२९ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

उपहार

कथा

अँधेरी रात चकमन्नतामा सुस्ताएको छ । कुनै बेला पर कतै कुकुरहरू फाट्टफुट्ट भुकिरहेछन् । आकाशमा झल्याक्कझुलुक्क ताराहरू चम्किरहेका छन् । छेउमा मेरो छोरो मस्त निदाएको छ ।  

अहो ! के गरौ नि अब म । एकातिर मैले जन्माएको तीन वर्षको बालक छोरो छ, अर्कातिर आफ्नो अभावयुक्त जीवन । मेरो मन छटपटिएको छ । छोरा अब दिदीलाई नै जिम्मा लगाएर भए पनि केही गर्नु छ । हरे आफ्नो मुटुको टुक्रालाई कसरी छाडौ नि । 

मेरो अतीतलाई चिथोर्दै घाउका रक्ताम्ये डाम पारेर आफ्नै सुरमा मस्त छ छोराको बाबु । धनसम्पत्तिको धाक लगाएर मेरा बुबाआमालाई खै कसरी जालमा पारयो र मसँग बिहे गरयो । बिहे गरेको वर्ष दिनमा नै छोरा पनि जन्मियो । जेठी स्वास्नीबाट सन्तान नभएको लोग्नेले त्यसपछि छोरालाई र मलाई जेठी स्वास्नीकोमा ल्याएर छाड्यो । 

उफ ! आफूलाई प्रेम गर्ने केटो विदेश गएर यसरी फर्किएर आउला भन्ने त्यसबेला लागेन । प्रेममाथि नै शंका गरें । पछि के हो के भन्ठानें र कमाउने धनी केटाको प्रस्ताव आउँदा म पनि बिहे गर्न राजी भएँ । यसबेला यसरी भोग्नुपरेको आफ्नो जिन्दगीको माया लागेर आउँछ । निद्रा छैन, स्मृतिमा विगतसंगै वर्तमानमा भोग्नुपरेका यातनाको भिड लागेको छ ।

घरमा दिनभरि छोरो र म मात्र भए पनि रात बिहान सौतासँगै बस्नुपर्ने । आशा दिदी सैता नै भए पनि मलाई कहिले ननिको गरिनन् । कहिलेकहीं मात्र घर आउने लाग्ने के काम गर्छन् मलाई थाह थिएन । वर्ष दिनसम्म त उनको इलम कहाँ र के छ वास्ता भएन । समय बित्दै गयो । उनी घर फर्कदा रक्सी खाएर आउने लत बढ्दै गयो । हाकाहाकी आशा दिदीसंग अनेक बहानाले पैसा माग्ने । कहिले घरमा नै धुमधुम्ती बसिरहने गर्न थाले । यस्तैमा एकदिन सैतासँग “उँहा के काम गर्नु हुन्छ दिदी ” प्रश्न गरे ।  

आशा दिदीले “ मेरो कमाइमा पालिएको लोग्नेले के काम गर्छन् भन्नु र मैले ? ” जवाफ दिनुभयो । उनको कुरा सुनेर एकैचोटि म छाँगाबाट खसे । त्यसपछि स्वास्नीकै कमाइमा पालिएको हुतिहारा लोग्ने सम्झेर म रीसले मुरमुरिन थालेँ । सौताले राम्रो गर्दागर्दै पनि लोग्ने निकम्मा छ भन्ने सुनेपछि म परास्त हुँदै गए । सुख पाउला भनेर सम्पत्तिको लोभ र कामकाजी पोइ सम्झी कान्छी हुन आएकी मैले सौताकै कमाइमा पालिनुपरयो । यसबाट म हिनताबोधको खाडलमा भासिन थाले । लोग्नेको प्रवृतिका कारण सौतासँग पनि झर्को लाग्दै गयो । अझ आफूले जन्माएको छोरा पनि खाने, सुत्ने बेलामा सौतासँग नै लुपुक्क भएको देख्दा रिस र ईष्र्याको डाहाले भतभती पोल्दै गयो । ममा चिडचिडाहटको उग्र रूप भएर घरमा कलह बढ्दै गयो । यस्तैमा एक दिनको भनाभनपछि बैरागिएर म घरबाट निस्किएँ।

