२९ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

इज्जत

लघुकथा

शंकरनाथको घरमा रौनक छाएको थियो ।  उनका साहिँला छोरा अजयकी जेठी छोरी अनु विदेशबाट आउँदै थिइन् । नातिनी आउने खुशीसँगै हजुरबुवा पिंढीको फलैचामा बसेर आफ्नो पालाको संस्मरण फत्फताउँदै थिए –हाम्रो पालामा कोही ब्रिटिस सिपाहीमा कोही इन्डियन सिपाहीमा गएको सुनिन्थ्यो, कोहीचाहिँ  बनारस पढ्न जान्थे । कमाइका  लागि बम्बै, कलकत्ता छिरे भने फलानो मुग्लान पस्यो भनेर गाउँभरि ननिको मान्थे अनि जब फर्केर घर आउँथे गाउँकै एउटा विषय बन्थ्यो । अहिले त सबैको पानी – पँधेरो भयो विदेश ।

– हजुर, हो यस्ता कुरा हामीले पनि सुनेका छौ । साँहिली बुहारी रन्जुले सही थापिन् ।

कुरा हुँदै थियो हुटमा सुटकेसहरू लिएर ट्याक्सी गेटमा रोकियो । सामान ओरालियो ।  तीन वर्षपछि छोरी भित्र्याइयो ।  सबै अति हर्षित भए ।  भेटघाटको औपचारिकता सकियो ।

– मैले सबैलाई गिफ्ट ल्याएको छु । पछि बाँडौला है । अहिले चकलेट खाउँ भन्दै चकलेटको प्याकेट खोलिन् अनुले ।  

अनुकी बहिनी जुनु, कान्छा काकाको छोराछोरी भाइ प्रनेश, बहिनी पूजा खाना तयार नहुन्जेल विदेशका गफ गरेर बसे ।

शंकरनाथ पनि विदेशी चकलेट चुस्दै उनीहरूको गफ सुनेर दङ्ग थिए । खानपिनपछि छोरी थाकेकीले सबै सुत्ने कोठातिर लागे । 

 हजुरबुवा र जुनुको कोठा सँगै थियो ।  शंकरनाथ ढोकाको ठेलो समातेर पानी पिउँदै थिए । जुनु अनुलाई सिकाउँदै थिई – ल्याएको गिफ्ट सबै नबाँड है दिदी ।  त्यो पुजे र  प्रनेशेलाई नदिँदा पनि हुन्छ । प्रनेशे त विदेश जान्न भन्छ ।  त्यस्तालाई विदेशी सामान किन दिनु ?  गएर हाम्रो परिवारलाई केही दिने भए पो । फेरि केहीपछि तिमी जाने, म पनि जाने यिनीहरूको बालै मतलब छैन ।  

– ए ल तिमी जे भन्छ्यौ, म त्यसै गर्छु ।

शंकरनाथ बिस्तारै ओछ्यानमा गएर पल्टिए ।  बढेका नातिनीका कुरा सुनेर अचम्म लाग्यो ।  आफ्नो बाल्यकालमा सानो कुरा पनि चिमटेर बाँड्ने समय अनि ठूला बा जिल्लाबाट आउँदा दशैँ आएको याद आयो ।  

भोलिपल्ट शंकरनाथ सबेरै हरि कान्छाको घरमा सत्यनारायण पूजाको निम्ता मान्न गएका थिए ।

त्यहाँ चिने जानेका इष्टमित्रले उनलाई हालखबरका प्रश्न गर्न थाले– सबै छोरा बुहारी यतै हो हजुरको ! नाति– नातिनी विदेशमा त होलान् नि ।

– जेठो छोराको छोराछोरी, माहिला छोराको परिवारै क्यानडामा छन् ।  साहिंलाको जेठी छोरी हिजो मात्र अमेरिकाबाट केही समयलाई आएकी छ र कान्छी जाने प्रक्रियामा छ।

– कान्छाको छोराछोरीचाहिँ विदेश नजाने भन्छन् ।  बाबुआमाले पनि पठाउन खोजेका छैनन् ।

– लौ यहाँ के गर्छन् ?  पठाइदिनू भन्नोस् ,हेर्नोस् बा अब छोराछोरी विदेश नपठाउने हुतिहारा जस्तो हुने भइसक्यो ।

– विदेश नजाने केटाकेटीको पढाइ र कामलाई कसैले गन्दैन आजकल ।

– बिहेवारी गर्न पनि गारो पर्ने स्थिति छ ।

– घरखेत गरेर नि पठाइदिनुपर्छ ।

 – पठाउन नसके इज्जतै नहुने भइसक्यो समाजमा ।

सबैको कुरा सुनेपछि शंकरनाथ बिदा भएर सिधै कान्छाको घरभित्र पसे ।

प्रकाशित: १५ माघ २०७७ ०५:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App