कला स्टुडियोमा देखिन्छन्। जलरंगी दृश्यचित्रमा सिद्धहस्त चित्रकार डी राम पाल्पाली बाहिर खुला आकाशमुनि बस्छन् र एक घन्टामै अति सुन्दर दृश्यचित्र बनिसकेको हुन्छ। अति लोभलाग्दा तुलिकाघातबाट सुसज्जित उनका दृश्यचित्र प्रकृतिसँग हुबहु मिल्छन् मात्र होइन, त्यसबखतको वातावरण, अवस्था, समय र वास्तविक वस्तुभन्दा उनको चित्र अझ सुन्दर देखिन्छ। अग्रज कलाकार किरण मानन्धरको घरमा उनलाई भेट्न जानुस्, उनले ‘एकछिन है’ भन्दै पहिला सानो क्यानभास निकाल्छन्। अनि अति द्रूतगतिमा तुलिकालाई घुमाउँछन्, आधा घन्टामै एउटा आकर्षक अमूर्त चित्र बन्छ। अति सघन, सफा–सुग्घर गतिशील रङका ठुल्ठूला खण्ड उम्रन्छन्, उनका क्यानभासमा। यस्ता चित्र उनको कला स्टुडियोमा सयौँको मात्रामा थुप्रिएको देख्न पनि सकिन्छ। अनि पछि तपाईंसँग बसेर गफ चुट्न बस्छन्। अर्का अग्रज कलाकार कृष्ण मानन्धरकहाँ जानुस्, उनी तपाईंसँग गफ गरिरहेकै हुन्छन्, सँगसँगै उनका तुलिका स–साना क्यानभासमा कुदिरहकै हुन्छन्। उनको चित्र तुरुन्तै सकिँदैन, तपाईंसँग गफ गरिरहँदा पनि उनको आँखा, हात र सम्भवतः मन र ध्यान पनि क्यानभास वरिपरि घुमिरहेको हुन्छ। अनि उनको गतिशील तुलिकाघातले भरिएको कोमल खाइलाग्दो अमूर्त चित्र जन्मन्छ। यी सबै कलाकार बढी चित्र बिक्ने कलाकारको रूपमा चिनिन्छन्।

अब समसामयिक राजनीति मुद्दालाई सजग नागरिकको हैसियतले आफ्नो कलामार्फत उठाइराख्ने कलाकार रवीन्द्र श्रेष्ठको सन्दर्भ लिउँ। गत हप्ता उनले नेपाल प्रज्ञा प्रतिष्ठानको प्रांगणमा बिक्रीमा नामक कलालाई प्रस्तुत गरे। उनले एकताका हरेकजसो पत्रपत्रिकामा पत्रिका पूरै ढाक्ने गरी छापिएको राष्ट्रकै उच्च तहमा बसेका व्यक्तिका तस्बिरलाई आफ्ना कलाको मूल पात्र बनाएका थिए। उनले केही गरेका थिएनन्, मात्र फोटोमा आफ्नो सिग्नेचर गरेका थिए। पाँच वा १० रूपैयाँमा पाइने त्योे पत्रिकालाई उनले न्यूनतम २० रूपैयाँ दाम राखेर आम मान्छेलाई किनिदिन आग्रह गरे। चाहनेले योभन्दा बढी मूल्य दिए हुन्थ्यो। उनको कला हेर्न बसेका प्रबुद्ध वर्ग र आममान्छेले तँछाडमछाड गर्दै उनको सातवटै पत्रिकामा छापिएको त्यो तस्बिरलाई किने। अरू पत्रिका पनि भएको भए अझ बढी बिक्थ्यो होला। यति मात्र बिक्दा पनि सात सय ५० रूपैयाँ उठ्यो। समग्रमा उनको कला यति नै थियो। मूलतः उनको कलामा नारा बेची हिँड्ने समग्र राजनीतिज्ञको अहिलेको स्थितिलाई तिखो प्रहार थियो। अब यी सबै अलग–अलग शैली र अलग–अलग समय, ठाउँमा बनेका कला कसै न कसैको घरमा टाँगिएका छन्। वा, कलाका संग्रहालयमा टाँगिएका छन्। अर्थात् भावकले मनपराएका छन्, रिकग्निसन भएको छ। सबै कला एकै स्तरका हुन् वा होइनन्, यी कलामा गुणस्तरको खोजी कसरी गर्ने भन्ने एउटा अहं सवाल छ।  

