१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

कोरोना भगाउने पुच्छर

बालकथा

पवित्रा दाहाल

 

– ए नयन आज त स्कुल जाने दिन कति रमाइलो होला हगि ? नयनकी दिदी नयनाले भनी ।

–यो कोरोनालाई त धन्यवाद दिनुपर्छ ।  स्कुल जान नपरेर क्या मजा भएको थियो । मलाई चाहिँ स्कुल जान मन छैन है दिदी । घरमा बसेर मोबाइलमा गेम खेल्न पाउदा कति आनन्द आएको थियो । ह्या फेरि दिनभर एकैठाउँमा बसेर पढ्नुपर्ने भयो । नयनले भन्यो ।

नयनाले किताब मिलाउँदै भनी – आज त बिहीबार हो । तिमीहरूको कक्षामा दुई पिरियड गेम हुन्छ हैन र ?

– हो त नि ! लल दिदी म पनि स्कुल जान छिटै तयार हुन्छु ।  तर,  दिदी लुगाचाहिँ के लगाएर जाने ? स्कुलको लुगा त ठिक नै हुँदैन । जे लगाए पनि हुन्छ ?

– हुन्छ होला । म आमालाई सोध्छु पख् है ।  

– स्कुल लागे पनि पीर नलागे पनि पीर । उफ् ! यी केटाकेटीलाई कसरी जोगाउने होला यो कोरोनाबाट । आमा लुगा धुँदै एक्लै फत्फताउँदै थिइन् ।  

नयना दौडदै आमानजिकै गएर सोधी– आमा,  हामी कुन लुगा लगाएर स्कुल जाने ?

– भर्खर त आठ बज्यो । घरछेउको स्कुल जान पनि कति हतार गरेकी ।  पख न यति लुगा पखालेर  म आउँछु  ।  किताब मिलाऊ । भाइलाई हातमुख धुन भन । तिमीहरूका मोजा कताकता छन्, खोज्दै गर जाऊ । स्कुल जाने लुगा म ठिक पारिदिउँला ।  

 नयना स्कुल जाने भनेर निकै खुसी थिई । ऊ आफ्नो कोठामा गएर किताबकापी व्यागमा राखी । स्यानिटाइजर पनि व्यागमा राखी ।

चिसो हात पुस्दै आमाले भन्नुभयो – कसैको खाजा नखानू र आफ्नो पनि खाजा साथीहरूलाई नदिनू । कक्षामा पनि छुट्टाछुट्टै बस्नू  । स्यानिटाइजर बेलाबेलामा लगाउनु ।

आमाले दराज खोल्दै भन्नुभयो – ल यो ट्याकसुट सेट लगाऊ अनि टोपी पनि लगाऊ जाडो छ । थर्मसमा मन तातो पानी हाल्दिएकी छु । त्यो पनि व्यागमा राख ।

– ह्या , आमा म त टोपी लगाउँदिन । छ कक्षामा पढ्ने भइसकेँ । के बच्चाको जस्तो टोपी लगाउनु ।  नयनले आमालाई भन्यो ।  

–यो कोरोनाको समयमा त विशेष ख्याल गर्नुपर्छ । त्यस्तो भन्न हुँदैन छोरा ।  

नयन र नयना दुवैले आमाले भनेझैँ गरी जुत्ता मोजा, लुगा र टोपी लगाए अनि खाना खाएर स्कुल गए ।

स्कुलमा आधा घन्टा अगाडि नै सबै विद्यार्थी र शिक्षक पुगिसकेका थिए । सबैको अनुहारमा झलमल्ल घाम लागेझै उज्यालो भएको थियो । धेरैपछि साथी भेट्न पाएर सबै दङ्ग थिए ।

आफू पढ्ने नयाँ कक्षाकोठा खोज्दै नयन छ कक्षामा गयो । नयना सात कक्षामा  गई ।

कक्षामा त सबैको नाम सिट सिटमा टाँसिएको रहेछ । आफ्नो नाम टाँसेको बेन्चमा व्याग राखेर नयन र नयना आफ्ना साथी खोज्न थाले।

नयनले भने एक पेज कापी ध्यार्र च्यातेर पुच्छर बनाउन भ्याइसकेको थियो ।  नयन निकै छुकछुके स्वभावको थियो । त्यसमाथि पनि  यतिका महिनासम्म स्कुलमा छुकछुक गर्न  पाएको थिएन । सनमको पछाडि बिस्तारै गएर नयनले  पुच्छर हाल्दियो । उसले पुच्छरमा  ‘कोरोना भगाउने पुच्छर’ भनेर लेखेको थियो ।  

टिनिनिनि घन्टी बज्यो । सबै कक्षातिर लागे । सनमको पछाडि पुच्छर देखेर सबै गलल्ल हाँसे ।

अमनले भन्यो– सनमको पछाडि कोरोना भगाउने पुच्छर रहेछ । हा ! हा !

