– बाबा, मान्छे ठूलो भएपछि लाज हराउँछ हो ?
– कथाको मेलोमेसो नपाएर घोत्लिरहेको कथाकारलाई दश वर्षको छोराले सोध्यो। छोराको प्रश्नको पनि मेलोमेसो नपाएर उनले उसको अनुहार पढ्न खोज्दै सोधे –किन र बाबु ?
हाम्री बुनेलाई लुगा नलगाको बेलामा कुरीकुरी भन्यो भनें कस्तो लाज मानेर दौडन्छे तर ठूलाहरू त ।
– अनि के भयो त ? बोल्दाबोल्दै रोकिएको छोरालाई उनले सोधे ।
– अघि पल्लो घरकी दिदीलाई छोटो लुगा लगाको देखेर कुरीकुरी भनेको त झन्डै मारिनन् । नन– सेन्स फुच्चे भन्दै थर्काइन् । अस्ति एउटा दाइको प्यान्ट कम्मरमुनि पुगेको देखेर सम्झाको त झन्डै पिटेनन् । उसले घटना बतायो ।
कथाकारले छोरोको अनुहारतिर एकछिन गहिरिएर हेरे अनि बिस्तारै भने– हो बाबू, बच्चाहरू नाङ्गो हुँदा लजाउँछन् । तर, ठूलाहरू आफ्नो नग्नताको प्रशंसा खोज्छन् ।
प्रकाशित: २७ पुस २०७७ ०९:०२ सोमबार