यसरी म भौंतारिएर हिडिरहेको बेला विदेशबाट फर्किएका मेरो प्रेमीसंग अनायासै भेट भयो । मेरो दयनीय अवस्था र उदासीन अनुहार देखेर उनि चकित भए । एकछिनपछि “ अम्बिका, तिम्रो यस्तो हालत देखेर छक्क परे म । तिमी त हरदम चिटिक्क परेर हिँड्ने स्मार्ट थियौ नि किन यस्ती भयौ ? धनी र कमाउने केटासँगै बिहे भएको रे हैन त ? ” उनका कुरा सुनेर म बोल्न सकिन आँसु बरर भरे ।  

“ तिमी खुसी छैनौं र ? ” उसले मायालु भाव प्रकट गरयो ।  टाउको हल्लाएर आफ्नो अवस्थाबाट परास्त भएकी मैले उनलाई सारा कुरा भन्न चाहे । अनि एक ठाउँमा बसेर बेलिबिस्तार लाए ।

मेरो कुरा सुनेर “ अम्बिका जे हुनु भैगयो । यदि तिमीलाई हाम्रो प्रेममा विश्वास छ भने म तिमीसंग बिहे गर्छु । म तिम्रो विगत बिर्सिदिन्छु । तर, यसका लागि तिमीले मेरो एउटा सर्त मान्नुपर्छ । ” भन्यो उसले

आफ्नो मतलबका लागि उसलाई धोका दिएर अर्कैसँग बिहे गरेकी म अर्काकै छोराकी आमा भैसकेकी छु । यस्तीलाई समेत स्वीकार्दै मेरो अनिश्चित भविष्यको मार्ग बनेर आएको उसको सर्त डराईडराई “तपाईको सर्त भन्नु न त ।” बल गरेर सोधें ।

“हेर, अम्बिका तिमीले अर्कैसँग बिहे गरेर छोरा पनि जन्माएको कुरा मलाई थाहा छ । तर, मेरा बुबाआमालाई यो कुरा स्वीकार्य हुन्न । त्यसैले तिमीले यो छोरालाई उसैको परिवार अझ तिम्रो भनाइअनुसार सौताकै जिम्मा दिएर छोरा छ भन्ने कुरालाई सधैं लागि बिर्सनुपर्छ ? यसो भएमा तिमीसँग बिहे गर्न मलाई कुनै आपति छैन । तिमीलाई मेरो सर्त ठिक लाग्यो भने भोलि नै यसको व्यवस्थापन गरेर फोन गर । यदि तिमीले भोलि फोन गरिनौ भने मेरो सर्तमा मञ्जुर नभएको ठानेर तिमीबाट सधैँका लागि टाढिने छु । ”  

उनका यी कुराहरू सुनेर ऊप्रति मलाई एकाएक घृणा जाग्यो । अनायासै मेरो चेतना जुरमुरायो । अनि “ प्रेममा सर्त ? ठिक छ तिमी भित्रको कुरूपता मैले देखे । तिमीलाई पाउन नै म मेरो सन्तानलाई त्याग्छु होला भनेर कसरी सोच्न सक्यौ ? भैगो अब हाम्रो सम्बन्ध यहीं सकियो । ”  छाँगाबाट खसैझैँ भएकी मैले जवाफ दिए ।

त्यसपछि उनी जुरुक्क उठेर लुरुलुरु बाटो लागे । उनी गएको स्थिर भएर मैले हेरिरहँे । सलल बगिरहेको समयजस्तै जीवनका आवेगहरू बगिरहे ।

उफ ! के गरौँ नि अब म । सौताको कमाइमा कति दिन ...। कहीँ जाउ भने पनि आफ्नो त के कुरा यो बालक छोराले पनि पेटभरि खान पाउँदैन । अब यो छोरो आशा दिदीसंगै छाड्छु र काम गर्न म कुनै ठाउँमा जान्छु । बाँच्नका लागि पनि बालक छोरो छोड्नु नै छ । अनिदा आखाँमा रातको अँध्यारो पिउँदै मातृत्व दुःखेर आहत भएकी छु ।

