९ वैशाख २०७८ बिहीबार
कला

विलियम वर्डस्वर्थको निवासमा रोमान्टिक मन

नियात्रा

ग्रीष्म ऋतुको आगमनले बेलायती धर्तीमा खुसीका फूल फुल्न थाले। वसन्ती पालुवा छिपिएर प्रकृतिले हरियालीको बर्को ओढिसकेको थियो। कठ्यांग्रिने जाडोले केही समयका लागि भर्खरै बिदा मागेर गएको थियो। मोटा स्विटर र ज्याकेटको भारी बिसाउन पाउँदा शरीर हल्का थियो। बेलायतको यस्तो मनोरम मौसममा लामो यात्रामा निस्कन मन लालायित भइरहेको थियो।  

अचानक मेरो यायावर मनले ‘लेक डिस्ट्रिक्ट’ सम्झियो। उसो त प्राकृतिक सुन्दरताका लागि बेलायतमा प्रसिद्धि कमाएको लेक डिस्ट्रिक्टले धेरै समयदेखि मलाई तानिरहेको थियो। त्यहीँ जन्मेका रोमान्टिक कवि विलियम वर्डस्वर्थको जन्म स्थानले धेरै अघिदेखि बोलाइरहेको थियो। समय र बाध्यताले अरूतिरै पुर्‍याएको थियो मलाई।

उत्तर पश्चिम इंग्ल्यान्डको पहाडी क्षेत्रमा अवस्थित ‘लेक डिस्ट्रिक्ट’लाई ‘लेक ल्यान्ड’ पनि भनिन्छ। पानीका ठुल्ठूला ताल र हरियाली मात्र होइन, प्रचुर मात्रामा चट्टानी पहाड समेत रहेको त्यो क्षेत्र बेलायतको लोकप्रिय नेसनल पार्क हो। रोमान्टिक कविहरूको जन्मभूमि हो। संसारको पहिलो सिसा कलम अर्थात् पेन्सिल फ्याक्ट्री भएको स्थल हो। त्यस सुन्दर भूमिमा पाइला टेक्नलाई मन दौडियो।

फ्रान्सेली क्रान्तिको समयमा उनले युरोपको यात्रा गरेका थिए। सोही क्रममा फ्रान्समा बसेको बेला एक फ्रान्सेली महिलासँग उनको प्रेम भएको थियो। उनीबाट आन नामकी छोरी पनि जन्मिइन्। तत्कालीन समयमा फ्रान्स र बेलायतबीचको २२ वर्षे युद्धले उनीहरूबीच भेट हुन सकेन। उनीहरूको प्रेममा दुई राष्ट्रबीचको युद्ध नै खलनायक भएर आयो। र, उनीहरूबीच विवाह हुन सकेन। वास्तवमा युद्धले परिवार खोसेको छ, प्रेम खोसेको छ, शान्ति खोसेको छ।  

बेलायतको सानो सहर वाटफोर्डदेखि लेक डिस्ट्रिक्टसम्मको चार सय ५० किलोमिटरको यात्राको तयारी पूरा भइसकेको थियो। बेलायतको मोटर–वे एम–१ छाडेर एम–६ मा हामी बसेको कार बतासिन थाल्यो। बेलायतका सडकमा कारबाट यात्रा गर्दा देखिने उही दृश्यहरू पुनरावृत्ति भइरहे। रेडियोबाट आएका गीत र सहयात्रीको गफले बाटो काटेको पत्तै भएन।  

लेक डिस्ट्रिक्ट पुग्न लाग्दा बल्ल नवीनतम दृश्यमा रमाउन पुगेँ। बाटोमा भेटिएका उकाली, ओराली र घुम्तीले अलिअलि नेपालको झझल्को दिए। तर तीनमा आफ्नै बेलायतीपन थियो, बेग्लै मोहकता।

अत्यन्त रमणीय क्षेत्रमा कार दौडिरहेको थियो। झ्यालबाट देखिएको पहाडको खोँचमा आँखा धसिए। पहाडकै वक्षस्थलमा रहेको पानीका विशाल तालमा आँखा तैरिए। असंख्य यात्रु र प्रकृतिप्रेमीको क्रीडास्थललाई स्पर्श गर्न मेरा पाइला आतुर थिए।  

