१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

छोरी, असल चैँ बन्नु है !

संस्मरण

खेमराज पोखरेल

 

भनिन्छ, मान्छे स्वार्थी प्राणी हो । ऊभित्र चेत छ । यो चेत यतिसम्म बदमास हुन्छ कि आफूलाई कुनै पनि मान्छेले नजितोस् भन्ने चाहन्छ । त्यसैले मान्छे सधैं आफैं जित्न लगातार तम्तयार भइरहन्छ । तिकडम गरिरहन्छ । मौका परे अपराध गर्न पनि पछि पर्दैन । तर, जब आफ्नै सन्तानले र प्रिय शिष्यले आफैंलाई ज्ञानमा, रूपमा, गुणमा, सारमा, व्यवहारमा, प्रगतिमा जित्छ तब बाउआमा र गुरु एकदम खुसी हुन्छन् । त्यसैले संसारभरिकै धार्मिक शास्त्रमा बाउआमा तथा गुरुलाई देवता भनिएको छ । देवताको रूपमा सम्मान गरिएको छ । धार्मिक शास्त्रमा मात्र होइन व्यवहारमा, सोचमा र संसार सञ्चालनमा आमाबाबु तथा गुरुको स्थानलाई पूज्य र स्तुत्य मानिन्छ । भौतिकवादले भगवानको अस्तित्व छैन भन्छ । तर, आमाबाबु र गुरुको अस्तित्व छैन भन्न सक्दैन । आमाबाबु तथा गुरुको भूमिकालाई अनुमान गर्न सक्दैन।

म बाउ भएकाले आफ्नी छोरीको प्रगति क्षणमा हृदयदेखि नै खुसी छु । यो हुनु स्वाभाविक हो । त्यो क्षण भनेको मेरी माइली छोरी मनुशीलाले अमेरिकाको साल्टलेक सिटीको युनिभर्सिटी अफ युटाहबाट हेल्थ कम्युनिकेसन विषयमा पिएचडी सकेको क्षण हो र हाल उनी अमेरिकाकै टेक्सस राज्यको टेक्सस स्टेट युनिभर्सिटीमा प्रोफेसरको जागिरमा छिन्।

आज म तपाईंहरूलाई मेरो त्यही खुसी बाँड्छु । मेरो यो मपाईंत्वले तपाईंलाई झर्को लाग्ला । यो बुँदामा आइपुग्दा तपाईले सोच्दै गर्नुभएको कुरा पक्का हो कि अमेरिकाबाट पिएचडी गर्ने र अमेरिकामै प्रोफेसरको जागिर खाने नेपालीको कुनै कमी छैन। अमेरिकामा मात्र होइन संसारभरि जहाँजहाँ नेपाली पुगेका छन्, त्यहाँत्यहाँ नाम राखेका छन् । नेपालीले सबै क्षेत्रमा आआफ्नो गहकिलो उपस्थिति देखाएका छन् । तर, पनि मलाई लहड लागिहाल्यो । यो मेरी प्रिय छोरीको कथा हो, यत्ति त पढिदिनु न है, बिन्ती ।

मैले पनि आफूलाई तपाईंहरूले जस्तै जिन्दगीका झोक्काहरूभित्र लड्दै–लडाइँदै, गुड्दै– गुडाइँदै, बग्दै–बगाइँदै उभ्याएको हो । मलाई थाहा छ – मेरो उभ्याइ निम्छरो छ । हारमा फेच्चा छ, त्यो पनि थाहा छ । तर, यो संसारमा कहाँ पाइन्छ हारमा उभिन पनि ! यो समस्या मेरा पुस्ता, मेरा दामली, मेरा समकालीन र समान हैसियत भएका प्रायः सबैको हो । हिजो पनि हो र आज पनि छ । भोलि पनि रहिरहन्छ  । सबैले झैँ मैले पनि यही बाटो जिन्दगी बगाएका छु । बनाएको छु । कहिले द्रवित भएको छु । कहिले रौसिएको छु । कहिले हौसिएको छु । 

