६ कार्तिक २०७८ शनिबार
कला

'देश देशावर' एक यात्रीको बयान

सुरुवाति दिनमा कस्तो लाग्थ्यो भने, गैरआवासीय नेपाली (एनआरएन) भनेपछि पैसाकै सिरानी हाल्छन र सिरक डस्ना पैसाकै हुन्छ। आखिर त्यो भ्रम थियो। अपवादमा केहि त्यस्ता पनि होलान्। एनआरएनले अब नेपाललाई केहि बर्षमा अर्कै बनाउँछ रे भनेर निकै हौसिन्थ्यौ। एनआरएनको स्थापनाकालदेखि नै नेपाली पत्रकारितामा थुप्रै अक्षर खर्च गरियो। स्थापनाकालबाटै यसका सबै पक्ष केलाएर अध्ययन गरियो पनि। यो अभियान एयरपोर्टबाट ट्रकमा राखेर पैसा ढुवानी गर्ने होईन की संसारभर छरिएर रहेका सीप र क्षमताको ढुवानी गरेर राज्य व्यवस्थाले त्यसलाई उचित संयोजन गरेमा मातृभुमि समृद्ध हुने अभियान हो।  पैसा हुनेले पैसा र सीप र क्षमता हुनेले ज्ञान दिने अभियान हो एनआरएन।  

अनि केहि बर्षको अन्तरामा म पनि अहिले एनआरएन भए।  र मलाई एनआरएन भएर वर्षेनी जस्तो नेपाल पुग्दा कोही न कोहीले सोध्ने प्रश्न तिमि पनि उपेन्द्र महतो, शेष घले र जीवा लामीछाने जस्तै एनआरएन हो ? उहाँहरुसँग त्यहि अभियानमा शुरुवातदेखि हिँडियो र अलिपछि एनआरएन भईयो तर त्यो प्रश्नको उत्तर ठ्याक्कै नेपाली जनजिव्रोले बुझ्ने गरी दिन सकिएको छैन र अझै पनि एनआरएनप्रति नेपालीजनमा भ्रम छ।  त्यो भ्रमको निवारण गर्न एनआरएनले गरेका केहि नमुना कार्यक्रम, लगानी र भित्रिदै गरेको सीपबाट आउने रिजल्टसम्म पर्खिनुपर्ने हुन्छ।  त्यो बेलादेखि आजसम्म निरन्तर उत्तिकै चमक धमकका साथ अझ भनौ थप परिचय बनाएर गैरआवासीय अभियानलाई उचाई दिन स्थापनाकालदेखि एकछत्र योगदान दिने एक जनाको नाम हो जीवा लामीछाने।  

आफुले हुर्काएको सन्तान युवा अवस्था हुँदै वयस्क भएको हेर्न मन कसलाई हुँदैन र ? हो आज उनै व्यक्ति गैरआवासीय नेपाली अभियानमा संसारको धेरै देश घुमेर अनुभव बटुल्ने कोही नेपालीको सूचीमा पर्ने एक जना जीवा लामिछाने हुन्। सरसर्ती संसार र देश देशावर उनका दुई पुस्तक यसैका सवुत हुन्। यी दुई पुस्तकलाई मात्र हिसाव गर्ने हो भने पृथ्वीको एक तिहाई डल्लो घुमीसके होलान् उनी।  

यो पुस्तक संसार घुमाउने पुस्तक हो।  अर्को एनआरएन अभियानले जन्माएको उत्कृष्ट दस्तावेजको संगालो हो। जसबाट संक्षिप्तमा भए पनि ती देशहरुको संस्कार, संकृति, प्रगति र कुन अवस्थाबाट विश्व मानचित्रमा घट्ने घटनाक्रमले उत्पन्न परिस्थितिले जन्माउने विकास वा विनास निकै रोचक र सजिलै बुझ्न सकिने सरल प्रस्तुति छ

लेखक लामिछानेका अनुसार विश्वका एक सय ३० भन्दा बढी मुलुकमा पाईला राखेका छन्।  म उनको पुस्तकको कुरै छाडौं कहिले काहीँ लेख्ने यात्रा स्मरण पनि नछुटाई पढ्छु।  किनकी सायद सबैलाई मन पर्ने कुरा हो घुमघाम।  कतिपय पुस्तकमा उल्लेख भएको अफ्रिका बाहेकका देशमा मैले पनि पाईला टेकेको छु तर पुस्तकमा समावेश भएजस्ता कुनै पनि देश वा उल्लेखित विषयमा गहिरिएर खोजिन भनौ वा त्यो तहमा जानकारी लिन श्रोत साधन जुटाउन सकिएन।  हामी जस्ता घुमघाम मन पराउने वा घरमै बसेर भएपनि पुस्तक पढेर संसार सयर गर्नेका लागि लामिछानेको पछिल्लो पुस्तक 'देश देशावर' ऐना जस्तै छ।  पुस्तकमा उल्लेख भएका देशमा जाने हो भने त यो पुस्तक ट्राभल गाईड जस्तै छ।  अफ्रिकाले द्धन्द्ध र नरसंहारपछि गरेको प्रगति वा संगै रहेका अरु देशको हालत कतिपय अवस्थामा नेपालको राजनीतिक घटनाक्रमसँग सुहाउने खालको छ।  