वाटफोर्डबाट बतासिएको कारले अन्ततः पाँच घन्टापछि ग्रासमेरको एउटा कार पार्कमा थकाई मार्‍यो। मध्य दिउँसोको समय थियो। ग्रासमेरको भूमिमा पाइला टेक्नेबित्तिकै त्यहाँको चिसोले मायालु स्पर्श गर्‍यो। सामुन्ने हरियो सुन्दर पहाड थियो, अर्कोपट्टि विशाल जलाशय। प्रकृतिका अनुपम सिर्जना एकैपटक देख्दा आँखाबाट प्रवेश गरेको आनन्द शरीरभरि फैलियो। र, लामो यात्राको थकान एकछिनका लागि बिर्सिहालेँ।

जिज्ञासा र उत्सुकताको भारी बोकी यात्रामा निस्केको थिएँ। नयनको तृष्णा बेग्लै थियो। गोडाले स्पर्श गर्ने स्थानको सूची लामो थियो। छोटो यात्रामा पुग्नुपर्ने र बुझ्नुपर्ने ठाउँ धेरै थिए।  

लेक डिस्ट्रिक्टको अम्बलसाइड र वाइन्डरमेर बजार क्षेत्रमा घुम्ने चाहना छ। त्यहाँ रहेका १९ वटा मुख्य तालमध्ये केही तालको जललाई स्पर्श गर्ने मन छ। केस्विक ताल र डेरवेन्ट वाटरको पानीलाई अञ्जुलीमा उठाउनु छ। युनेस्कोले विश्वसम्पदा सूचीमा राखेको लेक डिस्ट्रिक्टको धेरै परसम्म पुग्नु छ। दुई दिनको यात्रामा यति धेरै ठाउँमा सशरीरको यात्रा सम्भव छैन। तर मनले ती स्थानको एक फन्को मारिसकेको थियो।  

दिउँसोको लन्च खाइसकेर हामी प्रकृतिसँग साक्षात्कार गर्न निस्कियौँ। पर्यटकका बीच लोकप्रिय वाइन्डरमेर ताल किनारामा अगाडि उभिएर चारैतिर दृष्टि दौडाएँ। वरिपरि हरिया पहाडको बीचमा रहेको नीलो तालले मलाई पहिलो नजरमै आकर्षित पार्‍यो। वरिपरि पहाडले घेरिएको त्यस सुन्दर तालले फेवा तालको सम्झना दिलायो।  

विशाल तालअगाडि मानिसको भीडभाड थियो। तालको कञ्चन पानीमा थुप्रै मोटर–बोट चलिरहेका थिए। मोटर–बोट चलाउन र क्रुजको यात्रा गर्न पालो पर्खिरहेका मानिसको भीडले हामीलाई जलयात्राका लागि हौस्यायो। एउटा मोटर–बोट भाडामा लिएर हामी जल यात्रामा निस्कियौँ।  

मोटरबोटबाटै तालको पानीलाई हातले स्पर्श गरेँ। वरिपरिको सुन्दर पहाडलाई नजर लगाएँ। सफा नीलो आकाशमा आँखा दौडाएँ। यसो विचार गरेर हेर्दा आफूलाई प्रकृतिको सुन्दर काखमा पाएँ। मनले औधि खुसी मान्यो। हामीले एक घन्टाभन्दा बढी जल यात्रामा मज्जाले रमायौँ। सबैको धीत मर्‍यो।  

जल यात्रापछि हामीले ग्रासमेरमा थल यात्रा सुरु गर्‍यौँ। ग्रासमेर कवि विलियम वर्ड्सवर्थको निवासस्थान हो। उनलाई प्रकृतिसम्बन्धी कविता लेख्न प्रेरणा दिने स्थल हो। साहित्य र कलामा चलेको अंग्रेजी साहित्यको रोमान्टिक धारको जन्मस्थान हो।  

लेक डिस्ट्रिक्टको ग्रासमेरलाई विलियम  

वर्डस्वर्थले पृथ्वीको सबैभन्दा शान्त र एकदम राम्रो स्थान भनेर लेखेका छन्। उनी लेक डिस्ट्रिक्टका पहाड चढेर प्रकृतिको समीप पुगेको महसुस गर्दथे। पहाडलाई स्पर्श गर्दै उडिरहने बादललाई अँगालोमा कस्न खोज्थे। परपरसम्म नयन दौडाएर प्रकृतिमा विचरण गर्थे।  

विलियम वर्डस्वर्थले भनेका छन्, ‘मलाई यस्तै कुराले लेखनमा प्रेरणा दिन्छ।’ वास्तवमा उनी कल्पना र भावनाको तीव्र उडानका कविता लेख्थे। कविको प्रियस्थलमा मेरो कवि मन पनि दौडिन थाल्यो परसम्म।