यही रन्कामा मेरी छोरीले अमेरिकाबाट पिएचडी गर्दा म निकै खुसी भएको छु । उफ्रिरहेको छु । पुलकित भएको छु । लाग्छ जीवनमा शीतल हावा सरर आएको छ । यसैले मनैदेखि व्यतिरेक भएको छु । पग्लिएको छु । जबजब म छोरीका फेसबुकका स्टाटस, शोधप्रबन्धको प्राक्कथन वा जहाँजहाँ पिएचडीको प्रसंग आउँछ, तबतब मलाई क्रेडिट दिएको देख्छु र यसबेला म हर्षले भावातिरेक हुन्छु । खुसीको आँसु पनि पो आउँदो रहेछ । यसबेला म जिन्दगीका दलानमा बसेर सम्झिरहेको छु, बोध गरिरहेको छु कि मैले आफ्नो चेत, हैसियत र परिवेशको त्रिवेणीबाट जिम्मेवारी निभाउने एउटा साधारण र आम कर्म गर्ने जमर्को गरेको हुँ । त्यो कृत्यलाई म जीवन भन्छु । प्रायः सबै अभिभावकले यो गौँडो उक्लिएकै हुन्छन् । मेरो पनि कुनै विशेष भूमिका होइन । खासमा म कुनै कारण होइन । कारक उनी आफैं हुन् । उनले आफैंले यो बाटो खोस्रेकी हुन् । गोहो बनाएकी हुन् । यो उपलब्धिको सोलोडोलो विजेता उनी एक्लै हुन् । म यसरी खुसी भइरहेको कारण मेरी छोरीले पिएचडी गरेकाले मात्र होइन । बरु मैले बिच बाटामा विभिन्न परिस्थितिको कारण हापेको पिएचडी नामको अगाडि डाक्टर लेख्ने जिजीविषा सकिएको परिवेशमा मेरै छोरीले पिएचडी गरेर र मलाई जितेर मेरो अन्तस्करणलाई हर्षित बनाएकी छिन् । मेरो मुटु शान्त भएको छ।

हो, म यहाँहरूलाई मेरी त्यही छोरीको जीवनकथा सुनाउँछु । छोरी जन्मदा गोरी पिल्पिलाउँदी थिइन् । तिनताक म पृथ्वीनारायण बहुमुखी क्याम्पस पोखरामा पढाउँथे । मेरी जेठी छोरी पहिले नै जन्मिसकेकी थिइन् । मेरो दोस्रो सन्तान छोरोले जन्मदै श्वास फेरेन । त्यसैले मेरो तेस्रो सन्तान हुने हुँदा भ्रूण परीक्षण गरी छोरा भए मात्र पाउने सल्लाह दिने आफन्तको कमी थिएन । छोरीलाई पहिचान गरेर भ्रूणमै मार्ने आधुनिक सभ्यता नेपालमा पनि पसिसकेको थियो । तर, हामीले त्यो मानेनौं । धन्य छ प्रभु, छोरी पहिल्याएर भ्रूणमै हत्या गर्ने कर्मबाट उनी जोगिइन् र म भने मानसिक द्वन्द्वको पीडाबाट जिन्दगीभरि जोगिएँ।

उनी बिस दिनकी हुँदा उनलाई श्वास फेर्न गाह्रो भयो । लगभग श्वास नफेरेको अवस्था जस्तो थियो । हतारहतार पोखरामा एक जना नामुद बालरोग विशेषज्ञककहाँ पुरयाएको थिएँ । ती डाक्टरले जेन्टामाइसिन नामको सुई लेखिदिए । औषधि किन्ने ठाउँमा व्यापारी साथीले प्रेस्क्रिप्सन हेर्नेबित्तिकै आत्तिएर भनेका थिए – आमामामा, यो बिस दिनको बच्चीलाई जेन्टामाइसिन सुई ! जानुस् फेरि भन्नु डाक्टरलाई ।

त्यसपछि उनी पिलपिलाउँदी नै देखिन थालिन् । इम्युनिटी कमजोर हुनु उनको नियति बन्न पुग्यो । गनिमत यही थियो कि उनी बाँचेकी थिइन् ।

पोखराबाट विराटनगर सरुवा भएपछि उनलाई सरस्वती बोर्डिङ पठाएँ । किनभने मेरी जेठी छोरी अनुशीलालाई सोही बोर्डिङमा भर्ना गरिदिएको थिएँ । मैले स्कुलमा गएर ‘मेरी छोरीलाई नपढाउनू, कुनै सजाय नदिनू’ भनेको थिएँ । अनि प्रिन्सिपलले ‘अभिभावकहरू आफ्नो बच्चाले केही नपढेको गुनासो गर्न आउँछन् । ‘बदमास छ, तह लाउनुस्’ भन्न आउँछन् । तपाई ‘बरु नपढोस् तर सजाय नदिनू’ भन्ने पहिलो अभिभावक हुनुभएको छ” भनेका थिए । तर, उनका ब्यागमा पुस्तक, कपी, टिफिन बक्स र पानीको बोतलका भारी हुन्थे । त्यो भारी बोकेर स्कुल जानु नै एकप्रकारको अमानवीय सजाय थियो । उनी एकदम सानी थिइन् । एक दिन पानी परेको थियो । बाटो चिप्लो थियो । अर्को दिन एकदम घाम लागेको थियो । म उनलाई लिन स्कुल गएँ । उनका निधारमा पसीनाका धारा बगेका थिए । गोरो अनुहार लपक्कै पसीनाले भिजेको थियो । मलाई उनको अनुहार हेरेर एकदम माया लाग्यो । टिठ लाग्यो । केही पाप गर्दैछु जस्तो लाग्यो । भर्खर दूध छोडेका बालकका ब्यागमा पुस्तकका चाङ बोकाएर बनेको कथित सभ्य र उन्नत शिक्षा प्रणालीलाई देखेर दिक्दार लाग्यो । अनि मैले ‘अहिले स्कुल जाने बेला भएको छैन’ भनेर स्कुल नै छुटाइदिएको थिएँ ।

