२९ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

भान्से कवि

लघुकथा

उनी केके  सोच्दै  भान्सातर्फ लागिन्। श्रीमानका लागि  कफी सासू  , ससुराका  लागि तातो पानी  उमालिन्।  राइस कुकरमा खाना जोडिन्। आफू र छोराछोरीका लागि चिया बनाइन्। कुकरको दालमा सिठ्ठी लाग्दै थियो । त्यतिबेलासम्म उनले तरकारी केलाएर  ठिक पारिन् पकाउन । त्यसपछि बच्चाहरूका लागि टिफिन तयार पार्दै थिइन् । उता कोठाबाट  श्रीमानको आवाज आयो – तारा, मेरो चश्मा कहाँ राखिदियौ भन्या ?  कति खोजिसके भेटिन।

छोरा आँखा  मिच्दै उठेर आयो र भन्यो– मामु, म आज स्कुल जान्न के ?  होमवर्क गरेको छैन।

छोरीले हातमा काइँयो  बोकेर आई  र भनी– ममी,  कपाल कोरेर बाटिदिनु न्। ढिला हुन्छ स्कुल जान।

– तारा, मेरो कपडामा  आइरन लगाइदेऊ न। म बाथरूममा छु। 

भान्साबाट छोराछोरी कराउन लागे–मामु,   हामीलाई खाना  पस्किदिनु न। स्कुल बस आउन लाग्यो।

 –  बुहारी दुई कप चिया ल्याइदेऊ न । पल्ला घरको छिमेकी दाइ बुबालाई भेट्न आउनु भा छ।  

–  तारा, बाइकको चाबी माथि कोठामा छुटेछ ल्याइदेऊ न।

श्रीमानको अनुरोध पूरा गरेपछि बिहानको सबै काम सकियो ।  अब  उनी एकछिन  फुर्सदिली  भइन् । उनले सोचिन् – अब   म यो समयमा लेख्छु। त्यतिकैमा मोबाइलमा फोनको घन्टी बज्यो ।

– तारा,  भोलि म एक हप्ताका लागि अफिसको कामले बाहिर जानुपर्ने भयो। मेरो न्यानो कपडाहरू प्याक गरिदेऊ है।

काम सक्दा दुई बज्यो। उनी कोठामा पसिन् र कापी – कलम लिएर एकछिन लेख्न बसिन्। त्यतिकैमा सासू  आमा भित्र कोठामा पस्दै भन्नुभयो– बुहारी,  आज देवकीको छोराको पास्नी भोज छ । निमन्त्रणा –कार्ड छोडेका छन्। तिमी जाऊ है।

बेलुका फर्केर घरको काम सक्दा राति अबेर भैसकेको थियो। गलेर शरीर र मन दुवै शिथिल भएका थिए। उनले म्यासेज गरिन्–  सरी सम्पादकज्यू,  मैले आज पनि हजुरले भनेको  कविता तयार पार्न सकिनँ । म भान्से कवि न परे।

प्रकाशित: १५ माघ २०७७ ०८:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App