सनमले फर्केर हेरयो र आफूलाई पुच्छर कस्ले हाल्दियो भनेर रिसायो ।  

सनमले रुँदै भन्यो – आमाले कसैलाई पनि छुनु हुँदैन । कोरोना लाग्छ भन्नुभएको थियो । अब मलाई कोरोना लाग्छ होला हुँहुँ ।

सनम अल्लि सुस्त थियो । त्यसैले ऊ सानो सानो कुरामा रिसाउने र रुने गथ्र्यो ।  

पहिलो पिरियडमा विज्ञान पढाउने पलक सर आउनुभयो । उहाँले सनमलाई रोएको देखेर सोध्नुभयो– के भयो सनम ?

कक्षाका सबैले  एकैस्वरमा भने – सनमलाई कसले कोरोना भगाउने पुच्छर हालिदिएछ सर ।

नयनले रमाइलाका लागि पुच्छर हालेको थियो । साथी यसरी ह्वाँह्वाँ रोला भन्ने उसले सोचेकै थिएन । उसलाई पनि निकै नरमाइलो लागेको थियो । ऊ अँध्यारो मुख लगाएर बसेको थियो ।  

पलक सर एकछिन त अचम्ममा पर्नुभयो । उहाँले सोध्नुभयो – कोरोना भगाउने पुच्छर कसले आविष्कार गरेको हो ?

कोही पनि बोलेनन् । तर, पछाडिको बेन्चबाट मसिनो बनावटी स्वर निकालेर अमनले वैज्ञानिकले सर भन्यो । फेरि कक्षामा सबै गलल्ल हाँसे । नयन पनि मुसुक्क मुस्कुरायो । सनम पनि रुन छोड्यो ।

सनमले उठेर सरलाई सोध्यो– मलाई साँच्चै कोरोना लाग्दैन त सर ?

नयनले आफ्नो व्यागको स्यानिटाइजर देखाउँदै भन्यो– ल हात थाप अब । यसले तिमीलाई कोरोना लाग्दैन ।

सनमले पनि हात थाप्यो र स्यानिटाइजर हातमा लगायो । अनि ऊ ढुक्क भयो ।  

अत्यन्त छुक्छुके नयनको व्यवहार देखेर पलक सरलाई नयनलाई धाप मार्दै स्यावासी दिन मन थियो । तर, कोरोनाको डरले टाढैबाट नयनलाई स्याबासी दिनुभयो ।  

सनमलाई सरले राम्रोसँग कुरा बुझाउनुभयो र ऊ शान्त भयो । 

 –म गाली गर्दिनँ ।  कोरोना भगाउने पुच्छर भनेर कस्ले लेखेको हो भन ? अहिले छ  कक्षामा नै यस्तो सोच्ने मानिस त ठूलो भएपछि वैज्ञानिक बन्छ । अब भन त यो कक्षाको महान वैज्ञानिक को हो ?

नयन हाँस्दै जुरुक्क उठ्यो र सनमलाई भन्यो– सरी, ल सनम मैले त रमाइलोका लागि मात्र पुच्छर हालेको थिएँ ।

फेरि पलक सरतिर फर्केर भन्यो –सरी सर, अबदेखि साथीलाई पुच्छर हाल्ने काम गदिनँ । कोरोना भगाउने पुच्छर लेखेको मैले नै हो सर ।

–नयन बस । अबदेखि साथीहरूको विचार बुझेर मात्र जिस्किनुुपर्छ । अरूलाई दुःख दिने काम गर्नु हुँदैन ।  

अब राम्रोसँग पढेर कोरोना भगाउने पुच्छर पनि बनाउपर्छ । शरीरलाई हानि गर्ने भाइरसलाई धपाउनु पनि पर्छ है त भन्दै मुसुक्क हाँस्नुभयो।

सबै जना मुसुक्क हाँसे । सरले भाइरसको पाठ पढाउन थाल्नुभयो ।

प्रकाशित: ४ माघ २०७७ १०:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App