यो पुस्तक संसार घुमाउने पुस्तक हो।  अर्को एनआरएन अभियानले जन्माएको उत्कृष्ट दस्तावेजको संगालो हो। जसबाट संक्षिप्तमा भए पनि ती देशहरुको संस्कार, संकृति, प्रगति र कुन अवस्थाबाट विश्व मानचित्रमा घट्ने घटनाक्रमले उत्पन्न परिस्थितिले जन्माउने विकास वा विनास निकै रोचक र सजिलै बुझ्न सकिने सरल प्रस्तुति छ।  पुस्तकमा जुन देशमा पुगे पनि लेखकले खोजेको आफ्नोपन अर्थात नेपालीको उपस्थिति, प्रगति र उनिहरुले गरेका प्रगतिको मुक्तकण्ठले नछुटाई गर्ने प्रशंसा र सम्भावनाको खोजी हो।  त्यसबाट के पनि थाहा हुन्छ भने नेपालीहरु संसारको जुनसुकै कुनामा छन् तर कहिलेदेखि छन् अझै खोजीको विषय हो।  

बाध्यता र परिस्थतिले संसारको जुन कुनामा पुगेका छन् र हैसियत बनाएर आआफ्नो क्षेत्रमा स्थापित हुन थालेका छन।  पहिलो पुस्ता पनि यसरी स्थापित हुँदै गएका छन् भने अबको दोश्रो पुस्ताले संसारमा हैसियतवाला उपस्थिति देखाउने पक्का छ।  तर जसरी यो पुस्तकका लेखकले जहाँ पुगे पनि नेपालीको प्रगतिलाई नछुटाई उल्लेख गरेर नेपालसँग जोडेका छन। त्यसरी भोली दोश्रो पुस्तालाई कसले जोडेर एनआरएन अभियानलाई निरन्तरता देला आजैदेखि खसखस लागेको प्रश्न हो।  हाम्रो दोश्रो पुस्ता हरेक महादेशमा अबको केहि बर्षमा गर्व गर्न लायक स्थापित हुनेछन्। नेपालीहरु सँसारभर पुगेको र संघर्ष गरेको कुरा धेरैसमय पछि इतिहास हुने छ त्यो प्रमाण लामिछानेको पुस्तकले दिने छ।  

देश विदेश घुम्न पैसा चाहिन्छ, पैसा हुने अरु पनि जो सजिलै विदेश घुम्छन् र घुमेका होलान वा घुम्लान तर यसरी चासो दिएर सूचना संकलन गरी पुस्तकको आकार दिने काम ईच्छाशक्ति जो कोहीमा हुन्न।  जुन कुरा लामिछानेमा पलायो र आज पुस्तकको आकार पायो यो प्रशंसा गर्न लायक छ।    

लेखककले अफ्रिकाको जातीय नरसंहार, त्यसपछि गतिला नेतृत्वको हातमा देश पुगे कसरी प्रगति हुन्छ र नेतृत्व अगतिलो भए मुलुकले कस्तो दुर्गती व्यहोर्नु पर्ने हुन्छ भन्ने कुरा सप्रसंग व्याख्या गरिएकोले राजनीति गर्नेहरुका लागि पनि श्रोत सामग्री हुने देखिन्छ।  अफ्रिकी देशहरुको भ्रमण र गरिएका बयान त्यसको ताजा विषय हुन।  अफ्रिकी मुलुकहरुमा एक सय दिनमा १० लाख मानिस मारिएपछि आज कस्तो अवस्थामा छ भन्ने कुरादेखि उदाउँदो चीन र संसारलाई राज गरेर चियाई रहेको अमेरिकाको कतिपय उल्लेखित सन्दर्भ रोचक छन्।  

