सीता विष्ट कार्की सीविका
कलेजबाट घर जाने बेलामा भूमिकाले जस्मिनालाई भनी – म तिमीलाई एउटा प्रश्न सोधु है आज ।
ऊ झस्की । एकोहोरो के सोच्दै थिई । ऊ नसुनेजस्तो गरी । के भन्यौ भूमिका ?
– ए तिमी बिहे कहिले गर्छौ भनेर सोधेको । भूमिकाको प्रतिउत्तरमा मलाई बिहे गर्ने मन छैन । ल बिहे गरेर मात्रै हुने भए त ठिकै थियो । दश महिनासम्म पेटमा बच्चा राखी प्रशव पीडा सहेर बच्चा पाउनु ,हुर्काउनु र असल मान्छे बनाउनु सजिलो छ र ।
– यो त महिलाका लागि प्रकृतिको बहुमूल्य उपहार हो भन्ने संझनुपर्छ जस्मिना । भुमिकाले भनी – सबै महिलाले यस्तै सोचे भने के होला संझ त ?
यो जुनीमा विहा गर्छु जस्तो त लाग्दैन । अर्को कुरा मलाई स्वतन्त्र हुन मनपर्छ । आकाशमा उडने पन्छीहरूको जीवनजस्तै । लल अरु तिम्रा कुरा पछि सुनौला ,जस्मिना । अहिले म छुट्टिए है । यस्को उत्तर मैले होइन समयले दिनेछ । समयसंग शक्ति हुन्छ ।
पढेर भ्याएको केही समयपछि जस्मिनाले एउटा बालविकास सम्बन्धी विदेशी प्रोजेक्टमा काम सुरु गरी। सधै ऊ हिँड्ने शहरको गल्लीमा एकदिन उसले भोकले छ्टपटाइरहेको बालकहरुको कारुणिक दृश्य देखेपछि पहिलोपटक ऊ निकै भावुक बनेकी थिई ।
विष्णुमती नदीको किनारमा गएर एकछिन टोलाइरहेकी जस्मिनाले फेरि त्यस्तै नदीमा माटो खेलाइरहेका एक हुल बालकहरूको निन्याउरो अनुहार देखेपछि त झन् मन चसक्क भयो । कलेटी परेको ओँठ, हिलाम्मे हातखुट्टाहरू , चाउरिएका भोको पेट र धुँवा र धुलोले पोतिएको अनुहार ।
एकोहोरो टुलुटुलु हेरिरहेका छ्न् ऊतिर । त्यो अबोध हेराई र लवजले जस्मिनाको मन जोडले तान्यो , हेर्दाहेर्दै ती अबोध आँखाहरुमा देशको हराइरहेको नक्शा देखी । देशका खम्बा हुन् भन्ने संझी ।
किन यसरी बेवारिस बनाएका ? किन कमजोर बनाएका ? किन भोको बनाएका ? कहाँ गए यिनका आमाबाबुहरू खचाखच प्रश्नह भरिए।
यो कारुणिक दृश्यले एक्कासि उसमा मातृत्व भाव छ्चल्किएर आयो । उनले आफ्नो भएभरको जायजेथा बेचेर अनाथ आश्रम खोली । ती भोका र बेवारिस सन्तानको आमा बन्ने निर्णय गरेपछि भुमिकालाई फोन गर्दै भनी – साँच्चै भुमिका, समय शक्तिशाली हुँदो रहेछ । हजारौ अनुत्तरित प्रश्नको जवाफ समयले नै दिँदोरहेछ ।
प्रकाशित: २० पुस २०७७ ११:४५ सोमबार