२९ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

संकल्प

अक्षर

दाम्पत्य जीवनको करिब २६ वर्ष। अनि भोलि जन्म दिन पनि। एक्लै मनाउँदैछु। त्यो पनि डेरामा। अरूले हैन, आफैँले आफैँलाई अनमोल उपहार दिने तयारीमा छु– झुट, धोका र आडम्बर तोड्ने अनि आफूप्रतिको विश्वास र आस्थासँग रमाउने। मैले यसो गर्नै छ, किनकि फेरि यो धर्तीमा एकपटक जन्मनु छ। छुट्टै पहिचान बनाउनु छ।

त्यसैले होला, आज फेरि एकपटक जीवनको अर्थ खोज्न भौँतारिइरहेकी छु। आखिर जीवन के हो ? के जीवन जिउन मात्र हो ? के यसको कुनै उद्देश्य छैन ? जन्मेदेखि सिकिएका सबै कुरा वाहियात हुन त ? अर्काका लागि बाँच्नु मात्र हो जीवन ? अर्थात् बाँच्नकै लागि एउटा कमजोर आडम्बर बोक्नु मात्रै हो त जीवन ? हो, म आज अहिलेसम्म नपाएका यिनै उत्तरमा घोत्लिरहेकी छु फेरि।

मेरो छुट्टै पहिचान निर्माण गर्ने प्रतिबद्धता पूरा गराउन पनि यी प्रश्नका उत्तर अपरिहार्य छन्। यति मात्र हैन, मैले प्रमाणित गर्नुपर्ने थुप्रै सवालका लागि पनि पृथक् पहिचान जरुरी भइसकेको छ :

मैले सहनुको अर्थ म कमजोर हुँ भन्ने होइन।

मैले सहनुको अर्थ म गलत पनि होइन।

मैले चुप लाग्नु भनेको म बोल्न नसक्ने भन्ने होइन।

यी सबै सत्य थाहा नपाएकी होइन।

ऋषि काठमाडौं निवासी। मर्निङ वाकका क्रममा भेट भएको। पशुपतिमा। आठ–दश दिनको निरन्तर वाकपछि एकले अर्कालाई लुकेर हेर्न थालेको। अनि नदेख्दा खल्लो मानेर फर्किएको। त्यो पनि धेरैचोटि।  

बत्तीसपुतलीमा दिदीको घर थियो। स्नातक सकिएको र स्नातकोत्तर पनि सुरु नभइसकेकाले केही समय छुट्टी मनाउन आएकी थिएँ। युवावस्था न हो, जीवन र जगत्प्रतिको बुझाइ नै अचम्मको थियो। आकाशमा विचरण गरेर जून–तारा टिप्ने जोस थियो। यस्तो अवस्थामा जीवनको परिभाषा नै बेग्लै। हरेक प्रश्नको उत्तरकर्ता पनि आफैँ। त्यसैले स्नातकोत्तरसँगै थुप्रै सपनाको पनि परीक्षा दिने योजना थियो मनभरि।

एक दिन पत्थरीका कारण दिदीको पेट एकदमै दुख्यो। तुरुन्तै शल्यक्रिया गर्नुपर्ने भयो। हेरचाह गर्नुपर्ने भएकाले म एक साता जति मर्निङ वाक जान पाइनँ। नियमित चर्या टुट्दा खल्लो लाग्ने नै भयो। दिदीलाई केही निको भएपछि अर्थात् एक सातापछि पशुपति दर्शनका लागि गएँ। बिहानको ७ बजिसक्दा पनि कुहिरो गजधम्म थियो। सडकबाट हट्न ऊ मानिरहेको थिएन।  

यत्तिकैमा कसैले मेरो बाटो छेक्यो, एकछिन त अकमकिएँ। दुवै हातले आँखा पुछपाछ गरेँ र हेरेँ, उही चिरपरिचित अनुहार– ऋषि।  

‘किन यतिका दिन नआएको ? तिमीलाई केही त भएन ? कति खोजेँ तिमीलाई। समय चेन्ज ग¥यौ कि भनेर अरूबेला पनि ट्राइ गरेँ।’

छटपटाहट मिश्रित भावभङ्गीमा ऊ एकोहोरो बोलिरहेको थियो। म भने अचम्म मानेर सुनिरहेकी थिएँ। वैरागिएको थियो उसको अनुहार। पहिलेजस्तो स्मार्ट पनि लागेन।

अब उसलाई धेरै बोलिरहन दिन उचित लागेन। त्यसैले भनेँ, ‘वेट, वेट मिस्टर, तपाईं र मेरो चिनजान नै छैन, किन यसरी बाटो छेकेर एकोहोरो बर्बराइरहनुभएको ? बिहान बिहानै केही पिउनुभएको त छैन ? यसरी चिन्नु न जान्नु कि अर्काकी छोरीलाई बाटोमा रोक्नुको नियत के हो ? आफ्नो बाटो लाग्नुहुन्छ कि बोलाउँ प्रहरी ?’

