११ माघ २०७७ आइतबार
कला

पुनसको तमसुक

लोककथा

एकादेशको राज्य अनि राज्य संचालक राजारानी । हिमचुली  थिए उनीहरू आर्थिक सम्पन्नतासँगै जनताको मायाद्वारा । यद्यपि हर्षको गुभो घुनिएको छ । रानीको कोख बाँझै रहेपछि राजाले नसुनी झटारिन्थे कोक्याउँदा चर्चाहरू – “राजा नै नपुंसक छन् रे । पूर्वजको पापको प्रतिफल पनि हुनसक्छ । रैती दल्नेको हालत यस्तै निःसन्तान हुन्छन् । यो पुनसको प्रतिफल हो ।” 

रानीको कोख आवाद पार्न सल्लाहकारका बमोजिम बाहिरबाट चिकित्सक झिकाइयो । सूक्ष्म रूपले परीक्षण भयो । प्रयोग भयो ओखती पनि । जोखना खुट्याए विजुवा, लामा, धामी, झाँक्री, मोलवी, पादरी  एवं पुरोहितद्वारा पनि । राजदरबारको चारै सुरमा एकमुखेदेखि सातमुखे काँटी ठोकेर भलायोको किलो ठोकियो । कुरिन ढुंगा र धानको लावा भुटेर छारो हान्दै भगाकै हो भूतप्रेत, पिसाच, देसान, मसान, मुर्कुटा आदिलाई । धाएकै थिए देवतीर्थ । साधु, सन्त, महन्त  गरीबगुरुवासँगै गाई, कुकुर, बाँदर, चराचुरुंगीदेखि कमिलो समेतलाई मीठोमसिनो बाँडिएकै हो । पानीद्वारा सेचन हुन्थ्यो, रूखविरुवा समेतलाई  तर कोख फुटेन रानीको ।

यस्तै कट्मिरो समयसँग पौडी खेल्दै चौध वर्ष टेकिसक्यो राजारानीको वैवाहिक जीवनले पनि ।

फेरि यो वर्षको चैत्र र वैैशाख मासले वसन्तको उत्सव मनाइरहेको भान हुन्थ्यो  शकुन्ताका माधुर्य रागहरूले । उस्तै सुशोभित  लाग्छ बसुन्धरा नै वसन्ती हावाको सरसराहटले । मन उसै मोहित बन्छ पुष्पलता र नाङ्गो  रूखमा टुसाहरू उम्रिरहेको दृश्यले । मानौँ सर्वत्र नवीकरण भइरहेछ । सोचौं, नृत्यरत छन् चराचर नर्तकी भएर । उल्लासमय क्षणको छिर्को लागेर होला लामो समयपछि बगैचा घुम्न निस्किए राजारानी । बाटोमा एक हुल केटाकेटीले उत्रुङ खेल्दै गरेको देख्दा रानी मुसुक्क हाँसिन् ।

बगैँचाको लामो घुमाइपछि थाकेर विश्राम घरमा सुस्ताउँछन् राजारानी । रानीराजाको छातीमा टाउको अड्याउदै भन्छिन् – “महाराज ! एउटा बिन्ती बिसाऊ ?”

 “के छ त्यस्तो भन प्रिय ! म शिरोधार्य गर्न तयार छु ।” रानीलाई अँगालोमा लिँदै भने राजाले ।

 “मलाई डिभोर्स दिएर अर्की महारानीलाई भित्रयाउनोस महाराज ।” रानीको अनाश्रुत शब्दले राजा चस्किए – “के भन्दै छौ रानी मनवती?”  

“अन्य विकल्पै छैन, राजसंस्थालाई चलाइराख्ने ।”

“अझै म आशावादी छु । तिम्रो कोखमा हाम्रा भविष्यले छिट्टै वास लिनेछन् ।”

“समयले नेटो काट्दै छ महाराज । यदि हजुरको आशामा निराशाले छोप्यो भने नि ?”