गुणस्तर खोजी  

स्वभावतः कलामा गुणस्तर खोज्नु सबैभन्दा जटिल काम हो। विकसित राष्ट्रका गुणस्तर नाप्ने अलग–अलग सूचक होलान्। यसैलाई आधार मानेर आफ्नै प्रकारले व्याख्या गर्छन् होला। अनि समुदायको सोच, स्तर चाहना आदिको खोजीको संस्कार पनि होला। हामीकहाँ भने गुणस्तर खोजी पस्ने संस्कार छैन। अर्थात् हाम्रो संस्कारमै पनि अनुसन्धानको पाटो अलिकति कमजोर छ। अर्कोतर्फ कलालाई नाप्ने स्थापित मान्यता हामीसँग छैनन्, मापनका सूचक पनि छैनन्। देश, काल, परिस्थिति, अवस्था, संस्कृति, संस्कार वा व्यक्ति विशेषको योग्यता, सोच, अवधारणा– नजाने कैयौँ कुराले कलामा गुणस्तर छ वा छैन भन्नेलाई निर्देशन गरिहेका हुन्छन्। कलालाई धेरै कोणबाट हेर्नुपर्ने र हेरिने हुँदा सम्भवतः यसको नापतौल हरेक कलाविद्ले आ–आफ्नै ढंगले गरिरहेका हुन्छन्। अर्को जटिलता कहाँनेर पनि छ भने, कलाको यो पाटोबाट हेरिनुपर्छ भन्ने सोच, प्रविधि र पद्धतिलाई पनि हामीले राम्ररी स्थापित गर्न सकिरहेका छैनौँ। यसर्थ कलामा सामान्य बुझाइको आधारमा वा आफूलाई महसुस भएको आधारमा कुनै पनि कला राम्रो वा नराम्रो भन्ने चलन छ। अनि यसको चर्चा हल्का रूपमा हुन थालेको देखिन्छ। यसरी हेर्दा कुनै निकृष्ट कला पनि अब्बल देखिने र कुनै अति उत्कृष्ट कला पनि स्तरहीन देखिने सन्दर्भ बढी मात्रामा देखिन्छन्। यसो हुँदा राम्रा गुणस्तरका कला स्वभावतः ओझेलमा पर्छन्। अर्थात् समस्त राष्ट्रकै कला पनि स्थापित हुन सक्तैन। यस्तो अन्योलको अवस्थामा सवाल उठ्छ– कुनै पनि सिर्जनामा गुणस्तर भन्ने हुँदैन ? यसको खोजतलास गर्नुपर्दैन ? कलामा मात्र होइन, यस्ता प्रश्न गुणस्तरको सवाललाई लिएर कुनै पनि वस्तु तथा सेवामा भावकले परोक्ष रूपमा उठाइरहेका देखिन्छन्। सम्भवतः यसलाई व्यवस्थापनको एउटा नयाँ सिद्धान्त ‘टोटल क्वालिटी म्यानेजमेन्ट’ (टिक्युएम) को अवधारणाले सम्बोधन गर्न सकिन्छ। यसको चर्चा अलि पछि गरौँला।

कलामा किन गुणस्तर खोज्ने ?  

कलामा गुणस्तर खोज्न आवश्यक छ कि छैन, अहिले यो पनि विवादै छ। कलाले मान्छेको भावनासँग सम्बन्ध राख्छ। कलाले जहिले पनि घटना, दुर्घटना वा अवस्थासँग सम्बन्ध राख्छ। कलाको आधार बिन्दु नै यही हो। अर्थात् यसैलाई आधार मानेर वा यही स्रोतको आडमा कलाको निर्माण भइरहेका हुन्छन्। स्वभावतः मानवको भावना र हरेक व्यक्ति विशेषमा उठेका भावलाई अभिव्यक्ति गर्न खोज्दा जन्मेको कलामा किन गुणस्तर खोज्ने ? यो तर्र्क आफैँमा अकाट्य छ। यसैले कलाविद् पनि कलामा गुणस्तर खोज्न विभिन्न बहानाबाजी गर्छन्। फेरि पनि ‘यो कला राम्रो वा नराम्रो’ भन्ने चलन हराएको छैन। के कला खरिद गर्ने मान्छेले अमूक कलाको गुणस्तर नहेरी कला किन्छन् होला ? राम्रो कला बिक्री हुने र नराम्रो कला बिक्री नहुने सन्दर्भ पनि देखापर्छन्, के यसले गुणस्तरतर्फ संकेत गरेको होइन ?  