त्यसपछि अरनिको बोर्डिङ स्कुल र अरनिको पछि कोशी विद्यामन्दिरमा भर्ना गरिदिएको थिएँ । किनभने कोशी विद्यामन्दिर आफ्नै प्रोफेसर साथीहरू प्राडा उपेन्द्र कोइराला, प्राडा खगेन्द आचार्य, प्राडा रमेश दाहालले खोलेका थिए । स्थापित स्कुल अरनिकोबाट झिकेर भर्खर खुलेको कोशी विद्यामन्दिरमा छोरीलाई एडमिसन गरिदिएको मजा तव आयो जब तीनै जना प्राध्यापक महोदय राजनीतिक नियुक्ति पाएर फटाफट बाहिरिनुभयो । स्कुल लगभग बेवारिसेजस्तै भयो । अनि फेरि स्कुल छुटाइदिएँ ।  अर्को वर्ष सगरमाथा बोर्डिङ स्कुलमा भर्ना गर्न लगेँ । मैले प्रमाणपत्र बिना भर्ना गर्न पुगेँ । त्योबेला मैले भनेको थिएँ कि ‘भर्ना गरिदिनु, पास भएनन् भने म पास गरिदिनू भन्न आउँदिनँ’ ।

तर, त्यसपछि मेरा छोरीहरूले राम्रोसँग पढे । म आफू पनि कलेज पढाउने भएकाले बिहानै उठ्थेँ । उनीहरूलाई पनि उठाउँथेँ । म पनि पढ्थेँ छोरीहरू पनि लहरै बसेर पढ्थे । मैले ‘पढ’ भन्नु पर्थेन । अलिअलि नजानेको सिकाइदिँदा काम चल्थ्यो । तर, सगरमाथामा पनि धेरै दिन रहन पाएनन् । मेरो सरुवा काठमाडौं भयो । काठमाडौं बत्तीसपुतलीको अङ्कुर विद्याश्रम बोर्डिङ स्कुलमा भर्ना गरिदिएँ । त्यहीँबाट उनले एसएलसी पास गरेकी हुन् । उनी अब्बल पनि होइन, सरदर विद्यार्थी हुन् यतिबेलासम्म ।

उनले पढेका बोर्डिङ स्कुलहरू समयका प्रतिनिधि हुन् । जबजब उनी आफूले पढेका बोर्डिङ स्कुलको नाम सम्झिन्छिन्, तबतब सातो जाने गरी कुटाइ खाएको कुराको सम्झना पनि सँगै आउँछ उनलाई । डरले गर्दा छुलुक्क भएका क्षणको सम्झना गर्छिन् उनी । डरले गर्दा जानेको कुरा पनि भन्न नसकेको क्षण सम्झन्छिन् उनी । अकारण बेतका लठीका सुम्लाहरू सम्झिन्छिन् उनी । भन्छिन्, त्यो बेला शिक्षक डरलाग्दो जन्तु जस्तो थियो । उनी भन्छिन् – तर यो कुटाइ सामान्य थियो ।

नेपालको पढाइ सिस्टम घोक्नुपर्ने तर उनलाई घोक्न आउँदैन थियो । नघोके कुटाइ खानुपर्ने थियो । कण्ठाग्र हुनु अब्बलताको परिचायक थियो । एसएलसी परीक्षा सम्झिदै उनी भन्छिन् – परीक्षा नजिक आउँदा मर्यादित अमर्यादित तिगडम शिक्षकले नै सिकाउँथे । स्कुलमा अन्य मातृभाषा भएका विद्यार्थीलाई उल्याउने नेपालको प्रचलन वा विभेदलाई अहिले संस्मरण गर्छिन् ।

‘अमेरिकामा अंग्रेजी बोल्दा खाँटी अमेरिकनको जस्तो लय नमिलाउँदा कुनै सामाजिक प्रताडना वा हेला खप्नु पर्दैन’ भन्छिन् उनी । गोराले जस्तो लयमा अंग्रेजी बोल्न नसक्नु हरेक विभाषीलाई स्वाभाविक हो । तर, हाम्रो नेपाल भने अझै यही कुरामा विभेद गरिरहेको छ।

उनले बोर्डिङमा खाएको कुटाइ सम्झँदा म पनि आफ्ना मास्टरी दिन सम्झन्छु । तिनताका जुन मास्टरले धेरै कुट्न सक्यो, जोसँग धेरै विद्यार्थी डराए, ऊ उति गतिलो मानिन्थ्यो । म आफैं पनि विद्यार्थीलाई कुटेर तह लगाउने नामुद शिक्षक थिएँ कुनै बेला । त्यही कुटाइको महत्त्व पढाइएको थियो । देखिएको थियो । तर, यो पाप मैले धेरै वर्ष गर्नु परेन । म कलेजको मास्टर हुन पुगेँ । संयोग थियो, कलेजमा विद्यार्थी कुट्ने चलन थिएन।

