१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
कला

फिल्म रिदम ३ हलमा ५१ औ दिनमा

काठमाडौं – उपत्यकाका तीन हलहरुमा विकास आचार्यको लेखन तथा निर्देशन रहेको फिल्म रिदमले ५१ औं दिन पूरा गरेको छ। 'धेरै लामो समयपछि कुनै पनि नेपाली फिल्म यति लामो चलेको हो,' आचार्यले नागरिकन्युजसँग भने, 'जसको लागि हामीले फिल्म बनाएका थियौं उनीहरुले यसलाई रुचाए र यो सफलता हासिल गर्यो।'

काठमाडौंका गोपिकृष्ण र अष्टनारायण तथा ललितपुरको गुण सिनेमामा रिदमले आजबाट ५१ औं दिनमा प्रदर्शन जारी राखेको छ। काँठ क्षेत्रका हलमा ५१ दिन पूरा भएपनि यसले पूरै उपत्यकालाई समेटेको देखिन्छ। 'पहिलो दुई सातामा हलमा टाढाबाट मानिसहरु आए। शहरभन्दा बाहिरका अलि धेरै थिए। अहिले मोटरसाइकल र गाडीमा आउने दर्शकहरु धेरै छन्,' फिल्म व्यापारको ट्रेन्ड सुनाउँदै आचार्यले भने।

प्रेम र राजनीतिको विषयलाई बराबरीरुपमा प्रस्तुत गरिएको फिल्म हेर्न राजनीति र प्रशासनका हाइ प्रोफाइलहरु सिनेमा हलसम्मै पुगेका थिए। 'राष्ट्रियताको विषय भएकाले पनि नेताहरुले हेर्न आवश्‍यक थियो,' आचार्यले भने।


तीनवटा सिनेमा हलहरुमा लगातार ५१ दिन कटाएको यो फिल्म उपत्यका बाहिरका हलमा ५ सातासम्म चलेको थियो। 'हरेक साता हलमा नयाँ फिल्महरु लागे र उत्रिए। यो टिकिरह्यो,' आचार्यले भने, 'उपत्यकाका तीन कोणमा रहेका हलहरुमा प्रदर्शन हुनुले यो पूरै क्षेत्रमा सफल भयो भन्ने देखियो।' २०६९ सालमा सयभन्दा धेरै फिल्महरु रिलिज भए पनि सीमितमात्र सफल रहे।


विल्सन विक्रम राई, जीवन लुइटेल, नीर शाहा, स्वेता भट्टराई, सोहित मानन्धर, निष्मा घिमिरे  तथा अनुभव रेग्मी कलाकार रहेको फिल्ममा कृष्णहरि बरालको गीत र वसन्त सापकोटाको संगीत छ।

प्रकाशित: १३ वैशाख २०७० २३:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App