“यो संस्थाको पूर्णविराम । अनि देशमा आमुल परिवर्तन आउने छ ।” राजा दाँत कम्टिँदै भन्छन् ।”

“उफ् !!” राजालाई बेस्सरी समात्दै रानी भन्छिन् – “कति भयानक कल्पना ।”

“यही नै सत्य हो प्रिय !” राजाले रानीको दुवै गालालाई हत्केलाले चेपेर आफूतिर तान्दै फुस्फुसाए । रानी क्षितिजतिर हेर्दै भन्छिन् – “महाराज, मलाई डर लाग्दै छ । हजुरको मायालु बाहुपासमा लुकाउनोस् । ऊ ती काला बादलका विशाल पाटाहरु मडारिएर  यतै आइरहेछन् ।”

“नडराऊ रानी । म हरेक अप्ठेरोसँग संघर्ष गर्दै,  तिमीलाई जोगाउनेछु ।”

रानीलाई छातीमा टाँस्दै भन्यो राजाले । रानी प्रफुल्ल हुन्छिन् राजाको न्यानोपनले । आकस्मिक बतासको सप्कोले सेपेपछि रानी झनै राजको छातीमा अनुहार लुकाउँदै सुस्तरी बोलिन् – “महाराज, हजुरको हृदयमा मलाई बसाल्नोस् । हजुर मुटुको धड्कन भई मेरा शरीरका सबै अवयवमा पुगेर रोमाञ्चित भइदिनोस्  । म अझै रोमान्टिक बनेर हजुरलाई रोमान्समा शैर गराउन लालयित भइरहेकिछु । उफ ! कति वसन्तमय क्षण...!”

रानीको उत्साहपूर्वक आग्रहमा भावविभोर भयो राजा । फलत दुवै मन दुवै इच्छा प्रेमक्रिडामा निमग्न भए । राजारानीको त्यो क्षणलाई स्वागत गर्न प्रकृतिले पनि सहस्र पानीको बुँदाहरूलाई समर्पित गरिरहेको थियो । सुस्तरी सर्सराइरहेको बतासले फूलहरू खसाइरहेको थियो राजारानीको स्वागतार्थ ।

अन्तत   थकित बन्यो राजारानीको त्यो क्षण । त्यो आपसी समर्पण, सौहार्दमय मुस्कानको आदानप्रदानपछि  राजारानी फर्किए दरबारतिर ।

 

समयको गतिसँगै पातलिने क्रममा  छन् चराका मौलिक भाकाहरू । सीमित समयका लागि कराउने कुकु र काफले चरा प्राय  मौनताको भँडारतिर भित्रिसकेका छन् । भेट्नुबाट पारपाचुके भाका सोत्र्याम्मै फूलहरू सम्झनाको डिलनिर मात्रै छन् । हरियो वन गाढिन्दै छ । आकाशमा मेघले बजार लगाका छन् । कृषकहरू हलो– जुवा बोकेर मेलोतिर हजार छन् । अस्तिसम्म नसुनिने भ्यागुताका स्वरहरू फाँटिने प्रक्रियामा छन् ।

लजाउँदै रानी भन्छिन् – “महाराज , शरीरमा नूतन शक्ति  दौडिरहेछ । कति स्फर्त छु । जता हेरयो, सकारात्मकका बथान । रुचि बढेको छ । एउटा चीजको भने नाक लागेको छ । घरघिरी नाच्न मन लाग्छ आफ्नै मनको धुनमा । जाँगर त हवात्तै बढेको छ ।” रानी अर्धमुस्कानसँगै नयन बटार्दै भन्छिन् ।

– धन्यवाद  मनवती रानीलाई उचाल्दै राजा बोले – अब यो राजदरबारमा उत्तरधिकारीको आगमन हुने भयो । अब मजा आउँछ राष्ट्र हाक्न ।

राजाको कपाल मसार्दै रानी बोलिन् – हजुर र यो देशको मनोकांक्षा पूर्ण होस् । यद्यापि विशेषज्ञद्वारा एकपल्ट परीक्षण गरेर पुष्टि होस् महाराज ।”

परीक्षणपछि तीनओटा भ्रूण रहेको जानकारी भो चिकित्सकद्वारा । पूरै राज परिवारमा खुशीयाली छायो ।

