१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

बढ्यो म्युजिक भिडियोको बजार

जीवनशैली

कोरोना भाइरस महामारीले नेपाली मनोरञ्जन क्षेत्रको व्यापार डामाडोल भइरहेको अवस्थामा सामाजिक सञ्जाल युट्युबले मनिटाइजेसनको अवधारणा ल्याएसँगै म्युजिक भिडियोको निर्माणको संख्या ह्वात्तै बढेको छ । पछिल्लो वर्षमा रहरले गीत संगीतमा लागेका संगीतकर्मीहरू सोख पूरा गर्न प्रतिफलको आश नगरी लगानी गर्थे ।

युट्युबले मनिटाइजेसनको अवधारणा ल्याएसँगै धेरैले सोखमा सीमित राखेको गीत संगीत तयार गर्दै सक्रिय रूपमा आम्दानीको स्रोत बनाएका छन् । कोरोना भाइरस महामारीले अधिकांश गतिविधि ठप्प भएपनि हरेक दिनजस्तो आशा दर्जन हाराहारीका नेपाली गीत युट्युबमार्फत सार्वजनिक हुने गरेका छन् । म्युजिक भिडियो सुटिङको लागि प्राविधिक र सामानहरूको लागि पालो कुर्नुपर्ने अवस्था रहेको अनुभव म्युजिक भिडियो निर्देशकहरू बताउँछन् । ‘दशैंअघि देखि म्युजिक भिडियो निर्माणको बजार ह्वात्तै बढेको छ,’ म्युजिक भिडियो निर्देशक निकेश खड्काले भने, ‘अहिले बजारमा प्राविधि र सुटिङका सामानको लागि पालो कुर्नुपर्ने अवस्था रहेको भन्ने सुनेको छु ।’

पछिल्लो समय चर्चामा रहेको संगीतकारदेखि कलाकारसम्म युट्युब च्यानल खोलेर धमाधम म्युजिक भिडियो निर्माण गर्नतर्फ आकर्षित भएका छन् । गीतकार राजेन्द्र थापा युट्युबमार्फत आएका गीत संगीतको गुणस्तर छुट्याउने जिम्मा दर्शक तथा श्रोताको भएको तर्क गर्दछन् । अहिले बजारमा रमाइलो गीत संगीतको डिमान्ड बढ्न थालेको उनको विश्लेषण छ । ‘गीत संगीत जहिलेपनि समयअनुसारको हुनुपर्छ,’ उनले भने, ‘कुनपनि गीत राम्रो वा नराम्रो भन्ने हुन्न । दर्शक तथा श्रोतालाई गीतले छुनुसक्नुपर्छ । संसारभर गीत संगीत प्रस्तुतिको माध्यम परिवर्तन भइरहेको छ ।’ प्रविधिले गर्दा दर्शकले अहिले सरल र सहज संगीत खोज्न थालेको उनी बताउँछन् । दीर्घकालसम्मका लागि सोच्ने हो भने आफ्नै च्यानलमा गीत राख्नु राम्रो भएको तर्क उनले गरे ।

१० वर्षअघिसम्म म्युजिक नेपालदेखि मुनलाइट्स रेकर्ड, म्युजिक डटकम, सम्झना अडियो भिडियो, धौलागिरी क्यासेट सेन्टर र इन्द्रेणी क्यासेट सेन्टरलगायत म्युजिक कम्पनीहरू कलाकारलाई आफ्नो कम्पनीमा आवद्ध गराउन प्रतिस्पर्धा गरिरहेका थिए । क्यासेट र सिडीको बजार परिमार्जित भएर अहिले युट्युबमा पुगेको छ । गीत संगीतको गुणस्तरभन्दा दर्शकले हेरेको भिडियोको आधारमा युट्युबले पैसा दिन थालेपछि स्रष्टा र म्युजिक कम्पनीहरू समेत यस लक्षित भिडियो बनाउन सक्रिय भएका छन् । 

‘पछिल्लो समय म्युजिक भिडियो निर्माणको रकम समेत ह्वात्तै बढेको छ,’ निर्देशक खड्का भन्छन्, ‘म्युजिक भिडियोमा फिल्मका कलाकारलाई लिएर यसलाई खर्चिलो बनाउन प्रवासी लगानीकर्ताको योगदान छ ।’ निर्देशक खड्काका अनुसार हरेक शुक्रबार दुई दर्जन हाराहारीका र अन्य दिन आधा दर्जन नेपाली म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक हुने गरेका छन् । औसतमा तीनदेखि पाँच लाख रुपैयाँमा निर्माण हुने म्युजिक भिडियोको खर्च १५ लाख रुपैयाँसम्म पुगेको छ । युट्युबमार्फत म्युजिक भिडियो सार्वजनिक गर्ने शैलीले नेपाली गीत संगीतको गुणस्तरलाई धमिलो बनाएको टिप्पणी संगीतकर्मीहरू गर्दछन् । 

