१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

राष्ट्रकवि माधव घिमिरेसँगै पुरस्कृत हुँदा

संस्मरण

राष्ट्रकवि माधव घिमिरेको नाम सुन्नासाथ मेरो मन श्रद्धाले भरिन्छ । आदर भावले शिर निहुरिन्छ । साहित्यमा उहाँको जोश जाँगर लगनशीलता देखेर म भित्र एक प्रकारको प्रेरणा जागृत हुन्छ ।

राष्ट्रकवि माधव घिमिरे नेपाली भाषा साहित्यका सगरमाथा हुनुहुन्छ । वाङ्मयिक आकाशका चम्किला जून हुनुहुन्छ । अनि हुनुहुन्छ सिङ्गो नेपाल र नेपालीका कवि राष्ट्रकवि ।

म सानेै छँदा मैले पढ्ने स्याङ्जा जिल्लाको दहथुम स्कूलमा गाउँछ गीत नेपाली ,ज्योतिको पंख उचाली भनेर प्रार्थना गरिन्थ्यो । त्यो प्रार्थना गरिने राष्ट्रिय गीत कवि माधवप्रसाद घिमिरेले लेख्नुभएको भन्ने त्यतिबेला थाहा थिएन । तापनि मैले पढ्ने महेन्द्र माला कितापमा बालकविता  – हेरहेर साथी हो  कमिलाको ताँती यो , दुलाबाट निस्केर हिड्छन् धुलामाथि यो शिर्षकको पाठ थियो । मैले त्यो बालकविता घोकेर कण्ठ पारेकी थिएँ । योचाहिँ माधवप्रसाद घिमिरेले लेख्नुभएको थाहा थियो । यस्तो राम्रो,रमाइलो कविता लेख्ने मान्छे कस्तो हुनुहुन्छ होला ? भेट्न पाए हुन्थ्यो भन्ने मनमा लागेको थियो । किनभने म सानेैदेखि जिज्ञासु स्वभावको थिएँ । कुनै कुरा पढेपछि किन, के, कसरी ? जस्ता प्रश्नहरूले मेरो मन उथलपुथल पाथ्र्याे । यो कविता कसरी  लेख्नुभयो भनेर सोध्न मन लागेको थियो उहाँसँग । तर, यातायात, संचारको सुविधा नभएकाले उबेला स्याङ्जादेखि काठमाडौं आएर उहाँसँग भेट्न संभव भएन । स्कूलको पढाइसँगसँगै मेरो पनि साहित्यमा झुकाव बढ्दै गयो । जानीनजानी कविता  लेखेर शुक््रmबार हाफछुट्टी पछिको साहित्यिक  कार्यक््रmममा सुनाउन थालें । नेपाली पढाउने गुरुले  अनि साथीहरूले राम्रो छ लेखलेख भनेर हौस्याउँथे । कहिलेकाहीँ कापी – पेन्सिल पुरस्कार पाउँदा केकेन पाएँ भनेर बेस्सरी फुर्कन्थे पनि तर लेखेकै भरमा कुनै दिन गाउँछ गीत नेपाली ज्योतीको पंख उचाली ,हेरहेर साथी हो कमिलाको ताँती यो जस्तो राष्ट्रिय गीत, कविता लेख्ने कविसंगै म पनि पुस्कृत हुन पाउँला भनेर सोच्नु , सपना देख्नु त परै जावस् कल्पनासम्म गरेकी थिइन । जीवनमा कहिलेकाहीँ सोच्दै नसोचेको,आसै नगरेको,कल्पनामै नभएको, असम्भव कुरा पनि संभव हुँदो रहेछ । त्यस्तै भयो मेरो साहित्यिक जीवनमा पनि ।

कुरा २०७१ साल पौष २७ गतेको हो । काठमाडौं कालीमाटी निवासी वरिष्ठ साहित्यकार, महाकाव्यकार  ओमवीरसिंह बस्न्यातले २०५५ सालमा आफ्नो नाममा गुठी स्थापना गरेर बर्सेनि दुई जना साहित्यकारलाई नगदसहित पुरस्कार दिँदै  आउनुभएको रहेछ । त्यो वर्ष नेपाली भाषा साहित्यका सगरमाथा राष्ट्रकवि माधव घिमिरेसँगै म पनि बाबा ओमवीरसिंह बस्न्यात प्रतिभा पुरस्कारबाट पुरस्कृत हुँदा  नेपाली भाषा साहित्यमा मेरो पनि अलिकति उचाइँ थपिएको  महसुस भयो भने मैेले अझै केही गर्नुपर्छ भन्ने जिम्मेवारीबोध भयो त्यसदिन । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको सारगर्भित प्रेरणादायी मन्तव्य र राष्ट्रकवि माधवप्रसाद घिमिरेले तपाई त तीस वर्ष पूरै साहित्य छोडेर फेरि लेख्न थालेको मान्छे अब लेख्न नछोड्नुस् । जस्तो नाम त्यस्तै काम गर्नु, गङ्गा बहेजस्तै साहित्यमा निरन्तर बगिरहनु भन्नुभएको थियो । मैले उहाँका ती अमृतवाणीलाई आशीर्वादका रूपमा ग्रहण गरें । जस्ले गर्दा मेरो लेखनीमा नयाँ ऊर्जा थपिएको अनुभूति भयो ।

