१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

उखाने दाइ

बालएकांकी

पात्रहरू –(१) सुजन, (२) धीरेन्द्र, (३) अमित, (४) सुधा –करीब १२÷१३ वर्षका बालबालिकाहरू) र (५) विजेन्द्र (उखाने दाइका नामले प्रसिद्धी कमाएका ५० वर्षका मानिस)

( ठूलो चौरमा रहेको रूखको छहारीमा चार जना बालबालिकाहरू बसेका छन् । उनीहरू विजेन्द्रको खोजीमा यताउता हेर्छन् ।)  

सुजन – (चारैतर्फ हेर्छ । एक्लै भुतभुताउँछ ।) उखाने दाइ आए कति रमाइलो हुन्थ्यो ।

धीरेन्द्र – (सुजनतिर हेर्दै) होइन ए सुजन ! के भन्दै छौ ? कि हामीलाई सराप्दै छौ ?

अमित – झिँगाको सरापले डिँगा मर्दैन भनेझैँ सुजनको चाहनाले हामीलाई केही लछारपाटो लाउँदैन ।

सुधा – नबिराउनु नडराउनु त्यसै भनिएको होइन । आफू त बिराइँदैन पनि र कसैदेखि डराइँदैन पनि । तर, उखाने दाइ आएचाहिँ यो झमेलै खतम हुने थियो । (त्यतिकैमा उखाने दाइको प्रवेश हुन्छ । सबै जना उत्सुक हुन्छन् ।)

अमित – (खुसी हुँदै) ओहो ! उखाने दाइ ! हामीले तपाईंलाई नै खोजिरहेका थियौँ । अब मजा आउँछ ।  

सुजन – उखाने दाइ ! औँलो दिँदा डुँडुलो निल्ने बानी त मान्छेहरूको हुन्छ । हामी पनि त्यही ड्याङका मुला हौँ । तर, हामीमाथि हजुरले विशेष कृपा राख्नुपर्छ ।

विजेन्द्र – नारायण ! नारायण !! नारायण !!! कसैलाई केको धन्दा घरज्वाइँलाई खानकै धन्दा । तिमीहरूलाई चाहिँ मेरै मजाक उडाएर आनन्द लिनुपरयो होइन । कागभन्दा कोइली चंख भनेझैं  मभन्दा तिमीहरू नै चलाख छौ त । तिमीहरू भन, म सुन्छु । तिमीहरूको क्यारक्यार सुन्दा सुन्दा मेरा कान पाकिसके । अबदेखि म तिमीहरूका अगि देखापर्न कान समाउँछु ।

धीरेन्द्र – अब कसो गर्नुहुन्छ त ? उखाने दाइ  कहाँ जान्छस् मछली मेरै ढडिया भनेझैं तपाईं हाम्रो नियन्त्रणमा हुनुहुन्छ यस बखत । एउटा कुरा हामी काँक्रालाई थाँक्रो दियो थाँक्रै धनी भनेझैं तपाईंले लगाउनुभएको गुन बिर्सेर कृतघ्न हुने छैनौं ।

सुधा – हो, मन अमिलो नबनाई हामीलाई मनपेट दिएर आभारी बनाउनूस् । हजुरले आफ्नो हात दिए हामी कोहीभन्दा कम हुने छैनौँ । हजुरको जयगान गाउने छौँ ।

विजेन्द्र – आफै त महादेव उत्तानो पर कसले देला वर । आफै संकटमा छु । फेरि नजाने गाउँको बाटै नसोध्नू भनेझैं आफूहरूसँग सम्बन्धै नभएको कुरामा चासो राख्दै अड्डी लिनु जायज होइन ।

सुजन – (हाँस्दै) आड नपाई कुकुर पनि भुक्दैन भनेझैं हामीले बुबाको आड पाएका छौँ । उहाँले हजुरबाट उखान सिकेर आउन भन्नुभएको छ । अनि पो हामी हजुर जाने बाटो ढुकेर बसेका हौँ ।

सुधा – नजिकको तीर्थ हेला हुन्छ भन्ने हामीलाई थाहा छ। तर, हामी हजुर जस्ता अनुभवीबाट एकाध कुरा सिक्न चाहन्छौँ ।

अमित – पखेटा लागेको पन्छी रूखबाट खसेर मर्दैन तर हामीचाहिँ पखेटाविहीन छौँ क्यारे ।