खासमा उसले केही पिएको थिएन। मेरो पर्खाइमा ऊ बेचैन नै भएको रहेछ। जब म रिसाएँ, ऊ झस्केर माफी माग्यो र आफ्नो बाटो लाग्यो। मलाई भेटेपछि उसले यस्तो खुसी प्रदर्शन गरिरहेको थियो, जस्तो कि एउटा बालकले आफ्नो हराएको मनपर्ने सामान भेटेको थियो। सबै बुझेर पनि म उसको खुसीमा सहजै समाहित हुने अवस्थामा थिइनँ, किनकि समाज त्यस्तै थियो। एकैपटक उसलाई भाउ दिँदा उसले पनि त मेरो चरित्र, अडान र आदर्शमा प्रश्न गर्न सक्थ्यो। फेरि उसलाई मैले राम्रोसँग बुझेकी पनि थिइनँ, के भर उसको चरित्र र उद्देश्यको पनि !  

जेहोस्, ऊ गयो, थुप्र्रै अनुत्तरित प्रश्न छाडेर।

त्यस दिन पशुपतिको दर्शन गरेर म घर फर्कें। मनमा बेचैनी थियो। कुनै आराम वा राहत खोज्न केहीबेर ओछ्यानमा पल्टिएँ। उसले भनेका कुरा एकपछि अर्को गरेर मानसपटलमा ओहोरदोहोर गरिरहेका थिए। के उसले साँच्चिकै मलाई मन पराएको हो ? नत्र किन मलाई केही दिन नदेख्दा ऊ पागलजस्तै भएको ? हुन त, मैले पनि ऊ मेरै नजिक भइरहेको हेर्न चाहन्छु। तर मैले यो कुरा भन्न सकिनँ, उसले संकेत गर्‍यो, फरक यति थियो। मैले स्पष्ट बुझेँ– उसले मलाई एक किसिमको प्रेम गर्छ। यस बुझाइले मात्र मलाई रोमाञ्चित बनायो। आफ्नै गाला रातो रातो हुन थाल्यो। कताकता सपनामा हराउन थालेँ। अब ऊसँग कुन बेला कहाँ भेट होला भन्ने कल्पनाले सताउन थाल्यो।

यिनै कल्पना र तरंगलाई भंग गर्दै एउटा आवाज आयो, ‘सञ्चो भएन कि क्या हो ? बिहान चिसोमा धेरै मर्निङ वाक नगरेको भए हुने। सबैजना तयार छन्, आऊ खाना खान।’  

दिदीको बोली थियो। सधैँ प्रिय लाग्ने उहाँको आवाजले त्यस दिन मलाई त्यति आकर्षित गरेन। कारण, त्यस आवाजले मेरो कल्पनाको रोमाञ्चित शृंखलालाई एक्कासि टुटाइदिएको थियो।

खाना खाएर बजार गयौँ। दिदीले मलाई पनि न्याना लुगा किनिदिनुभयो। नयाँ ट्र्याकसुट लगाएर मर्निङ वाक जान पाउँदा खुसी थिएँ। मर्निङ वाकमा ऊ सधैँजसो भेट हुन्थ्यो। एक–अर्काका आँखा पनि जुध्थ्यो। उसले मसँग बोल्ने आँट गुमाइसकेको थियो। त्यस दिन पनि हाम्रो आँखा जुधाइ आँखा–आँखामै सीमित रहेन, त्यसको एक खालको स्पर्श हृदयसम्म पुगेको आभास गरेँ मैले।

त्यसको केही महिनापछिको हिउँदमा म छिमेकी साथीको बिहेमा गएकी थिएँ। त्यहाँ ऋषि पनि रहेछ। उसलाई देखेर केहीबेर अक्क न बक्क भएँ। साथीले परिचय गराई– ‘ऊ मेरो दाइ ऋषि। अनि ऋषितर्फ फर्केर भनी– ऊ मेरी साथी रक्षा, विराटनगरकी, काठमाडौं पढ्न बसेकी। म त जाँदैछु, केही सहयोग आवश्यक परे गर्नु है।’

के चाहियो र ? आखिरमा हामी दुवैले मिलनबिन्दु खोजिरहेका थियौँ मनमनै। उक्त विवाह कार्यक्रमभर ऋषिले मलाई एकछिन पनि छाडेन। मलाई खुसी बनाउन हरदम प्रयास गरिरहेको थियो। उसको आदर र सत्कार देख्दा लाग्थ्यो– उक्त विवाह समारोहको मुख्य अतिथि नै मै हुँ र म कुनै राजकुमारीको भूमिकामा छु।

हामीबीच प्रेम बढिरहेको थियो। हामी आफ्नै संसारमा मुग्ध हुन थाल्यौँ। दिदीले पनि थाहा पाउनुभएछ, हाम्रो सम्बन्ध। एक दिन सोध्नुभयो, ‘तिमी र ऋषिको मित्रता  

कस्तो हो ?’  

