पञ्चकुमारी परियार
लकाडाउनुको अर्थ
घरभित्र सुरक्षित बस्नु
जसको घर छ
घरभरि पैसा र अन्नपात छ
बर्सैभरि लकडाउन बढाए पनि
ऊ हाँस्छ , ऊ बाँच्छ ।
सरकार भन्छ–
भोकले कोही मर्दैन
हुन पनि त हो ।
जसको नातागोता आफन्त
भोकले आजसम्म मरेका छैनन् ।
भोक हडताल कसैले गरेका छैनन्।
नाम्लोबहादुरको
नाम्लोद्वारा धसिएको तालु
मयलले कटकटिएको निरीह हाडछाल
चरचर चिरिएको खाली गोडा
सडकैमा फालेको कपडा लाएर
झिसमिसे उज्यालो नहुँदै
नाम्लो बोकेर निस्केपछि ।
आँधी आओस् या
मुसलधारे पानी परोस्
भारी ओसारपसार गरिरहन्थ्यो।
उसलाई कसैलाई ठगेन
कसैलाई टेकेर
माथि पुग्नुपर्ने नभएकाले
सडकमा कमाएको पैसाले
मनामुठी सडकमै पकाएर खान्थ्यो ।
भुसिया कुकुरसँगै गुडुल्किन्थ्यो।
आकाशझैं चौडा उसको मन
यो सडकझैं थिचिएको
पेलिएको उसको जीवन
भ्रष्टाचारीले लुछेको यो देशको चित्र
उस्तैउस्तै लाग्थ्यो ।
मजदुरलाई राहत वितरणको
मापदण्ड नपरेको उसले
क्वारेन्टिनमा खर्च भएको दश अरब
राष्ट्रपतिको करोडौको कार्पेट
समृद्धिको ठूलो सपना एमसिसि
यी सर्वेसर्वालाई
समृद्धिको आँखाले पढ्नै भियाएनन्
फगत भोकको साम्राज्य पढिरह्यो
भारी बोक्ने नाम्लोेले
आफ्नो पेट टनटनी कसेर
शरीरमा तरान ल्याउन
सडकमा फालेको खाना खाँदै
लकडाउन खुल्ने समयको सपना सजाउँदै
सडकमा घस्रिरह्यो ।
लकडाउन लम्बिदै गर्दा
नाम्लोबहादुरको आयु छोटिदै थियो
बाँच्न जति गारो छ
मर्न पनि त्यत्तिकै गारो छ
नाम्लोबहादुर घिटघिटाउँदै
भोकले मान्छे मर्दैन
सरकारको उदघोषलाई लोप्पा खुवाउँदै
अव्यस्थित लकाउनलाई गिज्याउँदै
र समृद्धिलाई चुनौती दिँदै
दुनियाँको भारी उठाउन
नाम्लोबहादुर यो देशको अनागरिक
आफ्नो जीवनको भार बेवारिेसे बनाएर
कोरोना कहर
लकडाउन
र भोकको जहरले जल्दै
नाम्लोबहादुर मरयो ।
(लकडाउनमा खाना नपाएर मरेका उनै सूर्यबहादुर तामाङमा समर्पित !)
प्रकाशित: २६ पुस २०७७ ०५:५५ आइतबार