÷ विजेन्द्र – हेर नानी हो, म त धोबीको कुकुर घरको न घाटको भनेझैं टुङ्गोविनाको मान्छे हुँ । मेरो बस्ने र खाने टुङ्गो छैन । फेरि नाङ्लो ठटाएर हात्ती तर्सन्न । म तिमीहरूका फोस्रा धम्कीले डराउन्नँ । नाउँ न जस खरानी घस् भनेझैँ उपलब्धिबिनाको दुःख गर्ने पक्षमा म छैनँ । मैले भरे मुखमा माड लगाउने साधनको खोजी अहिले गर्नु छ ।

सुजन – ओहो ! भालुको मन खन्युँमाथि भनेझैं हामी आफ्नै स्वार्थका बारेमा मात्र सोच्दा रहेछौँ । उखाने दाइका उखान सुन्न अड्डी कस्दा झन्डै अनर्थ पो भएछ ।

धीरेन्द्र – रातभरि करायो दक्षिणा हरायो भनेझैं चाहिँ नपारी उखाने दाइको मर्कालाई सम्बोधन गरौँ न ।  

अमित – धीरेन्द्र ! ठिक भन्यौ । सर्प पनि मरोस् ल्ठी पनि नभाँचियोस् गर्न हामी र उखाने दाइलाई उपलब्धि हुने गरी काम गर्नुपरयो भन्या ।

÷ सुधा – मोही माग्नु ढुङ्ग्रो लुकाउनु भनेझै  काममा लाज मान्न हुन्न क्या । सबैले नास्ता खान ल्याएको पैसा उखाने दाइलाई दिऔँ न । उहाँको पनि आजको गर्जो टर्छ । हाम्रो पनि स्वार्थ पूर्ति हुन्छ ।

विजेन्द्र – मागीमागी छोराको बिहे भनेझैं म अर्काको भरमा बाँच्नुलाई निरर्थक जीवन मान्छु ।

सुजन – अहँ उखाने दाइ ! हामी तपाईंका यी कुरा सुन्दैनौँ । सुधाको मत ठिक छ । (पैसा झिक्ने संकेत गर्दै) ल, ल्याओ त नास्ता खान ल्याएको पैसा । (सबैले निकालेर दिन्छन् । त्यो पैसा विजेन्द्रतिर लम्काउँदै) उखाने दाइ ! ल लिनूस् । भरेको छाक खाना यही पैसाले खानूस् ।

धीरेन्द्र – अनि अहिले भने हामीलाई उखान सुनाउनूस् ।

अमित – उखाने दाइ ! विद्यादानको मूल्य छैन । अनमोल छ । यो पैसाले तपाईंका उखानको मूल्य तिरेको होइन नि ।

सुधा – (विजेन्द्रले पैसा समाउन नमानेकोले) जात फाल्नु गहतको झोलमा भनेझैँ थोरै पारिश्रमिकमा इज्जत फाल्नुप¥यो भन्नेचाहिँ नठान्नुहोला ।

विजेन्द्र – यो त मेरा लागि दुवै हातमा लड्डु हो । दिनभरि नानीहरूसँग गफ पनि गर्न पाइने बेलुका पेटभरि खान पनि पाइने । यद्यपि थोतो मुखलाई पानको बिडा भनेझँै नसुहाउँदो काम भयो कि भन्ने लाग्दै छ ।

सुजन – उखाने दाइ, पैसा पव्रmनूस् । ढुंगाको भर माटो, माटोको भर ढुंगा भनेझैँ हाम्रो भर हजुर, हजुरको भर हामी । सबै एक अर्काका सहारामा रहनुपर्छ भनेर हजुरले नै भन्नुभएको होइन अस्ति ?  

धीरेन्द्र – आफ्नो दुनो आफै सोझ्याउनुपर्छ है उखाने दाइ । दिनभरि गफमा जोतियो रातभरि पेटमा मुसा कुदायो त गर्न भएन नि ।  

अमित – उखाने दाइ ! हामीलाई भाइ बहिनी ठान्नूस् । हुन त अचानाको चोट खुकुरीले जान्दैन तापनि तपाईंलाई दुःख पुरयाउने काम गर्दा हामीलाई पीडाको अनुभूति हुन्छ ।

सुधा – राख्नूस् पैसा राख्नूस् र बेलुकाको खानाको जोहो गर्नूस्् ।

विजेन्द्र – सित्तै पाउँदैमा अलकत्रा खानु हुँदैन भन्ने कुरामा म होसियार छु । त्यसैले पाएँ भन्दैमा विवेक नपुरयाई नलिएको मात्र हुँ । ठिकै छ, सेवा गरे मेवा पाइँदो रहेछ । के गर्ने बाँच्नकै लागि पनि सोझो औँलाले घिउ नआए बाङ्गो पार्नुपर्दो रहेछ । मैले प्रशस्त कुरा भन्न नसकूँला । पछि हिस्स बुढी हरिया दाँत भने झैँ निराश हुनुपर्ला नि । (विजेन्द्र पैसा लिन्छ ।)

सुजन – अँ, शंकाले लंका जलाउँछ । धेरै शंका नगरौँ ।  

धीरेन्द्र – उखान सिक्ने यो शुभ कार्यमा किन विलम्ब ?  