कला जहिले पनि जीवनसँग आबद्ध रहेको हुन्छ। समाज, संस्कृति र संस्कारसँग नजिकको नाता रहेकाले कला सधैँ यसैको सेरोफेरोमा सिर्जना भइरहेको हुन्छ। नामकरण जे जस्तो रूपमा होस्, मूलतः कला भनेको एउटै हो। कलालाई पस्कने माध्यम पचासौँ छन्। शैली र प्रवृत्ति छ्यासछ्यास्ती भएर अभिलेखन पनि भएको छ। जुन कुनाबाट यसलाई व्याख्या–विश्लेषण गरे पनि यसले मान्छेको जीवन र समाजलाई प्रत्यक्ष वा परोक्ष रूपमा छोएकै देखिन्छ। यसर्थ शास्त्रीय कलादेखि समसामयिक कला, आधुनिक वा उत्तर आधुनिक, लोककला वा हस्तकलामा कुनै समाज आएकै हुन्छ। कहिले यो संस्कारको एक अभिन्न अंग भएर देखापर्छ, कहिले धर्मको एक अंग, कहिले सामाजिक सवालको सन्दर्भमा वा कहिले राजनीतिका मुद्दामा देखापर्छ। यिनै कलाको माध्यमबाट मान्छेले आफ्नो भाव र विचारलाई सञ्चारित गरिरहेका हुन्छन्। गुफा युगमा पनि यही गरिन्थ्यो। आज पनि सम्भवतः कलाको सिर्जना र उपभोग गर्ने सन्दर्भमा तात्विक अन्तर आएको छैन।  

स्वतन्त्र रूपबाट कला सिर्जना हुन थालेको पछिल्लो कालदेखि मात्रै हो। विश्वमै १९औँ शताब्दीको उत्तरकाललाई आधुनिककलाको काल मानिन्छ। कलाकार व्यक्ति विशेषको स्वतन्त्रता र परतन्त्रबीचको सन्दर्भ जोडेर यसलाई व्याख्या–विश्लेषण गर्ने गरिन्छ। परम्परागत कलामा वा लोककलामा कलाकार कत्ति स्वतन्त्र थिए थिएनन्, आज पनि बहसको विषय छ। तथापि अलि सतही रूपमा हेर्दा भने धर्मपण्डितको निर्देशन वा कमिसन वर्कको सन्दर्भले गर्दा यस बखतका कला पूर्ण रूपमा स्वतन्त्र थिएनन् होला भनेर आकलन गर्ने कलाविद्को जमात निकै ठूलो छ। यसरी राजा–महाराजाले बनाउन लगाउने चित्रकला, मूर्तिकला वा वास्तुकला धर्म पण्डितको निर्देशनमा बन्ने गदर्थे। यी सन्दर्भ ठोस रूपमा वा किंवदन्तीका आधारमा अभिलेखनमा आए पनि गुणस्तरको सन्दर्भ उठेको खासै देखिँदैन। यता कलामा आधुनिककालले प्रवेश पाएपछि सिर्जनशील र उपयोगी कला भनेर अलग्याउने क्रम बढ्यो र केही हदसम्म सिर्जनशील कलालाई अब्बल मानेका सन्दर्भ पनि देखापरे। तथापि बिक्री–वितरणको सन्दर्भमा भने उपयोगी कला नै बढी मात्रामा देखापरेको छ। तथापि जहाँसम्म गुणस्तरको सन्दर्भ छ, यो आज पनि एउटा फाल्तु वस्तु जस्तो भएर ओझेलमा परेको छ, पारिएको छ। के यो पाटो उठाउनैनपर्ने हो ? अर्काे एउटा अहं प्रश्न छ।  