पहाडैपहाड भएको लेक डिस्ट्रिक्टमा तीन हजार मिटरभन्दा माथिका चारवटा पहाड छन्। लेक डिस्ट्रिक्ट निवासी लेखक आर्थर रेनसमले आफ्नो पुस्तक ‘स्वालोडेल’मा लेक डिस्ट्रिक्टको एउटा अग्लो पहाडलाई नेपालको हिमाल कञ्चनजंघाको नाम दिएका छन्। उक्त कुरा थाहा पाएदेखि नै नेपालको कञ्चनजंघामा पाइला नटेकेको मलाई बेलायतको कञ्चनजंघामा आरोहण गर्ने इच्छाको अंकुरण भएको छ।  

ग्रासमेरले मलाई एकछिन रोक्यो। ताल किनारामा अवस्थित ग्रासमेरको सौन्दर्यले लठ्यायो। पहाडको काखमा बसेको ग्रासमेरको प्रकृतिले लोभ्यायो। एकातिर हरिया पहाडका अग्ला भित्ता, अर्कोतर्फ अथाह जलराशि।

भनिन्छ, कवि तथा लेखकको सिर्जनामा ऊ बसेको वातावरणले ठूलो प्रभाव पारेको हुन्छ। लेक डिस्ट्रिक्टको प्राकृतिक वातावरणले गर्दा त्यहाँका कविले रोमान्टिक धारको लेखन सुरुवात गरेका त होइनन ? यस्तै कुरा मनमा खेलाउँदै प्रसिद्ध रोमान्टिक कवि विलियम वर्डस्वर्थको निवासतिर गोडा लम्किरहेका थिए।  

अंग्रेजी साहित्यमा रोमान्टिसिजम् अर्थात स्वच्छन्दतावादको सुरुवात सन् १७९८ मा भएको हो। वर्डस्वर्थले सेम्युल टेलर कलरिजसँग मिलेर रोमान्टिक युगको सूत्रपात गरेका थिए। वर्डस्वर्थ र कलरिजले संयुक्त कविता संग्रह ‘लिरिकल ब्यालेड्स’ सन् १७९८ मा प्रकाशित गरे। सोही संयुक्त कविता संग्रह ‘लिरिकल ब्यालेड्स’बाट स्वच्छन्दतावादको सुरुवात भएको देखिन्छ। त्यसको दोस्रो संस्करणमा थपिएको भूमिकालाई स्वच्छन्दतावादको घोषणापत्र मानिन्छ।  

लेक डिस्ट्रिक्टमा त्यसबेलाका मुख्य कविहरू विलियम वर्डस्वर्थ, सामुयल टेलर कोलरिज र रोबर्ट सुथे मिलेर ‘लेक पोएटस्’ भन्ने समूह खोले। त्यसमा डोरेथी वर्डस्वर्थ, चाल्र्स लाम्ब, चाल्र्स ल्वायड, हार्टले कोलरिज, जोन विल्सन र थोमस डे क्विन्से लगायत कवि, अन्य लेखक र कलाकार जोडिए। तिनै लेखक, कवि र कलाकारले पाइला टेकेको भूमि जहाँ रोमान्टिसिजम्का बारेमा घन्टौँ छलफल हुन्थ्यो। त्यस ऐतिहासिक भवन थियो ‘डोभ कटेज’। हामी त्यतैतिर लम्किरह्यौं।  

डोभ कटेजतर्फ जाँदा बाटामा देखिएका दृश्यमा आँखा रमाए। ढुंगाको गारो लगाएर बनाइएका घरका सुन्दर बान्कीले लोभ्यायो। ढुंगाको पर्खाल लगाइएको डोभ कटेजले नेपालको पहाडी क्षेत्रका घरमा लगाइने ढुंगे पर्खालको सम्झना गरायो। लेक डिस्ट्रिक्टका अन्य घरहरूझैं डोभ कटेज पनि ढुंगाको गारो लगाएर बनाइएको रहेछ। सेतो रंग लगाइएको स्लेटको छाना भएको घर बाहिरबाट हेर्दा नेपालका पहाडमा देखिने घरभन्दा खासै फरक थिएन। चट्टानी पहाडले घेरिएको लेक डिस्ट्रिक्टमा प्रशस्त ढुंगा पाइने हुनाले सायद घर त्यसैले बनेका हुन् कि भनेर अनुमान गरेँ। पैदल यात्रामा मात्र होइन, गाडीको यात्रामा देखिएका ढुंगेघर हेर्दा त्यस क्षेत्रमा आधुनिक भवनलाई निषेध गरेजस्तै लाग्यो।