उनको एसएलसीमा डिस्टिङसन आएन । साथीहरूको आयो । अनि मैले उनलाई भनेको थिएँ – नतीजामा आउने अंक प्रतिशत एकदम ठूलो कुरा होइन । कम आए पनि हुन्छ, बढी आए पनि हुन्छ । मुख्य कुरा हौसला, आँट र मेहनत हो ।

उनक एघारबाह्रमा विज्ञान पढाइ भिएस निकेतन, काठमाडौँमा भयो । मैले उनलाई अहिले सोधेँ – ‘तिमीलाई कसले भनेको थियो विज्ञान पढ्न ?’ 

उनले हाँस्दै भनिन् – ‘एसएलसीमा धेरै नम्बर ल्याउने विद्यार्थीले विज्ञान पढ्छन् भन्ने सुनिन्थ्यो।  साथीहरू विज्ञान नै पढ्ने भन्थे।  त्यसैले विज्ञानबाहेक अरू विषय पढ्ने मेसो नै थिएन । सोच नै आएन ।’

एघार  बाह्रको त्यो तहमा पनि सिकाइ कम तथा घोकाइ धेरै भएको परिपाटीको सम्झना छ उनलाई । त्यसकारण यो तहको परीक्षा उपलब्धि पनि सामान्य नै रह्यो ।

मैले १२ सकेपछि उनलाई सोधेको थिएँ – के पढ्ने ? वर्ष खेर फाल्न पाइन्न । जे पढे पनि हुन्छ । तिम्रो स्वविचार।

तर उनीसँग कुनै विषयको सोच थिएन । थाहै छैन, के पढ्ने ! त्यो बेला म अमेरिकामा थिएँ । मैले नै अमेरिकामा नर्सिङको स्कोप देखेर ‘नर्सिङ पढ’ भनेँ । उनले आज्ञाकारी भएर मानिन् तर त्रिवि वा नाम चलेका इन्स्टिच्युटमा नाम निस्केन । त्यसैले एसियन भन्ने सामान्य कलेजमा एक लाख रुपैयाँ डोनेसन दिएर विएस्सी नर्सिङमा भर्ना गरिएको थियो । त्यो बेला मलाई मेरा साथीभाइहरू भन्थे – त्यो पूर्वाञ्चल विश्वविद्यालयमा भर्ना नगर्नु, त्यसको केही काम छैन । तपाईं त्रिविमै भएकाले फलानालाई सोर्स लगाएर भर्ना गर्नु न ।  

त्यो बेला मैले साथीहरूलाई जवाफ दिएको थिएँ – संसारका विश्वविद्यालयको आँखामा नेपालको के त्रिवि, के पूर्वाञ्चल, सबै एकै हुन् । विद्यार्थीको गुण, सीप र तीक्ष्णता हेर्ने हो । केही फरक पर्दैन।

पछि एसियन इन्स्टिच्युटलाई मनमोहन मेमोरियलले किनेको थियो । त्यसैले मनमोहन मेमोरियल मा विएस्सी नर्सिङ पढिन् । बाँसबारी काठमाडौँमा घर थियो । कलेज नक्खुमा थियो । उनलाई यति धपेडी भयो कि मलाई सधैं चिन्ता भइरहन्थ्यो, कसरी पार लाउने होला यो लम्बेतान जाम यात्रा । चार वर्ष नर्सिङ पढेर पास भएपछि उनले मलाई भनिन् – बाबा, म नर्सको काम गर्दिनँ ।  

मैले सोधेको थिएँ – के गछ्र्यौ त ?

उनले उत्तर दिएकी थिइन् – मास्टरी।

कौशलटारमा नागरिक अस्पतालले चलाएको नर्सिङ कलेजमा पढाइन् । मैले बिहे गर भनेँ । उनले बाहिर पढ्न जान्छु भनिन् । तर, उनलाई थाहा थियो कि म पैसा खर्च गरेर बाहिर पढाउने हैसियत राख्दिनँ । कलेज पढाउँदै जि.आर.इ.को कोचिङ लिँदै तयारी गरिन् । अन्त्यमा संयोग अमेरिकाको साल्टलेक सिटीमा युनिभर्सिटी अफ युटाहामा असिस्टेन्टसिपसहित मास्टरमा भर्ना गरिन् । मास्टरमा उनले नर्सिङ विषय छोडेर हेल्थ प्रमोसन एण्ड रिसर्च विषय लिइन् । हेल्थ कम्युनिकेसनमा पिएचडी गरिन् । नर्सिङ्बाट हेल्थ प्रमोसन र हेल्थ प्रमोसनबाट हेल्थ कम्युनिकेसन भनिनु सुन्दा सबै हेल्थकै विषयजस्तै लागे पनि अमेरिकाको हिसाबमा आनका तान विषय परिवर्तन हो।