त्यसो त संगीतकार वसन्त सापकोटाले गीत संगीत तयार गर्नेमात्र नभएर म्युजिक भिडियोमा लगानी समेत गरेर युट्युबमा राखिरहेका छन् । ‘युट्युबबाट आम्दानी गर्नेभन्दा आफ्नो सिर्जनाको स्वामित्व आफैंसँग रहोस भनेर लागि परेको हुँ,’ उनले भने, ‘कोरोना भाइरस महामारीले सबैतिर असर गरिरहेको अवस्थामा हामीले तयार गरेका गीत संगीतलाई श्रोता तथा दर्शकमाझ पुर्‍याउन युट्युब सही विकल्प भएको छ । अहिले मानिसको जीवन शैली परिवर्तन भएको हुँदा तनावमुक्त हुने रमाइलो गीत सुन्न चाहन्छन् । त्यसैले अध्ययन र साधना गरेर बनाइएका गीतहरू ओझेलमा परेझैं महसुस भएको हुनसक्छ । नेपाली गीत संगीतको बजार युट्युबले बढाइदिएको छ ।’

पछिल्लो समयका पुस्ताले कालजयी गीत बनाउन नसकेको उनी स्वीकार्छन् । ‘अहिले छोटो समयमा भाइरल हुने शैली मौलाएको अनुभव गरेको छु’ उनले भने, ‘चर्चामा रहेका कलाकार समेत बजार केन्द्रित भएर भाइरलको पछि लागिरहेको अवस्था छ ।’ बजारका चल्तीका कतिपय गीतहरू परिवारमा बसेर सुन्न नसकिने खालका छन् । युट्युबमार्फत आम्दानी गर्ने सोचले बनाइएका ती गीतले आनन्द पनि नदिने उनी बताउँछन् । 

‘गीत संगीतको सुर र तालबारे ज्ञान नभई युट्युबमा राख्नको लागि तयार भएको गीतहरू पनि छन्,’ उनले भने, ‘ती कलाकारले साधना गरेर साहित्यको अध्ययन गरेर गीत पस्कने गर्नुभयो भने नेपाली संगीत क्षेत्रलाई टेवा मिल्ने थियो ।’ टिकटकलगायतका सामाजिक सञ्जालहरूमा जस्तो गीत पनि भाइरल हुन थालेका छन् । अर्थहीन गीत हिट हुनुमा युट्युबको मुख्य भूमिका रहेको उनी तर्क गर्छन् । ‘भाइरस हुने लोभमा अर्थहीन गीतलाई डलर खर्चेर बुस्ट गर्ने खेतीले संगीत व्यवसायीलाई असर पारेको छ,’ उनले भने, ‘टिकटकबाट अर्थहीन गीत भाइरल भइरहेको छ ।’

अहिले म्युजिक भिडियोमा अभिनय गर्ने मोडलको ट्यागलाइन समेत फिल्मका कलाकार र टिकटक स्टारले परिमार्जित गरिदिएका छन् । कोरोना भाइरस महामारीपछि फिल्म गतिविधि ठप्प भएसँगै बेरोजगार भएका कलाकारहरू कम समयमा सुटिङ सिध्याएर राम्रो पैसा पाइने महत्वकांक्षासहित म्युजिक भिडियोमा देखिरहेका छन् । अभिनेता राजेश हमाल, दयाहाङ राई, बिपिन कार्की, स्वस्तिमा खड्का, वर्षा राउत, प्रदीप खड्कादेखि आर्यन सिग्देलसम्मका कलाकारहरू म्युजिक भिडियोतर्फ आकर्षित भएका छन् । 

पाँच लाख रुपैयाँसम्ममा स्तरीय लोकदोहोरीको भिडियो बन्ने शैली परिवर्तन भएर फिल्मका कलाकारहरूका कारण नेपाली फिल्मको लागि पर्यावाची जस्तै बनिसकेको लोकगीतको समेत निर्माण खर्च १०–१२ लाख रुपैयाँसम्म हुने गरेको यस क्षेत्रका संगीतकर्मी बताउँछन् । अभिनेता अनमोल केसीले भने म्युजिक भिडियोको अफरलाई नकार्दै आएको तर्क गरे । ‘म फिल्मको कलाकार भएकाले त्यही केन्द्रित हुन चाहन्छु,’ उनले भने, ‘त्यसैले अहिले म्युजिक भिडियो गर्न नखोजेको हुँ ।’

केही कलाकारहरू युट्युबमा गीत अपलोड भएसँगै लाखौं भ्युज बटुलेर ट्रेन्डिङमा ल्याउन सामाजिक सञ्जाल फेसबुक पेजबाट डलर तिरेर बुस्ट समेत गरिएका छन् । म्युजिक भिडियो निर्देशकहरूका अनुसार आजकल झन्डै–झन्डै फिल्मको बराबर म्युजिक भिडियोको प्रचार हुने गर्दछ । जबकि सामाजिक सञ्जाल फेसबुक, ट्वीटर र युट्युबलगायतमा पैसा तिरेर गरिने विज्ञापन अधिकांश गैरकानुनी हुन्छन् ।

नेपाली फिल्ममा चर्चित बनेको मुर्गा फस्ने र फसाउने शैली अहिले म्युजिक भिडियो व्याप्त हुँदै गएको छ । कारण पछिल्लो समय भिडियोमा पैसा खर्चनेमा विदेशमा बस्ने नेपालीको बाहुल्य छ । उनीहरू सर्जक र मोडलको रूपमा म्युजिक भिडियोमा लगानी गरिरहेका छन् । हाइलाइट्स नेपालका कार्यकारी अधिकृत जनक तामाङ बजारमा प्रचार भएजस्तो युट्युबबाट ठूलो परिमाणमा कमाइ नहुने तर्क गर्छन् ।

प्रकाशित: १६ माघ २०७७ ०२:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App