वास्तावमा भन्नु पर्दा राष्ट्रकवि माधव घिमिरेको रचना पढेर सानैदेखि उहाँलाई देख्ने रहर मैले २०३० सालमा पूरा गरेकी थिएँ । त्यतिबेला पहिलो पल्ट काठमाडौं कमलादीको महिला छात्राबासमा बस्ने गरी आएकी थिएँ । मेरो स्कूलको साथी कल्पना गैरेको घर लैनचौरमा थियो । छात्रावास जानुभन्दा पहिले दुई दिन म कल्पनाको घरमा बसेको थिएँ । कल्पनालेनै माधव घिमिरेसँग भेट गराएकी थिइन् । कमिज,सुरुवाल,कोट, शिरमा ढाका टोपी पोसाककमा सजिनुभएको उहाँ कतेै जान हिड्न लाग्नुभएको थियो सायद् । अलि हतारमा पनि हुनुहुन्थ्यो त्यसकारण साहित्य सम्बम्धी खासै कुरा भएन । २०३३ सालमा गङ्गाका केही छालहरू कविता सङ्ग्रह प्रकाशन पछि म पुरै तिन दशक साहित्यबाट टाढा भएँ । समयको अन्तराल सँगै आइपरेका जीवनको गोेरेटाका अनेकौं मोडहरू पार गर्दै २०६३ सालदेखि म फेरि साहित्यमा फर्किएँ । आँधी खोलाको सम्झना कविता सङ्ग्रह छापिएपछि कोशली लिएर दोस्रो पटक उहाँलाई भेट्न गएँ । कितापका पाना पल्टाउँदै हेर्नुभयो । मलाई त यस्तो नि कविता लेख्ने हो? भनेर गाली गर्नु हुन्छ कि  भनेर डर लागेको थियो तर मुसुमुसु हाँस्दै भन्नुभयो – मलाई यो बुढौलीका पीडा शीर्षकको कविता मन परयो । तपाईले गद्यमा  पनि कविता लेख्नुभएको रहेछ । त्योभन्दा मलाई झ्याउरे छन्दमा लेखेको राम्रो लाग्यो । कविता छन्दमै लेखेको राम्रो हुन्छ । उहाँले कविता मनपराइदिनुभएपछि मेरो मनको डर जति स्वाट्टै हरायो ।

त्यसपछि भने काठमाडौमा हुने प्रायः साहित्यिक   कार्यक्रमहरूमा राष्ट्रकवि माधव घिमिरेलाई प्रमुख अतिथिका रूपमा देख्दथे ।  एक दशकअघि देखि भने बेलाबेलामा उहाँकै निवासमा गई  भेटघाट गरिन्थ्यो । मेरो श्रीमान वरिष्ठ कलाकार  (चरा चित्र)  हेम पौड्यालको साथी  कान्ति न्यौपाने कविको छोरी पनि कलाकार   (दृष्य चित्र)   नै हुनुभएको नाताले हुन सक्छ । उहाँसँग भेट्ने समय लिनु परेन ।  कान्तीले मिलाइसक्नुहुन्यो । हामी पुगेपछि उहाँकी धर्मपत्नी महाकाली पनि आएर बस्नुहुन्थ्यो ।

राष्ट्रकवि माधव घिमिरेलाई जहिले भेट्दा पनि  हँसिलो र मिलनसार स्वभावको देखे मैले । राष्ट्रिय स्तरको विराट व्यक्तित्व भईकन पनि घमण्डले छुन नसकेको सरल र  सौम्य पाएँ । वास्तवमै  सादा जीवन उच्च विचारका कुबेर हुनुहन्थ्यो उहाँ । अहिलेका केही साहित्यकार दुईचारओटा किताप लेखेर एकदुई पुरस्कार हात पार्नासाथ भुइँमा टेक्नै छोड्छन् । उनीहरूलाई हामीले दुई हात जोडेर सम्मानपूर्वक नमस्ते गर्दा पनि देखे पनि नदेख्यै गर्छन् । त्यस्ताले राष्ट्रकविको विनयशीलताबाट, पुरस्कार र सम्मानपत्रले कोठा भरिएका सम्मानित ओजस्वी व्यक्तित्वबाट सिक्नुपर्ने पाठहरू धेरै थिए ।