अमित – उखाने दाइ ! लहरो तान्दा पहरो गर्जिएला है । धेरैतिर सम्बन्ध भएका कुराले प्रभाव पार्छन् नि ।

सुधा – (मुस्कुराउँदै) फुईमा आलु र कोसी हालेको थिएँ; चेई आएर हाम गरेछ । मने, सुरी, आइँ, बाँ, भ्या, निनी र मैले हाम गर्नै पाएनौँ । त्यस चेईलाई पाई गर्नुहोस् है मामु ।

सुजन – यो भनेको चाहिँ के हो नि ?  

विजेन्द्र – यो बालबोली हो । यसको अर्थ हो– आगोमा आलु र केरा हालेको थिएँ कुकुर आएर खाएछ । पाठो, बिरालो, भैँसी, गाई, भेडो, बाछो र मैले खानै पाएनौँ । त्यस कुकुरलाई पिट्नुहोस् है आमा ।

सुजन – कि गर्छ छोरो कि मर्छ छोरो भनेझैं मैले जीवनमा केही गरेरै छाड्ने विचार लिएको छु । कुरा गरयो कुरैको दुःख भइराखेको छ अहिलेसम्म किनभने मेरो विदेश गएर पढ्ने चाहनालाई बुबाले तगारो हालिराख्नुभएको छ ।

धीरेन्द्र – धन चाहिन्छ धन, विदेशमा पढ्नलाई । खान्न– खान्न लोकाचार खान लाग्यो माना चार भनेझैं गराइ र भनाइमा फरक छ । सीमित खर्च सोच्यो, असीमित भइदिन्छ ।

अमित – उखाने दाइ ! सुधाको बालबोली पनि सुनियो । सुजनको चाहना पनि बुझियो र अमितको विचार पनि मनमा गुनियो तर मेरा बुबाले भने खाई न पाई छालाको टोपी लाई भनेझैँ उपलब्धिहीन दुःख मात्र पाउनुभयो । धेरैलाई गुहार्नुभयो तर गाउँको मास्टर हुनै सक्नु भएन । अब भने कि वार कि पार हुन्छ । तपाईंले कोसिस गर्दिनुपरयो ।

सुधा – अँ, उखाने दाइ शिक्षकको जागिर दिने शिक्षा सेवा आयोग प्रमुख हुनुहुन्छ नि ।  

 

विजेन्द्र – योग्य मान्छेको दुःख एकै किसिमको छ । अराजकता देख्दा बौलाउन मन लाग्छ । म पनि शिक्षाशास्त्री हुँ । विएड गरेको मान्छे हुँ ।

 

सुजन – बेरोजगारीहरूको संख्याले आकाश छुँदा जागिर महँगो भयो ।

 

विजेन्द्र – सोरै आना ठिक कुरा गरयौ । योग्यताले बाँच्न गाह्रो छ । बेइमानी गरेर बाँच्न मन छैन ।

सुधा – अराजकताका कुराहरू गरी साध्य छैनन् । अब भने हामीले कुराको बिट मार्नुपर्ला ।

सुजन – आज धेरै  कुरा सिकियो ।  

धीरेन्द्र – हामी सबैको रगतको रङ एकै रहेछ । हामी समस्यै समस्याले जेलिएर बाँचेका रहेछौँ ।

विजेन्द्र – इलमीका भागमा माछा र मासु, अल्छीका भागमा सधैं आँसु भनेझैं उद्यम गर्नेले कहाँ जोगी हुनुपर्छ र ।  काग कराउँदै गर्छ पिना सुक्दै गर्छ भनेको त्यसै होइन । साराको कुराको वास्ता नगरी मानसिक श्रम गर्न नपाए शारीरिक श्रम गरेर भए पनि जीवनरथ हाँक्नुपर्छ ।

सुजन – धन्यवाद उखाने दाइ, हाम्रो मनमा एउटा अपूर्व शक्ति सञ्चार गर्दिनुभयो ।  

सुधा – अब भने पेटमा मुसा दगुर्न थाले । घर जाऔँ ।

अरू सबै – हुन्छ– हुन्छ । जाऔँ । (लहरै निस्कन्छन् । बिस्तारै पर्दा खस्छ ।)

प्रकाशित: २९ पुस २०७७ ०७:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App