यो बुँदामा आइपुग्दा नेपालको शिक्षा नीति, सामाजिक परम्परा तथा प्रचलनमा मुख्यतया दुई समस्या उजागर हुने गर्छन् । एक, आफ्नो सन्तान बालिग भइसकेपछि पनि उसको सबै कुराको निर्णय अभिभावकले गरिदिने गर्छन् । यसले गर्दा छोराछोरीले मास्टर पुग्दा पनि आफ्नो विषय के हो ? कुन विषयमा पढ्न इच्छा छ भन्न सक्दैनन् । बच्चामा निर्णय गर्ने क्षमतामा बिलकुलै ह्रास हुन्छ । फेरि हाम्रो समाजले आफूभन्दा ठूलासँग मुखमुखै नलाग्नु, स्कुलमा शिक्षकले जे भन्यो त्यही मान्नु भन्ने सिकाउँछ । जसले गर्दा विद्यार्थी शिक्षकसँग प्रश्न सोध्न नै डराउँछन् । तर, अमेरिकामा बच्चाले आफ्नो निर्णय आफैँ गर्दै जान्छ । त्यसैले नबुझेको वा आफू अन्यायमा परेको कुरा उसले खुलेर भन्छ । शिक्षकसँग नडराई प्रश्न सोध्न सक्छ । अमेरिकामा सिकाइ महत्त्वपूर्ण कुरा हो भन्ने सोचमा पठनपाठन हुन्छ । त्यसकारण उनले नेपालको मध्यम स्तरको उपलब्धिको तुलनामा अमेरिकाको पढाइमा राम्रो गर्नुमा घोक्नुनपर्ने र बुझ्दा हुने परिपाटी भएकोले हो भन्ने उनको ठहर छ।

अँ त, मेरी छोरी मनुशीलाको ३ मे २०१९ का दिन  पिएचडीको  दीक्षान्त समारोह थियो । हामी सपरिवार अमेरिकाको युटाह पुगेका थियौँ । दीक्षान्त समारोह एउटा ठूलो हलमा भएको थियो । हजारौँ मान्छे अट्न सक्ने त्यो हलमा भिडियोबाट चारैतिर देखाइएको थियो । अनलाइनमा पनि लाइभ देखाइएको थियो । रातो पाटा थियो कालो भुइँमा गाउनको ।मैले उनलाई सोधेको थिएँ, ‘यो गाउनको ५० डलर जति पर्छ होला हगि ?’

उनी मजाले हाँसेकी थिइन् र भनेकी थिइन्– ‘बाबा यसलाई ७ सय डलरमा किनेको ।’ हरे मेरो सोच । ७ सय डलरलाई नेपालीमा रूपान्तरण गरेर हेरेँ । झन्डै नेपाली असी हजार रुपियाँ पर्दो रहेछ । मैले आश्चर्य मानेको देखेर छोरीले भनेकी थिइन् कि ‘अब संसारका जुनजुन ग्य्राजुएसनमा म बोलाइन्छु, त्यो ग्य्राजुएसनमा यही गाउन लगाउनु पर्छ जिन्दगीभरि । त्यसैले यो गाउन निकै महत्वपूर्ण हो ।’

दीक्षान्त हुने विद्यार्थीको बाउ भएका नाताले मैले पनि लामो लमतन्न तानिएको रङ्गीन तथा विश्वविद्यालयको लोगो भएको मफलर थ्याङ्क्यु स्टोल गुताइएको थिएँ । यो मफलर यस्तो सन्तान जन्माउने बाबुआमालाई विश्वविद्यालयका तर्फबाट आभार व्यक्त गर्न दिइएको रहेछ । हरे, झट्ट मैले आफ्नै दीक्षान्त समारोहमा त्रिभुवन विश्वविद्यालयबाटै भाडामा लिएर लगाएर फर्काएको कुरा सम्झेँ । त्यो पिलपिले थियो, तर पनि आफैँसँग राख्न पाएको भए जिन्दगीमा एउटा आफ्नो चिनो त हुन्थ्यो नि।

ग्राजुएसनको अघिल्लो दिन हामी छोरीको पिएचडी सुपरभाइजर प्रोफेसर जेकलाई भेट्न उसकै च्याम्बर पुगेका थियौँ । उनी निकै भर्खरका थिए । हँसिला थिए । र मेरी छोरीको तारिफ मसँगै गर्दै थिए – धन्यवाद प्यारेन्ट्सलाई ।  मैले सुपरभाइज गर्न एकदम इन्टेलिजेन्ट विद्यार्थी पाएँ । यस्तो विद्यार्थी पाउनु मेरो भाग्य हो ।’ 