सोच्दासोच्दै टाढाबाट कुखुरा बासेको आवाजले मलाई झस्कायो । निष्कर्षविहीन भएर छटपटिरहेको बेलामा लगातार सौताको नै सम्झना आइरह्यो । म उनकी सौता भए पनि मेरो छोरो उनकै लोग्नेको सन्तान हो । सन्तानविहीन उनी मातृत्वको लालसामा हुरुक्क छिन् । उनलाई पनि आमा हुने औधी रहर छ । उनले मेरो छोरालाई आफ्नै छोराजस्तै गरी माया गर्छिन् भन्ने कुरा थाहा पाएकै छु । छोरा पनि मसँगभन्दा उनैसँग बढी झ्यामिन्छ । उनले छोराका लागि फलफूल कहिले टुटाइनन् । मीठो खानेकुरो खुसुक्क ब्यागबाट झिकेर दिन्छिन् । छोराले खाँदा उनी खूब दंग परेर हेर्छिन् । ऊ झगडा गर्दा मेरो बाबुलाई कस्ले भन्दै फकाउन उनी नै अघि सर्छिन् । बिरामी हुँदा पनि चिन्तित हुदै उपचार गराउन उनै अग्रसर हुन्छिन् । मैले यसलाई अब उनकै जिम्मा लगाएर जीवनलाई गति दिने काममा लाग्छु । मेरो छोराको पनि बिचल्ली हुँदैन ।  उनले खुशी छोराको जिम्मा लिन्छिन् । उज्यालो हुनासाथ उनलाई सबै कुरा भन्छु । मनमनै यस्तो सोचेपछि मलाई एकखालको सन्तोष प्राप्त भयो । त्यसपछि झपक्क आँखा लागेकी म सूर्यको उदयपछि छोरो जीउमा चलमलाउँदा पो  बिउँझिएँ   ।

आफ्नो छोरा सधैंका लागि सौतालाई जिम्मा लगाएर त्यहाँबाट हिंड्ने कुराले बिहानभरि मन उथुलपथुल भइरह्योे । लगातार मुटुमा गाँसिरहने प्यारो नाता बिर्सनुपर्ने बाध्यताले मन उम्लियो । आँखाबाट पीर र वेदनाले भरिएको माया बग्न थाले । छोरालाई अँगालोमा कसेर बेस्कन रोएँ । आँखाको डिलमा हात पुरयाएर आँसु पुछ्दै “मामु किन रुनुभएको, के भयो तपाँइलाई ?” अंगालोबाट हटेर निर्बोध अनुहारले पुलुक्क मतिर हेर्दै सोध्यो ।  

“ बाबु, अब सधैंका लागि तिमी ममीसँग नै बस है ।” मन–मुटुलाई निमोठेर उसलाई सुमसुम्याइरहेँ ।  

ममी भन्नेबित्तिकै मुसुक्क हाँसेर “हुन्छ, बस्छु मामु । ममीले कति मीठो खान दिनुुहुन्छ । ममीसँगै सुत्छु पनि ल । ” भनेर रमायो ।  वर्षको मेरो मुटुको टुक्राको निश्छल भावले मेरो मन दुःखसँगै खुसी भयो । अनि “हुन्छ बाबु । अब खाँदा, बस्दा र सुत्दा  ममीबाट तिमीलाई कहिले छुटाउँदिनँ । ममीलाई कहिले दुःख नदिनु है  । ”  

मक्ख परेको उसले टाउको हल्लायो । अनि उसलाई सबैतिर चुमे । मनमा एकखालको डर लुकाउँदै आज तिनै सैताको मायालु रंग ओडेर उनको कोठा बाहिर उभिए ।

उनी टेलिभिजन हेरेर बसिरहेकी थिइन् । छोरो मेरो हात छाडेर “ममी ” कराउँदै लुसुक्क उनी भएको कोठामा गयो । छोरालाई देखेर उनी “मेरो बाबु तिमी आयौँ ।” जुरुक्क उठिन् र उसलाई बोकिन् ।