‘डोभ कटेज’को नामले चर्चित घरमा विलियम वर्डस्वर्थ र बहिनी डोरोथी संयुक्त रूपमा बस्दथे। विलियम वर्ड्स वर्थ त्यहाँ नौ वर्षसम्म बसेका थिए। उनले बाल्यकालको साथी मेरीलाई विवाह गरेर त्यहीँ भिœयाएका थिए। उनका पाँच सन्तानमध्ये तीन सन्तान सोही डोभ कटेजमा जन्मेका थिए। परिवारको संख्या वृद्धि हुँदै जाँदा उक्त घर उनलाई सानो भएपछि ग्रासमेरमै अर्को घरमा बसाइँ सरेका थिए। उनको त्यो डोभ कटेज साहित्यिक तीर्थस्थलका रूपमा संसारभर प्रसिद्ध छ। कवि साहित्यकार लगायत हजारौँ पर्यटकलाई बर्सेनि आकर्षित गरिरहेको छ।  

त्यहाँ पुग्नेबित्तिकै मैले पढेको कवि विलियम वर्डस्वर्थको उतारचढाव जिन्दगी अनायसै सम्झन्छु। फ्रान्सेली क्रान्तिको समयमा उनले युरोपको यात्रा गरेका थिए। सोही क्रममा फ्रान्समा बसेको बेला एक फ्रान्सेली महिलासँग उनको प्रेम भएको थियो। उनीबाट आन नामकी छोरी पनि जन्मिइन्। तत्कालीन समयमा फ्रान्स र बेलायतबीचको २२ वर्षे युद्धले उनीहरूबीच भेट हुन सकेन। उनीहरूको प्रेममा दुई राष्ट्रबीचको युद्ध नै खलनायक भएर आयो। र, उनीहरूबीच विवाह हुन सकेन। वास्तवमा युद्धले परिवार खोसेको छ, प्रेम खोसेको छ, शान्ति खोसेको छ।  

विलियमको जीवनी पढ्दा एउटा रोचक तथ्य फेला पारेको छु। उनी हर समय महिलाको सान्निध्यमा रमाउँदा रहेछन्। युवावस्थादेखि नै महिलाप्रति उनको अनुराग देखिन्छ। सुरुमा लामो समयसम्म बहिनी डोरोथी, फ्रेन्च प्रेमिका अनेट, अलिकपछि श्रीमती मेरी, साली सारा र अन्त्यमा छोरी डोरा उनको साथमा रहेका देखिन्छन्। यसरी हेर्दा उनको लेखनमा प्रेरणाको एउटा स्रोत महिला पनि हुन् भन्न सकिन्छ। अझ लामो समयसम्म सँगै रहेकी बहिनी डोरोथी र उनको सम्बन्धलाई बहिनी–पत्नीको सम्बन्धको रूपमा त्यसबेला चर्चा गरिएको थाहा पाउँदा छक्क पर्दछु। दाजु–बहिनी बीचको पवित्र सम्बन्धमा त्यस्तो पनि हुन सक्ला र ? उक्त कुरा मेरो मनले विश्वास गर्न सकेको छैन।

यस्तै कुरा मनमा खेलिरहँदा डोभ कटेजको दुईतले भवनभित्र मेरा पाइतालाले स्पर्श गरिसकेको थियो। कवि विलियमलाई सम्झेर थप रोमाञ्चित बनेँ।  

‘अहो, म त कविको निवासमा पो पाइला चालिरहेको छु हगि ?’ सम्झी ल्याउँदा गर्वले मन ढक्क फुल्यो।  

बैठक कोठा, भान्सा कोठा, बहिनी डोरोथीको बेडरुम, वर्डस्वर्थको अध्ययन कक्ष, पाहुनाका लागि कोठा र बच्चाका कोठा– सबै सबै चहारेँ। त्यहाँको दृश्यले उतिबेलाको समयको झझल्को दिलायो। डोभ कटेजभित्र सर्सती नजर लगाएपछि पछाडि बगैँचामा पुग्यौँ।