एकछिन कल्पना गर्नुस् कि आफ्नै अगाडि आफ्नी छोरीको अमेरिकाको प्रोफेसरले तारिफ गरेको क्षण बाबुआमाका लागि कति रोमाञ्चक हुन्छ होला ! जबकि म उसलाई ‘सफलतापूर्वक मेरी छोरीको पिएचडी सुपरभाइज गरिदिएर ठूलो गुण लगाउनुभयो’ भन्दै थिएँ ।

यसरी मैले त्यो विश्वविद्यालयलाई धन्यवाद दिइरहेथेँ । छोरीलाई मुरीमुरी आशिषसहितको शुभकामना दिइरहेथेँ । सुपरभाइजर प्रोफेसर जेकलाई आभार भन्दै थिएँ । यति खुसी थिएँ कि उफ्रूँ कि नाचूँ भएको थिएँ ।

यो युटाह राज्यको सदरमुकाम साल्टलेक सिटी शहरको निर्माण गर्दा सबैभन्दा पहिले विश्वविद्यालय कहाँ बनाउने भन्ने कुरा नै व्यवस्थापकको पहिलो प्राथमिकतामा परेको रहेछ । त्यसकारण एउटा एकदम ठूलो डाँडाको निकै ठूलो भूभाग विश्वविद्यालय बनाइसकेपछि अनि त्यसैसँग जोडेर सबैभन्दा व्यस्त ठाउँ डाउन टाउन बनाइएको रहेछ । सायद राजा महेन्द्रले पनि यस्तै नमूना देखेर त्रिविलाई मनग्गे जग्गा अधिग्रहण गरिदिएको हुन सक्छ ।  प्राङ्गणभित्रबाट रेल, बस कुद्ने सडक सञ्जाल निकै व्यवस्थित रहेछ । विश्वविद्यालयको संरचना निकै ठूलो र विविधतायुक्त देखेर मन नै लोभियो । 

म आफूले पनि जिन्दगी त्रिभुवन विश्वविद्यालयमा बिताएँ । त्यसकै मानोचामल खाइयो । त्यही मानोचामल नै हो मेरी छोरीको रगरगमा पसेको पनि  र अहिले पनि त्यही मानोचामल खाएर जीवन बिताउँदै छु । किनकिन यो मनले नेपालको त्रिभुवन विश्वविद्यालय र यो साल्टलेक सिटीस्थित युनिभर्सिटी अफ युटाहलाई तुलना गर्दैछ । काठमाडौँ उपत्यकाजस्तै वरिपरि पहाडले घेरिएको रहेछ साल्टलेक सिटी । झन्डै काठमाडौँजस्तै । बिचमा बाग्मती बगेझै साल्टलेक पनि बिचमै रहेछ । त्रिविको प्राङ्गण भएको कीर्तिपुरजस्तै यो युनिभर्सिटी अफ युटाह पनि एउटा पाखाभरि ठूलो भूभागमाथि अवस्थित रहेछ ।

अनि मैले मेरी छोरीको शोध निर्देशक प्रोफेसर प्रोफेसर ज्याकोब डी. जेनसन (जेक) को जीवनी बुझ्न खोजेँ । उनका जीवनका कोप्चाकोप्ची सुनेँ । उनी अमेरिकाको पिछडिएको मोन्टियाना राज्यको एउटा गाउँबाट ग्याँस स्टोरमा काम गर्दै अति धेरै सङ्घर्ष गर्दै उठेको मान्छे रहेछन् । सामान्य चेतबाट उठ्तै फेरि पछारिँदै फेरि उठेको मान्छे रहेछन् । किनकि नेपालमा जस्तो बाउले खर्च खेपेर पढाउने चलन त अमेरिकामा छैन नि । उनले २७ वर्षको उमेरमा विद्यावारिधि गरेर असिस्टेन्ट प्रोफेसरको जागिर खाएका रहेछन् । त्यसको ६ वर्षपछि एसोसिएट प्रोफेसर हुँदै प्रोफेसर भएको चार वर्ष बितिसकेको छ । यति बेला उनको उमेर ३९ वर्ष मात्र रहेछ । उनीसँग सम्पर्क गर्दा  एउटा ज्ञान मलाई भयो कि विश्वविद्यालय कसरी खसोखास विश्वविद्यालय बन्छ र प्रोफेसर खासमा कसरी प्रोफेसर बन्छ । यो जानेर म दिग्दार भएको छु । आफ्नो जीवन यो सबै गर्ने चेतविहीन उमेरका गल्छेँडाहरू छोड्दै टाउकोभरि फुल्दै झर्दै बितिरहेको छ।

