३ कार्तिक २०८१ शनिबार
image/svg+xml
कला

साथी

लघुकथा

कृष्णजी शर्मा

 

मेरो एउटा प्रिय साथी थियो । मेरो घरमा ऊ आउँथ्यो । हामी सँगै बसेर पढ्थ्यौँ । सँगै घुम्न जान्थ्यौँ ।

ऊ घरबाट कलेज जाँदा एकतर्फी भाडा बोक्थ्यो फर्किँदाको भाडा मैले तिरिदिनु पर्थ्यो । क्यान्टिनमा खाजाको पैसा उसले कहिल्यै तिरेन । मैले नै तिर्छ भन्नेमा ऊ विश्वस्त थियो ।

एक दिन उसलाई पोखरा घुम्न जान मन लाग्यो । बाआमाले उसलाई पैसा दिएन ।

१९ वर्षकै उमेरमा म शिक्षक जागिरे भएको थिएँ । मैले एक महिनाको पूरै तलब १, २५० रुपैयाँ खल्तीमा बोकेको थिएँ । दुई रात पोखरा घुमेपछि हामी घर फर्कियौँ । मैले एक महिनाको तलब दुई दिनमा सकेर फर्केकोमा मेरी आमा बेखुशी हुनुभयो।

त्यसको केही समयपछि, मेरो प्रिय साथी, मेरो घरमा आइपुग्यो र भन्यो – मलाई काठमाडौं लैजा न यार। म मर्ने भएँ ।  

मैले सोधेँ –के भयो ?

मेरो पेट बेसरी पोल्छ । खाने कुरा निल्दा असाध्यै दुख्छ । बाआमाले अस्पताल जान पैसा छैन, भन्नुहुन्छ ।

मैले आमासँग छलफल गरेँ । आमाले भन्नुभयो– तिनीहरू सम्पत्ति भएका मान्छे हुन् । राजमार्गको छेउमै त्यत्रा जमिन छ । उसलाई घर पठाइदे । तँ खुरुक्क पढाउन जा।

– प्रिय साथी, म जान सक्दिनँ । तँ कसैको सहयोगमा काठमाडौं जा ।

मैले यति भन्नासाथ ऊ मलाई अँगालो मारेर रुन थाल्यो र भन्यो– मेरो जीवन बँचा यार । म तेरो गुन कहिल्यै बिर्सने छैन।

मैले आमालाई झुक्याएर उसलाई काठमाडौं लिएर गएँ । दिदीभिनाजु बस्ने भाडाको कोठामा एक हप्ता बसेर उपचार गरेर फर्कियौँ ।

केही वर्षपछि राजमार्ग छेउको एक कट्ठा जमिन बाह्र लाखमा बेचेर ऊ बेलायत गयो । ४,५ वर्षमा नेपाल फर्कियो । कसैबाट मेरो फोन लियो,  मलाई फोन गर्यो र भन्यो – मलाई भेट्ने भए आइज । म अब एक हप्तापछि बेलायत फर्कँदैछु ।

म त्यस बेला बिमारी परेको थिएँ । सकीनसकी फोनमा भनेँ –तँ आइज न यार, म भाइरल ज्वरोले थलिएको छु । आज चार दिन भयो, ओछ्यान परेको छु ।

उसले जवाफमा भन्यो – मलाई भेट्न मन भए आइज । त्यता आउन मलाई फुर्सद छैन ।

यति भनेर उसले फोन काट्यो ।

प्रकाशित: २२ पुस २०७७ ०३:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App