लामो प्रतिक्षापछि – रानीलाई प्रसव –पीडा लागिसकेको छ । नर्स र धाईआमाहरू सेवासुसारमा तल्लीन छन् ।

त्यही दिन छिमेकी राष्ट्रको अति गोप्य ठाउँमा राजसंस्थाविरुद्ध सशस्त्र विद्रोह गर्ने तार्तम्य बुन्दै थिए  राजा विरोधीहरूले । बाह्र बजे राति तीन भाइ राजकुमारको जन्म भयो । लामो पर्खाइपछि देशले एकैचोटि तीनजना राजकुमार पाएका थिए । अतः तुरुन्तै लागु हुने गरी प्रत्येक सरकारी कार्यालय संघसंस्था र घरघरमा दियो बालेर सप्तव्यापी खुशी मनाइयोस् । सँगै अहिल्यैदेखि लागु हुने गरी सातदिनसम्म जंङ्गी अड्डा, सशस्त्र प्रहरी लगायत सुरक्षा विभागलाई छोडेर सबै सरकारी, नीजि संघसंस्थासँगै सरकारी नीति स्कुल समेतले सार्वजनिक विदा गर्न पनि घोषणा गरियो ।

दुर्भाग्य नै भनौ राजकुमारहरू लाटो भए । त्योमाथि जेठो कुँजे, माइलो अन्धो र कान्छो मन्टो बटारे । राजकुमारहरू हन्तकाले प्रवृत्तिले पनि ग्रस्त  छन् । जेठा राजकुमारलाई एक छाकमा पाँच धार्नी मासुको पकुवा चाहिन्थ्यो । माइलो पाँच पाथी चामलको भात चप्काउथ्यो एक छाकमा । एकै स्वाट्मा तुथ्र्याे पाँच पाथी दुध कान्छाले।

खडेरी परेको छ देशको असि प्रतिशत भू–भागमा गिठा, भ्याकुराले छाक टार्न बाध्य छन् जनताहरु ।

देशमा सशस्त्र आन्दोलन चर्किसकेको छ । मुक्ति आन्दोलनमा होमी सकेका छन् जनताहरु । दिनौ सडकमा इन्कलावी स्लोगान सुनिन्छ । चक्काजाम हुन्छ । दोकानका सटरहले चाम बाधेका छन् । ठप्प छ जनजीवन ।

आन्दोलनकारीलाई सशक्त र सशस्त्र दवाव गर्न राज परिवारका अन्य सदस्यद्धारा दवाव आइरहँदा पनि राजा भने जनताको लाश माथि दरवार जोगाउने पक्षमा थिएनन् ।

अन्तत  राजपरिवारका सल्लाह सुझावलाई छिन्केर राजसंस्थालाई विघटन गर्दै आफू  लगायत सबै परिवार साधारण नागरिक भई जनताको सरकारले ल्याउने संविधान भित्र बसेर देशको सेवा गर्नेछु भन्ने घोषणा गरे राजाले । र तुरुन्ते राजपाठ छोडेर आफ्ना सर्दाम बोकी अन्यत्र लागे ।

देश गणतन्त्रमय भयो । देश र जनताको प्रगतिले भू.पू. राजालाई प्रफुल्ल बनाए पनि अपाङ्ग छोराको ठूलो चिन्ता थियो । छोराका खर्च थेग्न हम्य छ ।  सिकर्मीका कलात्मक शैलीद्वारा निर्मित दुर्लभ जातिका काष्ठको ठेकी, चुँथो, हर्पे, गरियो, दुधेरो, टोलुङ, खर्पन, थुन्चे, डोको, ढाकार, ढोक्से, मान्द्रो, पेरुँगो, तोस्रो, बटनेटो, हतासो, मानी साँभी, मुसली, चर्खा ऐटा थुरी, लगना, हरिस्, फाली, ठेढी, पाटी, जुवा, सोइला, जोतारो, हल्लुडो, नेती, कोइला, सरा, पर्रा, मंधनी आदि विक्री भई सके । अझै घर धान्न नसकेर भू.पू. रानीका गहना ढुङग्री, मुन्द्रि, गलहरी, तिलहरी, चुरा, कल्ली, कम्मरी, हारी, मुन्द्रा हसुली आदि बेचेर भू.पू. राजा बेसाहा खोज्न हिडे ।