यसबेला मेरा दिमागमा एउटा कुरो आयो कि मेरो त्रिभुवन विश्वविद्यालय किन कमजोर हुँदै गएको हो । म साल्टलेक सिटीको युनिभर्सिटीभित्र त्यही कारण खोज्दै थिएँ । मैले जानकारी लिएको थिएँ कि त्यहाँको विद्यार्थी, शिक्षक, कर्मचारी भर्ना प्रकृया । शिक्षकको काम कर्तव्य र प्रमोसनका आधार । अनुसन्धान प्रक्रिया । प्राध्यापकको थ्री टायर सिस्टम । थ्री टायर सिस्टम भनेको प्राध्यापन, अनुसन्धान र सेवा रहेछ । स्वतन्त्र विद्यार्थी युनियनको भूमिका बलियो तर सकारात्मक हुने रहेछ । परीक्षा प्रणाली व्यावहारिक हुनेरहेछ । नतिजा प्रकाशन असफल हुने विद्यार्थीलाई पनि मनोवैज्ञानिक असर नपर्नै गरी गोप्य राखिँदो रहेछ । करिकुलम सधैँ ताजा ताजा पारिँदो रहेछ । आदि आदि । तर राष्ट्रिय राजनीतिको प्रभाव भने नदेखिने रहेछ । र म निष्कर्षमा पुगेँकि नेपालको विश्वविद्यालयलाई बढ्न नदिने राजनीति नै हो । गरिबी होइन । त्रिविमा रहेका केही प्राध्यापकहरूको प्रज्ञा विश्वस्तरको छ । तर ती पाखामा छन् । पाखाबाट मूल धारमा आए भने राजनीतिले तिनलाई कुटेर राजनीतिकै ध्वाँसे बनाइदिन्छ । तिनका पाइन फुकालेर पसाउँछ । ज्ञानको गिदी फुकालेर पातमा राखिदिन्छ । अनि कताको ज्ञान ! कताको प्रज्ञा ! कताको विश्वविद्यालय !

र,अँ म छोरीलाई एकटकले हेरिरहेको छु । ऊ उस्तै केटाकेटीझैँ लाग्छ मलाई । उसले के पो जानेकी होली र भनेझैँ लाग्छ मलाई । यत्ति नै बेला उसले पाएको अमेरिकाकै युनिभर्सिटी अफ टेक्ससको जागिर अगाडि आउँछ । फ्याकल्टी भन्दा रहेछन् त्यसलाई । टेन्योर ट्य्राकभन्दा रहेछन् त्यसलाई । त्यो भनेको अमेरिकाको प्राज्ञिक क्षेत्रमा निकै महत्वपूर्ण मानिँदो रहेछ । हुन पनि धेरै लामो प्रकृयापछि सो छनौट हुने रहेछ । छनौट प्रकृया नै झण्डै एक वर्ष लाग्दो रहेछ ।

अमेरिकामा पढाइ नसकिँदै योग्य र जेहेन्दार विद्यार्थीलाई विश्वविद्यालयमा जागिरमा लिने प्रारम्भिक प्रकृयाबाट म खूब प्रभावित  छु । उनले गरेको स्किन क्यान्सर कम्युनिकेसनसम्बन्धी विद्यावारिधिको शोधपत्र अमेरिकाभरिका सो विभागका विद्यावारिधिका शोधपत्रमा सर्वोत्कृष्ट भई पुरस्कृत भएको क्षणमा म कति आल्हादित भएँ होला त  डिसी नेपालले यही कारणले उनीसँग एउटा लामो अन्तरवार्ता लिएको थियो ।

यो पढाइ र जागिरको लम्बेतान र कठिन यात्रा तय गरेकी मेरी छोरीप्रति यसबेला नतमस्तक भएको छु । गौरवले ओतप्रोत भएको छु । धन्यवाद छ छोरी । शास्त्रले सात कुल तार्नु भनेको छ सन्तानलाई । सायद यही होला। जबजब आफ्ना सन्तानको कृत्य देखेर, सुनेर, भोगेर र अनुभूत गरेर पितृ गर्वित हुन्छ, त्यो क्षण भनेको अलौकिक हुन्छ । स्वर्गीय हुन्छ । हो म त्यही स्वर्गीय क्षणमा हुन्छु । अलौकिक स्पर्शमा हुन्छु । अमेरिका जस्तो देशमा प्रज्ञिक परिवेशले लगातार तिम्रो कदर गरेको देख्दा आफैँलाई तिम्रो बुवा हुन पाएकोमा गर्वित भएको छु ।