अहा, क्या सुन्दर फूलहरू ! बगैँचाका थरीथरीका फूल देखेर मेरो मनमा उमंगका फूल फुले। उत्साहका वासना हरहर चले। शरीर फूलजस्तै हलुंगो भएको थियो।  

त्यस बगैंचाका फूलहरूमध्ये जवानी सकिएर झोँक्राइरहेको तर फेरि फुल्नलाई अर्को सालको वसन्त पर्खिरहेको डेफोडिलको पोथ्राले आकर्षित गर्‍यो। विलियमले आफ्नो जीवनकालको चर्चित कविता ‘डेफोडिल्स्’ लगायत थुप्रै कविता त्यहीँ डोभ कटेजको बसाइका क्रममा लेखेका थिए। कविको सिर्जनशील भूमिमा पाइला टेक्न पाउँदा मेरो मनमा खुसीका ‘डेफोडिल्स्’ फुलिसकेको थियो।  

फूलको सुन्दरतामा एकछिन रमाएँ, वासनामा लट्ठिएँ। ती फूल देखेर कविताका केही विम्ब मनमा सलबलाउन थाले। अवलोकन गर्दै जाँदा बगैँचाभित्रै अलिक पर बनाइएको एउटा छाप्रो अगाडि पुगिसकेको थिएँ। त्यही छाप्रोमा बसेर डोरोथीले ‘ग्रासमेर जर्नल’ नाम दिएको दैनिकी लेख्थिन्। विलियम वर्डस्वर्थ भने बगैँचामा रमाउँथे। प्रकृतिका कविता लेख्दथे। संसार प्रसिद्ध कविको सिर्जन स्थलमा पुग्दा प्रभावित भएँ। मनभित्र उल्लास छायो।  

‘समय थोरै छ। अरू केही समय बिताउन पाए त कविता पो लेख्थे कि ?’ सुषुप्त अवस्थामा रहेको मेरो कवि मन एक्लै बोल्यो।

बगैँचाबाट निस्केर डोभ कटेज छेउमै विलियम वर्डस्वर्थको नाममा बनाइएको म्युजियमतिर पाइला चल्न थाले। सन् १८९१ मा वर्डस्वर्थ ट्रस्टको स्थापना भएपछि त्यसका संरक्षक र सदस्यले डोभ कटेज छेउमा म्युजियम बनाएका रहेछन्।  

म्युजियमभित्र पुग्दा केही अवलोकनकर्ता देखिए। उक्त म्युजियममा विलियमको जीवनका बारेमा अत्यधिक जानकारी पाइँदो रहेछ। अत्याधुनिक म्युजियममा वर्डस्वर्थका किताब, पाण्डुलिपि, विभिन्न रोमान्टिक पेन्टिङ सुरक्षित राखिएका थिए। उनका बारेमा अध्ययन अनुसन्धान गर्नेका लागि त्यस म्युजियममा उत्कृष्ट सुविधा उपलब्ध रहेको पाएँ।  

ठूलो अध्ययन कक्षमै रोमान्टिक पुस्तकालय थियो। त्यहाँ उनका दुर्लभ पुस्तकका प्रथम संस्करण थिए। वर्डस्वर्थको प्रसिद्ध अर्धआत्म चरितात्मक कविता संग्रह ‘द प्रेल्युद’ पनि त्यहीँ देखेँ। स्वच्छन्दतावादको सबैभन्दा ठूलो भण्डारको रूपमा लिइने त्यस म्युजियम र म्युजियमभित्रका रूपवतीहरू देखेर मेरो मन रोमान्टिक भइसकेको थियो।  

त्यस पुस्तकालयमा एउटा नयाँ जानकारी पाएर अचम्भित बनेँ। सन् १८४४ मा लेक डिस्ट्रिक्टमा रेल लाइन विस्तार गर्ने कार्यको विलियम वर्डस्वर्थले खुब विरोध गरेका रहेछन्। रेल लाइन विस्तारले लेक डिस्ट्रिक्टको सुन्दरता र वातावरणमा नकारात्मक असर पार्दछ भन्ने प्रकृतिप्रेमी वर्डस्वर्थको चिन्ता रहेछ। हुन त प्रकृतिलाई विनाश नगरी विकास हुँदैन। विकासको चमकधमक देखेर प्रकृतिको विनाशलाई बिर्सिदिन्छन् मानिसहरू। मेरो मनले बोल्यो, ‘प्रकृतिको अत्यन्त कम विनाश होस् र अत्यधिक विकास निर्माण होस्।’