परोक्ष रूपमा हेर्दा परम्परागत कलामा शिल्प–दक्षताको रूपमा मात्र यसको गुणस्तरको खुट्ट्याउने परम्परा छ। यसर्थ परम्परागत कलालाई शिल्पकला र कला निर्माण गर्नेलाई शिल्पी भन्ने चलन छ। नेपालको कलाको इतिहासमा मल्लकालभन्दा लिच्छविकालका मूर्ति गुणस्तरीय पाइएको विद्वान्हरूको भनाइ छ। यसको आधार शिल्प–दक्षता नै हो। साँचो अर्थमा भन्ने हो भने आज पनि कलाका स्कुल, कलेज र क्याम्पसमा बढी मात्रामा शिल्प–दक्षतामा जोड दिएका हुन्छन्। अहिले बगे्रल्ती रूपमा कलाका कोचिङ कक्षा खुलेका छन्। काठमाडौं उपत्यकाभित्र मात्र होइन, मोफसलका स–साना सहरमा समेत यस्ता कला–कक्षा खुलेका छन्। ती सबैमा शिल्प–दक्षता मात्र सिकाइन्छ। कलाका इतिहास, शैलीगत अवधारणा, रचना–दक्षता आदि क्षेत्रमा कम ध्यान दिएको देखिन्छ।  

परम्परागत कलामा आसय के पनि हुन सक्छ भने, वज्रयानको प्रभावमा परेर मूर्तिहरूलाई गरगहनाले छपक्कै छोप्दा कलाकारको ध्यान आङ्गिक अनुपातमा कम गएको हुन सक्छ। विविध आसन, आयुधको परिकल्पना गर्नुपर्ने भएकाले सबै अवयवलाई मिलाउनतिर कलाकारको ध्यान नपुगेको पनि हुन सक्छ। सलक्क परेको सामान्य हाउभाउको मूर्ति बनाउन र १० वटा हातखुट्टा, अलि अप्ठेरो खालको आसन र हातैपिच्छेका आयुधहरू बोकाइदिँदा स्वभावतः यस्ता कलाको स्वरूपमा कलाकारलाई सन्तुलनको सन्दर्भमा गाह्रो परेको हुन सक्छ। अथवा, धर्मपण्डितले भने जस्तै बनाउनुपर्ने बाध्यता बढ्दैै गएपछि पनि कलाकारले शिल्प दक्षतामा गहिरो रूपमा ध्यान दिन नपाएका हुन सक्छन्। जसले गर्दा भक्तिभावमा अति उच्च स्तरमा पुगे पनि यसमा रहेको सौन्दर्यतामा कमी आई गुणस्तर खस्केको पनि हुन सक्छ। यसो नहुँदा शिल्प–दक्षतामा कम ध्यान जाने र यसले कलाको गुणस्तरमा ह्रास आउने परिकल्पना गरियो। किनकि कालान्तरदेखि अति उत्कृट कला बनाउँदै आएका कलाकारको अझ पछिल्लो कालमा आएर कलाको स्तर खस्किँदैन, बरु अझ निखारिने प्रक्रिया रहेको हुन्छ।  

कलाको इतिहास हेर्‍यौँ भने हरेक घर र समाजमा सबैले आ–आफ्नै पाराले कलाको सिर्जना गरिरहेका हुन्छन्। कति ठाउँमा त समूहमा कलाको निर्माण भइरहेको हुन्छ। यसर्थ पहिला पहिला बनेको कति कलामा नाम नलेखिनुको पछाडि सामूहिक कार्यको हात हुन सक्ने अनुमान गर्न सकिन्छ। कसैले रेखा कोर्ने, कसैले यसमा रङ भर्ने र कसैले यो कलाको अन्तिम भागमा संलग्न रहेर कला पूरा गर्ने सन्दर्भ पनि देखापर्छन्। एकजनाले स्वरूपको कल्पना गर्ने, अर्कोले नमुना तयार गर्ने र अरू थुप्रै मिलेर वा यसमा संलग्न भएर कलाको निर्माण गरेका पनि देखिन्छन्। कति ठुल्ठूला कला एक्लैले गर्न सम्भव हुँदैन। अहिले यसैको विकसित रूपमा कोल्याबोरेटिभ कलाको विकास भएको देखिन्छ। यसैले पनि अमूक कलाको श्रेय एकजनालाई मात्र दिन मिल्छ त भन्ने तर्क पनि असान्दर्भिक देखिँदैन। 