ज– जसको आँगन टेक्न पुगे भूपू राजा त्यहाँ राम्रो सत्कारसँगै जेथोअनुरूप अन्नदान भयो । सबैको आग्रहमा घरलौरी घुम्दा सवा महिना बितेको पत्तै भएन राजालाई । एकदिन एकजनाले भूपू रानी र राजकुमारको खबर सोध्दा पो झल्यास्स भए राजा । र तुरुन्तै अन्न बोकेको खच्चरको लस्कर लिएर घरतिर फर्किए ।

छिमेक गाउँमै आइपुग्दा मान्छेले राजालाई सुनाए – “हे भूपू महाराज ! हजुरले घर फर्कन ढिलो गर्नाले ठूलो क्षति भएको छ । घरको अन्न सकिए पछि सतवीउ पलबीऊ, कुखुरा बाख्रा, गाई, भैसी, घोडा, गधा, कुकुर विरालो खाए हजुरको हन्तकाले सपूतहरूले । त्यति मात्रै होइन भूपू रानी मनवती समेतलाई मारेर खाए । गाउँलेले दिएको एक गाँस भातसम्म खान चाहादैनन् भूपू  राजकुमारहरू ।

यतिबेला मुसा मार्न खेतवारीका डील भत्काउदै छन् ।  राजा आतिँदै ओडारमा पुगे । छोराहरू  ओडारभित्रै बात मार्दै छन् । राजा छक्क पर्दै लुकेर चिहाए । जेठो छोरा पोलेके भट्याङग्रा खाएर डकार्दै भन्छ – “यो आफ्नो कमाइले डम्म अघाइयो । भाइ हो तिमीहरूलाई थाहा छ म त्यो राजाको छोरा हैन । त्यसको  पुनसको साहु हुँ । पूर्वजन्ममा यो राजा मासु बेच्ने कसाई थियो । मासु जोखाइमा खुब ठग्यो म लगायत मान्छेहरूलाई । त्यसैले त्यो ठगेको मासुको साँवाब्याज उठाउनु म सबै ठगिएका मृतात्माको आग्रहमा यसको छोरा भएर जन्मेको हुँ । दुःख दिन लाटो र कुजो भएको स्वाङ्ग रचेको हुँ । अझै यो राजासँग एक मन, दुई धार्नी, तीन बोडी मासु उठाउन बाँकी छ ।”

“हा ! हा ! हा !” माइलो पनि हाँस्दै भन्छ – “म पनि लाटो छुइन । अन्धो पनि छुइन । पुनसकै साहुँ म पनि यो राजाको । राजा त्यो जन्ममा अन्न व्याापारी थियो । सबै गरीबगुर्वा यसको बाट अन्न बेसाएर लान्थ्यौँ । तर, यसले सात माने पाथीले ठग्थ्यो । त्यो ठगेको अन्नको सावाव्याज उठाउन  सर्वसम्मतिबाट मलाई पठाएको हो रानीको कोखमा बास लिन । अब एक मुरी, एक मुठी, एक चिम्टी उठाउन बाँकी छ,  हामीलाई ठगेको अन्न ।”

“हा ! हा ! हा !” कान्छो पनि खित्का छोडेर हाँस्दै भन्यो – “म पनि लाटो छुइन । न मेरो मन्टो  बटारिएको छ । यो राजा मुर्कटोलाई दुःख दिन पो स्वाङ्ग पारेको हुँ ।”

“हैन त पनि देख्छस् कि ?” माइलो लोखर्के टोक्दै भन्छ ।

“तँ साच्चैको भूपू राज कुमार होस् भने दुई भाइको छाक टर्नै भो भनेको त ।” – माइलोले डुकुरी मुसा  भुत्लाउँदै भन्यो ।