पर्यटकीय हिसावले पनि यो पुस्तक निकै फलदायी हुनेछ।  आर्थिक विकासको तुलना गर्दै संसारमा भएका वैभवहरुको लोभ लाग्दो वर्णन यसमा पाईन्छ।  लेखक आफैमा सफल व्यवसायी भएकोले उनले चियाउने र जहाँ नेपाली पुगेका छन् त्यहाँ संभावनाहरुको खोजवीन गरी व्यवसायबाट लिन सकिने फाईदाका बारेमा पनि यो पुस्तक एक संकलन योग्य श्रोत सामाग्री हो।  कतिपय यात्राबाट फर्केर लेखकले देखेका नयाँपनहरु उनले नेतृत्व गरेको व्यवसायिक संस्थानहरुमा प्रयोगमा आएको पनि देखिएको छ।  व्यवसाय गर्नेहरुका लागि त्यो पनि गतिलो श्रोत सामाग्री बन्छ।    

उनको लेखन शैलीमा सजिलै भिज्यूलाईज गर्ने क्षमता छ की एक पटक पुगेको स्थान झलझल्ती अगाडि आउँछ। नपुगेको स्थान जाउँजाउँ लाग्ने गरी प्रस्तुत भएको छ।  जसरी व्यवसायमा लेखक सफल छन् त्यसैगरी उत्तिकै सरल मिलनसार र सबै तहमा सजिलै पहुँचमा पुग्न सक्दछन्  

यस पृथ्वीमा चार प्रकारका देशहरु देखिन्छन्।  पहिलो असाध्यै गरिब जहाँ नागरिक जीउनका लागि संघर्ष गरिहेका छन।  अर्काथरी देशहरु जहाँ नागरिकलाई अधिकार चाहिएको छ र नेतृत्वसँग पौठेजोरी गरिहेका छन्।  त्यस पछिको अर्को देशहरुको सूचिमा कतै देखावटी त कतै वास्तविकतामा नै आफ्नो देश समृद्ध बनाएर क्षेत्रिय राजनीतिमा लम्किएका छन र अन्तिम यस्ता देशहरु छन उनीहरु पृथ्वी डल्लो छ अब आफ्नै हातले घुमाउने हो भन्दै आफ्नो परिधि छोडेर अर्काको सीमामा शासन गर्न तछाड मछाड गर्दैछन्।  लेखक यी चारै प्रकृतिको देशमा पुगेर आफ्नो देश र समुदायलाई जोड्ने अभियानमा छन।  यी चारै प्रकारको भुगोल, प्रकृति र स्वादलाई संयोजन गर्न भाषा, श्रोत र समय व्यवस्थान गर्ने कुरा चानेचुने कुरा हुँदै होईन।  यी सबै स्वाद एकै पुस्तकबाट पूर्ण रुपमा आशा गर्नु पनि लेखकमाथी अन्याय हुन्छ।    

लेखकमा ईतिहास, राजनीति र आर्थिक पक्षलाई मिलाएर कुनै पनि देशमा स्थीर राजनीति रहे मात्र आर्थिक विकास सम्भव छ भन्ने कुरा, कुनै पनि देश आफै बनाउन हो अरुले केवल भत्काउन आउँछन र त्यसका लागि नेतृत्वको ईच्छा शक्तिविना सम्भवन छैन भन्ने निष्कर्ष पढ्न पाईन्छ।  सीमा जोडिएको एकातिरको देश र अर्कातिरको देश कसरी फरक हुन्छ ? भन्ने कुरा परिवर्तन नेतृत्वबाट मात्रै सम्भव हुने कुरा उदाहरणसहित भेटाईन्छ।  

पुस्तकमा कमी कमजोरी छन्, कतिपय विषयमा लेखकले कुरा उठान गराएर विषय र सन्र्दभमा पूर्ण सुचना नदिई विच्किए जस्तो देखिन्छ।  त्यसलाई अलि बढी सूचना वा जानकारी दिएको भए हुन्थ्यो भन्दा भन्दै टुंगिएका छन्।  यो किताव पढ्दै गर्दा खड्किएको एउटा कुरा के हो भने गैरआवासीय नेपाली अभियानलाई जन्माएर हुर्काएर आज तन्नेरी बनाउँदासम्म संरक्षकको भूमिकामा रहेका लेखकले जुन जुन देशका बारेमा लेखेका छन् ती देशहरु विकास हुनुमा देश छाडेर प्रवासिएकाहरुले कस्तो भूमिका खेलेका रहेछन भनेर लेख्न छुटाएकै हुन।    

अर्को पुस्तक पढ्दा एउटा छुट्टै शिर्षकमा भए पनि प्रवासिएकाहरुले आफ्नो मातृभुमिको उन्नतिका लागि के के काम कसरी शुरु गरेर मातृभुमि समृद्ध बनाउने अभियानमा सहभागी भएका रहेछन जान्न पाए धन्य हुने थिए।  

 

 

प्रकाशित: १६ पुस २०७७ ११:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App