टोटल क्वालिटी म्यानेजमेन्ट  

‘टोटल क्वालिटी म्यानेजमेन्ट’को अवधारणा व्यापार व्यवसायबाट आएको हो। प्लान इन्टरनेसनल नेपालले यो व्यवस्थापनको नयाँ अवधारणालाई विकासमा कसरी लागू गर्न सकिन्छ भन्ने सोचको विकास गर्‍यो। व्यापार व्यवसायभन्दा एकदमै अलग्गै सेवासँग जोडिएको विषयमा पनि गुणस्तरलाई कसरी लागू गर्न सकिन्छ भन्ने सोचले आम समुदायको गुणात्मक जीवनस्तरको परिकल्पना गरेको थियो। यसर्थ सेवा पनि उत्पादनको अर्को महत्वपूर्ण भाग हो भन्नेमा यो अवधारणाले विश्वास गर्‍यो। सामुदायिक विकाससँग जोडेर सजिलो भाषा र तरिकाबाट यसलाई विकास गर्न अमेरिकाको टिम टेक्नोलजी कम्पनी ( समुदायिक विकाससम्बन्धी कन्सल्ट्यान्ट) लाई जिम्मा दिइयो। टिम टेक्नोलजीले सजिलो प्रकारले एउटा प्याकेज डेभलप गरिदियो, अनि यसैको आधारमा नेपाल लगायत साउथ एसियामा रहेको प्लानको सबै कार्यक्रममा लागू गरियो। सन्दर्भ के मिल्न गयो भने, मुख्य प्रशिक्षकको हैसियतमा यो टिममा मलाई पनि सहभागी हुने मौका मिल्यो। प्लान नेपालले यसलाई सिरियसली नै लागू गर्‍यो। 

यो अवधारणाले के विश्वास गर्छ भने, गुणस्तर (क्वालिटी) भनेका व्यापार व्यवसायमा मात्र होइन, सेवामा, घर–व्यवहारमा, सामुदायिक विकासमा, कार्यालयमा, साहित्य, संगीत, नाटक वा कला जुनसुकै ठाउँमा लागू हुन्छ। भावकमा केन्द्रित भएर बन्ने यसको प्रक्रियामा भावकको सोच, स्तर, चाहना सक्षमता उसैको परिवेश, वातावरण, अवस्था आदिलाई मध्यमा राखेर क्वालिटीको प्रक्रिया अगाडि बढाउन सकिन्छ वा हुनुपर्छ भन्ने यसको बलियो अवधारणा रह्यो। क्यालिटीको प्रक्रियालाई सशक्त बनाउने क्रममा जहाँसुकै दुई पक्ष (कस्टमर र सप्लायर्स) हुन्छन्। क्वालिटीको कुरा गर्दा गतिशील ‘टिम वर्क’ अपरिहार्य सर्त हो। टिमका हरेक सदस्यबीच समय र अवस्था हेरेर पालैपालो कहिले कस्टमर र कहिले सप्लायर्सको भूमिका रहन्छ। यसले क्वालिटी आउटपुट निकाल्न क्वालिटी प्रोसेसमा विश्वास गर्छ। यसबाहेक टिम अनि समस्त संस्थाभित्र क्वालिटी कल्चरको अनिवार्यताको कल्पना गर्छ। वस्तु वा सेवाको निर्माण हुने प्रक्रियामै सबैभन्दा पहिला क्वालिटी हुनुपर्छ। यसो भयो भने स्वभावतः निर्मित वस्तु वा सेवा क्वालिटी हुन्छ भन्ने कुरामा यसले गहिरो विश्वास गर्छ। यो प्याकेजमा क्वालिटीको सन्दर्भमा सातवटा तहको विकास गरिएको छ।  

पहिलो तहमा गुणस्तर के हो भन्ने सन्दर्भमा सजिलो तरिकाले व्याख्या गरिएको छ। उपभोक्ता, ग्रहणकर्ताको सन्तुष्टि नै त्यो वस्तु वा सेवाको गुणस्तर हो। अर्को तहमा दिन खोजिरहेको सेवा र उत्पादित वस्तुको उपभोक्ता को हो भनी पहिचान गर्ने संस्थाको औपचारिक पद्धतिबारे चर्चा गरिएको छ। त्यस्तै, तेस्रोमा उपभोक्ताको आवश्यकता, चाहना, सामथ्र्य आदिलाई सप्लायर्सले कसरी र कुन औपचारिक पद्धतिमा संकलन गर्छ, त्यसैको आधारमा सेवा वा वस्तुको उत्पादन प्रक्रियालाई अगाडि बढाइने चर्चा छ। आदि आदि। योभन्दा पर नजाउँ।  