दिदीको प्रश्नले उकुसमुकुस भएँ। ठाडै उत्तर दिने हिम्मत थिएन। भनेँ, ‘पहिले पढाइ पूरा गर्ने इच्छा छ...।’

‘जनै सुपारी गरेर पढाइ पूरा गर। नेपाली समाज हो, युरोपियन, अमेरिकन होइन। यसरी सँगै हिँड्दा समाजले चाहिने नचाहिने कुरा काट्छ।’

दिदीको प्रस्तावमा म केही बोलिनँ। उहाँले नै कुरा अघि बढाउनुभयो। ऋषिका बाबु दुई वर्षअघि मात्र हर्टअट्याक भएर बित्नुभएपछि घरमा आमा, ऋषि र बहिनी मात्र थिए। बहिनी अर्थात् मेरी साथीको पनि केही समयअघि मात्र विवाह भएकाले ऋषिलाई बिहे गरिहाल्न दबाब थियो आमाको। पढाइ सिध्याएर बिहे गर्ने सुविधा भएन मलाई।

बिहे त भयो तर सासूआमा कडा। मैले कलेज पढाएको उहाँलाई चित्त बुझेन। ऋषि आफ्नै व्यवसायमा व्यस्त। आमालाई खुसी तुल्याउन जस्तासुकै अनावश्यक माग पनि पूरा गरिदिने चलन रहेछ ऋषिको। मैले घरका सारा काम सकेर पढाउन जाँदा पनि किन उहाँको टाउको रन्थनिनु पर्ने हो ? मैले बुझ्नै सकिनँ।

त्यति मात्र होइन, छोरा–बुहारी मिलेको देख्दा आमा खुसी हुनुपर्ने होइन र ? दुवैजना कामकाजमा लाग्दा त्यसले आमालाई सन्तुष्टि दिलाउनुपर्ने होइन ? बुहारीलाई घरको काम गर्न मात्र ल्याइएको बुझाइ रहेछ, त्यसमा परिवर्तन आउन सकेन। अहँ, मैले सासूआमालाई बुझाउन सकिनँ र उहाँबाट सकारात्मक सहयोग पाइनँ। हुँदाहुँदा आफ्नै घरमा पनि मलाई चोरीको बात लाग्न थाल्यो। गर्दै नगरेको गल्तीको पनि दोष आउन थाल्यो। नानाथरीका आरोप लाग्न थाल्यो।  

हरेक कुराको सीमा हुन्छ। अत्याचार पनि सहने कति ? जन्म दिने बाबुआमालाई सम्मान दिन पनि अत्याचार सहनुहुन्न भन्ने निष्कर्षमा पुगेँ। हुन त मैले आफ्ना समस्या आफ्ना बा–आमासमक्ष कहिल्यै लैजान चाहिनँ। यस्ता कुरा उहाँहरूले थाहा पाउनु जाती हुन्न भन्ने मेरो मान्यता थियो र अहिले पनि छ। त्यसैले आफ्नैतर्फबाट सामना गर्ने योजना बनाएँ।

चरित्रहीन, चोर्नी, घमण्डी– उक्त घरमा बुहारी बनेर पसेपछि मैले पाएका आदरार्थी शब्द यस्तै थिए। सम्झन पनि नचाहने यस्तै यस्तै शब्दको चौतर्फी आक्रमणले म मानसिक र शारीरिक रूपमा शिथिल बन्दै गएकी थिएँ।  

एक बिहान, मेरो मोबाइलमा शुभकामनाका सन्देश ओइरिए– ह्याप्पी बर्थ डे टु यु मम्मी...। ह्याप्पी बर्थ डे टु यु...।  

ऐनाअगाडि उभिएर भनेँ– ‘ह्याप्पी बर्थ डे रक्षा, तिम्रो यो नयाँ जन्म दिनका लागि धेरै धेरै शुभकामना।’

अहो, आफैँले आफैँलाई शुभकामना दिँदा पनि कति धेरै आनन्द आउने रहेछ। आनन्द नआओस् पनि किन ? यो शुभकामनाभित्र त्यस्तो अठोट गाँसिएको थियो, जसले घरभित्रको अत्याचारविरुद्ध लड्न उत्प्रेरित गरिरहेको थियो। अन्याय सहनु आफैँमा अपराध भएको बोध गराइरहेको थियो। अझ महत्वपूर्ण कुरा त, जीवनलाई सुन्दर र स्वस्थ बनाउन अन्याय र अत्याचारविरुद्ध उभिनुपर्छ भन्ने संकल्प थियो। 

प्रकाशित: १० माघ २०७७ ०२:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App