कविको विरोधका बाबजुद पनि लेक डिस्ट्रिक्टका विभिन्न ठाउँमा रेल लाइन विस्तार गरियो। फलस्वरूप संसारभरका मानिसलाई अहिले त्यहाँसम्म पुग्ने सहज सुविधा उपलब्ध छ। अहिले पर्यटकको आकर्षकको केन्द्र बनेको छ, लेक डिस्ट्रिक्ट। पर्यटन उद्योग फस्टाएको छ। धेरै रोजगारी सिर्जना भएको छ। कवि विलियमको चिन्तालाई लेक डिस्ट्रिक्टमा विकास र निर्माण गर्दा अवश्य मनन गरिएको होला भन्ने लागेको छ।  

लेक डिस्ट्रिक्टमा विलियम ट्रेल पनि सञ्चालनमा रहेको कुरा पुस्तकालयमा थाहा पाएँ। केही अवलोकनकर्ता त्यस ट्रेलका बारेमा जानकारी मागिरहेका थिए। पर्यटकहरू विलियम वर्डस्वर्थ हिँडेको बाटो अर्थात् विलियम ट्रेलमा पाइला राख्न लालायित हुँदा रहेछन्। त्यहाँको दृश्यले मलाई नेपाल पुर्‍यायो। नेपालमा पनि भूपि, देवकोटा, विकल, सिद्धिचरण, घिमिरे, पारिजातजस्ता साहित्यकार हिँडेको बाटो भनेर प्रचार गर्न सके अवश्य पनि देश–विदेशका साहित्यिक पर्यटक तान्न सकिन्थ्यो। अचानक मेरो मन आफ्नै देशको साहित्यिक गोरेटोमा पाइला चाल्न थाल्यो।  

डोभ कटेज र म्युजियमको अवलोकनपछि मन प्रफुल्ल भइसकेको थियो। कविको निवासस्थान र म्युजियम मेरा लागि साहित्यिक पवित्र तीर्थस्थल हुन्। कवि विलियम वर्डस्वर्थको निवासमा जापानसम्बन्धी मेरो नियात्रासंग्रह ‘दाइबुचु’ आफैँले लोकापर्ण गरेँ। मनमा अपार हर्ष छायो।  

त्यहाँबाट बाहिरिनुअघि डोभ कटेज ठीकअगाडि रहेको वर्डस्वर्थ ट्रस्टद्वारा सञ्चालित शुभनियर पसलमा प्रवेश गरेँ। कविको सम्झना घरसम्म पुर्‍याउन केही चिनो लिने विचार गरेँ। हेर्दै जाँदा कविजीसँग हरपल सामीप्य राख्ने विलियम वर्डस्वर्थको फोटो भएको चाबी राख्ने एउटा ‘कि–रिङ’ किनेँ। त्यहाँबाट निस्कनुअघि पसलका स्वयं सेवकले विलियम वर्डस्वर्थको समाधिस्थल पनि हेर्न जाने सल्लाह दिए।  

७ अप्रिल १७७० मा जन्मेका विलियम वर्डस्वर्थ बेलायतको सबैभन्दा प्रिय कवि हुन्। सन् १८५० (८० वर्षको उमेर) मा निधन भएका विलियमलाई ग्रासमेरमा अवस्थित सेन्ट वस्वाल्डस् चर्चको कम्पाउन्डमा समाधिस्थ गरिएको छ। त्यसलाई हेर्न संसारभरका मानिस आउँछन्। त्यति मात्र होइन, संसारमा सबैभन्दा बढी अवलोकनकर्ता आउने साहित्यिक समाधिस्थलमध्ये यो एक हो।

‘यसपटक समय अभाव छ। अर्कोपटक आएको बेला उनको समाधिस्थलमा उनलाई मनपर्ने डेफोडिल्स् फूल चढाएर जानेछु,’ उनलाई भनेँ।

सबै राम्रा कविता शक्तिशाली भावनाको सहज प्रवाह हो भन्थे, विलियम वर्डस्वर्थ। उनका अधिकांश कवितामा कल्पनाशीलता र भावनात्मक प्रवाह देख्न पाइन्छ। शुभनियर पसलबाट निस्केपछि कवि विलियम वर्डस्वर्थको उपरोक्त ‘डेफोडिल्स्’ कविता सम्झना आयो।

प्रकाशित: १८ पुस २०७७ ०८:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
को हुनेछ नागरिक नायक २०७८ ?
को हुनेछ नागरिक नायक २०७८ ?