यही गर्वमा आल्हादित भएको बेला एउटा कुरा तिमीलाई भन्न मन लागेको छ मलाई । छोरी, जीवनमा पैसा त धेरैले कमाएका छन् –कमाउँछन् । कमाउनुको पनि कुनै जेनिथ छैन । जेनिथ नहुनु भनेको कुनै अर्थ छैन भनेको हो । यदि तिमीले कमाएको पैसा बिष्टा मात्र बन्यो भने, त्यसको केही अर्थ छैन । बिस्टा मात्र त जसले पनि बनाएकै छन् नि ! पिएच.डी. पनि धेरैले गर्छन् – गरेका छन् ।संसारका धेरै नाम चलेका विश्वविद्यालयबाट नेपालीले नै पिएचडी गरेका छन् । रगत पसिना एकै बनाएर गरेका छन् । ज्ञान प्राप्त गरेका छन् । तर ज्ञानको पनि कुनै जेनिथ छैन । यो भनेको ज्ञान पनि पार पाउने कुरा होइन । ज्ञान हिन्दु परम्पराका ऋषिमुनिको जस्तो उसैसँग जन्म्यो, उसैसँग मर्यो भने त्यसको केही अर्थ छैन । मान्छे विभिन्न मद बोकेर बसेका छन् । धनमद बोकेर बसेका छन् र बुद्धिको अपचलन गरेका छन् । ज्ञानमद बोकेका छन् र ‘नपाउनेले केरा पायो, बोक्रैसँग खायो’ भएका छन् । शक्तिमद बोकेका छन् र आफ्नै शक्तिका मदले खरानी भएका छन् । त्यसकारण मान्छे जे हैसियतको होस्, उसमा आउने मदले उसलाई हिमालको टाकुराबाट झारेर कोन्द्रामा झारिदिन्छ । र गर्तमा विलाइदिन्छ ।

छोरी, जीवनमा मृत्यु अवश्यम्भावी छ । त्यसकारण बाँच्नु भनेको मर्नु हो । आममान्छेहरू केही समय बाँच्छन् र मर्छन् । त्यो मर्ने बँचाइ भनेको श्वास फेर्ने मात्र हो । श्वास फेर्नु मात्र पनि के बँचाइ हो र खै ! तर, केही मान्छेहरू मरेपछि बाँच्छन् । आम मान्छेका मनमा बाँच्छन् । सधैँ बाँच्छन् । यो जीवनको चक्र हो । जन्मनु, बाँच्नु र मर्नु, मर्नु, जन्मनु र बाँच्नु । मात्रै बाटाहरू फरक हुन् । यति कुरा बुझ्दाबुझ्दै पनि मान्छे भौतिक प्राणी पनि हो । भौतिक प्राणी हुनु भनेको आफन्त तथा भौतिक कुरा हुनु हो । हो यही भौतिक संसारमा तिम्रा आफन्त छन् । ती आफन्त तिमीसँग आश गर्छन् । तिम्रो समाज छ । समाजले तिमीसँग गुणग्राह्यता खोज्छ । यो खोज्नु समाजको हक हो । तिम्रो एउटा आफ्नो देश छ । देश भनेको एउटा भौगोलिक अवयव मात्र होइन । एउटा सिमाना मात्र पनि देश होइन । देश भनेको मातृभूमि हो । मातृभूमि भनेको आमा हो । आमा भनेको विशेष हो । आमा आम महिला होइन । त्यसैले मातृभूमिको स्पन्दन र आमाको स्पन्दन एउटै कुरा हो । तर, मातृभूमिमा अनेकन् अन्धविश्वास छन् – तिम्रा ज्ञानका सहायताले हट्न सक्छन् । गरिबी छन् – तिम्रा ज्ञानका कारणले सुधार हुन सक्छन् । मातृभूमिमा अन्धविश्वास भइरहनु, गरीबी भइरहनु, अन्याय भइरहनु, अत्याचार भइरहनु भनेको मातृभूमि रुनु हो । मातृभूमि रुनु भनेको तिमीलाई जन्म दिने आमा रुनु हो । यो स्पन्दन बुझ्न सक्यौ भने मात्र जन्मेको सार हुन्छ । नत्र त तिमी मातृभूमिका लागि ‘कागलाई बेल पाक्यो, हर्ष न विस्मात’ हुने छौ । आफन्तले तिमीलाई पीपलको रुख ठानून् । तिम्रा कारणले समाजले तिमीलाई आफ्नो ठानोस् । तिम्रो नाम सम्झेर मातृभूमि गर्वित होस् । म यही चाहन्छु ।

यति गर्न तिमीले खास केही गर्नु पर्दैन । धेरै पैसा कमाउनु पनि पर्दैन । किनकि पैसा साधन मात्र हा, साध्य होइन । कुनै दुरूह ज्ञानको पोथी पनि फुकाउनु पर्दैन । किनकि ज्ञानको पोथीले दिएको कर्मकाण्डीय ज्ञानले कर्मकाण्ड त गर्ला तर मन दिमागका कुरा बुझ्दैन । त्यसैले म तिमीलाई भन्छु कि अहिलेको संसारमा पढेका, कमाएका, ज्ञानी कहलिएका मान्छेको कुनै कमी छैन । ती खातमा खात लागेका छन् । तर, संसारमा अझ तिम्रो मातृभूमिमा असल मान्छेको खडेरी परेको छ । त्यसैले तिमी अरू कुरा जेसुकै गर, जेसुकै बन, तर असल चैँ बन्नू है ।

जनवरी ५, २०२१

सान मार्कोस, अमेरिका

प्रकाशित: २९ पुस २०७७ ०८:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App