कलाको गुणस्तरको खोजीको प्रसंगलाई जोड्न खोज्दा देखिने दुविधामा दृष्टि गर्दा सबैभन्दा पहिले सर्जकको मुख्य उपभोक्ता (सप्लायर्स) को हो भन्ने सन्दर्भ टड्कारो रूपमा देखिन आउँछ। हरेक कलाकारलाई आफ्नो सिर्जना गुणस्तरीय नै लागेका हुन्छन्। तर, यसलाई मान्यता प्रदान गर्ने वा पैसा खर्च गरी किनिदिने भावकले त्यो कलालाई गुणस्तरीय ठानेको छ वा छैन भन्ने महत्वपूर्ण हो। सिर्जनात्मक कला बेच्नका लागि बनाइने होइन। यसर्थ यसले आफ्नो उपभोक्ता, सेवाग्राही वा भावकको खोजी किन गर्नुपर्छ भन्ने पनि सन्दर्भ निकाल्न खोजिन्छ। तथापि यसो भन्दाभन्दै हरेक कला प्रदर्शनीमा राखिन्छन्, हेर्नलाई आग्रह गरिन्छ, यसको मुख्य अभिप्राय भनेको कला बेच्ने नै हो। यसो हुँदा भावकको भूमिका त्यसै पनि महत्वका साथ देखिन आउँछ। कला प्रदर्शनी हेर्न आउने वा नआउने चाहना भावकमै निहित हुने हुँदा दबाबमा राखेर भावकलाई प्रदर्शन कक्षभित्र ल्याउन सकिन्न। सम्भवतः यही अनमेल प्रक्रिया र बुझाइमा कम भएकै कारण कलालाई एप्रिसियसन नगर्ने वा नकिनिदिने अवस्थाको सिर्जना हुने गर्छ।  

भावक, ग्राहक वा उपभोक्ताको सही पहिचान हुन सक्यो वा यसलाई मिल्दो कलाको निर्माण हुन सक्यो भने कला बिक्री हुने अवस्था सिर्जना हुन्छ। पश्चिमी कला दर्शन, पद्धति र आस्था वा मान्यतामा यहाँ कला निर्माण गरिँदा त्यो कला उतैै बढी मात्रामा बिक्री हुनु असान्दर्भिक हुँदैन। बाह्य पर्यटकको चाहना अनुसार यहाँका सांस्कृतिक वा प्राकृतिक कला बढी मात्रामा बिक्री हुने सन्दर्भ पनि यही नै हो। हाम्रै समाजमा हाम्रा कलालाई रिकग्निसन वा बिक्री होस् भन्ने हाम्रो चाहना हो भने यहीँका समुदायको सोच, चाहना र क्षमता अनुसार बन्ने सन्दर्भ महत्वपूर्ण हो। यो के हो भन्ने सम्बन्धित निकायले बहसमा ल्याउन जरुरी छ। सम्भवतः कलामा गुणस्तर भनेको पनि यसैको वरिपरि नै हुन्छ। सबै ठाउँमा सबै कुरा एकैनासले गुणस्तर हुँदैन। एउटा ठाउँको अति गुणस्तरीय ठानेको कुरा अर्को ठाउँमा गएर गुणस्तरविहीन पनि हुन सक्छ। यसर्थ आजको सन्दर्भमा गुणस्तरको विषय उठिरहन्छ। यसबारे बहस, छलफल नहुननु र यसको निराकरणमा नलाग्नु र अर्कालाई गरिनस् भन्ने आरोप लगाइराख्ने परम्पराले गर्दा गुणस्तरको विषय आज पनि अन्योलमा छ। कलाको गुणस्तरको सन्दर्भ पनि योभन्दा पर छैन।  

(लेखक कलाकार तथा कला समीक्षक हुन्।)

प्रकाशित: १७ माघ २०७७ ०२:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App