३ कार्तिक २०८१ शनिबार
image/svg+xml
कला

कल्पना

कविता

धनराज गिरी

 

कल्पना लोकमा काव्यको धाममा  

अर्चना वन्दना सिर्जना  गाममा  

ज्ञानले ध्यानले शुद्ध होस् कल्पना  

पूर्ण प्रज्ञा बनी  बुद्ध होस् कल्पना  

 

नाममा  देशको लोक आलोकको  

कल्पना सिर्जना दैवको  तोकको  

भावना कर्ममा   हेर्न पाए  सखा  

रीत यो लोकको फेर्न आए  सखा  

 

सत्य होस् कल्पना सोच यो दृष्टि यो  

भित्रको  भाव यो  चाह यो सृष्टि यो  

कल्पना वागको  कल्पना फूलको  

कल्पना प्रीतको प्रेमको मूलको  

 

वासमा  दीनको अर्थ होस् कल्पना  

साथ पाए दुखी मुस्कुराए घना  

नीर होस् कल्पना प्यासमा आमको  

खीर होस् कल्पना भोकमा  गामको  

 

स्वैर यो कल्पना व्यर्थ लाग्ने सदा  

पीरमा आमको दूर भाग्ने  सदा  

निर्विषा कल्पना हो सुधा कल्पना  

ज्योति हो कल्पना हो उषा सिर्जना

 

व्योम हो कल्पना जून हो घाम हो  

आखिरी कष्टमा  कृष्ण हो राम हो  

हो नदी कल्पना सिन्धु हो प्रीतको  

राग हो कल्पना मूर्च्छना गीतको  

 

कल्पना बोटमा वृक्षमा  पालुवा  

कल्पना चित्तमा स्वर्ण हो बालुवा  

नेत्र हो कल्पना सूक्ष्म आलोक यो  

जिन्दगी कल्पना दिव्य सन्तोष यो।

प्रकाशित: २३ पुस २०७७ ०६:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App