“ममी, अब म सधैं ममीसँगै बस्ने, सुत्ने है ।” उनीसँग छोरो लुपुक्क टाँसियो ।

“मेरो बाबु तिम्री मामुले हामीलाई सधैँ सँगै सुत्न दिन्न नि ।” छोरालाई माया बर्साउँदै बाहिर निस्किन् । उनलाई देख्नेबित्तिकै मेरो शिर त्यसैत्यसै झुक्यो । अनि “हो दिदी, अबदेखि यसलाई आफैसँग राख्नुस् । सधैंभरिका लागि तपाईसँग नै छाडेर म यहाँबाट टाढा जान्छु । यो मैले जन्माएको भए पनि तपाईको लोग्नेको अंश तपाईकै छोरो हो । तपाईको मातृत्वमा विश्वास भएर नै यसलाई तपाईसँग सधैँका लागि छाड्दैछु ।” यति भन्दा नभन्दै घुँक्कघुँक्क रुन थाले ।  भन्नपर्ने कति कुराहरू घाँटीमा अड्किए ।

मेरो कुरा सुनेर उनी छक्क परिन्् । बोकिरहेको छोरालाई भुइँमा राखिन् । छोरो खुरुरु कोठाभित्र पस्यो । समुन्द्र बनेको मेरो मन छल्किएर आसँुका भेल बगिरहेको थिए । मलाई देखेर उनी भावुक भइन् ।“बाबुलाई मसँग छाडेर त चैं कहाँ जान्छेस, के गर्छेस् नि ? कि तँ अर्को बिहे गर्छेस् ” ? मायालु भएर प्रश्न गरिन् ।

“ दिदी, यस्तो हुतिहारा लोग्नेकी स्वास्नी भएर कसरी, कति दिन बस्नु र ? तपाईको पो कमाइ छ र स्वाभिमानले बाँच्न सक्नुहुन्छ त । मेरो के छ बाँच्ने आधार भन्नु त ? लोग्नेको नभई तपाईको कमाइ खानु पर्दा मलाई हिनताबोधले डस्दै लगेको छ । तपाईको वात्सल्यताले मेरो मन पगाल्यो । मैले आफ्नो मन दरो पारेर यो छोरो सधैँका लागि तपाईलाई उपहार दिएर म टाढा जान्छु ।  तपाईले मेरो उपहार जिम्मा लिनुभएमा म आत्मनिर्भर भएर स्वाभिमानका साथ बाँच्छु । अर्को बिहे पनि गर्न सक्छु नि । पर्थामा बिहे नै पो किन गर्नु र दिदी । आत्मानिर्भर हुनका लागि मैले यो अठोट गरे । छोरालाई तपाईको विश्वासमा मात्र छाड्न सक्ने भएँ । त्यसैले दिदी यो छोरो तपाईकै लागि मैले जन्माएको रहेछु । अब सधैंका लागि मलाई बिदा दिएर आफ्नो छोरोसँग बस्नुस् तपाई ।” 

खुसीसँगै दुःख मिश्रित हाँसोमा उनले “तँ निश्चिन्त भएर जसरी रमाउन सक्छेस् आफ्नो जीवन सुरु गर । यो छोरा मैले नजन्माए पनि यसले मलाई मातृत्वको राग भरिदियो । त्यसैले यसको बिचल्ली होला भन्ने नसोची अब आफ्नो भविष्य बनाउनु । यसका लागि तँलाई मेरो शुभकामना ।”

आशीर्वचनका साथ मेरो ढाडमा ढाप मारिन् । उनको स्पर्शले मेरो मन प्रफुल्ल भयो । उनका कुरा सुनेर म ढुक्क भएँ ।  

त्यसपछि कोठाधित्र कार्टुन हेरिरहेको छोेरालाई एकपटक अँगालोमा कसेर अन्तिम पटक चुमें । अनि मेरो बाबालाई सधैंका लागि फुत्त छाडेर मुटुमा नै सिउँडी उमारेर बाटो लागें । आफूबाट आफू नै छुटेजस्तो भएकी म पचास पाइला जति अघि पुगेर टक्क उभिएँ । अनि फरक्क फर्किएर छोरा छुटेको घरमा हेरें । त्यसबेला कौसीमा उभिएकी उनले छोरालाई च्याप्प बोकेर उमंगले चुम्दै थिइन् । छोरा पनि उनलाई चुम्दै थियो । एकमनले मेरो हारमा छोराले ममीको साथ पाएर जितेर रमाइरहेछ भन्ने सोचें । त्यसक्षण मायामा चसक्क भएको मुटुले शीतलताको आभाष पायो ।  

प्रकाशित: १४ माघ २०७७ ०९:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App