हामी सर्जकहरूले पनि राष्ट्रकविको नेपाली भाषा साहित्यप्रतिको मेहनत ,परिश्रम, लगनशीलता, समर्पण, इमानदारीता जस्ता अनुकरण गर्नुपर्ने गुणहरू थुप्रै थिए । मलाई लाग्छ– उहाँ हाम्रो लागि नेपाली भाषा साहित्यको एउटा सिंगो विश्वविद्यालय हुनुहुन्थ्यो।

खास गरी नेपालीको औसत आयुमा ६० वर्ष भएपछि जेष्ठ नागरिकमा गणना गरिने । सरकारी जागिरबाट अवकास दिने गरिन्छ । जसले गर्दा अब बुढ्यौलीको उकालो  सुरु भयो भन्ने लाग्दछ  । १ सय वर्ष बाँच्न पाउनु , त्यो पनि स्वस्थ, तन्दुरुस्त भएर, एकाध भाग्यमानी मान्छेले मात्र पाउँछन् । तिनै भाग्यमानीमध्ये एक हुनुहुन्थ्यो राष्ट्रकवि माधव घिमिरे । १९७६ साल असौज ७ गते लमजुङ  जिल्लाको पुस्तुनुमा जन्मनुभएका उहाँ ९९ वर्ष पुरा गरी १ सय वर्षमा पदार्पण गर्दा संसाक मासिकको तर्फबाट कवि निवासमै शुभकामना अर्पण कार्यक्रमको आयाजना गरिएको थियो । उक्त कार्यक्रममा कविहरूका साथमा म पनि उपस्थित भएकी थिएँ । उहाँलाई अझ धेरैधेरै वर्षसम्म बाँचीराको देख्न पाउँ भनेर यसरी शुभकामना गजल वाचन गरेकी थिएँ ।

गजल

राष्ट्रकवि हजुर सधैं   बाँचीराको देख्न पाउँ ,

अक्षर टिपी शब्दमाला गाँसीराको देख्न पाउँ ।

सिर्जनाका सुवासना फैलिजावस् विश्वभरि,

रीस, राग, अहङ्कार  मासिराको देख्न पाउँ ।

सगरमाथा शिखरझैं शिर सदा उँचो  राखी,

छातीभरि  राष्ट्रभक्ति  टाँसिराको  देख्न पाउ ।

स्वस्थ रहोस् तन अनि स्वस्थ रहोस् मन पनि,

अझ  धेरै धेरै  वर्ष बाँचिराको देख्न पाउँ ।

मेरो इच्छ्यालाई लत्याउँदैे २०७७ साल भाद्र २ गते कुशे औंसीको अघिल्लो दिन सुटुक्क उहाँको निवासमै आएर कालले  राष्ट्रकवि हामी सबैका प्यारा कवि माधव घिमिरेलाई   टपक्क टिपेर लग्यो । नेपालका हिमाल ,पहाड, तराई, छाँगा, छहरा,कुवा, पधेंराका गीत धन्काई प्रकृतिको गुण गाई, राष्ट्रियताको राग गुञ्जाउने, मालती मङ्गले जस्तो सशक्त नाटक लेख्ने, गौरी जस्तो खण्डकाव्य लेख्ने कविको अवसानबाट मसहित सारा नेपाली भावविह्वल भयौं ।

त्यस दिन मैले फेरि अर्को गजल लेखें–

नेपाली भाषा साहित्यको सगरमाथा झुक्यो आज,

वाङ्मयीक आकासका चम्किला जून लुक्यो आज ।

राष्ट्रकवि अझ धेरै बाँचुन् भन्ने इच्छ्या  थियो,

निर्दयी काल आई अचानक् शंख  फुक्यो  आज ।

भावविह्वल भएका छौं सारा साहित्य  साधक,

काव्य रस  बगिरहने  लामो  कुलो सुक्यो आज।

शताब्दी  पुरानो गौरवमय  साहित्यका  धरोहर,

नसकेर  बचाउन  औषधि  विज्ञान चुक्यो आज ।

यसरी  यसरी आज हाम्रा राष्ट्रकवि सशरीर हाम्रोसामु हुनुहन्न । तापनि उहाँले नेपाली भाषा साहित्यको श्रीवृद्धिमा पुरयाउनुभएको योगदान, आफूभन्दा पछिल्लो पुस्ताका साहित्यकारहरूलाई दिनुभएको प्रेरणा, हौसला, स्नेहले गर्दा उहाँ अमर हुनुहुन्छ । सधैं हामीसंगै भएको आभास भइरहनेछ । जब मेरा आँखाहरू राष्ट्रकविसँगै पुरस्कृत हुँदा प्राप्त गरेको ताम्रपत्रमा पर्नेछन् तब त्यो स्वार्णिम अविस्मरणीय पलको याद भइरहने छ । राष्ट्रकविको आत्माको चिर शान्तिको कामनासहित हार्दिक श्रद्धासुमन अर्पण गर्दछु ।

प्रकाशित: ८ माघ २०७७ ११:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App