२९ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

भूत

लघुकथा

गायत्रीले पढाउने विद्यालय निकै टाढा थियो । ससाना छोराछोरी,घर गृहस्थी  र जागिरबीच सामञ्जस्य बढो संयमले मिलाएकी थिइन् । विद्यालय पुग्ने बाटो दुईवटा थिए । एउटा बाटो मान्छेहरू हिँडिरहने सजिलो तर लामो । अर्को बाटो डरलाग्दो, अप्ठेरो, मान्छे कम हिँड्ने तर छोटो  । गायत्रीलाई सधैँ हतार हुन्थ्यो र त्यही छोटो बाटो हिँड्थिन् । बेतोडसँग तीन घन्टा हिँडेपछि बल्ल विद्यालय  पुग्थिन्।

ठोकिएलान् झैँ गरी उभिएका दुईवटा पहाडको खोचमा बगेको खोलाको किनारै किनार एक घन्टा जति हिँड्नुपर्थ्यो । जहाँ चराको आवाजले पनि झस्काउँथ्यो । अनि पुल तरेपछि सुरु हुन्थ्यो वरपर काँडाका झ्याङ, झ्याम्म पोथ्रापोथ्री, अप्ठेरो बाटो र नाकेभिर । अनि बल्ल आउँथ्यो डाँडामा स्कुल।

उकालो –ओरालोमा यदाकदा एकदुई मान्छे भेटिन्थे । यस भीरमा भूत भएको र आफूलाई कैयौँ चोटि भूतले तानेको कुरा सुनाउँथे । अलिक होस गरेर हिँड्नु है नानी, भूतको फेला पर्नुहोला नि भन्थे । विश्वास नलागेर होला गायत्री हाँस्थिन् मात्र ।

पुसको महिना थियो । चार बज्दा साँझ परेको जस्तै हुने । गायत्री विद्यालयबाट निस्केर घर जान हतारहतार ओरालो झर्दै थिइन्  । भीरमा पछाडिबाट उनलाई तान्यो । ढक्क मुटु फुल्यो । भूतको कथा सम्झिइन् । हातखुट्टा लल्याकलुलुक भए । थचक्क बसेर चिच्याउन मन लाग्यो । तर, सुनसान जग्गा  कसले सुन्ने तैपनि साहस बटुलेर पछाडि नफर्कीकनै भनिन् ।

– ए भूत, हिम्मत छ भने अगाडि आइज । के चाहन्छस् भन् । होइन भने छोड् । नतान। मलाई छिटो घर पुग्नु छ । सानासाना छोराछोरीले मेरो बाटो हेर्दै छन्।

अघि बढ्न खोजिन् । तानेकै थियो । अझै जोडले आफूलाई अगाडि तानिन् । फुत्किइन् । उछिट्टिएर पर पुगिन् । तर, गायत्रीलाई लुकेर तान्ने डरछेरुवा भूत हेर्न मन लाग्यो । पछाडि फर्केर हेरिन् । बयरको झ्याङमा आफ्नै साडीको आँचलको एक टुक्रा फर्फराइरहेको थियो।

प्रकाशित: १४ माघ २०७७ ०६:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App