“म पनि यो राजाको पुनसकै साहुँ हुँ दाइ हो । तपाईहरूको समस्या भन्दा मेरो व्यथा निकै मार्मिक छ । त्यो जन्ममा म आमा मरेको टुहुरो थिए । यो राजा त्यो जन्ममा  दुध बेपारी थियो । यैसँग दुध  लिएर हजुरआमाले मलाई पाल्नुहुन्थ्यो । तर यसको दुधको प्रत्येक घुट्कीमा चालिस प्रतिशत खोल्सीको फोहोर पानी पिउँथेँ । म रोगी र अशक्त हुँदै छिटै मरेँ । मेरो र मेरा बाउ आमाको थुप्रै सपनाहरू  अधुरा रहे । मेरो मृतात्मा छटपटिरह्यो । धेरै दिन पछि यो पनि म¥यो र राजाको कुलमा जन्मन आयो । तुरुन्तै म यसको शुक्राणुमा गएर बसेँ । मेरो पूर्व जुनिको क्षतिपूर्ति सहित उठाउँदै गर्दा अझै एक घ्याम्पा, दुई पाथी, तीन माना दुध उठाउन बाँकी  नै छ ।”  

छोराहरूको उदेकलाग्दो कुरा सने पछि भूपू राजा गाउँतिर समाज बटुल्न दगुरे र राजाले सबै गाउँलेलाई देखाउँदै भने – “यी मेरा छोरा होइनन् पुनसका साहुँ रहेछन् । यी अपाङ्ग छैनन् बोल्छन्, हिँड्छन् ।”

अझै गाउँलेलाई पत्तेरो लागेन ।

राजाले छोराहरुले भने अनुशार सर्दामहरू गाउँलेसँग पैचो लिएर भाग भाग पारेर थुपारिदिए । र जम्लेहात गर्दे भने –“हे मेरा पुनसका साहुँ हो । पुर्व जुनीमा मबाट भएका गल्तीहरू अझै छन् भने क्षमा  पाऊँ । यी सामाजिक साक्षि रोहबरमा बक्यौता बुझाएको छु । सहर्ष स्वीकारी मेरा नाममा भएका पुनसका तमसुकहरु चितलहोस् । र मलाई पुनसको ऋणबाट फस्र्याेट गरियोस् ।”

खानेकुरा देखेपछि तिनै भाई भूपू राजकुमार गलल हाँसेर हाक्पारे गीत गाउँदै नाच्न थाले । गाउँले अचम्म मै परे । सबैजनाले जम्ले हात गर्दै एकैस्वरले भने – “हे पुनसका आत्माहरू हो ! अबदेखि दुःख नदिनु हाम्रो महाराजलाई । रहलपहल ऋणहरू एकमुष्ट प्रदान भएको छ ।  तिनै जना राजकुमार झनै नाच्न थाले । राजासँगै गाउँलेहरू उनीहरूलाई अझै मनाउन बरबखान गर्दै गर्दा जेठाले रमाउँदै आफ्नो चारकरे पाच खर्कुराको मासु खाएर त्यही मरयो ।

माइलोले हाँस्दै – “पाँच खर्कुशको भात खपाखप खाएर तीन चित भो । नारी छाम्दा उसले पनि इहलोक छोडिसकेको थियो ।  

कान्छा हन्तकाले राजकुमारले पनि आधुनिक गीत गुन्गुनाउँदै पाँच  कराही दुध घोप्टो परेर टन्न पियो । अनि सबैलाई हात हल्लाउँदै ड्याम्म ढल्यो र फुस्सै गयो ।

सबै छक्कै परे । ती साधारण लाग्ने भूपू राजकुमारहरूले असाधारण  खाएको देख्दा  । त्यो दिनदेखि भूपू राजा राजनीतिमा लागेर देशको राष्ट्रपति भएर लामो समय  सम्म जनताको सेवा गरि इहलीलाबाट मुक्त भए ।

“सुन्नेलाई सुनको माला भन्नेलाई फूलको माला यो कथा बुझे बैकुण्ठ जाला ।”

प्रकाशित: १ माघ २०७७ १३:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App